बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारी जग्गा बचाउन खोज्दा यातायात विभागका महानिर्देशक हटाइए

शुक्रबार, २७ असार २०७६, १९ : ००
शुक्रबार, २७ असार २०७६

काठमाडौं– नयाँ बसपार्कक्षेत्रमा रहेको १ सय ६५ सरकारी जग्गाको बचाउ गर्न खोज्दा यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई त्यहाँबाट हटाइएको छ । सोमबारको मन्त्रिपरिषद् वैठकले दाहाललाई आफ्नो जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

विभागका महानिर्देशक दाहालले नयाँ बसपार्कको सरकारी जग्गा कस कसले कसरी अतिक्रमण गरे भनेर खोजबिन सुरु गरेपछि भौतिक पूर्वाधार तथा यातायमन्त्री रघुवीर महासेठले उनलाई तत्काल हटाउन मन्त्रिपरिषद् वैठकमा आइतबार प्रस्ताव लगेका थिए । त्यसको भोलिपल्टै बसेको मन्त्रीपरिषद् वैठकले महानिर्देशक दाहाललाई त्यहाँबाट हटाउने निर्णइ लिएको हो । 

यसरी थालेका थिए दाहालले सरकारी जग्गाको खोजबिन

यसअघि उपभोक्ता हित संरक्षण विभागमासमेत महानिर्देशक रहिसकेका दाहालले यातायात व्यवस्था विभागमा जानेबित्तिकै नयाँ बसर्पाकक्षेत्रमा रहेको सरकारी जग्गाको खोजबिन सुरु गरेका थिए । तत्कालीन समयमा श्री ५ को सरकारको नाममा श्रेष्ता रहेको नयाँ बसपार्कको १ सय ६५ रोपनी जग्गामध्ये करिब ८० रोपनी जग्गा ल्होत्से सहकारीले काठमाडौं महानगरपालिकासँग सम्झौता गरी भोगचलन गर्दै आएको छ । यी जग्गामध्ये करिब ४० रोपनी जग्गा बसपार्कको लागि प्रयोग गरिएको छ भने बाँकी ४० रोपनी जग्गा विभिन्न होटल तथा व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेको छ ।

बाँकी करिब ८५ रोपनी जग्गा भने अहिले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी बसेका छन् । यसै विषयमा असार २२ गते आइतबार काठमाडौं महानगरपालिकासहित ल्होत्से सहकारी स.स्थाका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरुलाई सँगै राखी नयाँ बसपार्कक्षेत्रको जग्गाको सम्बन्धमा खोजबिन सुरु गरेको बताएका थिए ।

त्यतिबेलै महानिर्देशक दाहालले काठमाडौं महानगरपालिकासँग लिखित रुपमा के–कति सम्झौताका आधारमा नयाँ बसपार्कको कति जग्गा ल्होत्से सहकारीलाई दिएको हो र कुन प्रयोजनका लागि दिएको हो भनी माग गरेका थिए । 

आइतबार अपरान्ह १ बजे उक्त छलफल सकिएलगत्तै ल्होत्से सहकारीका प्रतिनिधि दिपक कुँवरले कुमारप्रसाद दाहाललाई महानिर्देशकबाट हटाइदिने धम्कीसमेत दिएको श्रोतले रातोपाटीलाई बताएको छ । 
छलफल सकिएको २ घण्टा अर्थात् आइतबार ३ बजे नै यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाललाई त्यहाँबाट हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । 

त्यसको भोलिपल्ट अर्थात् असार २३ गते सोमबार बसेको मन्त्रिपरिषद् वैठकले विभागका महानिर्देशक दाहाललाई त्यहाँबाट हटाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ ।
दाहाल ४ महिना अघिमात्रै यातायात व्यवस्था विभागमा महानिर्देशक भई आएका थिए । 

यस सम्बनधमा विभागका महानिर्देशक दाहाललाई सोध्दा उनले आफूलाई औपचारिक जानकारी नआएको बताए । उनले भने ‘खै मैले पनि सरुवा भयो रे भन्ने सुनेको छु । तर कुन ठाउँमा सरुवा गरिएको हो भन्ने जानकारी छैन ।’ ४ महिनाको समयमै सरुवा गर्नुको कारण के हो भनी सोध्दा उनले यसबारेमा अहिले नै केही बोल्न नसकिने प्रतिक्रिया दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप