बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कङ्गारुबिरुद्ध हारको शृङ्खला रोक्दै २७ वर्षपछि फाइनलमा पुग्ला इङ्ल्याण्ड ?

बिहीबार, २६ असार २०७६, १० : ००
बिहीबार, २६ असार २०७६

विश्वकप क्रिकेटको दोस्रो सेफिफाइनल खेल बिहीबार बर्मिङ्घमको एजब्यासटन मैदानमा अस्ट्रेलिया र इङ्ल्याण्डबीच हुँदैछ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

अस्ट्रेलियाली टोली आठौँ पटक सेमिफाइनल खेल्नेछ । यसभन्दा अघि अस्ट्रेलियाले हरेक पटक सेमिफाइनल खेल जितेको छ । अर्कोतर्फ इङ्ल्याण्ड अन्तिम चारमा पुगेको यो छैटौँ पटक हो । पछिल्लो ५ सेमिफाइनलमा इङ्ल्याण्डले तीनमा जीत र दुईमा हार बोहोरेको छ ।

इङ्ल्याण्ड पछिल्लो पटक सन् १९९२ मा फाइनलमा पुगेको थियो तर फाइनलमा पाकिस्तानसँग पराजित भएको थियो ।

आजको विजेता टोलीले जुलाई १४ मा हुने फाइनलमा न्युजिल्याण्डको सामाना गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।

अस्ट्रेलिया र इङ्ल्याण्ड दोस्रो पटक प्रतियोगितामा आमनेसामने हुँदैछन् । पछिल्लो पटक अस्ट्रेलियाले इङ्ल्याण्डलाई समूह चरणको खेलमा ६४ रनले पराजित गरेको थियो ।

अस्ट्रेलिया र इङ्ल्याण्ड ४४ वर्षपछि सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन् । पछिल्लो पटक अस्ट्रेलियाले सन् १९७५ को विश्वकपको सेमिफाइनलमा इङ्ल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।

सन् १९९२ देखि विश्वकपमा इङ्ल्याण्डबिरुद्ध अस्ट्रेलिया अपराजित

अस्ट्रेलियाले विश्वकपमा सन् १९९२ पछि इङ्ल्याण्डबिरुद्ध एउटा खेल पनि हारेको छैन । ५ मार्च १९९२ मा सिड्नी क्रिकेट ग्राउन्डमा इङ्ल्याण्डले ८ विकेटको जीत हासिल गरेको थियो । त्यसयता अस्ट्रेलियाले इङ्ल्याण्डलाई चार पटक हराएको छ । आजको खेलमा अस्ट्रेलियाले जीतको शृङ्खलालाई कायम राख्ने प्रयास गर्नेछ भने इङ्ल्याण्ड हारको क्रममा ब्रेक लगाउन चाहनेछ ।

हेड टु हेड

दुई टोलीले हालसम्म एकअर्काबिरुद्ध १४८ एक दिवसीय खेल खेलेका छन् । जसमा अस्ट्रेलियाले ८२ तथा इङ्ल्याण्डले ६१ खेल जितेको छ, २ मा बराबर र २ मा नतिजा आउन सकेन । विश्वकपमा अस्ट्रेलियाको पल्ला भारी रहेको छ । विश्वकपमा खेलिएका ८ खेलमा अस्ट्रेलियाले ६ र इङ्ल्याण्डले २ खेल जितेको छ । इङ्ल्याण्डमा हालसम्म दुई टोलीबीच ६९ खेल भएको छ जसमा इङ्ल्याण्डले ३४ र अस्ट्रेलियाले ३१ खेल जितेको छ । दुई खेल बराबरी भएको छ भने दुई खेलमा नतिजा आउन सकेन ।

मौसम र पिच रिपोर्ट

बर्मिङ्घममा खेलको दौरान वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ दिनभर आकाशमा बादल छाउन सक्छ । तपक्रम १९ देखि २३ डिग्री सेल्सियसको आसपास हुनेछ । यहाँ पिचले ब्याटसम्यानलाई मद्दतले गर्ने अनुमान गरिएको छ त्यसैले टस जित्ने टोलीले सम्भवतः पहिलो ब्याटिङ गर्नेछ ।

अस्ट्रेलियाको सबल पक्ष

ओपनर डेविड वार्नर यस विश्वकपमा सबैभन्दा बढी रन बनाउनेमा दोस्रो स्थानमा छन् । वार्नरले ९ पारीमा ८१ को औसतले ६३८ रन बनाइसकेका छन् । यस दौरानको उनको स्ट्राइकरेट ९८.३३ रहेको छ । उनले तीन शतक र तीन अर्धशतक लगाइसकेका छन् । इंङ्ल्याण्डबिरुद्ध पछिल्लो खेलमा उनले ५३ रन बनाएका थिए ।

त्यस्तै, अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क पछिल्लो विश्वकपमा म्यान अफ द सिरिज चुनिएका थिए । यस विश्वकपमा सोही प्रदर्शन दोहोराउँदै ९ खेलमा सर्वाधिक २६ विकेट लिइसकेका छन् । उनले दुई पटक चार विकेट र दुई पटक पाँच विकेट लिएका छन् । इङ्ल्याण्डबिरुद्धको पछिल्लो खेलमा पनि स्टार्कले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यतिबेला उनले ४ विकेट लिएका थिए ।

अस्ट्रेलियाको चिन्ता भनेको अलराउन्डर ग्लेन म्याक्सवेलको फर्म रहेको छ । उनले ९ पारीमा मात्र २२.१४ को औसतले १५५ रन बनाएका छन् । यद्यपि उनको स्ट्राइक रेट भने १६३.१६ रहेको छ । बलिङमा पनि उनले खासै कमाल देखाउन सकेका छैनन् ।

इङ्ल्याण्डको सबल पक्ष

तीन खेलमा चोटका कारण बाहिर रहेका जेसन रोयले भारतविरुद्धको खेलमा पुनरागमन गरेका थिए । उक्त खेलमा उनले ६६ रन बनाए । यसपछि न्युजिल्याण्डविरुद्ध उनले ६० रन बनाए । रोयले ५ पारीमा ६८.२० को औसतले ३४१ रन बनाएका छन् ।

यता, बलिङमा युवा खेलाडी जोफ्रा आर्चरले विश्वकपमा १७ विकेट लिइसकेका छन् । यद्यपि, उनले कुनै पनि खेलमा ४ वा ५ विकेट लिन सकेका छैनन् । तैपनि उनले सही समय सही विकेट लिन खप्पिस छन् ।

यो विश्वकपमा इङ्ल्याण्डको कमजोरी भनेको स्पीनरर्स बनेका छन् । आदिल रशीद र मोइनल अलीले क्रमशः ८ र ५ विकेट मात्र लिन सकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप