बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिधा जनताका सोझा कविता

शनिबार, २८ असार २०७६, ०८ : ३४
शनिबार, २८ असार २०७६

(१) धमिराहरु विकासका सपना देख्छन्

धमिराहरु सिंहदरबारमा गोलो बनाउँछन्

विभिन्न दरबारमा गोलो बनाउँछन् धमिराहरु

गोलोमा बसेरै स्वादिष्ट समाजबादको भोज खान्छन् 

धमिराहरु समाजवादी छन् ।

चिल्ला पोटिला र टलकदार धमिराहरु

बज्रदन्ते छन् ।

जतिसुकै साह्रो होस् खाद्य, किन्चित् नमानी कोपर्न सक्छन् ।

खान, बुत्याउन सक्छन् ।

कोपर्ने खाने कलामा  खप्पीस छन् धमिराहरु

रातारात जङ्गल सखाप पार्नसक्छन्

टावर ढाल्न सक्छन्

जोेर्नी फुकाल्न सक्छन्

धमिराहरु जहाँ पनि जहिले पनि धमिरा नै हुन्

कमिला कहिल्यै होइनन् ।

पुराना जमानामा पनि हुन्थे धमिरा

खैरा हुन्थे, पहेँला हुन्थे

ती पनि निरन्तर क्षुधातुर रहन्थे

ती पनि स्थापत्य खान्थे ।

अहिले त जहाँ जे पाउँछन् त्यही भसक्क पार्छन्

साटसुट खान्छन्

मान्छेका इतिहास खान्छन्

मान्छेका विगत आगत अनागत सबै खान्छन्

मौका परे मान्छे नै पनि खान्छन्

धमिराहरु ।

पदमा रहँदा पनि समाजकै खान्छन्

पदमा नरहँदा पनि समाजकै खान्छन् ।

धमिराहरु समाजवादी छन् ।

कुनै समय थियो

धमिराहरु पहेँला थिए ।

दुब्ला पातला थिए ।

खाद्यपेय व्यवस्थाको विकासले आज

धमिराहरु राता नीला भएकाछन्

आफ्आफ्ना झण्डा बोकेर बजारमा हिँड्छन् आज धमिराहरु ।

महँगा मोटरमा गुड्छन्

हवाइजहाजमा उड्छन्

आफन्त भेट्न देश विदेश जताततै पुग्छ्न्

धमिराहरु आफन्तमैत्री छन् ।

धमिराहरु देशवादी छन्

आपसमा मिलेरै देश खान्छन् ।

धमिराहरु समाजवादी छन्

आपसमा मिलेरै समाज खान्छन्  ।

तन्नेरी धमिराले तलब भत्ता भनेर खान्छन्

कमिसन खान्छन् । घूस खान्छन् ।

बुढा धमिराले पेन्सन खान्छन् । भूस खान्छन् ।

खाद्यको जे जे नाम दिए पनि धमिराले देश खान्छन् ।

समाज खान्छन्

संस्कृति खान्छन् ।

सर्वभक्षी छन् धमिराहरु

राता हरिया पहेँला सवै पदार्थ खान्छन् ।

पहेँला धमिराले

सिँहासन खाए, धुल्याए

अहिले पछुताएकाछन्

नीला धमिराले आधाआधि खाइसकेको देश

राता धमिराले कब्जा गरेकाछन् । तर पनि

खाने, पचाउने कुरामा धमिरा एक छन्

मिलेर देश खाने सकाउने कुरामा धमिरा एक छन्् ।

गणका नाममा चिनिन रुचाउँछन् नयाँ धमिराहरु

जस्तै नीलगण, लालगण अहिले चल्तीमा छन्

अन्य गणहरु पनि छन् ।

अहिले लालगण धुरीमा पुगेकाछन् ।

सेता चुचुराहरु खाइसके ।

हरिया मैदान चपाउँदैछन् ।

अहिले लालगण मुलुकको खाद्य सत्तामा छन् ।

धमिराहरु गणतन्त्रवादीछन्

धमिराहरु लोकतन्त्रवादी पनि छन्

धमिराका ‘लोक’ धमिरा नै हुन् ।

धमिराले आपूmबाहेक अरु ‘लोक’ चिन्दैनन् ।

धमिराहरु बथानमा चल्छन्,

गोलोमा फल्छन््

धमिराहरु लोकतन्त्रवादी छन् ।

धमिराहरु समाजवादी छन्

धमिराहरुको आफ्नै समाज छ— ‘धमिरासमाज’

‘धमिरासमाज’का लागि धमिराहरु

साँच्चिकै समाजवादी छन्

ध्मिराहरु स्वप्नदर्शी पनि छन्

आजका धमिराहरु लामा लामा सपना देख्छन्

जनताका घर ढालेका सपना देख्छन्

जङ्ंगलका रुख ढालेका सपना देख्छन्

मन्दिर ढालेका सपना देख्छन्

पुस्तकालय धुल्याएका सपना देख्छन्

जतासुकै जेसुकै ढालेका सपना देख्छन् ।

धुलो पारेका सपना देख्छन् ।

धमिराहरु प्रायः धुलोका सपना देख्छन्

जनताका भकारी फोरेका सपना देख्छन्

आफ्ना भकारी बाँधेका सपना देख्छन् ।

धमिराहरु भकारीका सपना देख्छन् ।

हिमालका हिउँ रित्याएका सपना देख्छन्् ।

पहाड खनेर सौन्दर्य सन्तुलन सबै बुत्याएका सपना देख्छन्

जङ्गल फाँडेर तराइ उजाड पारेका सपना देख्छन् ।

स्वप्नदर्शी छन् धमिराहरु

सधैँ विनाशको सपना देख्छन् ।

विकासका नाममा विनाशको सपना देख्छन् ।

+++

(२) सावधान !

सडकमा गुडेका ट्रिपरहरुबाट सावधान

टिपरहरु सत्ता हुन् ,ती शक्तिबान् र व्यापक हुन्छन्

टिपरलाई मुठभेडको मचुल्का चाहिँदैन प्रहरीलाई जस्तो ।

सडकमा कतै पनि प्रकट भएर मान्छे पेल्न सक्छन् टिपरहरु

जहिलेदेखि सत्तामा छन्, पेलिआएका छन्

तपाइँलाई पेलेर आत्मविश्वास बढाउँछन् टिपरहरु

शक्ति र व्यापकता बढाउँछन् ।

टिपरहरु देवताका वाहन हुन्

देवता नै हुन् ।

देवताका शासनमा टिपरहरु दण्डित हुँदैनन् ।

(३)पानी टयाङ्करहरुबाट सावधान!

सडकदेखि गल्लीगल्लीसम्म व्यापक—

पानीटयाङ्करहरुबाट सावधान !!

धर्तीको पानी सित्तै उभाउँछन्, महँगोमा बेच्छन्

यी पनि आजका सत्ताधारी नै हुन् ।

यिनैले मेलम्चीलाई राजधानी छिर्न छेकिआएकाछन् ।

छेक्नुमै नाफा देखेर छेकिआएकाछन् ।

दिनरात नभनी नाफाको गुडानमा छन् टयाँकरहरु

युद्धस्तरको गुडानमा छन् ।

आँखा चिम्लेर गुडानमा छन् ।

नाफा कुम्ल्याउने हतारमा—

यिनले मान्छेलाई कमिला देख्छन्

पिचिक्कै पेलिदिन सक्छन् ।

(४) डोजरहरुबाट साबधान !

एक्जाभेटरहरुबाट सावधान !!

नेपालको समाजवादमा —

नेताहरु डोजर लिएर हिँड्छन्

सहनेताहरु एक्जाभेटर लिएर हिँड्छन् ।

डोजरहरु बाह्रबुँदेकै साझेदार हुन्

समाजवादी लोकतन्त्रकै पहरेदार हुन् 

गाउँ गाउँ पुगेकाछन्, बस्तीबस्ती पुगेकाछन् ।

पहाड पर्बत, खोलानाला, लेकबेसी, बनजंगल

जताततै पुगेकाछन् डोजरहरु

प्रकृत स्थिति भत्काएकाछन्

निर्मित स्थिति भत्काएकाछन् ।

मठमन्दिर पाटीपौवा चौतारी सव भत्काएकाछन्

पहाडलाई क्षतविक्षत पारेकाछन्

तराइलाई मरुभूमीकरणतिर ढालेकाछन् ।

जनताका अतीतमा त डोजर लागि नै सके

अव भविष्यमा पनि लाग्दैछन् डोजरहरु

मुलुकको इतिहास त मेटेर सम्याइसके

अव भाग्यभविष्य पनि मेट्न उद्यत छन् डोजरहरु

आजका शक्तिमान् डोजर र एक्जाभेटरका अगाडि

जनता त केही पनि रहेनन्

भोका भैँसीका अगाडि धानका कलिला बालाजस्तै ।

(५) नेताहरुबाट सावधान

यसै त पेटलाई अपूरणीय खाडल नै भन्छन्

ज्ति अघाए पनि पुनः भोकाउँछन् पेटहरु ।

त्यसमा पनि नेताका पेट

सांसदका पेट

हिमाल पहाड तराइ पूरै खाए पनि नभरिने पेट  ।

भयावह पेट !

अपूरणीय पेट !

अघोषित ब्ल्याक होल !

ब्ल्याक उदर !

कसरी जोगाउने हो देश ?!

कसरी जोगिने हुन् जनता ?!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप