शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डुबानमा रौतहट : बागमती र बकैया नदीमा बाँध फुट्यो

शुक्रबार, २७ असार २०७६, १३ : २९
शुक्रबार, २७ असार २०७६

रौतहट । पछिल्लो तीन दिनदेखिको अविरल बर्षासँगै जिल्ला स्थित नदीहरुमा आएको बाढीले रौतहटको अधिकांश स्थान डुबानमा परेको छ ।

पूर्वमा रहेको बागमती नदीमा पानीको स्तर लगातार बढदै गएको छ भने पश्चिमी भेगस्थित लालबकैया नदीमा लगातारको बाढीले एकस्थानमा बाँध टुटेको छ ।

जिल्लाको अन्य आधादर्जन स्थानमा बाँधमा कटान जारी रहेको छ ।

बाढीको कारण कटहरिया नगरपालिका वडा ४ हर्षाहा गाँउभन्दा दक्षिण लालबकैया नदीको पुलको बीचमा झण्डै २० फिट बाँध कटान भएको छ ।

नदीमा आएको बाढीको कारण आज बिहान नौबजे कटहरियास्थितको उक्त बाँध र गढीमाई नगरपालिका लक्षमीपुरस्थित बागमती नदीमा बाँध काटिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र सिंहले जानकारी दिएका छन् ।

कटहरिया स्थित लालबकैयाको बाँधको कटानबाट कटहरिया ४ र ५ का बजार क्षेत्र डुबानमा पर्ने जोखिम बढेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बागमतीको बाँध टुटेर धनहारी, गमहरीया, पिपरा रजवाडा लगायतका गाँउ डुबानमा हुने खतरा बढेको छ ।

टुटेको बाँधमर्मतका लागी कुनै निकायबाट समाचार तयार पार्दासम्म पहल नभएको स्थानीय रामचन्द्र गोसाईंले दुखेसो पोखेका छन् ।

अविरल वर्षाको पानीले गौर, बनजरहा, औरैया, बंकुल, बेलबिछवा,बडहरवा लगायतका गाँउहरु डुबानमा परेको जिल्लाप्रहरी प्रमुख एसपी भुपेन्द्र खडकाले जानकारी दिएका छन् ।

त्यसैगरी बागमती नदी र लालबकैया नदी छेउका अधिकांश गाँउका घरहरुमा पानी पस्न थालेको छ ।

वर्षाको पानीले जिल्लाको हजारौँ बिगहा धानखेत डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

बर्षाको पानीले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर भन्दा पुर्वपटी रहेको लचकामा पानी जमेर आज बिहानैदेखि बन्द रहेको यातायात केहीबेर अघिदेखि सञ्चालनमा आएको जिल्ला टफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक बिजय श्रेष्ठले जानकारी दिएका छन् ।

अबिरल बर्षाको पानीले जिल्ला सदरमुकाम गौर चन्द्रपुर, गरुडा, कटहरिया बाहेक प्रायः सबै सडकखण्डमा पानी जमेर यातायात प्रभावित भएको छ ।

बाढीको पानीले सिमावर्ती भारतीय बजार बरगिनिया नजिक फुलवरीया घाटको सडक बगाएपछि पुलबाट मोटरसाइकल सहित बकैया नदीमा खसेका ईसनाथ नगरपालिकाका एकजना युवाको बिहीवार डुबेर ज्यान गएको थियो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटले अविरल वर्षासँगै बागमती,लालबकैया, झाँझ, चाँदी लगायतका नदीमा पानीको स्तर बढदै गएकाले सचेत रहन जिल्लावासीलाई अनुरोध गरेको छ ।

अबिरल बर्षाको पानी र बाढीको पानीले गाँउ डुबान हुने खतरा रहेकाले तयारी खाना, पिउने पानी लिएर सुरक्षित स्थानमा रहन जिल्ला प्रहरीले आग्रह गरेको छ ।

घरमा रहेको महत्त्वपूर्ण कागजात, नगद रुपैयाँ पोलिथिनमा राखी सुरक्षित साथमा राख्न र बालबालिकालाई एकलै कतै बाहिर निस्कन नदिन प्रहरीले विभिन्न सञ्चारमार्फत अुनरोध गरीरहेको छ ।

सिडिओ किरण कुमार थापाले जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार जोखिमबाट बचाउन पूर्व तयारीमा नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी २४ घण्टा तयार रहेको बताए ।

सीमावर्ती क्षेत्रका भारतिय सुरक्षा प्रमुखसँग समेत समन्वय भएको र जिल्लाको सबै स्थानिय तहलाई विपदको अवस्थामा नगर, गाँउ, वडा स्तरबाट तत्काल सहयोग तथा राहत सञ्चालन गर्न निर्देशनसमेत दिएको सिडिओ थापाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप