‘संसारको छानो’ र ‘विश्वको तेस्रो खम्बा’ मानिने यस्तो छ तिब्बत

person access_timeसाउन २६, २०७४ chat_bubble_outline0
SHARES


नेत्र पन्थी 

–प्रा. हु सेसङ चीनको थिङ्क ट्याङ्क मानिने सीआईसीआरआरका अध्येता हुन् । जुलाई अन्तिमसाता बेइजिङस्थित नेपाली दूतावासको कार्यक्रममा उनले पेश गरेको कार्यपत्रमा नेपाल–तिब्बत सम्बन्धका केही पहलु छन् । फ्री तिब्बत मामलामा नेपालको भूमिकाको उनले प्रशंसा गरेका छन् । 


‘हामी दुवै देशका राष्ट्रिय स्वार्थका मुद्दामा एकअर्काप्रति संवेदनशील छौँ । चीन–नेपाल र भारत दुवैसँगको सम्बन्धका हकमा सतर्क रहँदै आएको छ । नेपाललाई भारत र चीनमध्ये एक रोज्नुपर्ने अवस्था आउन नदिन हामी सचेत छौँ । नेपालका सरकारहरूले पनि नेपालमा स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधि रोक्न सकारात्मक भूमिका खेलेका छन् ।’ उनको कार्यपत्रमा छ, ‘चीनबाट अवैध रूपमा हुने तिब्बतीको आप्रवास रोक्न ठूलो प्रयास जारी छ । २००५ पछि यो सङ्ख्या ह्वात्तै घटेको छ । त्यसअघि बर्सेनि २००० तिब्बती नेपालको बाटो भई तेस्रो देश जाने गरेकोमा २००५ मा राजा ज्ञानेन्द्रले यसमा कडाइ गरेपछि त्यसमा कमी आएको हो । हाल करिब १०० तिब्बतीले त्यसो गर्ने गरेको पाइन्छ । काठमाडौँको चीनमैत्री नीतिकै कारण दलाई लामाले अहिलेसम्म नेपालको भ्रमण गरेका छैनन् ।’


दलाई लामाले अहिले भारतमा निर्वासित जीवन विताइरहेका छन् । दलाई लामालाई संरक्षण गरेको भनेर चीनले बेला–बेला असन्तुष्टि राख्दै आएको छ । सैन्य शक्तिमा होडवाजी गरिरहेका तथा परम्परागत दुस्मनीजस्ता देखिने चीन–भारत पछिल्लो डोकलाम तनाव नेपालका लागि पनि चिन्ताको विषय छ । यद्यपि नेपालले यो मामलामा तटस्थ बस्ने बताएको छ । 

०००

–सन् १९६० को चीनसँगको युद्धपछि भारतले तिब्बतमा रहेको आफ्नो कूटनीतिक नियोग बन्द गर्यो । चीनको स्वसाशित क्षेत्र तिब्बतमा कूटनीतिक नियोगको सङ्ख्या आजको दिनमा एक मात्र छ । ल्हासामा नेपालको वाणिज्य दूतावास मात्रै छ । अर्थात् तिब्बतमा रहेको एक मात्र कूटनीति नियोग हो यो । यसको पुरानो इतिहास छ । सन् १८५६ मा वकिल अफिस भनेर नेपालको कूटनीतिक कार्यालय खुलेको थियो तिब्बतमा । १९५५ मा जब नेपाल–चीनबीच कूटनीति सम्बन्ध स्थापित भयो, अर्को वर्ष सन् १९५६ मा नेपाली महावाणिज्य दूतावास ल्हासा भनेर नाम परिवर्तन भयो । दूतावासको भवन अब चिनियाँ सरकारले नै बनाइदिने तयारी छ ।


चीन भ्रमणमा जाने नेपालका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि ल्हासाको वाणिज्य दूतावास पुगेका हुन्छन् । असार दोस्रो साता पूर्वप्रधानमन्त्री ओली मानसरोवर गएका थिए र त्यसबेला अधिकांश समय ल्हासामै विताए । त्यसअघि बोआओ फोरममा भाग लिन चीन गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ल्हासा पुगेका थिए । सन् २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव पनि बोआओ फोरममा भाग लिएर ल्हासा आएका थिए । त्यहाँ उनी तीन दिन बसेका थिए । पूर्व उपराष्ट्रपति परमानन्द झा दुई पटक ल्हासास्थित वाणिज्य दूतावास पुगे । तिब्बत सरकारका अधिकारी पनि बेला–बेला ल्हासास्थित नेपाली वाणिज्य दूतावास पुग्छन् । तिब्बतमा झन्डै पाँच सय नेपाली छन् । 

०००

यी दुई उदारण नेपाल–तिब्बतबीच सम्बन्धको महत्व र संवेदनशीलता जनाउन पर्याप्त छन् । पश्चिमा मिडिया र भारतीय मिडियाले तिब्बतको नाम दलाई लामा, कमजोर मानव अधिकार अवस्था र चीनको अन्य प्रान्तको तुलनामा भएको कम विकाससँग जोड्छन् । रणनीतिक भूभाग मानिने तिब्बतमा चिनियाँ चासो पनि उत्तिकै छ । अझ चीन–भारतबीचको डोकलाम विवादले तिब्बतलाई फेरि चर्चामा ल्याएको छ, कारण डोकलाम तिब्बतसँग जोडिए छ । डोकलामले बेइजिङ र दिल्लीको सम्बन्ध तनावपूर्ण बन्दैछ । एकले अर्कालाई धम्कीपूर्ण भाषा प्रयोग गरिरहेका छन् । दुवै पक्ष सैन्य तयारीमा पनि देखिन्छन् । 

०००
डोकलाम विवाद चलिरहेकै बेला २०१७ को जुलाई अन्तिम साता नेपालका पाँच मिडिया हाउसका सम्पादक÷समाचार प्रमुखले तिब्बत भ्रमण गरे, जहाँ उनीहरुले तिब्बतको इतिहास, विकास, अर्थतन्त्र, पर्यटन, संस्कृति र भूगोलका बारेमा बुझ्ने र कुरा गर्ने मौका पाए । काठमाडौँबाट बुझिएको तिब्बत र ‘ग्राउन्ड जिरो’मै पुगेर बुझेको तिब्बतबीच केही अन्तर देखिए । बेइजिङले तिब्बतमाथि गरिरहेको व्यवहार र दिएको ध्यान पनि भ्रमणको बुझ्ने मौका थियो । ल्हासादेखि सिगात्सेसम्म होस वा बेइजिङमै पुग्दा नै किन नहोस्, भ्रमणको सम्पूर्ण विषयवस्तु तिब्बत नै थियो । पश्चिमा मिडियाको तिब्बतमाथिको आफ्नै खालको प्रस्तुति र डोकलाम विवादका कारण तिब्बतलाई नजिकबाट बुझ्ने चाहना हुनु पनि  स्वभाविक नै थियो । 

०००

तिब्बतको सिगात्सेबाट नेपालको केरुङसम्म रेल मार्ग बनाउने चर्चा भैरहन्छ । चीनले यसलाई रणनीतिक रेलमार्गका रुपमा लिएको छ । पिपुल्स कङ्ग्रेसको सन् २०१६ को वैठकमा सीमा क्षेत्रसम्म रेल लैजाने योजना तिब्बत सरकारका प्रमुखले पेश गरेका थिए । तर, सन् २०१७ मा यस्तो भएन । चिनियाँ अधिकारीहरुले ल्हासास्थित नेपाली अधिकारीहरुलाई चीनको १३औँ पञ्चवर्षीय योजनामा सीमामा रेल लैजाने योजना छ । चीनका अधिकारीहरुले अनौपचारिक कुराकानीमा सिगात्से–केरुङ रेल मार्गका लागि ७२ बिलियन युयान खर्च हुने बताएका छन् । यो रेल लाइनको सर्भे पूरा भएको बताइएको छ । 


सिगात्सेदेखि केरुङसम्मको रेललाइन निर्माणको बहसले नेपाल–तिब्बत सम्बन्धलाई थप चर्चामा ल्याइरहेको छ । कूटनीतिज्ञ हीरण्यलाल श्रेष्ठ ल्हासा–केरुङ रेलमार्गको कुरा उठाएर नेपाल–तिब्बत सम्बन्धको इतिहास देखाउँछन् । केही दिन अगाडि एक दैनिक पत्रिकमा उनले ‘पुरानो रेशम मार्गका संस्थापक महामञ्जुश्री’ शीर्षकमा लेख लेखे, जहाँ सन् २०२० मा ल्हासाबाट केरुङसम्म रेल जोडिएपछि हिमाली रेशम मार्गको आधुनिकीकरण हुने र  केरुङ दक्षिण एसिया छिचोल्ने चीनको प्रवेशद्वार हुने उल्लेख छ । 


‘महामञ्जुश्री (चिनियाँ भाषामा वेन सु) प्राचीन बौद्ध धर्मका एक स्थापित बोधिसत्व हुन् ।  नेपाल र दक्षिण एसिया बाहिर मान्यता प्राप्त पहिलो बोधिसत्व महामञ्जुश्री नै हुन् ।  उत्ताइ सान मञ्जुश्रीको निवासस्थान हो । ...चीनको उत्ताइ सानबाट मञ्जुश्रीले यात्रा प्रारम्भ गर्नुभयो । कठिन हिमाल पार गर्नुभयो । त्यस बेला ठूलो पोखरीका रूपमा रहेको काठमाडौँ उपत्यकाको चोभारमा निकास खोलेर उहाँले यहाँ मानव बस्ती बसाल्नुभयो ।’ श्रेष्ठ इतिहास कोट्याउँदै लेख्छन्, ‘मञ्जुश्री उताइ सानबाट नेपाल आउनु भएको स्यम्भूको दर्शन गर्नका लागि हो ।  त्यसैबेलादेखि चिनियाँहरू स्वयम्भू र लुम्बिनी आउने, नेपालीहरू उताइ सान र कैलाश मानसरोवर तीर्थ यात्रामा जाने प्रारम्भ भयो ।  यसरी प्राचीन हिमाली मार्ग खोल्ने श्रेय महामञ्जुश्रीलाई जान्छ ।  दूरदर्शी नेता  राष्ट्रपति  सी जिन पिङले प्रस्ताव गर्नु भएको एक पेटी एक सडक (ओबीओआर) प्राचीन रेशम मार्गको नयाँ अवतार हो ।  प्राचीन रेशम मार्गको वारपार गर्ने  कोरिडोर हो । सन् २०२० मा ल्हासाबाट केरुङसम्म रेल जोडिएपछि हिमाली रेशम मार्गको आधुनिकीकरण हुनेछ ।’


यसबाहेक उनले नेपाल र चीनले रेशम मार्ग भएर सांस्कृतिक सम्बन्ध गाँस्ने र विकसित पार्ने कार्य गरेको उल्लेख गरेका छन् । ‘चीन र दक्षिण एसियाबीच सभ्यताको सम्बन्ध गाँस्नेतर्फ संस्थापककै रूपमा मञ्जुश्रीलाई मानेका छन् ।  २०१३ मा राष्ट्रपति सीले प्राचीन रेशम मार्ग र सामुद्रिक रेशम मार्गलाई ब्युँताउने घोषणा गरे ।  मई २०१७ मा पेटी र सडक बारेमा अन्तर्राष्ट्रिय सम्मेलनको अध्यक्षता गर्नुभयो ।  नेपाल पनि त्यसमा सम्मिलित भएको थियो ।  सीले ओबरलाई ‘शताब्दी योजना’का रूपमा चित्रण गरे ।’ श्रेष्ठको लेखमा छ, ‘६५ भन्दा बढी मुलुकहरू सहभागी  भए ।  विश्वको दुई तिहाई भूमि, करिब साँढे चार अरब जनतालाई यसले ओगटेको छ । यो समावेशी भू–मण्डलीकरणतर्फको व्यावहारिक परियोजना हो । मञ्जुश्रीले स्थापना गरेको हिमाली कोरिडोरलाई राष्ट्रपति सीले ‘फलामे रेसम मार्ग’मा परिणत गरेर आधुनिकीकरण गर्दै छन् ।  २०२० मा ल्हासाबाट रेल ल्याइपुर्याएपछि केरुङ चीनको दक्षिण एसिया छिचोल्ने प्रवेश मार्ग हुनेछ ।’

०००

दुई देशबीचको सांस्कृतिक सम्बन्धमा मञ्जुश्री, भृकुटी, अरनिकोजस्ता सांस्कृतिक दूतले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने काम गरेका छन् । चीनबाट नेपाल गएका मञ्जुश्रीले चोभारको गल्छी काटेर तालको पानी बाहिर पठाई काठमाडौँ उपत्यकामा बस्ती बसाएको किंवदन्ती छ । नेपाली राजकुमारी भृकुटीले तत्कालीन तिब्बती सम्राट स्रोङचङ गम्पोसित विवाह गरेर नेपाली संस्कृति र परम्परालाई चीनमा पुर्याएकी थिइन् । सात सय वर्षअगाडि नेपाली कालीगढ अरनिको चीन पुगेका थिए । तर, हाम्रो खाँचो मानिने तातोपानी नाका भूकम्पपछि बन्द छ । 


अहिले पनि चिनियाँ अधिकारीहरुले नेपाली अधिकारीहरुसँगको कुराकानीमा भूकम्पपछि बन्द भएको खासा नाका खोल्ने कुरा गर्दा रेल बन्न थालेको बताउँछन् । नेपालबाट चीनजाने सरकारी अधिकारी होऊन वा चीनबाट नेपाल आउने, यस्ता भेटघाटमा खासाको कुरा उठ्छ । तर, चिनियाँ पक्षले खासा नाका खोल्नमा खासै चासो दिएको छैन ।  


तातोपानी नाका बन्दमा फ्री तिब्बत गतिविधि पनि कारण मान्ने गरिएको छ । यसबाहेक चीनबाट अलग्गिन चाहने तिब्बतीहरूले पश्चिमा मुलुकको समर्थन र आर्थिक सहयोग प्राप्त गर्दै आएको बताउने गरिन्छ । यसको असर नेपाल–चीन सीमा क्षेत्रका विभिन्न परियोजनामा पनि देखिने गरेको चिनियाँ अधिकारीहरु मान्छन् । सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका २२ वटा गाविसलाई समेटेर सुरु गरिएको गौरीशङ्कर संरक्षण क्षेत्र परियोजना र त्यसमा पश्चिमा राष्ट्रहरूको लगानीले चीनलाई सशङ्कित बनाएको थियो । तातोपानी नाका बन्द हुनुमा यो परियोजनासम्बन्धी चिनियाँ आशङ्काले पनि केही न केही काम गरेको मानिन्छ ।

०००
तिब्बतसँगको सीमा नाकाको पुरानो इतिहास छ । छैटौँ शताब्दीमा कुती–तातोपानी र केरुङ– रसुवागढीबाट नाका चल्तीमा आएको पाइन्छ । सातौँ शताब्दीमा वैवाहिक सम्बन्ध गाँसियो,  तिब्बती राजा स्रङचङ गम्पोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेको पाइन्छ । सातौँ शताब्दीमै पहिलोपटक चिनियाँ नागरिकको नेपाल प्रवेश, चिनियाँ तीर्थयात्री हुएन्त्साङ मध्य एसियाको खोतान–भारत हुँदै नेपाल (पाटन) आएको र कुती हुँदै फर्केको इतिहास छ । यसबाहेक विसं १३१७ र १८ मा सांस्कृतिक सम्बन्ध, शिल्पकार अरनिको ८० जना कलाकारको टोलीसहित तिब्बतको ल्हासा पुगे, चीनको बादशाहको दरबारमा शिल्पकारहरुको प्रमुख बनेको इतिहास छ ।

यसैगरी विसं १८१२ मा कुती प्रदेशका ढेवा (प्रशासक)हरुसँग गोरखामा काटिएका चोखा, चाँदीका मोहोर चलाउने गोरखालीहरुको सम्झौता भएको इतिहास छ । विसं १८४५ देखि ४७ सम्म खोटा टकको विषयमा विवाद बढेपछि नेपाल–तिब्बत युद्ध भयो । कुती, केरुङ, डिगर्चामा नेपालको विजय भयो । नेपाललाई वार्षिक ५० हजार १ रुपियाँ बुझाउनुपर्ने सम्झौता भयो । विसं १८४८ र ४९ मा तिरो नबुझाएपछि नेपालले तिब्बतमाथि आक्रमण गर्यो । तिब्बतलाई चिनियाँ सैनिकले सघाएपछि नेपाल पराजित भयो । पाँच–पाँच वर्षमा नेपाली प्रतिनिधिमण्डल उपहार लिएर चीनका बादशाहलाई भेट्न जानुपर्ने सन्धि भयो ।  विसं १९११ र १२ मा सीमा र चरण क्षेत्र विवाद बढेपछि नेपाल–तिब्बत युद्ध भयो । नेपालको जित भयो । वार्षिक १० हजार रुपियाँ नेपाललाई बुझाउने सहमति बन्यो । विसं २०१३ मा प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको चीन भ्रमणका क्रममा अघिल्लो सन्धि खारेज भयो । विसं २०२४ मा अरनिको राजमार्गले चीन–नेपाल जोडियो । विसं २०७२ को भूकम्पको कारण देखाउँदै चीनद्वारा तातोपानी नाका बन्द गरियो । कहिले खुल्छ, यकिन छैन ।  
००० ००० ०००
चीनको ‘वान वेल्ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिने अपेक्षा छ । गत वैशाख अन्तिम साता नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका थिए । समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताउने गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए र चीनले यसमा नेपालको समर्थनलाई निकै महत्वका साथ लिएको थियो । तर, यसमा दक्षिणी छिमेकी मुलुक भारतले हस्ताक्षर गरेको छैन । ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाललगायतमा आर्थिक सहायता उपलब्ध गराउनेछ । सिगात्से–केरुङ रेलमार्ग निर्माणमा यो अवधारणा सहयोगी हुन सक्छ । 

०००

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच पारस्परिक हित प्रवद्र्धनसम्बन्धी समझदारी भइरहेका छन् । पर्यटक आवगमन सहज तुल्याउन रसुवागढी—केरुङ सीमा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण द्रूतगतिमा अघि बढाउने, स्तरीय पूर्वाधार तयार भएपछि पर्यटकका निम्ति नाका खोल्ने, कैलाश मानसरोवर क्षेत्रमा सीमापार पर्यटन विकासका निम्ति  हुम्ला र पुलान काउन्टीमा आवश्यक सहयोग आदानप्रदान गर्ने, काठमाडौँ–ल्हासा सीधा बस सेवा पुनः सञ्चालन गर्ने, धार्मिक पर्यटकलाई बहुप्रवेश प्रवेशाज्ञा (भिसा) काठमाडौँस्थित चिनियाँ राजदूतावासबाट उपलब्ध गराउनेजस्ता सहमति छन् । जसले नेपाल र चिनियाँ पर्यटकको आवत–जावत सहज हुन सक्छ । भोटसँगको पुरानो व्यापारिक पुर्नजीवित बनाउन सहयोगी बन्न सक्छ । 


कस्तो छ तिब्बत ?


भूगोल पनि तिब्बतको गजबको छ । तिब्बत स्वायत्त क्षेत्र पश्चिमी चीनको पहाडी मैदान क्विनघाई–तिब्बतमा अवस्थित छ । यसलाई जिन्जियाङ युगुर स्वायत्त क्षेत्र, क्विनघाई, सिचुवान र युनान प्रान्तले घेरेको छ । यसले नेपाल, भारत, भुटान र म्यानमारसँग ४ हजार किलोमिटर सीमा बाँडेको छ  । संसारको सबैभन्दा अग्लो आक्षांशमा अवस्थित तिब्बतलाई ‘संसारको छानो’ र ‘विश्वको तेस्रो खम्बा’ भनिन्छ । यहाँका विभिन्न पहाडमध्ये ५० भन्दा बढी ७ हजार मिटर अग्ला छन् भने ११ वटा पहाड ८ हजार मिटर अग्ला छन् । जियोमर्फोलोजीका अनुसार तिब्बतलाई तीन भागमा विभाजन गरिएको छ– उत्तरी तिब्बत उच्च समभूमी, यारलुङ जाङ्बो नदी क्षेत्र, पूर्वी तिब्बत उपत्यका । 


४ हजार ५ सय मिटरको उचाइमा अवस्थित उत्तरी तिब्बत उच्च समभूमि पूर्वी गारी प्रान्त र मध्य पश्चिम नाग्क्यु प्रान्त रहेका छन् । यो उच्च समभूमि तिब्बतको मुख्य खर्कक्षेत्र हो । यारलुङ जाङ्बो नदी क्षेत्र हिमालय र ग्याङ्डाइज सीमामा ३ हजार ५ सयको उचाइमा रहेको छ । यो नदी क्षेत्र तिब्बतको मुख्य कृषि र खर्कक्षेत्र हुनुका साथै अधिकांश तिब्बतीको बासस्थान हो । पूर्वी तिब्बत उपत्यकाबाट भिरालो पहाडका उत्कृष्ट दृश्य देखिन्छन् । 

०००

तिब्बतको जटिल स्थान वर्णन र वायुमण्डलका कारण यहाँको मौसम अचम्मको छ । यहाँको साधारण मौसम न्यानो छ भने दक्षिणतर्फ आद्रता छ । यसका साथै उत्तरी पश्चिमी इलाकामा पानी पर्याप्त नपर्ने भएकाले चिस्यानको कमी छ । धेरैजसो यहाँका क्षेत्रका मौसम एकअर्काको ठीक विपरीत हुने गर्दछ । वर्षभरि यहाँको तापक्रम –२.८ देखि ११.९ डिग्री सेल्सियसको बीचमा रहने गर्छ । तिब्बतको उच्च समभूमिमा अवस्थित ल्हासामा वर्षभरि ३ हजार घण्टा घाम लाग्छ, जसका कारण यसलाई ‘घामको सहर’ भनिन्छ । ल्हासामा तुलनात्मक रुपमा वर्षभरि नै मध्यम खालको मौसम हुन्छ । यो ठाउँमा न त उखर्माउलो गर्मी हुन्छ  न नै हड्डी चिस्याउने जाडो । यद्यपि, एकै दिनको रात र दिनको तापक्रममा भने निकै भिन्नता हुने गर्दछ । जुन महिनाको औसत तापक्रम १५.७ डिग्री हुने गर्दछ भने उच्चतम तापक्रम औसतमा २२.९ डिग्री पुग्ने गर्दछ । जनवरीमा औसत तापक्रम –२ डिग्री सेल्सियस हुने गर्दछ भने न्यूनतम तापक्रम औसतमा –९.७ डिग्री सेल्सियस हुने गर्छ । पर्यटकलाई मौसमले साथ दिएकै हुन्छ । 

०००

तिब्बत प्राकृतिक स्रोतमा धनी छ । संसारका पाँच विशाल खर्के जग्गामध्ये एक तिब्बतमा पर्दछ जुन ८ करोड ८९ लाख ३० हजार हेक्टरमा फैलिएको छ । साथै यहाँको जङ्गलले १ करोड ७८ लाख ३६ हजार हेक्टर जग्गा ओगटेको छ भने २ अर्ब २८ करोड ८० लाख क्युबिक मिटर जीवित रुख रहेका छन् । २१ करोड किलोवाट जलविद्युत क्षमतासहित १ सय ४० मिलियन किलोवाट विद्युत उत्पादन क्षमतासहित तिब्बतलाई चीनको जलस्रोतको धनी भनिन्छ ।

अहिलेसम्म यहाँ १ सय ३ खनिज पदार्थ पाइएको छ । तिब्बत अक्षय ऊर्जा जस्तै सौर्य ऊर्जा, भूतापीय ऊर्जा र वायु ऊर्जामा पनि धनी छ । यहाँका मुख्य उत्पादनमा गहुँ, जौ, केराउ पर्छन् भने दक्षिण पश्चिमको सब ट्रपिकल क्षेत्रमा चामल, मकै, बदाम र तिलको उत्पादन हुन्छ । वनस्पती र जीवको धनी तिब्बत दुर्लभ जनावर र बोटबिरुवाको बासस्थान हो । केही ठाउँमा अहिले प्रर्यावरणीय क्षेत्र बनाइएको छ । यारलुङ जाङ्वो नदी अर्थात ब्रह्मपुत्र नजिकको किनारमा झन्डै साढे २ अर्ब रुपियाँ खर्चेर यस्तो क्षेत्र बनाइएको छ, जहाँ विभिन्न प्रजातिका १९ हजार रुख रोएिको छ । 

०००

तिब्बत स्वायत्त क्षेत्र चीनमा रहेको जनजाति समूहको पाँच स्वायत्त क्षेत्रमध्येको एक हो । यहाँको प्रशासनिक जिल्ला ल्हासा, सिगात्से, विङ्ची, क्वोम्दो, लोका गरी पाँच प्रान्तीय सहरमा विभाजन हुनुका साथै नाग्कु र गारीका दुई प्रान्त रहेका छन् । यसमा ७४ देश (जिल्ला र सहर) को काम हुने गर्दछ । 
जस्तो कि ल्हासामा छेनगुवान जिल्ला, डोइलुन्डेक्वेन जिल्ला, दाम्छुङ ल्हुन्जहब, नेइमो, कुछु, दाग्जे, माइजहोकुन्गारजस्ता जिल्ला र सहर छन् । सिगात्सेमा साङ्झुजी जिल्ला, न्यालम, दिङ्गए, यिरोङ्ग, साग्या, यादोङ, ग्यान्त्से, जाइतोङ्मोइन, ल्हात्से, गामिरिङ, रिङ्ग्री, गाम्बा, काङ्मार, जोङ्बा, सागा, रिन्बङग, बैनाङग, नामलिङ्ग जिल्ला तथा सहर छन् । 
लोकामा नेदोङ्ग जिल्ला, कुसुम, क्वोङ्याई, साङ्ग्री, कोमाई, जानाग, याका, कोना, गोङ्ग्गर, लुन्जे, ल्होज्हाग, नागार्जेजस्ता सहर छन् । यिङ्चीमा बायी जिल्ला, मेदोग, मेन्लिङ, गोङ्बो ज्याम्दा, जायु, बोमे, नाङ्गजस्ता सहर छन् । क्वाम्दोका  चाहिँ कारुओ जिल्ला, मार्काम, जोगाङ्ग, गोन्जो, बन्बर, बक्सोई, लोहोरोंग, जोम्दा, रेवोक, डेन्क्वेन, झाग्याब मुख्य सहर हुन् । नाग्कुमा नाग्कु, ल्हारी, छैन्जा, बाक्वेन, न्यानरोङ्ग, यिमा, बिरु, सोग, बेन्गोइन, आम्दो, स्वान्घु बहर छन् भने गारीमा भने गेर्जे, कोक्केन, जे ग्याइ, गार, बुराङ, जान्डा, रुतोग सहर छन् ।

०००

तिब्बत स्वायत्त क्षेत्रमा चीनको सबैभन्दा कम जनसङ्ख्या रहेको छ । तिब्बतीको बाहुल्यता रहेको यो क्षेत्रमा ४० अन्य अल्पसङ्ख्यकको बसोबास छ । यसमा हान, हुई, मोन्बा, ल्होबा, नाक्सी, नु र देरुङ रहेका छन् । यहाँ देङ्ग र शेर्पाले आफ्नै समुदाय पनि बनाएका छन् । सन् २०१६ को अन्त्यसँगै तिब्बतका स्थायी बासिन्दाको जनसङ्ख्या ३३ लाख ५ सय ४०  रहेको छ । यसमा ९१.८३ प्रतिशत तिब्बती छन् भने अन्यमा अल्पसङ्ख्यक समूह रहेका छन् । क्विङ्ग सरकारले सन् १७३४ देखि १७३६ सम्म गरिएको गणनाअनुसार तिब्बतको कूल जनसङ्ख्या ९ लाख ४१ हजार २ सय ताकेको थियो  । सन् १९५३ को पहिलो राष्ट्रिय जनगणनाले १० लाख १५ हजारको वृद्धि देखाएको छ । सन् १९५३ देखि २०१६ सम्म ६० वर्षको अन्तरालमा तिब्बतको जनसङ्ख्यामा १० लाख १५ हजारबाट ३३ लाख ५ सय ४० पुगेको छ । 

०००

इतिहास पनि तिब्बतको गजवको छ । तिब्बतलाई प्राचीन कालमा जाङ्बो अर्थात् छोटकरीमा जाङ्ग भनिन्थ्यो । ताङ्ग वंश (६१८–९०७) र सोंग वंश (९६०–१२७९) मा यसको नाम तुबोमा परिवर्तन भयो । साथै, युनान वंश (१२७९–१३६८) मा पुनः तिसाङ्ग भयो भने क्विन वंश (१६४४–१९१२) मा यो तुबातिनमा परिवर्तन भयो । क्विन सम्राट काङ्क्षीको शासनकाल (१६६१–१७२२) मा यो क्षेत्रलाई तिब्बत भन्न थालियो । 


पुरातात्विक अनुसन्धानले हज्जारौँ वर्षअघि तिब्बतमा मानव बस्ती भएको पत्ता लगाएको छ । यस क्षेत्रमा ४ हजार वर्षअघि जनजाति बस्ती भएको बताएको छ । केही शताब्दीभित्रै यी साना जनजाति बिस्तारै अन्य आदिवासी समूहसँग मिश्रित भए । इ.पू. को चौथो शताब्दीताका तीन शक्तिशाली जनजाति गठबन्धन भइसकेको थियो– उनीहरु साङ्सुङ, यारलुङ र सुम्पा थिए ।


सातौँ शताब्दीमा राजा सङ्त्सेन ग्याम्बोले यी जनजातिलाई उच्च समभूमिमा सारेर तुबो शासनको थालनी गरे । उनले ताङ्गकी राजकुमारी वेन्चेङ्गसँग विवाह गरेपछि तिब्बत र ताङ्ग वंशबीच राजनीतिक र सांस्कृतिक सम्बन्ध स्थापित भएको थियो । पछि ताङ्गकी राजकुमारी जिन्छेङ्गले तिब्बती राजालाई विवाह गरिन्, जसका कारण तुबो र ताङ्गबिच ‘मामा भाञ्जा’ को सम्बन्ध स्थापित भयो । 


मङ्गोल खानेतको शासनले सन् १२७१ मा आफ्नो नामलाई युआनमा परिवर्तन गर्यो भने सन् १२७९ मा ‘एकीकृत चीन’ बनायो । युआन वंशको केन्द्रीय सरकारको प्रशासनअन्तर्गत तिब्बत प्रत्यक्ष रुपमा एक प्रशासनीक क्षेत्र घोषित भयो । त्यतिबेलादेखि तिब्बतमा अनेकौँ वंश परिवर्तन भए तर तिब्बत भने चीनको केन्द्रीय सरकारको क्षेत्राधिकारभित्रै पर्ने गर्छ । 


सन् १३६८ मा मिङ्ग वंश (सन् १३६८–१६४४) ले युआन वंशलाई ढलाउँदै तिब्बतमाथि शासन चलाउने अधिकार प्राप्त गर्यो । यसले तिसाङ्ग इटिनरेन्ट हाई कमान्डरी र एमडु–खाम्स इटिनरेन्ट हाई कमान्डरीलाई क्रमशः मध्य र पूर्व तिब्बतमा लागू गर्यो । पश्चिमी तिब्बतको गारीमा सेना नागरिक मार्सल कार्यालयको स्थापना गरियो । 
क्विङ्ग वंश (सन् १६४४–१९११) ले मिङ्ग वंशलाई हटाएपछि तिब्बतको प्रशासन बलियो भयो । 
सन् १६५३ र १७१३ मा क्विङ्गका शासकले पाँचौँ दलाई लामा र पाँचौँ पन्चेन लामाको टाइटलको सुरुवात गरे । सन् १७२७ क्विङ्ग सरकारले तिब्बतमा अम्बान भनिने ग्रान्ड मिनिस्टर रेसिडेन्स पोस्टको स्थापना गरे । सन् १७९१ मा क्विङ्ग सरकारले तिब्बतको मामिलालाई ग्रान्ड मिनिस्टर रेसिडेन्स र दलाई लामाको संयुक्त रुपमा प्रशासन गर्नुपर्ने भन्दै सेना परिचालन गर्यो । सन् १९७३ मा क्विङ्ग अदालतले तिब्बतमा राजनीतिक, आर्थिक र धार्मिक मामिलामा उत्कृष्ट प्रशासनका लागि शाही अध्यादेश जारी गर्यो । सन् १९११ को क्रान्तिले क्विङ्ग वंशलाई ढालेपछि सन् १९१२ मा चीनमा गणतन्त्र (सन् १९१२–१९४९) को स्थापना भयो । 
सन् १९४९ अक्टोबर १ तारिखमा जनवादी गणतन्त्र चीनको स्थापना भयो । सन् १९५१ मे २३ तारिखमा तिब्बतलाई स्वतन्त्र क्षेत्रको रुपमा स्थापित गर्न केन्द्रीय सरकार र स्थानीय सरकारबिच सम्झौता भयो । सन् १९५६ मा तिब्बत एक स्वायत्त क्षेत्रको रुपमा स्थापित भयो । 

०००
तिब्बतको राजनीतिक प्रणालीबारे बाहिरी दुनियाँले बढो चासो राख्छ । सन् १९५९ देखि तिब्बतले लोकतान्त्रिक सुधारको अनुसरण गर्दै आएको छ । संविधानको प्रावधान र क्षेत्रीय राष्ट्रिय स्वतन्त्रताको व्यवस्था अनुसार तिब्बत स्वायत्त क्षेत्रले स्वतन्त्रताको अधिकारको भरपूर आनन्द उठाइरहेको छ । जसमा राष्ट्रिय कानुन अङ्गीकरणको अधिकार, राष्ट्रिय भाषाको प्रयोगको अधिकार, वित्त व्यवस्थापनको अधिकार र शिक्षा र संस्कृतिको स्वतन्त्र विकासका अधिकार पर्ने गर्दछन् । 
०००

आर्थिक विकास तिब्बतको ठूलो सम्पत्ति हो । सन् १९५९ अघि तिब्बतको आर्थिक स्थिति निकै पछि थियो । तिब्बतको स्वतन्त्रतापछि सन् १९७० को अन्त्यदेखि तिब्बतको विकास दिन दुगुना रात चौगुनाको हिसाबले भयो । 
सन् १९५९ मा लोकतान्त्रिक सुधारपश्चात् तिब्बतले विशेषगरी कृषि र खेती किसानीमा अधुनिकीकरण भित्र्याउँदै आफ्नो उत्पादनको ढाँचालाई परिवर्तन गर्यो । सन् १९५९ मा १ लाख ८२ हजार ९ सय टन उत्पादन भएको उक्त क्षेत्रमा सन् २०१६ मा १० लाख २० हजार टन उत्पादन भयो । सन् १९५९ अघि तिब्बतमा कुनै आधुनिक उद्योग थिएन । अहिले यहाँ ऊर्जा, टेक्सटाइल, मेसिनरी, खानी, निर्माण सामग्री, केमिकल, फर्मास्युटिकल, प्रिन्टिङलगायतका २० क्षेत्रभन्दा बढीका आधुनिक उद्योग स्थापना भएका छन् । तिब्बतको ऊर्जा, यातायात र अन्य आधारभूत उद्योग फस्टाइरहेका छन् । 
साना उद्योग नै तिब्बतका ठूला उद्योग भएका छन् । पर्यटन, हुलाक र दूरसञ्चार, होटल र क्याटरिङ, संस्कृति तथा मनोरञ्जनलगायतका धेरैजसो उद्योग फस्टाउँदो छ । 

०००
क्रमशः यहाँका जनताको जीवनशैलीमा पनि सुधार आयो । सन् १९५९ मा लोकतान्त्रिक सुधारपश्चात् तिब्बती जनताको जीवनशैलीमा निकै सुधार आएको छ । यस्तै, मानिसहरुको आवास अवस्था, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायत अन्य सार्वजनिक सेवाको स्तरमा निकै वृद्धि भएको छ । 
सन् २००६ को जनवरीमा तिब्बतले ‘नयाँ समाजवादी ग्रामीण इलाका’ को निर्माण सुरु गर्नुका साथै किसान र गोठालाहरुका लागि ‘आरामदायी आवास’को प्रोजेक्ट सुरु गर्यो । यसका साथै तिब्बतले ‘आठ घरेलु आवश्यकता’ प्रोजेक्टको थालनी गरेर पानी, बिजुली, सडक, ग्यास, दूरसञ्चार, हुलाकी सेवा, रेडियो र टेलिभिजन, मनोरम वातावरणको पहुँचमा जोड दियो । 

०००

शिक्षा र स्वास्थ्यमा पनि नाटकीय रुपमा प्रगति भयो । सन् १९५९ अघि तिब्बतमा एउटा पनि विद्यालय थिएनन् । विद्यालय जाने उमेर भएका बालबालिकाको भर्ना दर दुई प्रतिशतभन्दा कम थियो । ५० वर्षभन्दा बढीको मिहिनेतपछि तिब्बतले स्थानीय स्तरको शिक्षा प्रणाली स्थापना गर्न सफल भएको छ । यसमा प्रि–स्कुल, आधारभूत शिक्षा, व्यावसायिक विद्यालय, माध्यमिक शिक्षापछिको विद्यालय, वयस्क शिक्षा र विशेष शिक्षा रहेका छन् । सन् २०१६ सम्म तिब्बतमा १५ सयभन्दा बढी विद्यालय छन् । प्राथमिक शिक्षाका लागि बालबालिकाको भर्ना दर अहिले ९९.१६ प्रतिशत पुगेको छ । सन् १९८५ देखि तिब्बतले किसान र गोठालाका सन्तानलाई निःशुल्क खाना, आवास र शिक्षा प्रदान गर्दै आएको छ ।


सन् १९५९ अघि तिब्बतमा तीनवटा सरकारी मेडिकल संस्था र गन्न मिल्ने निजी क्लिनिक थिए । विकासको ५० वर्षपछि चिकित्सा र स्वास्थ्य नेटवर्क, तिब्बती र चीनका प्राचीन औषधीको सम्मिश्रण र पश्चिमा औषधीले देशको पूरा भू–भाग ओगटेको छ भने ल्हासामा यसको वर्चस्व छ । सन् २०१६ सम्म १ हजार ४ सय ६३ स्वास्थ्य संस्थानका साथै १४ हजार ३ सय ३५ स्वास्थ्यकर्मीको गणना गरिएको छ । स्वास्थ्यमा तीव्र विकासका कारण यस क्षेत्रको आयु दर सन् १९५० मा ३५.६ वर्षबाट ६८.१७ वर्ष पुगेको छ ।

०००

सांस्कृतिक सम्पदाले तिब्बत निकै धनी छ । तिब्बतको आधुनिकीरणको प्रक्रियामा यहाँको संस्कृतिक विकास पनि जोडिएको छ । तिब्बती भाषाको जर्गेनामा विशेष जोड दिइनुका साथै पारम्परिक तिब्बती औषधीको अभ्यास, थाङ्का पेन्टिङ, तिब्बती गीत–सङ्गीतलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिँदै आएको छ । तिब्बतमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता छ । तर यहाँका मानिसहरु बोनिजम, इस्लाम र इसाई धर्ममा पनि विश्वास राख्छन् । साधारणतया तिब्बती, मोन्बास र लोबास बौद्ध धर्मावलम्बी हुन्छन् भने हुई जातिका मानिसहरु मुस्लिम र नाक्षी हुन्छन् भने केही तिब्बती क्याथोलिक पनि हुन्छन् । अहिले तिब्बतमा ४६ हजार बौद्ध भिक्षु–भिक्षुणी रहेका छन् । धार्मिक क्रियाकलापका १७ सय स्थानमध्ये ८८ बोन मन्दिर, चार मस्जिद र एउटा क्याथोलिक चर्च छन् । 

०००

विश्वको छानो भनिने तिब्बत प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक र सांस्कृतिक छटाले भरिपूर्ण छ । ल्हासाको रमणीय स्थलमा पोटाला प्यालेस, जोखाङ्ग टेम्पल, रामोचे टेम्पल, बार्खोर स्ट्रिट, नोर्बुलिङ्गका पार्क, नाम्को लेक र तीन मुख्य विहार ः सेरा मोनास्ट्री, गान्देन मोनास्ट्री र ड्रेपुङ मोनास्ट्री रहेका छन् । 
तिब्बतको सबैभन्दा पुरानो भवन पोटाला प्यालेसमा सन् १९५९ सम्म दलाई लामाको बसाइ थियो । सातौँ शताब्दीको पहिलो निर्माण भएकाले पनि पोटाला दरबारमा अमूल्य सांस्कृतिक अवशेष रहेका छन् । यो युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको छ । 


सिगात्सेको चर्चित रमणीय स्थलमा माउन्ट चोमोलाङ्मा (सगरमाथा), तास्हिल्हुन्पो मोनास्ट्री, शाक्य मोनास्ट्री, पाल्खोर मोनास्ट्री, सालु मोनास्ट्री रहेका छन् । 
लोखा तिब्बती संस्कृतिको जन्मभूमि हो । यहाँको रमणीय स्थलमा तिब्बती राजाहरुको चिहान, युन्बोल्हाकाङ, सम्या मोनास्ट्री, ट्रान्ड्रुक टेम्पल, चोङ्ए जोङ्ग क्यासल र लेक याम्जोग युम्को रहेका छन् । साम्या मोनाट्री तिब्बती बौद्ध धर्मावलम्बीका लागि समर्पण गरिएको पहिलो बिहार हो । 


पूर्वी तिब्बतमा रहेको निङ्ची आफ्नो सुन्दर प्राकृतिक दृश्य, घना जङ्गल र अन्य प्राकृतिक स्रोतका कारण चर्चित छ । यहाँको मनोरम स्थलमा लेक ड्राक्सुम–सो, लुनाङ्ग फरेस्ट, यार्लुङ जाङ्बो ग्रान्ड क्यान्योन र यिगोङ्ग नेसनल जियोपार्क रहेका छन् । 
पूर्वी तिब्बतको निकै चर्चित पर्यटकीय स्थलमा क्वाम्दोलाई लिइन्छ । यहाँको मनोरम स्थलमा कारुब नियोलिथिक एज कल्चरल रुइन र टी हर्स ट्रेड रोड रहेका छन् ।  

०००
तिब्बती नयाँ वर्ष तिब्बती क्यालेन्डरको सबैभन्दा महत्वपूर्ण पर्वमध्येको एक हो । यो पर्व १५ दिनसम्म मनाइन्छ । तिब्बती क्यालेन्डरको १२औँ महिनाको २९ गतेको बेलुका परिवारका सदस्य ‘गुटु’ खानका लागि जम्मा हुन्छन् । ‘गु’ को अर्थ ‘९’ र ‘टु’ को अर्थ विशेष प्रकारको चाउचाउ हो । गुटु खाँदा रोग निवारण हुने र राम्रा दिनहरुको आगमन हुने मान्यता रहिआएको छ । नयाँ वर्षको दिनमा तिब्बतीहरु निकै राम्रो पहिरन लगाएर आफन्तहरुलाई ‘टासी देलेक’ भन्दै शुभकामना आदान प्रदानका लागि व्यस्त हुन्छन् । 


योगर्ट भनिने सोटोन पर्व तिब्बती क्यालेन्डरको छैटौँ महिनाको ३० गते मनाइन्छ ।  यस दिनमा ड्रेपुङ्ग मोनास्ट्रीमा थाङ्का प्रदर्शन गरिनुका साथै नोर्बुलिङ्का पार्कमा तिब्बती ओपेराको प्रदर्शन गरिन्छ । 
ओङ्कोर पर्व हजार वर्ष पुरानो हो । यो पर्व साधारणतया तिब्बती क्यालेन्डरको सातौँ महिनाको अन्तिम दिन वा आठौँ महिनाको सुरुवातमा पर्ने गर्दछ । यो पर्व विशेषगरी ल्हासा, सिगात्से, लोखा र नियङ्चीमा मनाइन्छ । खेतमा राम्रो उत्पादनको प्रार्थनासहित यो पर्व मनाइन्छ ।  साथै, यो दिनलाई नाच्ने, गाउने, घोड सवारी, याक दौड, रेसलिङ पनि खेलेर मनाइन्छ । 
अन्य पर्वमा बटर ओइल ल्याम्प डे जुन तिब्बती क्यालेन्डरको पहिलो महिनाको १५ गते मनाइन्छ । यस्तै, चौथो महिनामा पर्ने सागा दावा पर्व, ९औँ महिनाको २२ गते मनाइने लबाब ड्युचेन पर्व, १०औँ महिनाको १५ गते मनाइने पेल्डेन ल्हामो पर्व र १०औँ महिनाकै २५ गते मनाइने ल्याम्प पर्व पर्छन् । 

तिब्बत सम्बन्धी अन्य समाचार

तिब्वतमा देखियो १३३ बर्ष पुरानो नेपाली पसल (फोटोफिचर)

तिब्बतका ‘खचरा’ नेपाली

यामड्रोक्त्सो तालः ‘तिब्बतको माछा खजाना’ (फोटोफिचर)

ओलीले समेत हेरेको यस्तो छ तिब्वती ओपेरा (फोटोफिचर/भिडियो)

 

 

 

०००


 

नेत्र पन्थी

नेत्र पन्थी रातोपाटीका समाचार सम्पादक हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ