शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसद्वारा उद्धारमा खट्न निर्देशन

शुक्रबार, २७ असार २०७६, २१ : ४५
शुक्रबार, २७ असार २०७६

काठमाडौं-नेपाली काङ्ग्रेसले मुलुकभर वर्षाबाट भएको जनधनको क्षति, राजमार्ग अवरोध र जनजीवन अस्तव्यस्त भएको परिस्थितिलाई ध्यानमा राखी उद्धार कार्यमा खट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । 

काङ्ग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले उद्धारमा सक्रियतापूर्वक लाग्न पार्टी पङ्क्तिलाई परिचालित हुन निर्देशन दिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा पछिल्लो २४ घण्टामा करीब एक दर्जन नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छ । काङ्ग्रेसले सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारको समन्वय र सहयोगमा उद्धार र राहतको कार्यमा सबै निकायलाई युद्धस्तरमा परिचालन गर्न माग गरेको छ । 

प्राकृतिक विपत्को घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपद् व्यवस्थापनमा जुट्न बैठकले अपिल गरेको छ । बैठकमा ‘नेपाली काङ्ग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा समेत विस्तृत छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।  

सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा रामशरण महत, नरहरि आचार्य, डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा.शेखर कोइराला, नविन्द्रराज जोशी, रत्ना शेरचन, शङ्कर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक यही असार २९ गते आइतबार विहान ११ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप