बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अल्जेरियाद्वारा चीनले अघि सारेको बिआरआई सम्झौता अनुमोदन

बुधबार, २५ असार २०७६, १७ : ५३
बुधबार, २५ असार २०७६

अल्जियर्स– अल्जेरियाले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बिआरआई) कार्यक्रमलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । अल्जेरियाको एपीएस समाचार संस्थाका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरिया गत वर्ष सेप्टेम्बरमा सहभागी भएको थियो ।

बिआरआई सम्बन्धी सहमतिपत्रमा अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले हस्ताक्षर गर्नुभएको र त्यसलाई सरकारी राजपत्रमा प्रकाशन गरिएको छ । राष्ट्रपतिको आदेशमा अल्जेरिया र चीनले पूर्वाधारका क्षेत्रमा पारस्परिक लाभ तथा दुबै पक्षबीच सहमति भएका अन्य क्षेत्रमा आपसी सहयोगलाई बढावा दिइने उल्लेख छ । 

सन् २०१८ को सेप्टेम्बर ४ मा बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहयोग मञ्चको बैठकका अवसरमा अल्जेरिया र चीनबीच बिआरआईमा सहभागी हुनेबारे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सन् २०१३ मा चीनले प्रस्ताव गरेको बिआरआईले सिल्करोड आर्थिक क्षेत्र तथा एक्काइसौं शताब्दीको म्यारिटाइम सिल्करोडलाई समेट्छ । यस कार्यक्रम मार्फत एसियासँग युरोप, अफ्रिका र अन्य क्षेत्रलाई जोडेर व्यापारलाई बढावा दिने तथा पूर्वाधारको विशाल सञ्जाल निर्माण गरिनेछ ।

अल्जेरियाले हाल विशाल पूर्वाधार परियोजनाहरु निर्माण गरिरहेको र त्यसलाई बिआरआई कार्यक्रममा समावेश गर्न प्रयास गरिरहेको छ । 

विगत छ वर्षदेखि नै अल्जेरिया चीनको प्रमुख आर्थिक साझेदार रहिआएको छ । दुबै मुलुकबीच करिब ९ अर्ब डलरको वार्षिक व्यापार हुने गरेको छ । सन् २००९ को पहिलो पाँच महिनामा चीनले करिब ३ अर्ब ५० करोड डलर बराबरका सामग्री अल्जेरिया निकासी गरेको थियो । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप