केन्द्रीय संस्करण

आडम्बर, ढोङ र समाजवाद

person explore access_timeअसार २६, २०७६ chat_bubble_outline0

वर्तमान विश्व अर्थराजनीतिमा पुँजीवाद हावी रहेको छ । वस्तुतः पुँजीवाद रुप भनेको असीमित नाफा र सम्पत्ति कमाउने अर्थराजनीतिक सम्बन्ध हो । यो खुल्ला, स्वतन्त्र र प्रतिष्पर्धात्मक बजारमा आधारित हुन्छ ।

जसरी र जेगरेर भए पनि अरूले भन्दा बढी नाफा र सम्पत्ति आर्जन गर्ने आत्मकेन्द्रित व्यक्तिवादी अर्थराजनीतिको सार नै पुँजीवाद हो । अझ कसैसँग आवश्यकताभन्दा बढी र कसैसँग न्यूनतम आवश्यकता पनि परिपूर्ति नहुने असमान र गैरन्यायिक सामाजिक पद्धति नै पुँजीवाद हो । यसको प्रधान पक्ष अधिक नाफा र धन आर्जन गर्नु हो । सबैलाई समान अवसर भनिए पनि वस्तुतः आधारभूत जनता वञ्चितीमै परिरहेको हुन्छ ।

     तर यसले आज आफ्नो परम्परागत गुण गुमाइसकेको छ । आफ्नो शास्त्रीय विरासतमा धेरै यौगिक तत्व मिसाइसकेको छ । इतिहासको गतिसँगै रूपान्तरण हुनेक्रममा पुँजीवादले आज विषम र विचित्र स्वरूप धारण गरिरहेकोछ । यसैक्रममा यसले दलाल पँुजीवादी चरित्र ग्रहण गरिसकेको छ । आर्थिक विकास गरे पनि मान्छेलाई प्रगतिशील, विवेकी, स्पष्ट र पारदर्शी भने बनाउन सकेन । परिणामस्वरूप सुकृती र थितिभन्दा विकृती र बेथिति संस्थागत भइरहेको छ । यही दलाल पुँजीवादी अर्थराजनीतिको सांस्कृतिक अस्त्र भनेको उपभोगवाद हो । यसकारण आज सबै नागरिक नितान्त भाते, स्वादे र भोगविलाशे मात्र नभएर चरम आडम्बरी र ढोंगी बनिरहेका छन् ।
 

   खास गरेर मानव समाजलाई दिशानिर्देश गर्ने मुख्य पक्ष भनेको समकालीन अर्थराजनीति नै हो । केन्द्रीय अर्थराजनीतिको मूलभूत विशेषताहरुनै तपशीलका सामाजिक सत्ताहरुमा अभिव्यक्त हुनेगर्छ अर्थात राष्ट्रिय राजकीय अर्थराजनीतिक सम्बन्ध अनुरूप नै राष्ट्र, समाज, समुदाय, दल, गुट, नेता, कार्यकता अनि सर्वसाधरण जनताका जीवन–व्यवहार, आचरण र मनोविज्ञान निर्धारण हुनेगर्छ । यसकारण समस्या विश्व अर्थराजनीतिको वर्गचरित्रमा देखिन्छ । राष्ट्रिय राजनीतिक प्रवृत्तिमा रहेको छ, साथै समस्या समग्रमा रहेको छ । अंशमा होइन । त्यसैले यसको समाधन समकालीन अर्थराजनीतिको समग्र पक्षहरुमा खोज्नुपर्छ । तर दल, समूह, व्यक्ति र अंशमा मात्र खोजिएको समाधनको कुनै राजनीतिक अर्थ छैन किनकि निकृष्ट स्वार्थ र चरम व्यक्तिवादी चिन्तनले बिटुलिएको विकृत अर्थराजनीतिक धरातलमा कोही बुद्ध बनिदिए हुन्थ्यो भनेर सोच्नु वैचारिक राजनीतिक दरिद्रता मात्र हो । यो बनिबनाउ अचेत चाहना मात्र हुनपुग्दछ । 
 

   यसकारण राष्ट्रिय अर्थराजनीतिक चरित्र, पद्धति र प्रवृत्ति प्रधान पक्ष हो । जताबाट हिसाब गरे पनि व्यक्ति  गौण नै हुन्छ । पछिल्लो समय सङ्घीयदेखि स्थानीय सरकारसम्मको सार्वजनिक पदमा बसेका व्यक्तित्वहरुले औपचारिक कार्यक्रममा सलामी लिएको सन्दर्भले नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको छ । सिद्धान्ततः यसमा अग्लो पिर्का, टेबल र मुढामाथि उभिएर सलामी लिनेहरूको कुनै दोष छैन ।

सलामीको लागि अग्लो ठाउँ बन्दोबस्ती गर्ने आयोजकहरुलाई पनि गाली गर्नु बेकारछ किनभने यो वस्तुतः केन्द्रीय अर्थराजनीतिक सांस्कृतिक स्कुलिङको स्वाभाविक अभिव्यक्ति हो । उनीहरुलाई कुन वा कस्तो किसिमको अर्थराजनीतिले दिशानिर्देश गरिरहेको छ भन्ने मुख्य सवाल हो । यसबाट के प्रष्ट हुन्छ भने, अझै पनि हाम्रो समाज उपभोगी, आडम्बरी र ढोँगी पुँजीवादी अर्थराजनीतिद्वारा निर्देशित रहेको छ ।      
   

 यसरी केन्द्रीय अर्थराजनीति नै आडम्बर, ढोँग र अति औपचारिकताद्वारा निर्देशित भएपछि व्यक्ति वा अंशमा मात्रै क्रान्तिकारी जीवन–व्यवहार खोज्नु विज्ञानसम्मत कुरा होइन । यो भनेको मुहानमा लेदो मिसाएर दोभानमा दुई चार घैला सफा पानी खन्याएर खोला सङ्ग्ल्याउने सपना देख्नु जस्तै हो । समकालीन अर्थराजनीतिले राष्ट्रपतिदेखि सर्वसाधरणसम्मको सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली, कार्यशैली र आचरणगत बुझाइ निर्धारण गरिरहेको हुन्छ । अर्थात सबै राजकीय सामाजिक सत्ताहरु अर्थराजनीतिद्वारा निर्देशित र परिचालित हुन्छ ।  
   

 अघिल्लो वर्ष सम्माननीय राष्ट्रपतिको भड्किलो र रवाफिलो सवारीको सन्दर्भले सनसनी पैद गरेको थियो । अग्लो आसनबाट सलामी लिने र दिने घटना त सामन्य भइसकेको छ । सम्पूर्ण सामाजिक तथा सांस्कृतिक कर्मकाण्डहरु पनि चरम आडम्बरको दलदलमा फसेको छ । तर उपभोगवादी अर्थराजनीतिक पद्धतिमा यसलाई अनौठो मान्नु हुँदैन । उपभोगवादी समाजमा आडम्बर सामन्य प्रक्रिया हो । सिङ्गो समाजको सांस्कृतिक मनोवैज्ञानिक सेट नै यसैले निर्धारण गर्छ । यस्तो सामाजिक सत्तामा औपचारिकता, शिष्टता, श्रद्धावाद र सम्मानवाद हाबी हुन्छ । जबरजस्तरूपमा शक्ति, श्रेष्ठता र कनिष्ठताको सीमारेखाहरु खडा गरिन्छ । राजनीतिक सफलता र असफलता नै यसको कलात्मक उपयोगको भाष्यमा निर्भर हुनेगर्छ । 
 

   वास्तवमा आडम्बरी प्रवृत्ति पुँजीवादी अर्थराजनीतिको सांकृतिक अभिव्यक्ति हो । औसत जनताभन्दा विशिष्ट वा सुपर ठान्ने मनोविज्ञानको सांस्कृतिक अभिव्यक्ति नै मानसम्मान, ढोँग र आडम्बरहरु हुन् । मूलतः वर्गीयरूपमा सामन्तवादी शासकहरुले आफ्नो शक्ति, श्रेष्ठता र सम्पन्नतालाई सुदृढ गर्ने सिलसिलामा नै औपचारिकतावाद, सम्मानवाद र आडम्बरवादको जन्म भएको देखिन्छ । यसले उचो–निचो बीचको मनोवैज्ञानिक कित्ताकाट गराउँदै आएको छ अर्थात शासकीय हैकम र प्रभुत्वलाई सुदृढ गर्नेक्रममा आडम्बरी र भड्किलो संस्कृति विकास भएको देखिन्छ । यो शासक र शासित बीचको दरारलाई कायम राख्ने चिन्तन अन्तर्गत संस्थागत गरिएको सांस्कृतिक आयाम हो । 

यो वस्तुगत तथ्यलाई मनन् गर्दा के प्रष्ट हुन्छ भने, आज पनि हामीसँग सामन्तवादी चिन्तन विद्यमान रहेको छ । शासक वर्गीय श्रेष्ठता र सोच्ने मनोवैज्ञानिक प्रक्रियाहरु पुरानै देखिन्छ । शासन प्रणालीको रूप र शासकहरु परिवर्तन भए । नाम, अनुहार, रूप, वर्ण र पात्रहरु फेरियो । दलीय राजनीतिक रणनीति र स्वार्थ परिवर्तन भयो । नयाँ नयाँ लोकप्रिय नारा र भाषणहरु धेरै लगाइए । जनता असाध्यै सचेत भएका छन् तर राजनीतिक वर्गचरित्र, प्रवृत्ति, चिन्तन, मनोविज्ञान र आचरण परिवर्तन हुन सकेको छैन अर्थात सतहमा राजनीतिक रङ फेरिए पनि भित्री अन्तर्वस्तु उस्तै छ । अर्थराजनीतिको गुणात्मक परिवर्तनबिना पद्धति र प्रवृत्तिमा रूपान्तरण सम्भव हुँदैन । प्रवृत्ति वा मनोविज्ञान रूपान्तरण नगरी आडम्बरहरुको अन्त्य सम्भव छैन । पटक पटकको परिवर्तनकारी आन्दोलनहरुको बाबजुत पनि औसत जनताले साँचो परिवर्तनको अनुभूति गर्न नसक्नु सत्ताको राजकीय चरित्रमा गुणात्मक परिवर्तन नहुनु नै हो । शाह, राणा र पञ्चायतकालीन औपचारिकता र आडम्बर गणतन्त्रमा अझ फेसन जस्तो भइरहेको छ । पञ्चायती चुनावभन्दा आजको गणतान्त्रिक चुनाव झनै आडम्बरी, तडकभडक, खर्चालु र औपचारिक हुँदैछ । त्यसैले मूलतः पुँजीवादी अर्थराजनीतिक पद्धतिमैै विकराल समस्या देखिन्छ । व्यक्तिगत र अंशगत रूपमा कसैलाई आलोचना गर्नु बेकार हो । यो केवल गाली गरेर आत्मसन्तुष्टी लिने तरिका मात्र हो ।

पछिल्लो समय नेपाली समाजमा उपभोगवादी आडम्बर महामारी जस्तो फैलिएको छ । जन्मोत्सव, पास्नी, गुन्युचोली, विवाह, भोजभतेर, मृत्युलगायतका सम्पूर्ण सामाजिक–सांस्कृतिक कर्महरु पूरै आडम्बरी तडकभडक, इज्जत र प्रतिष्ठाको विषय बनाइँदैछ । यस्तो अनुत्पादक क्षेत्रमा गरिएको लागनीले उन्नत समाज स्थापना गर्दैन । तर यो कुनै व्यक्ति, समूह, दल, समुदाय, जाति, क्षेत्र, लिङ्ग र वर्ग विशेषमा मात्र सीमित सवाल होइन । यो अर्थराजनीतिद्वारा निर्देशित राष्ट्रिय समस्या हो । यो असाध्यै खर्चिलो, भड्किलो, भाते, स्वादे, भोगविलासी र बोइलरी अनुत्पादक संस्कृति हो । उदाहरणका लागि चुनावको टिकट पाउँदा, चुनावी अभियानमा जाँदा, विजयी बन्दा अनि विजयपछिको जिम्मेवारी सम्हाल्नेक्रममा गरिने समग्र औपचारिक र आडम्बरी हर्कतहरु यसको ज्वलन्त नमुनाहरु हुन् । यसरी टिकट लिँदा, निर्वाचन लड्दा, विजयी हुँदा दिइने अत्यधिक औपचारिक बधाई, सम्मान र सफलताको शुभकामना कार्यक्रमहरु नै उपभोगवादी आडम्बरको असली उदाहरणहरु हुन् । 

वर्तमान अर्थराजनीतिमा सलामी लिने, पुष्प गुच्छा, खादा र फूलमाला लगाई माग्ने र लगाउने दुवैले आडम्बरी संस्कृतिलाई प्रश्रय दिइरहेको छ । यस्तो आडम्बरलाई जसले कलात्मक ढङ्गले अनुसरण गर्न सक्दैन ऊ राजनीतिको मूल पर्वाहबाट किनार लाग्दै जान्छ किनकि आडम्बरी समाजमा कुनै व्यक्ति, समूह, समुदाय, दल र वर्गको अस्तित्व र सफलता आडम्बर, ढोङ्ग र औपचारिकताको ट्याक्टफुल व्यवस्थापनमा निर्भर हुन्छ । यसमा क्रान्तिकारी विचार, सिद्धान्त, काम र इमानदारिता भन्दा पनि आडम्बरी भावना, ढर्रा, ढोँगी र तडकभडकपूर्ण जीवनशैली निर्णायक हुन्छ । यो नितान्त गैरकम्युनिस्ट संस्कृति हो । तथापि यसमा कम्युनिस्टहरुले गैरकम्युनिस्टलाई अझ पछाडि पारिरहेको देखिन्छ । यो कम्युनिस्ट आन्दोलनलाई जीवन सम्झेर होमिनेहरुका लागि खेद, लज्जा, पीडा र विडम्बनाको विषय हो । यस्तो प्रवृत्तिले हामीले भन्दै आएको समाजवाद पनि कोरा कल्पनामा सीमित हुनेदेखिन्छ । 
   

 यसरी पुँजीवादी अर्थराजनीतिमा काम र परिणामभन्दा हल्ला खल्ला, प्रचार, तडक–भडक, भाषण, नारा, प्रतिबद्धता वा वाचाकसमहरु बढी गरिन्छ । कतिपय निर्णयहरु त विज्ञापनकै लागि मात्र गरिन्छ । यसमा साम, दाम, दण्ड र भेद हाबी हुन्छ । समग्र चुनावी प्रक्रिया, कार्यक्रम, अधिवेशन, सम्मेलन, वैठक, गोष्ठी, सभा–समारोह, संस्कार, संस्कृति र भोजभतेर लगायत सबै कर्मकाण्ड हुनेगर्छ । भ्रमण र सवारीहरु पनि आडम्बर र रवाफिलो हुन्छ । हुँदाहुँदा सबैभन्दा धेरै, ठूलो अनि गह्रौँ माला, खादा र पुष्पगुच्छाद्वारा सम्मान र स्वागत गर्ने आडम्बरको प्रतिष्पर्धा नै चलिरहेको छ । महँगो होटलमा अति औपचारिक तामझामसहित जन्मदिन र विवाह मनाउने भड्किलो प्रवृत्ति विचारणीय छ । यो सामन्य सांस्कृतिक कर्ममा मात्र सीमित छैन । यसैको कभरमा कसैको पहल, लोकप्रियता, सफलता, सक्रियता र गतिशीलता नाप्ने गरिन्छ । आडम्बरी सौन्दर्य पक्षको बलमा नै चुनावी राजनीतिक भविष्य सुदृढ गर्ने विडम्बनापूर्ण अवस्था छ । अब भन्नुहोस्, वर्तमान अर्थराजनीतिक दिशा र हाम्रो समाजवादी गन्तव्य बीचको रसायन मिलिरहेको छ कि छैन ? प्रश्न असाध्यै गम्भीर छ ।

      गणतन्त्रमा राष्ट्रपति लगायतका सार्वजनिक पदमा बसेका व्यक्तित्वहरुको आडम्बरी र ढोँगी जीवनशैली र आचरणले आम नागरिक झस्किनु स्वाभाविकै हो । यद्यपि यो अंशगत वा सहायक पक्ष नै हो । गणतन्त्रको वर्गचरित्र, पद्धति र विधिमा कति गुणात्मक रूपान्तरण भयो भन्ने कुरा मुख्य हो । यता हामी राजनीतिक परिवर्तन भयो भनेर दाबी गरिरहेका छौँ । तर आज पनि पुरानै औपचारिकता, आडम्बर र भड्किलो जीवन व्यवहार नियाल्दा राजनीतिमा गुणात्मक परिवर्तन भएको देखिन्न । यसको मूलभूत चरित्र बदलिएको छैन । त्यसैले राजनीतिक चरित्रको गुणात्मक रूपान्तरणबिना आडम्बरी र ढोँगी मनोवैज्ञानिक प्रवृत्तिको अन्त्य हुनसक्दैन । राजकीय पद्धतिगत परिवर्तनबिना कसैले समाधन देख्छ भने त्यो बनिबनाउ चाहना मात्र हुनपुग्छ । यसमा हामी स्पष्ट र सचेत हुनैपर्छ ।
 

   त्यसैले मूलतः समस्या अर्थराजनीतिक सम्बन्धमा हो । यसद्वारा निर्देशित सामाजिक सांस्कृतिक प्रवृत्तिमा हो । मुख्य समस्या दल, समूह, नेता र व्यक्तिमा होइन । पुँजीवादी अर्थराजनीतिक पद्धतिको सांस्कृति अभिव्यक्ति उपभोगवादी हुनेगर्छ । नियमतः यस्तो सांस्कृतिक सम्बन्धले औपचारिकता, आडम्बर, ढोँग र ढर्रालाई अनिवार्य सामाजिक जीवन पद्धति बनाउँछ । वस्तुतः अनुत्पादनशील र उपभोगवादी ढोँग र आडम्बरले समाजवादी अर्थराजनीतिक रणनीतिको सेवा गर्दैन । यसका लागि उत्पादनशील समाजवादी सांस्कृतिक पद्धति जरुरी हुन्छ । तसर्थ समाजवादी अर्थराजनीतिक पद्धतिद्वारा निर्देशित प्रगतिशील संस्कृतिको सुनिश्चितताबिना कुनै पनि खालको आडम्बरहरुको अन्त्य सम्भव छैन । आडम्बरहरुको अन्त्यबिना वास्तविक समाजवादको कल्पनै गर्न सकिन्न । यसमा कम्युनिस्टहरू गम्भीर बन्न जरुरी छ ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...