
३४ अर्ब ४१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह : शिक्षित युवालाई स्वरोजगार बनाउने सरकारको योजना फेल
सात प्रकारको सहुलियतपूर्ण कर्जा, कसले कति लगे ?

सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ दिन थालेको सात प्रकारको सहुलियत कर्जा हालसम्म ३४ अर्ब ४१ करोड १० लाख ४९ हजार रुपैयाँ प्रदान गरेको छ ।
चालु आर्थिक वर्षको जेठ समान्तसम्ममा झण्डै साढे ३४ अर्ब बराबरको सहुलियत कर्जा प्रदान गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार प्रदान गरिएको यस्तो कर्जा हालसम्म कृषिमा बढी गएको छ । सरकारले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा ५ करोड रुपैयाँसम्म प्रदान गर्छ । यो कर्जा १५ हजार ९ सय १६ जनाले लिएका छन् । कृषि कर्जा १८ वर्ष पुगेकाले पाउने प्रवाधान छ ।
यस्तै शिक्षित युवा स्वरोजगार कर्जा १६ जनाले लिएका छन् । हालसम्म यस्ते कर्जा ९३ लाख ५० हजार रुपैयाँ स्वीकृत भएको छ । ८६ लाख ९६ हजार कर्जा बाँकी छ । स्नातक तहसम्म उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रको आधारमा ५ प्रतिशत व्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्थाअनुसार सो ऋण प्रवाह भएको हो । यो ४० वर्ष उमेर ननाघेकाले पाउने कर्जा हो ।
यता, विदेशबाट फर्केका युवा परियोजना कर्जा ३२ जनाले लिएका छन् । यो कर्जा २ करोड ३१ लाख ५० हजार रुपैयाँ स्वीकृत भएको राष्ट्र बैङ्कले भनेको छ । यो विदेशमा ६ महिना काम गरेर फर्केको ३ वर्ष ननाघेकाले पाउँछन् । यो कर्जा ५ प्रतिशत ब्याज अनुदानमा १० लाख रुपैयाँसम्म कर्जा प्रवाह हुँदै आएको छ ।
५ सय ३५ जना महिलाले महिला उद्यमशीलता कर्जा लिएका छन् । उनीहरुले ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ यस शीर्षकमा कर्जा लिएका हुन् । १८ वर्ष उमेर पुगेको कम्तीमा पाँच जनाको समूहले १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा पाउने सरकारी प्रावधान छ । यसमा सरकारले सबैभन्दा बढी व्याज अनुदान दिने व्यवस्था गरेको छ । यसमा महिला उद्यमीले ६ प्रतिशतसम्म ब्याज अनुदान पाउनेछन् ।
यता दलित समुदाय विकास कर्जा ५० जनाले पाएका छन् । उनीहरुले २ करोड ७२ लाख २० हजार रुपैयाँ कर्जा लिएका हुन् । यो पाँच प्रतिशत ब्याज अनुदानमा १० लाख रुपैयाँसम्म कर्जा लिन पाउँनेछन् ।
उच्च व्यावसायिक तथा प्राविधिक कर्जा ५७ जनाले एक करोड ५८ लाख ६६ हजार रुपैयाँ लिएका छन् । यसमा पाँच प्रतिशत ब्याज अनुदानमा पाँच लाख रुपैयाँसम्म ऋण लिन पाउँनेछन् ।
यस्तै भूकम्प पीडितको निजी आवास निर्माण कर्जा ७६ जनाले लिएका छन् । उनीहरुले २ करोड १८ लाख ७० हजार रुपैयाँ कर्जा लिएका छन् ।
सरकारले सात प्रकारका व्यवसायमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको थियो । मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ भदौ २१ गते पास गरेको थियो । सो व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले असोज ११ गतेदेखि सबै बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गरेपछि ऋण प्रवाह गर्न थालिएको हो बैङ्क तथा वित्तीय संथाहरुले राष्ट्र बैङ्कको निर्देशनमा सो कर्जा उपलब्ध गराएको हो । यी सबै कर्जाको अवधि पाँच वर्षको हुनेछ ।
एलिजा उप्रेती
एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् ।
कमेन्ट
- July 11, 2019, 10:16 a.m. Romi ShresthaMaile hetauda KO rastriya banijya bank ma mero saichik karja KO lagi 2075-7-10 gate diyeko pura document 2076-02-10 samma ma ni Kathmandu KO kendriya bank samma ni napathaune ......? Bank ma chine janeko manche vaidiyena ..... Tesaile yo Khali pahuch vako manche le matra payeko cha.....tesaile yo paisa KO sadupayog hudaina.... Huncha vane mero degree sakayera vetnary padirako le kina payena ? Ma sodhna chahanchu
- 0 Reply