बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलको सर्वाधिक ठूलो खानी उद्योगमाथि जरिवाना

बुधबार, २५ असार २०७६, १३ : २७
बुधबार, २५ असार २०७६

रियो डे जेनेरियो– ब्राजिलको सर्वाधिक ठूलो भेल नामको खानी उद्योगको बाँध भत्किएर पीडित भएकाहरुका परिवारलाई जरिवाना तिर्न यहाँको एक अदालतले आदेश दिएको छ । गत जनवरीमा भएको भिषण दुर्घटनामा २५० जनाभन्दा बढी कामदारको मृत्यु हुनुका साथै भौतिक संरचनामा व्यापक क्षति पुगेको थियो ।

न्यायाधीश एल्टोन पुपो नोगुराले जारी गर्नुभएको आदेशमा भेलले जनधनको क्षतिबापत क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ, तर आदेशमा रकम तोकिएको छैन ।

बाँध भत्किएर भएको नोक्सानी स्वरुप मानिसको जीवन मात्र गएको छैन, यसबाट वातावरणीय असरका साथै आर्थिक क्षति पनि समावेश छ, अदालतको आदेशमा भनिएको छ ।

बाँध भत्किएर पुगेको क्षतिका बारेमा कम्पनीका तर्फबाट प्रतिवाद नगरिएको अदालतले जनाएको छ ।

गत जनवरी २५ मा ब्राजिलको मिनास गराइज राज्यको ब्रुमाडिन्होमा भेल कम्पनीको बाँध भत्किएको थियो । बाँध भत्किएपश्चात बगेको लेदो माटोले नजिकका घर, खेत र सडक समेतमा व्यापक क्षति पुगेको थियो ।

उक्त दुर्घटनाका कारण हालसम्म २४८ जनाको शव फेला परिसकेको र अरु २३ जना हराइरहेका छन् । दुर्घटना पश्चात् ब्राजिली न्यायिक अधिकारीहरुले भेल कम्पनीको करिब तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप