मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

देशभक्तिपूर्ण महान जनविद्रोहको रणनीति

शुक्रबार, २७ असार २०७६, १५ : ००
शुक्रबार, २७ असार २०७६

वैज्ञानिकहरुका अनुसार सन् २०३६ मा एक शक्तिशाली छुद्र ग्रह पृथ्वी नजिक आउँदैछ । पृथ्वीको सतहबाट आठ हजार किलोमिटर बाहिर गयो भने ठीकै छ । अन्यथा गुरुत्वाकर्षणको प्रभावभित्र आयो भने छुद्र ग्रह पृथ्वीमा ठोकिने छ, जसरी पाँच करोड वर्ष पहिले त्यस्तै छुद्र ग्रह मेक्सिकोमा ठोकिएको थियो । त्यसले पृथ्वीको जीव अस्तित्व र वनस्पति सम्पूर्ण रूपमा विनाश गरेको थियो । स्मरणीय छ, स्टेफन हकिङ्सको ब्रह्माण्ड विज्ञानका आधारमा ब्रह्माण्डका पिण्डहरुबीच एकता–सङ्घर्ष– रूपान्तरणको गतिशीलताले नै समयको इतिहास रचना गर्छ ।

विज्ञान चिन्तनका अभियन्ता तुलसीदास महर्जनको प्रस्तुतिमा मेक्सिकोमा ठोकिएको छुद्र ग्रहको प्रहारका कारण पृथ्वीको माटो भीषण धुवाँ र धुलो बनेर उड्यो । आकाशमा कुइरीमण्डल छायो । सूर्यको प्रकाश छेलियो । लामो समय पृथ्वीमा प्रकाश देखा परेन । परिणाम, जीव अस्तित्व र वनस्पतिको विनाश हुन गयो । त्यही बेला डाइनोसरहरु समाप्त भए ।

परन्तु, अँध्यारोमा पनि बाँच्न सक्ने एक जीव, उदाहरणका लागि मुसा जस्तो, सुरुङमा लुकेर बस्यो । आकाशको धुवाँमण्डल विस्तारै हट्दै गएपछि त्यो जीव सुरुङबाहिर निस्क्यो । त्यसैको प्राकृतिक एवम् भौतिक रूपान्तरणले जीवनको अस्तित्व रक्षा गर्यो ।

खड्ग ओली सरकारको ‘अर्को सुगौली सन्धि’

उत्तर छिमेकी चीन र संयुक्त राज्य अमेरिकाबीच व्यापारिक नाममा युद्ध भड्किँदो छ । चीनले ओबीओआरको विकास रणनीतिले विश्वमा आफ्नो साम्राज्य विस्तार गर्दैछ । त्यसविरुद्ध अमेरिकाले इन्डो प्यासिफिक रणनीतिको सैनिक आक्रमणबाट आफ्नो साम्राज्य जोगाउन खोजिरहेको छ । भर्खरै दक्षिण चीन सागरमा अमेरिका, भारत, जापान र फिलिपिन्सले एक हप्ताको संयुक्त सैनिक अभ्यास गरे । जसलाई, चीन विरुद्ध प्रदर्शन भनिएको छ । जहाँको चट्टानी टापुमा भव्यतम विमानस्थलसहित पाँच लाख चिनियाँ जनमुक्ति सेना तैनाथ रहेको बताइन्छ ।

*******

चीनले ओबीओआरको विकास रणनीतिले विश्वमा आफ्नो साम्राज्य विस्तार गर्दैछ । त्यसविरुद्ध अमेरिकाले इन्डो प्यासिफिक रणनीतिको सैनिक आक्रमणबाट आफ्नो साम्राज्य जोगाउन खोजिरहेको छ

*******

इन्डो प्यासिफिक रणनीति गणतन्त्र नेपाललाई अर्को अफगानिस्तान बनाउने र साम्राज्यवादी युद्धको दुश्चक्रमा फसाउने खतरनाक सैनिक आक्रमण हो । हिजो सोभियत सङ्घविरुद्ध जसरी अमेरिकाले अफगानिस्तानलाई अखडा बनाएको थियो, त्यसरी नै उत्तरी छिमेकी चीनविरुद्ध नेपाललाई अखडा बनाउने अमेरिकी सैनिक आक्रमणको नाम नै इन्डो प्यासिफिक रणनीति हो । अतः गणतन्त्र नेपालको शान्ति र स्वाधीनता रक्षार्थ सुरुदेखि नै नेकपा (माओवादी केन्द्र) इन्डो प्यासिफिक रणनीतिविरुद्ध डटेर खडा भएको छ ।

दोस्रो पटक खड्ग ओली प्रधानमन्त्री बनेलगत्तै एक अमेरिकी सैनिक अधिकारी नेपाल आए । सन् २०१९ को सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका गए । सञ्चार जगतमा चर्चा चल्यो, प्रदीप ज्ञवालीले अमेरिकी विदेश मन्त्रीसँग दुई बुँदे सम्झौता गरे । सन् २०१९ को जुन महिनामा अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले इन्डो प्यासिफिक रणनीतिबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्यो । त्यस प्रतिवेदन अनुसार ‘नेपाल इन्डो प्यासिफिक रणनीतिको साझेदार देश बनेको र उक्त रणनीतिमा नेपालले केन्द्रीय भूमिका खेल्नेछ ।’ अमेरिकी प्रतिवेदनअनुसार त्यस रणनीतिका साझेदार मुलुकहरुको नाम र अवस्थिति हेर्दा चीन विरुद्धको रणनीति हो भनेर प्रष्ट बुझ्न सकिन्छ ।

*******

‘नेपालले केन्द्रीय भूमिका खेल्नुपर्ने’ विषय नेपालमा अमेरिकी सेनाको प्रधान कार्यालय स्थापना र सञ्चालन गरिनेबाहेक अरू हुन सक्दैन । त्यसको थालनी मुस्ताङमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यासबाट भइरहेको छ ।

*******

‘नेपालले केन्द्रीय भूमिका खेल्नुपर्ने’ विषय नेपालमा अमेरिकी सेनाको प्रधान कार्यालय स्थापना र सञ्चालन गरिनेबाहेक अरू हुन सक्दैन । त्यसको थालनी मुस्ताङमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यासबाट भइरहेको छ । जनयुद्धमा माओवादीलाई दमन गर्न अमेरिकी योजना, तालिम, प्रविधि र पैसाले जुन रेन्जर बटालियन खडा गरियो, सूचनाअनुसार रेन्जर बटालियनलाई ब्रिगेड हुँदै डिभिजन तहमा पुर्याउन मुस्ताङमा दुई सेनाको अभ्यास गरिएको हो ।

नेपाललाई इन्डो प्यासिफिक रणनीतिको कथित साझेदार बनाउने र त्यसबापत पाँच सय मिलियन अमेरिकी डलरको अनुदान लिने सम्झौतामा प्रदीप ज्ञवालीले हस्ताक्षर गरेका छन् । सत्तासीन पार्टीकै एक उच्च नेताको भनाइमा भर्खरै सीआईएका एक अधिकारी नेपाल आए । उनलाई सोध्दा अमेरिका र नेपालबीच इन्डो प्यासिफिक रणनीतिबारे लिखित सम्झौता भएकै हो भनेका छन् । समग्र सूचनाका आधारमा खड्ग ओली र प्रदीप ज्ञवालीले दोस्रो सुगौली सन्धि गरिसकेका छन् । चद्रशेखर उपाध्याय र गजराज मिश्रको घृणित अवतारमा ती बदलिइसकेका छन् ।

नेपाली भूगोलको सामरिक महत्त्व

जनगणतन्त्र चीन घोषणाको वर्षदिन वित्दै गर्दा युग पाठकका अनुसार एक अमेरिकी मिसन टोलीले राणा सरकारलाई नेपाली रूपैया २,२०० ऋण दिएर गयो । त्यो नै नेपालमा पहिलो विदेशी ऋण थियो । दलाई लामालाई माओ त्सेतुङले चिनियाँ जनकङ्ग्रेसको उपाध्यक्ष बनाएर सम्मानित गरे । तर अमेरिकी उक्साहटमा नेपालको मुस्ताङमा खम्पा विद्रोह गराइयो, दलाई लामा चीन छाडेर प्रवासित बने । चीनविरुद्ध फ्री तिब्बतको नारा यसरी अमेरिकी योजना र भारतीय सहयोगमा खडा गरियो । जसले नेपाललाई सार्वभौमिकता रक्षाको सङ्कटमा धकेलेको छ ।

*******

सिन्धुपाल्चोकमा उडाइएको भारतीय सैनिक हेलिकप्टर चीनको सिमानाभित्र घुसेका कारण विरोध भएको र भारतले मौखिक रूपमा गल्ती स्वीकार गर्नुपरेको घटना राष्ट्रियताप्रति संवेदनशील नेपालीले विर्सन मिल्दैन ।

*******

भूकम्प पीडितको उद्धारको बहानामा भारतीय सेनाले नेपालमा कस्तो हर्कत गर्यो, सम्बन्धित पक्षको भुक्त भोगाइले नेपाली सार्वभौम सत्तामाथि चर्को प्रहार भएको बताउँछ । सिन्धुपाल्चोकमा उडाइएको भारतीय सैनिक हेलिकप्टर चीनको सिमानाभित्र घुसेका कारण विरोध भएको र भारतले मौखिक रूपमा गल्ती स्वीकार गर्नुपरेको घटना राष्ट्रियताप्रति संवेदनशील नेपालीले विर्सन मिल्दैन । दोलखामा अमेरिकी सैनिक हेलिकप्टर खस्यो । व्यापक तथ्यहरुको विश्लेषण गर्दै पत्रकार नरेश ज्ञवालीले खसेको नभएर अमेरिकी सैनिक हेलिकप्टर खसालिएको आलेख प्रकाशित गरे । उद्धारको बहानामा अमेरिकी हेलिकप्टर उत्तरी भूगोलको तस्बिर खिच्दैथ्यो । आफ्नो सार्वभौमिकताप्रति संवेदनशील तथा दृढ प्रतिबद्ध शक्तिले सहन गर्ने कुरै भएन ।

चिनियाँ प्रधानमन्त्री चाओ एन लाई, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु, इन्डोनेसियाका सुकार्नो तथा घानाका नासेरहरुको भारी प्रयत्नबाट वाङ्डुङ सम्मेलनमा राष्ट्रसङ्घले पञ्चशीलको सिद्धान्त स्वीकार गर्यो । पञ्चशीलमध्ये एक असंलग्न परराष्ट्र नीति हो, जसलाई नेपालको संविधानले अख्तियार गर्ने भनेको छ । सिद्धार्थ गौतम बुद्धको पञ्चशीलबाट निर्देशित देखिने संविधानले अख्तियार गरेको पञ्चशील सिद्धान्त विशेषतः नेपाल जस्तो मुलुकका निम्ति अपरिहार्य आवश्यक छ ।

त्यति मात्र होइन, निजी क्षेत्रलाई बुझाउने गरी पारमाणविक भट्टी सञ्चालनको विधेयक खड्ग ओलीले ल्याएका छन् । नेपालको सन्दर्भमा, राष्ट्रिय स्वाधीनताको संवेदनशील प्रश्नमा पारमाणविक भट्टी बाँदरको हातमा नरिवल मात्र बन्न सक्छ । जसले राष्ट्रियता र मानवीयता ध्वस्त पार्नबाहेक अरू काम गर्दैन । यसरी अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादसामु ‘लम्पसार राष्ट्रवादी’ खड्ग ओलीले संविधानको असंलग्न परराष्ट्र नीतिको धज्जी उडाउँदै गणतन्त्र नेपाल ध्वस्त पार्ने गरी अर्को सुगौली सन्धिको अपराध दोहो¥याएका छन् ।

चिनियाँ प्रशासनको तयारी हेर्दा फ्री तिब्बत सहज छैन । तर हङ्कङको संसद भवनभित्र आन्दोलनकारी भनिनेहरु चीनविरुद्ध बेलायती झण्डा फहर्याउँछन् । चीन र ताइवानबीचको सामुद्रिक आकाशमाथि अमेरिकी सेनाको जहाजले हस्तक्षेपकारी चक्कर लगाउँछ । चीन र अमेरिकाबीच ब्यापार युद्धले अमेरिकी अर्थतन्त्रमा तीव्र सङ्कट उत्पन्न गरिरहेको छ । यो परिदृश्यमा फ्री तिब्बतको दुर्घटना बढाउन काठमाडौँ–ल्हासाबीच भौगोलिक दूरीको हिसाबले मात्र होइन, लालफित्ते पुँजीवादीहरुको दलालीको पराकाष्ठाले समेत नेपाली भूगोल अमेरिका र भारतले अनुकुल ठानेका छन् । जसको परिणाम नेपाली सार्वभौमिकताको डकैतीपूर्वक अपहरण मात्र हुनेछ ।

अब देशभक्त महान जनविद्रोहको रणनीति !

अमर सहिदहरुको रगतको मूल्यमा स्थापित गणतन्त्र नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता मात्र होइन, नेपाली मानव जातिकै संहार गर्ने साम्राज्यवादी रणनीतिको प्रतिरोधमा दृढतापूर्वक खडा हुनु नेपाली जनताको राष्ट्रिय आत्मनिर्णयको अधिकार हो । बाह्य साम्राज्यवादलाई प्रतिरोध गर्दै नेपालको सत्तामा घुसेका राजनीतिक दल तथा चन्द्रशेखर उपाध्याय र गजराज मिश्रका घृणित अवतारहरुलाई उखेलेर फाल्न सर्वहारावर्गको नेतृत्वमा देशभक्तिपूर्ण महान जनविद्रोहको तयारी नै वैज्ञानिक रणनीति हुनेछ ।

डा. सुरेन्द्र केसी लगायत विश्लेषकहरु आर्थिक राष्ट्रवादको कुरा गर्छन् । आर्थिक राष्ट्रवादका लागि सर्वप्रथम ‘राष्ट्र’ निश्चित हुनुपर्छ, पर्दैन ? अवश्य पर्छ । हो, त्यही नेपाली राष्ट्र सुनिश्चितताका लागि देशभक्त महान जनविद्रोहको सघन तयारी गर्नुपर्छ । सुगौली सन्धिले ६० हजार वर्ग किलोमिटर भूमि गुमाउनुपरे पनि, गोर्खा फौजको नाममा नेपाली युवाहरुलाई बेच्ने राष्ट्रिय अपराध भए पनि, सन् १९५० को असमान सन्धिले कुण्ठित गरे पनि तथा विस्तारवादी भारतीय दबावमा विषालु तरकारी सेवन गराएर नेपाली जनता मार्ने मानवताविरुद्ध सरकारी अपराध भए पनि मेची र महाकालीबीचको नेपाल ऐतिहासिक एवं कानुनी रूपले सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हो ।

*******

सुगौली सन्धिले ६० हजार वर्ग किलोमिटर भूमि गुमाउनुपरे पनि, गोर्खा फौजको नाममा नेपाली युवाहरुलाई बेच्ने राष्ट्रिय अपराध भए पनि, सन् १९५० को असमान सन्धिले कुण्ठित गरे पनि तथा विस्तारवादी भारतीय दबावमा विषालु तरकारी सेवन गराएर नेपाली जनता मार्ने मानवताविरुद्ध सरकारी अपराध भए पनि मेची र महाकालीबीचको नेपाल ऐतिहासिक एवं कानुनी रूपले सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हो ।

*******

नेपालको आर्थिक, भौतिक, सामरिक सुदृढीकरण इतिहासको निर्माता देशभक्त नेपाली जनताले गर्नैपर्छ । त्यसमा प्रगतिशील दृष्टिकोणका अन्तर्राष्ट्रिय जनमत सहयोगी रहनेछ । कुनै पनि वस्तुको विकास र विनाशको कारण आन्तरिक हुने मान्यतामा सर्वप्रथम महान जनविद्रोहको तयारीमा देशभक्त नेपालीहरु सङ्गठित हुनैपर्छ ।

उपरोक्त तथ्य विवरणले नेपाललाई ध्वस्त पार्न इन्डो प्यासिफिक रणनीति आएको, त्यस रणनीतिको उपाध्यक्षको भूमिकामा भारत देखिएको र खड्ग ओली सरकारले दलालीकरणको पराकाष्ठा नाघेको पृष्ठभूमिमा महान जनविद्रोहको रणनीतिमा नेकपा (माओवादी केन्द्र) ले टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा उठाउने निर्णय गर्यो । टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा उठाउने पहिलो राजनीतिक दल, त्यसमा पनि कम्युनिस्ट पार्टीको यो पहिलो निर्णय हो । फेरि टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दाले नेपालमा राष्ट्रिय स्वाधीनताबारे सघन बहस उठान गर्ने र देशभक्त जनक्रान्तिको मार्ग सुदृढ गर्ने अपरिहार्यता निश्चित गर्छ ।

सन् १८१६ को सुगौली सन्धिबाट नेपाल अर्ध–औपनिवेसिक अवस्थामा धकेलिएको हो, भन्ने नेपाली कम्युनिस्टहरुको विश्लेषण रहँदै आएको छ । यसलाई सत्य मान्ने हो भने नेपालमा राष्ट्रिय स्वाधीनताको आन्दोलन त्यही सुगौली सन्धिबाट प्रारम्भ गर्नुपर्छ । स्वाधीनता गुमेको इतिहासको विश्लेषण सुगौली सन्धिबाट गर्ने तर स्वाधीनताको खोजी भने १९५० को असमान सन्धिबाट गर्ने तरिका किमार्थ ऐतिहासिक भौतिकवादी हुँदैन । अतः सुगौली सन्धिबाट गुमेको राष्ट्रिय स्वाधीनता टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा सशक्त ढङ्गले उठाएर मात्र हुन्छ । बहस तथा अनुसन्धानको क्रममा इतिहास विश्लेषणको नयाँ रेखा कोरियो भने स्वतः विचार गर्न सकिन्छ ।

*******

नेपाली कम्युनिस्ट आन्दोलनको कार्यभार राष्ट्रियता, जनवाद र जनजीविकाको तीन कार्यभार हो । तर नेपाली कम्युनिस्ट आन्दोलनको केन्द्रीकरण नितान्त जनवादी अर्थात लोकतान्त्रिक आन्दोलनमा सीमित हुने गरेको छ । कम्युनिस्टहरूले देशभक्तिपूर्ण राष्ट्रिय क्रान्तिलाई प्रमुखता दिएको पाइँदैन ।

*******

नेपाली कम्युनिस्ट आन्दोलनको कार्यभार राष्ट्रियता, जनवाद र जनजीविकाको तीन कार्यभार हो । तर नेपाली कम्युनिस्ट आन्दोलनको केन्द्रीकरण नितान्त जनवादी अर्थात लोकतान्त्रिक आन्दोलनमा सीमित हुने गरेको छ । कम्युनिस्टहरूले देशभक्तिपूर्ण राष्ट्रिय क्रान्तिलाई प्रमुखता दिएको पाइँदैन । परिणाम, जनवादी अर्थात लोकतान्त्रिक आन्दोलन दलाल पुँजीवादमा पतन हुने गरेको छ । अतः जनवाद र जनजीविकाको सवालमा दृढ रहँदै मुख्यतः देशभक्त जनप्रतिरोध क्रान्ति सुदृढीकरणमा जोड दिनु नै माओवादी कम्युनिस्टहरुको तात्कालिक राष्ट्रिय कार्यभार हो ।

नेपाली समाजको ऐतिहासिक विकासक्रममा राष्ट्रियताबारे यहाँ सामान्यतः दुईवटा मनोविज्ञान मौजुद देखिन्छ । सामुदायिक हिसाबले हेर्दा दलितका निम्ति विशेषाधिकारसहितको समानुपातिक प्रणाली र आदिवासी तथा मधेसीका निम्ति पहिचान आधारित स्वायत्तता जति महत्त्वपूर्ण छ । खस–आर्यका निम्ति टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा त्यतिकै महत्त्वपूर्ण छ । ओली र प्रचण्डका कारण कमजोर बनेको पहिचान आन्दोलनमा माओवादी कम्युनिस्टले प्राथमिकता नदिने हो भने पहिचानको प्रगतिशील राजनीति साम्राज्यवाद तथा विस्तारवादको सुराकीमा बदलिँदै छ ।

यसरी देशभक्तहरु, विशेषतः खस–आर्यको मनोविज्ञान सम्बोधनबाटै देशभक्तिपूर्ण महान जनविद्रोह उठान वस्तुसङ्गत बन्छ । उत्पीडित वर्ग, जाति, क्षेत्र, महिलाको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी राष्ट्रिय एकीकरण सुनिश्चित गर्न सकिन्छ ।

कम्युनिष्टहरुले देशभक्त महान जनविद्रोहबारे उदासीनता देखाउने तर राष्ट्रवादको नारा भने मण्डलेहरुले कब्जा गरिरहने नियतीको अन्त्य नगरेसम्म नेपालमा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको मार्ग प्रशस्त हुनै सक्दैन । साम्राज्यवाद तथा विस्तारवादविरुद्ध जबसम्म देशभक्त जनप्रतिरोध क्रान्ति सुदृढ गरिँदैन, तबसम्म यहाँ राजनीतिक, आर्थिक तथा सामरिक क्षेत्रको स्वाधीनता सुनिश्चित गर्न सकिँदैन ।

*******

कुनै पनि मानिस, यदि ऊ माओवादी कम्युनिस्ट हो भने उसले विश्व जनसङ्ख्याको व्यवस्थापन गर्ने रणनीतिक जिम्मा लिनुपर्छ न कि थपिने जनसङ्ख्या । हामीलाई थाहा छ, तत्कालीन गोर्खाली सेनाको चरम ज्यादतिका कारण महाकाली पश्चिमका जनता नेपालप्रति नकारात्मक धारणा राख्छन् ।

*******

कतिपय मानिस टिष्टा–काँगडा फिर्ता सम्भव नै छैन, यो अवस्तुवादी र आत्मरति मात्र हो भन्छन् । फेरि तिनै मानिस फिर्ता भइहालेमा भारतीय जनसङ्ख्या थपिने डरले थरथर काँप्छन् । कुनै पनि मानिस, यदि ऊ माओवादी कम्युनिस्ट हो भने उसले विश्व जनसङ्ख्याको व्यवस्थापन गर्ने रणनीतिक जिम्मा लिनुपर्छ न कि थपिने जनसङ्ख्या । हामीलाई थाहा छ, तत्कालीन गोर्खाली सेनाको चरम ज्यादतिका कारण महाकाली पश्चिमका जनता नेपालप्रति नकारात्मक धारणा राख्छन् । मेचीपूर्वकालाई पनि गोर्खाल्याण्ड भए पुग्ने देखिन्छ । तर त्यहाँको जनताको प्रश्न टिष्टा–काँगडा फिर्तापछि छलफल गर्ने विषय हो कि उनीहरु गणतन्त्र नेपालमा रहन चाहन्छन् या स्वतन्त्र राष्ट्र निर्माण ? उनीहरुको राष्ट्रिय आत्मनिर्णयको अधिकार स्वीकार गर्नुपर्छ ।

परन्तु, टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा नेपाली जनताको ऐतिहासिक मुद्दा हो, देशभक्त भीमसेन थापाप्रतिको श्रद्धाञ्जलीको प्रश्न हो । गद्दारीपूर्वक नै भए पनि सुगौली सन्धि अङ्ग्रेजसँग भएको हो न कि भारत । १९५० को असमान सन्धि भने भारतसँग भएको हो । त्यसबाट उत्पन्न असमानता खारेज गर्नुपर्छ । फेरि दोहोर्याएर भन्नुपर्छ, टिष्टा–काँगडा फिर्ता आन्दोलनले मात्र इन्डो प्यासिफिक रणनीतिको प्रतिरोध एवम् विद्यमान नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेप र सीमा अतिक्रमण विरुद्ध आवाजलाई प्रखर बनाउन सकिन्छ ।

अन्त्यमा, इन्डो प्यासिफिक रणनीतिको परिणाम छुद्र ग्रहको ठक्करले पृथ्वीमाथि उत्पन्न गर्ने दुर्दशा बराबरको सङ्कटमा नेपाललाई धकेल्दैछ । तर इन्डो प्यासिफिक रणनीतिको खारेजी भनेर जनसाधारणमा प्रत्यक्ष बोधगम्य हुने स्थिति बनिसकेको छैन । बरु त्यस साम्राज्यवादी रणनीतिको उपाध्यक्षको भूमिकामा देखिने भारतद्वारा अपहरित टिष्टा–काँगडा फिर्ता आन्दोलन जनसाधारण नेपालीका निमित्त बोधगम्य हुन्छ र  देशभक्तिपूर्ण महान जनविद्रोहको रणनीतिले प्रभावकारिता बढाउँछ । स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीहरु, भारतीय गोर्खा फौज र बेलायत तथा सिङ्गापुर गोर्खा प्रहरीका सबैले देशभक्तिपूर्ण महान जनविद्रोहको झण्डा उठाउनै पर्छ । गणतन्त्र नेपालको अग्रगामी अर्थ–राजनीति देशभक्त महान जनविद्रोहको यही रणनीतिमा निर्भर गर्छ ।

Title photo: https://pictures.ozy.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल किराती
गोपाल किराती
लेखकबाट थप