केन्द्रीय संस्करण
व्यङ्ग्य साहित्य

अरिमट्ठ गलगाँड र अजिङ्ंगरको आड !

“भ्यागुता देखेर फुलेका भ्यागुताहरुको शासन प्रशासनमा यस्तो नभएर कस्तो हुनु ?”

person explore access_timeअसार २८, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

मैले गतहप्ता केही लेखिनँ । “किन ?” एक जना वयोवृद्ध लेखक साथीले जिज्ञासा राख्नुभयो । मैले नबोल्दै वहाँले नै भन्नुभयो, “लेखेर काम पनि छैन । गतिछाडाहरु जो छन् प्रथमतः ती पढ्दैनन् । कथंकदाचित् पढेछन् भनेपनि सुध्रँदैनन् । अनि लेख्ने पनि के ? विकृतिको असमेल बाढी नै छ, कताबाट लेख्ने ? के लेख्ने ? कुन कुरालाई लिएर लेख्ने ? अरुलाई निम्छरा भन्नेहरुको निम्छरो हालत पनि देख्नुसम्म देखियो !”

*******

“कुरा त्यति मात्र होइन । शीर्ष भनिने भ्यागुताहरु कमाइमै लागेर कुस्त कमाए । अनि अहालका सवै भ्यागुताले त्यही आदर्श समाते । सबै भ्यागुता मालामाल, सवै भ्यागुता फुलेल । यो सुध्रन त अब शीर्षहरुबाटै अख्तियारले कारवाही सुरु गर्नुपर्छ । सक्छ ?

*******

“भ्यागुता देखेर फुलेका भ्यागुताहरुको शासन प्रशासनमा यस्तो नभएर कस्तो हुनु ?” लेखक साथीले बिम्बमा बोल्न सुरु गर्नुभयो । मैले भनेँ, “असार त भ्यागुताहरुको आफ्नै मौसम पनि हो ।” “कुरा त्यति मात्र होइन । शीर्ष भनिने भ्यागुताहरु कमाइमै लागेर कुस्त कमाए । अनि अहालका सवै भ्यागुताले त्यही आदर्श समाते । सबै भ्यागुता मालामाल, सवै भ्यागुता फुलेल । यो सुध्रन त अब शीर्षहरुबाटै अख्तियारले कारवाही सुरु गर्नुपर्छ । सक्छ ?” साथीले प्रश्न राख्नुभयो ।

“सक्दैन !”। मैले भनें “शीर्षहरु टापुमा छन् । त्यहाँ पुग्न अख्तियारलाई बाटो दिइएकै छैन । भानुभक्तले लंङ्कापुरीको बयान गरेका थिए नि—

‘वरिपरि परखाल् खन् बीचबीचमा छ खावा

 सहजसित कसैको लाग्न सक्दैन दाबा ।’

वरिपरि पर्खाल । पर्खालका आडमा गहिरो खाडल । यो तत्कालीन लङ्ंकानिवासी रावणको सुरक्षा व्यवस्थाको बयान थियो । अहिलेका हाम्रा रावणहरुले अख्तियारलाई पर्खाल बाहिर पारेका छन् । कान्लामुनिको भ्यागुतो भन्ने उखान छ नि ! हो त्यस्तै त्यो बिचरो भ्यागुताले कान्लो कसरी उक्लनु ? अनि भ्यागुताहरु आफैं पनि आस्वादनप्रिय छन् ।”

“कुनै भ्यागुता फुलेल, कुनै भ्यागुता कान्लामुनि !” साथी फोनमै हाँस्नुभयो । म पनि हाँसेँ ।

“यसपालि त लाजै भयो । उच्च पदासीनहरु पनि कति निःसहाय । कति निरीह । कप्तानहरु नै यो हालतमा भएपछि जहाजको हालत के हुने ?” साथीले फोनमै खुइँय सुस्केरा हाल्नुभयो ।

“देशवासीलाई देशको चिन्ता त छ नि । चौतर्फी अतिक्रमणले पनि नपुगेर नेपाली जनतालाई बिखै खुवाउन लागिपरेका छिमेकीको अचाक्लीको चिन्ता छ । बिचरा प्रधानमन्त्रीका अवस्थाको पनि चिन्ता छ । जनताको आड लिएर विनम्र हुन सकेका भए प्रधानमन्त्रीजीको यो हालत हुने थिएन !” मैले भनेँ ।

“कतिले नेपाललाई पशुपतिनाथको देश पनि भन्छन् । पशुपतिको अर्को नाम भोले शंकर पनि हो क्यार ! भोले शंकर बैरागी थिए । जनतालाई जोगाउन उनले कालकूट बिख पिए । त्यसपछि उनको नाम नीलकण्ठ भयो । अहिले यस क्षेत्रका मूल हाकिमको नाम त्यस्तै रहेछ । तर उनले आम जनतालाई बिख पिउने नौबतमा पारे !” लेखक साथीको यो अर्को टिप्पणी थियो ।

“कुनै पनि संस्थामा भएका कमीकमजोरीको जिम्मेवार  संस्थाप्रमुख नै हुन्छ हैन र ?” मैले जिज्ञासा राखेँ । “केही राम्रा काम भए भने यीः मैले यति गरेँ ! भनेर छाती फुलाउँदै संस्थाप्रमुख अघि सर्छन् भने गल्ती हुँदा पछि सर्न त मिल्दैन नि !” साथीले भन्नुभयो, “जे होस् हाम्रा प्रधानमन्त्री अहिले आएर बिचरा नै देखिनुभयो !” “भर्खरै देख्यौं र हामीलाई नयाँजस्तो लाग्यो !” म हाँसेँ । “होला । तर पनि जगजाहेर भएपछि जनताले जानकारी लिन्छ होइन र ?” साथीले दृष्टान्त दिन खोज्नुभयो ।

*******

बादशाहको नयाँ पोसाकमा त बादशाह आफ्नै सडकमा  थियो । अब सडक कसको ? गन्तव्य कसको ? नाम मात्रको इसारामा पनि प्रलय ?! यथार्थ ह्वाङ्ंग छ्यांङ्ग भएपछि अब कसले के भनेर ढाकछोप गर्ने ? हाम्रा प्रधानमन्त्रीका लागि समस्या विकराल छ ।

*******

“गीत गाउँदागाउँदै नाच नाँच्दा नाँच्दै मन्चमै वस्त्रालंकार– विहीन  । बादशाहको नयाँ पोसाकमा त बादशाह आफ्नै सडकमा  थियो । अब सडक कसको ? गन्तव्य कसको ? नाम मात्रको इसारामा पनि प्रलय ?! यथार्थ ह्वाङ्ंग छ्यांङ्ग भएपछि अब कसले के भनेर ढाकछोप गर्ने ? हाम्रा प्रधानमन्त्रीका लागि समस्या विकराल छ । अथवा समस्या विकराल छैन । छ भन्दा किन्चित् लज्जा छ । छैन भन्दा लज्जा पनि छैन ।

कठैबरा हाम्रा प्रधानमन्त्री ! आफ्नै निजी अङ्ंगवत् बनिआएका निजी सचिवहरु, सल्लाहकारहरु, मन्त्री र सचिवहरु अरिमट्ठ गाँडमा परिवर्तित हुनसक्छन् भन्ने जानकारी वहाँमा समयमै हुनसकेन । गाँड गजधम्म र अरिमट्ठ भएपछि बिचरो टाउको अघोषित नजरबन्दमा पर्छ भन्ने कुरा शायद वहाँको  शासनशास्त्रमा उल्लिखित छैन । भए पनि अर्कै भाषामा छ । जे भयो पढिएका शास्त्रमा लेखेभन्दा बेग्लै भयो । नितान्त बेग्लै भयो । अनि आड लिनुपर्ने जनताको हो । जनताको आड ढुक्कको आड हो । आफू गज्जबसित अग्लिएँ भन्ने भएपछि जनता होचा लाग्न थाले । आड लिन असुहाउँदा लाग्न थाले । तर पनि अजिंगरको आड लिँदा कुनै पनि समय बित्यासमा पर्न सकिन्छ भन्ने जानकारी पनि आवश्यक थियो । यस्तो हुनु सुखद लक्षण होइन !” साथीले भन्नुभयो ।

“टाठो हुनुहुन्छ । माफी पनि माग्नुभयो । अब सुधार आउला कि ?” मैले भनेँ ।

प्रसङ्ग बदल्दै साथीले भन्नुभयो, अहिलेजस्तै पन्चायतकालमा पनि हाम्रो देशमा विभिन्न नेताहरु हुने गर्थे । मन्त्री प्रधानमन्त्री र सचिवहरु पनि हुने गर्थे । एक जना नेता थिए हाम्रा प्रधानमन्त्रीजस्तै ठट्यौला । उनी प्रधानमन्त्री त भएनन् । मन्त्रीसम्म भएका थिए । मन्त्री नहुँदाका समय उनी वर्षमा एकाध महिना गाउँमा पनि बस्नेगर्थे । मेरो र उनको गाउँ एउटै थियो । हाम्रा काकासँग उनको प्रगाढ मैत्री थियो । साँझ सँगै घुम्न निस्कन्थे । ठट्टाहाँसोका गफ मन पर्थ्यो। म पनि पछि लाग्थेँ । गाउँमाथि मूलबाटोसँगैको थुम्कीमा बेलको रुख थियो  । रुख पुरानो थियो । फेदमा ढुङ्गाहरु बिछ्याइएका थिए । ढुङ्गामा बसेर मुस्कुराउँदै नेताले हाम्रा काकासित भने, “म तपाइँलाई आज तीन चारवटा छोटा कविता सुनाउँछु है ?” “हुन्छ, सुनाउनुस् न । मलाई तपाइँका कविता मन मर्छ नि । कवितामा तपाइँ सत्यवादी हुनुहुन्छ !” काकाले हल्का हाँस्दै भन्नुभयो ।

“ल ठीक छ । मित्रलाई त्यसो भन्न पनि छुट छ !” नेताजीले हाँस्दै कविता सुरु गर्नुभयो ,।  “ल सुन्नुस् पहिलो कविता—

‘नेता थिइयो ।

दगुर्दादगुर्दै, दगुराउँदा दगुराउँदै

प्यादा भइएछ कसैको ।

थाहै भएन ।

पर्‍यो जिन्दगी पासोमा !’

अव यसैको पूरक अर्को कविता सुन्नुहोस्—

‘जथाभावी दगुर्न नहुने थियो

जथाभावी दगुरियो ।

बाटो  नहेरेरै दगुरियो ।

म्याराथुन भनियो

दगुरियो ।

हेर्न बुझ्नतिर लागिएन

दगुरियो ।

फुक्काफाल दगुरियो ।

अहिले खाडलमा परेपछि

थाहा पाइयो

चोक्टा खान दगुरिएको थियो

झोलमा डुबियो

झोल पनि मासुको होइन

आँसुको ।’

अव तेस्रो कविता सुन्नुहोस्—

‘सबै कुरा कुम्लोमै छुटेछ !

कुम्लोमा थियो देशपे्रेम

कुम्लोमै थियो जनसेवा

इमान जमान सबै कुम्लोमै थियो ।

कुम्लोमै थियो जनताको सपना पट्याएर राखेको

परदेशमा बिसाएको थियो कुम्लो

पछि बोकेँ,  हतारमा बोकेँ

अर्कै कुम्लो परेछ !

उतैको कुम्लो परेछ !!

आफ्नो कुम्लो उतै छुटेछ !!!

अहिले खोलेर हेर्छु त कुम्लोमा सर्पको ढक्की छ !

गोमन सर्पको ढक्की !!

अव यसैलाई नचाएर गुजार्नु पर्नेछ

बाँकी जिन्दगी !!!’

अब चौथो र अन्तिम कविता—

‘बोली नै अपहरणमा परेपछि

म के गरुँ ?

म बोल्छु

आफ्नै जिब्रो चलाएर आफ्नै मुखले बोल्छु

आवाज सवै अरुको भइदिन्छ ।

व्यक्त इच्छा आकाङ्ंक्षा सवै अरुको भइदिन्छ ।

भन्नुस् म के गरुँ ?

बोली नै अपहरणमा परेपछि म के गरुँ ?’

मैले त्यतिखेर ती नेताका सबै कविता बुझिनँ । टिप्ने बानी थियो । टिपेँ । पछि पढ्दा मलाई लाग्यो । हाम्रा काकाले भनेजस्तै ती पन्चायती नेता कवितामा सत्यवादी रहेछन् । कविता त्यति मिठासपूर्ण नभए पनि उनको साविती बयानको अभिव्यक्ति रहेछ । अहिले सम्झन्छु पन्चायतकालमा पनि केही यस्ता नेता थिए, जो साँचो बोल्थे । आत्म आलोचना गर्थे । आत्मसुधारका लागि भुटभुटिन्थे ।

गलगाँड र आडका कारणले अहिलेका नेताहरुलाई गाह्रो छ । धेरै गाह्रो छ । हुनसम्म गाह्रो छ ।
Title Photo: https://upload.wikimedia.org

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...