शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली ड्राइभर खडा गरेर यतिसम्म गर्छ प्रहरी, इन्सपेक्टरसहित सई, असई र हबल्दारविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

शुक्रबार, २७ असार २०७६, १८ : ४७
शुक्रबार, २७ असार २०७६

काठमाडौं– रक्षक नै भक्षक भइसकेपछि कसको के नै लाग्छ र । न्याय दिने ठाउँमा रहेका प्रहरी अधिकारी नै न्याय किनबेचमा लागेमा के सम्म गर्न सकिँदो रहेछ भन्ने तथ्य र प्रमाण बाहिर आएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि अपराधी लुकाउन प्रहरीले कस्तोसम्म गर्दोरहेछ भन्ने तथ्य बाहिर आएको हो । 

सवारी ज्यान मुद्दामा नक्कली ड्राइभर खडा गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसी, सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हवल्दार बलबहादुर वलीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

त्यसैगरी दुर्घटना गराउने चालक बोधराज पाण्डे, नक्कली चालक किशुना महतो र मतियार शालिकराम पाण्डेलाई पनि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही गर्न मागदाबी गरिएको छ ।  २०७६ वैशाख ११ गते राती १० बजेर ४० मिनेट जाँदा गैंडाकोट २ नवलपरासीमा बा २० च ११७९ नम्बरको जिपले ठक्कर दिँदा ना २८ प ४७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल शर्मा घाइते बने भने कमली श्रीमती नन्दकली शर्माको मृत्यु भयो ।

दुर्घटना हुँदा जिपको चालक रहेका बोधराज पाण्डेलाई तत्कालै नियन्त्रणमा लिइएको भए तापनि इन्सपेक्टरसहितको मिलेमतोमा गाडीमा सवार नै नरहेका किशुना महतोलाई ड्राइभर बनाई मुद्दा दायर गरिएको थियो । जानकारी हुँदाहुँदै पनि आर्थिक लाभ लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको अभियोगमा इन्सपेक्टरसहित सई, असई, प्रहरी हबल्दार र अन्य ३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

 यस्तो थियो घटना विवरण
२०७६ साल वैशाख ११ गते राती १० बजेर ४० मिनेट जाँदा पूर्वी नवलपरासीको गैंडाकोटमा बा २० च ११७९ नम्बरको जीपले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिन्छ ।  मोटरसाइकललाई ठक्कर दिएलगत्तै मोटरसाइकल चालक कमल शर्मा र निजकी श्रीमती नन्दकला शर्मा गम्भीर घाइते बन्छिन् । त्यसलगत्तै उनीहरुलाई चितवनमा उपचारको लागि लगिन्छ । 
यता दुर्घटना गराएलगत्तै बा २० च ११७९ नम्बरका जीपका चालक बोधराज पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिन्छन् । घटनाको ८ मिनेटमै चालकलाई इलाका प्रहरी कार्यालय गैंडाकोट पुर्याइन्छ । त्यसै समयमा बोधराज पाण्डेले आफू चालक रहेको बयान दिन्छन् । 

इलाका प्रहरी कार्यालयले पनि दुर्घटना भएको र चालक बोधराज पाण्डे नियन्त्रणमा रहेको रिपोर्टिङ जिल्ला प्रहरी कार्यालयमा गर्छ । तर भोलिपल्ट बोधराज पाण्डेका दाई नाता पर्ने शालिकराम पाण्डे एकाएक इलाका प्रहरी कार्यालय गैंडाकोट पुग्छन् । उनी चालक बोधराज पाण्डे, शालिकराम पाण्डे र इन्सपेक्टर लोक बहादुर जिसीबीच चालक परिवर्तन गरी नक्कली चालक खडा गर्ने सहमति हुन्छ । त्यसै सहमति अनुसार वैशाख १३ गते प्रहरीले नक्कली चालक किसुना महतोलाई कार्यालयमा ल्याउँछ । 

तर वैशाख १३ गते नै किशुनोलाई प्रहरी कार्यालयमा ल्याएपनि त्यसको कुनै जानकारी दिइँदैन र वैशाख १५ गते मात्रै महतोलाई चितवनबाट पक्राउ गरिएको नाटक गरिन्छ ।  अनि त्यसको भोलिपल्ट जिल्ला अदालतबाट म्याद थप गरेको नाटक रचिन्छ ।

सक्कली चालकलाई उन्मुक्ति दिई नक्कली चालक खडा गर्नका लागि चालक बोधराज पाण्डेले प्रहरी निरीक्षकसहितको टोलीलाई १० लाख रुपैयाँ दिएको आरोपसमेत लागेको छ ।  इन्सपेक्टरको योजना मुताविक नक्कली चालक खडा गरी सक्कली चालकलाई उन्मुक्ति दिने काममा कार्यालयका सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हबल्दार बलबहादुर वलीले सहयोग गरे ।

सवारी ज्यान मुद्दामा नक्कली चालक किशुना महतोले आरोप स्वीकारसमेत गरेपछि निजलाई ७५ हजार धरौटी बुझाएर छाडिन्छ ।  तर यसबारेमा प्रहरीले नक्कली चालक खडा गरेको र सक्कली चालकलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । 

छानबिनका क्रममा इलाका प्रहरी कार्यालयको सिसिटीभी भिडियो, आरोपीहरु बोधराज पाण्डे, शालिकराम पाण्डे र किशुना महतोसमेतले नककली चालक र कागजात खडा गरिएको स्वीकार गरेपछि उनीहरुसमेत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । 

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कारवाहीको मागदाबी गरेको छ । यस दफाअनुसार नककली कागजात र रिपोर्ट बनाएर पेश गर्ने राष्ट्रसेवक कर्मचारीलाई ३ महिनादेखि १ वर्षसम्मको कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । साथै राष्ट्रसेवक कर्मचारीको भने जागिर जाने पक्कापक्की हुन्छ । 
हेर्नुहोस् कारवाहीसम्बन्धी व्यवस्था

यस्तो छ, अख्तियारको आरोप र मागदाबी
लाका प्रहरी कार्यालय, गैडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जि.सी.ले गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटना घटाउने वास्तविक चालकलाई छोडी नक्कली सवारी चालक खडा गरी थुनामा राखेको भन्ने समेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा वास्तविक चालक बोधराज पाण्डे, नक्कली चालक किशुना महतो र मतियार शालिकराम पाण्डेले झुठ्ठा विवरण दिएको तथा उक्त मुद्दाका अनुसन्धान अधिकृत इ.प्र.का. गैंडाकोटका तत्कालीन प्रमुख लोकबहादुर जि.सी, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देवबहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बलबहादुर वली समेतले गलत अनुसन्धान प्रतिवेदन तयार गरी कसुर गरेको पुष्टि भएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीले घाइते पक्षसँग सहमति कागजमा चालकको नाम किशुना महतो भनी उल्लेख गर्न निर्देशन दिएकोमा प्र.स.नि. देवबहादुर थापाले चालकको नाम किशुना महतो भनी उल्लेख गरी सहमति कागज गरी निज लोकबहादुर जि.सी.ले किशुना महतोलाई इ.प्र.का. गैंडाकोटमा बोलाई कानुनबमोजिम दिनु पर्ने पक्राउ पुर्जी थुनुवा पुर्जीसमेत नदिई स्वास्थ्य परीक्षण बिना नै निज किशुना महतोलाई सम्मानित अदालतबाट अनुमति नै नलिई कानुनविपरीत हिरासतमा राखी घाइते नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएपश्चात निज किशुना महतोको नाममा किटानी जाहेरी पार्ने परिपन्च मिलाई निज लोकबहादुर जि.सी.कै निर्देशनमा निज किशुना महतोलाई पक्राउ गरी बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई वारदातको समयमा चालक नै नभएका किशुना महतोलाई नक्कली चालक खडा गरी वास्तविक चालक बोधराज पाण्डेलाई उन्मुक्ति दिई गलत अनुसन्धान प्रतिवेदन पेश गरेको स्पष्ट देखिन्छ । सवारी दुर्घटनामा मानिसको मृत्यु भएको जस्तो संवेदनशील मुद्दाको गहन अनुसन्धान गर्नुपर्नेमा अपराधमा संलग्न वास्तविक व्यक्तिलाई उन्मुक्ति दिने निरअपराधीलाई दोषी देखाउनेसम्मको कार्य गरेको पुष्टि भएको छ ।

ईलाका प्रहरी कार्यालय गैंडाकोट, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराईले घटनास्थलमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत रही बदनियतपूर्वक भए गरेको कुरा लुकाई छिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरी नक्कली चालक खडा गरेको पाइएको । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक देवबहादुर थापाले इ.प्र.का., गैंडाकोटका तत्कालीन प्रमुख लोकबहादुर जि.सि.को निर्देशनबमोजिम चालक किशुना महतोको नाम उल्लेख गरी सहमति कागज गरेको देखिन्छ, उक्त वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी जानी निजले सो बेला लोकबहादुर जि.सी.को निर्देशनमा चालकको नाम किशुना महतो भनी उल्लेख गरी उक्त वारदातमा वास्तविक चालक परिवर्तन गरी किशुना महतो खडा गरी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी प्रतिवेदन पेश गरेको पाइएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बलबहादुर वलीले वारदातका वास्तविक चालक बोधराज पाण्डे भएको जानी–जानी नै वारदातको समयमा सवारी नै नचलाएका किसुना महतोलाई चालक उल्लेख गरी सडक दुर्घटना प्रतिवेदन तयार पारी भए गरेको कुरा लुकाइछिपाई चालक नै नभएका किशुना महतोलाई चालक भनी सडक दुर्घटना प्रतिवेदन पेश गरेकोमा निजहरू चारजना इलाका प्रहरी कार्यालय गैंडाकोटका तत्कालीन प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जि.सी., प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देवबहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको हुँदा निजउपर सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिइएको छ ।

साथै नक्कली चालक किशुना महतोले आफ्नो साहु बोधराज पाण्डेको लाभको लागि म नै चालक हो भनी झुठ्ठा विवरण दिई अनुसन्धानको क्रममा राष्ट्रसेवकलाई गलत प्रतिवेदन तयार गर्न सहयोग गरेको देखिन्छ । वास्तविक चालक बोधराज पाण्डेले चलाएको बा.२०च. ११७९ नं. को जिप र विपरित दिशाबाट आएको ना.२८ प ४६८५ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाएकोमा निज ईलाका प्रहरी कार्यालय गैडाकोटमा उपस्थित भएको र उक्त रात निजलाई स्वास्थ्य परीक्षण गरी प्रहरी कार्यालयमै राखिएको, चालक परिवर्तन गरेको विषयमा निजले आफ्नो बयान कागजमा वारदातको समयमा जिप चलाउने मानिस किशुना महतो नभै निज बोधराज नै भएको भनी साविती बयान दिएको देखिन्छ, निजले चालक किशुना महतोलाई शालिकराम पाण्डेसँग मिली बनाएको योजना अनुसार चालक हो भन्न लगाई तथा घाइते पक्षसँग सहमतिको समयमा आफ्नो फाइदाको लागि किशुना महतोलाई झुठ्ठा विवरण दिनको लागि तयार गरी चालकको नाम किशुना महतो उल्लेख गरी झुठ्ठा विवरण दिन लगाई अनुसन्धानकर्ता राष्ट्रसेवक प्रहरी कर्मचारीलाई गलत प्रतिवेदन दिन सहयोग पुर्यााइएको।

शालिकराम पाण्डेले बोधराज पाण्डेसँग चालक परिवर्तन गर्ने सल्लाह योजनाबमोजिम नै इलाका प्रहरी कार्यालयका तत्कालीन प्रमुख लोकबहादुर जि.सी.लाई समेत सहमत गराई सोहीअनुसार चालक परिवर्तन गरी नक्कली चालक खडा गरी वारदातको समयमा सवारी नै नचलाएका किशुना महतोलाई चालक हो भनी झुठ्ठा विवरण दिने योजनादेखि कार्यान्वयनसम्मको कार्य निजकै संलग्नतामा भई मतियारको भूमिका निभाएको पुष्टि हुन आएकोमा निजहरू तीन जना नक्कली चालक किशुना महतो, वास्तविक चालक बोधराज पाण्डे र शालिकराम पाण्डेको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुरको मतियार हुने कार्य गरेको हुँदा सोही ऐनको दफा २२ को प्रतिबन्धांत्मक वाक्यांशबमोजिम सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप