शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० वर्षको मिहिनेतपछि ९१ वर्षीया हजुरआमाले पाइन् विश्वविद्यालयको डिग्री

बिहीबार, २६ साउन २०७४, ११ : ०६
बिहीबार, २६ साउन २०७४


थाइल्याण्ड । पढ्नका लागि कहिले पनि ढिलो हुँदैन भन्ने बताउने थाइल्याण्डकी ९१ वर्षीया महिलाले १० वर्षको मिहिनेतपछि स्नातक तह पूरा गरेकी छिन् ।
किमलान जिनाकुललाई विश्वविद्यालय गएर पढ्ने ठूलो इच्छा थियो । तर, युवा अवस्थामा उनले कहिले पनि उनले त्यो मौका पाइनन् ।

अहिले आफ्ना छोरा छोरीहरुले विश्वविद्यालय डिग्री हासिल गरेको वर्षौँ पछि बुधबार उनले आफै डिग्री हासिल गर्न सफल भएकी छिन् ।

उत्तरी थाइल्याण्डको लामपाङ प्रान्तकी वासिन्दा किमलान स्कूल पढ्दा निकै तेजश्वी विद्यार्थी मानिन्थिन् । प्रान्तको उत्कृष्ट मानिने विद्यालयमा अध्ययन गरेकी उनले विश्वविद्यालय भने पढ्न पाइनन् । उनको परिवार बैंकक सरेपछि उनले विवाह गरिन् जसको कारण उनले आफ्नो सपना त्याग्न बाध्य भइन् ।


‘म आफ्ना छोराछोरीहरुले पढ्न पाउन् भन्ने चाहन्थे । त्यही भएर मैले उनीहरुलाई विश्वविद्यालय पढ्न हौसला र समर्थन दिए,’ उनले भनिन् ।

उनका पाँचमध्ये चार सन्तानले स्नातकोत्तर डिग्री हासिल गरेका छन् भने एक जनाले अमेरिकाबाट विद्यावारिधीसमेत हासिल गरेका छन् ।

अन्ततः छोराछोरीहरुको कारणले नै उनले विश्वविद्यालयमा पढ्ने अवसर पाइन् ।

उनकी एक छोरी अस्पतालमा काम गर्थिन् । त्यही बेला उनी सुकोथाई थामाथिराट खुला विश्वविद्यालयमा भर्ना भइन् । छोरीसँगै किमलानले पनि विश्वविद्यालयमा भर्ना हुने निधो गरिन् ।

७२ वर्षको उमेरमा उनी भर्ना पनि भइन् तर एक जना छोरीको निधन भएपछि उनले बीचमै पढाई छाडिन् ।

त्यसपछि ८५ वर्षको उमेरमा उनले ह्युमन इकोलोजीमा डिग्री हासिल गर्न दोस्रो प्रयास शुरु गरिन् । र, अन्ततः त्यसमा सफल भइन् ।

‘छोरी गुमाउनु परेको पीडाबाट पार पाएपछि मैले डिग्री हासिल गर्न मिहिनेत शुरु गरे । यो देखेर मेरो छोरीको आत्मा पनि खुसी भयो होला,’ उनले भनिन् । 

उनी आफ्नो दृढता र महत्वकांक्षाले सफलता दिलाएको बताउँछिन् । उनी भन्छिन्, ‘म एक पटकमा एउटा अध्ययाय पढ्ने गर्थे । महत्वपूर्ण बुँदाहरुलाई रेखांकन गर्थे जसलाई म सम्झिन्थे । यसले मलाई पढ्न सहयोग गर्यो ।’ 

उनले भनिन्, ‘पास हुँदा खुसी हुन्थे र फेल हुँदा दुःखी । तर, हार कहिले खाइँन । पास नभएसम्म परिक्षा दिइरहैँ ।’

डिग्री पाएपछि अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले ठट्टा गर्दै भनिन्, ‘अब काम खोजे पनि कसैले मलाई जागिर दिन्नन् होला । म नातानातिनीहरुको ख्याल राखेर बस्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप