केन्द्रीय संस्करण
तरकारीमा विषादी बहस

यसरी हालिन्छ विषादी, यस्ता छन् विषादीको असर र बच्ने उपाय

किसानले वेटिङ पिरियड ख्याल नगर्दा समस्या

person explore access_timeअसार २५, २०७६ chat_bubble_outline0

काठमाडौँ । भारतबाट आयातित तरकारीमा भएको विषादी परीक्षण स्थगनसँगै सरकारको चर्को आलोचना सुरु भएको छ । संसद्मै सभासदहरुले विष खुवाएर नेपाली जनतालाई मार्न खोजेको हो ? भनी प्रश्नसमेत गरेका छन् ।

तरकारीमा विषादी किन हालिन्छ ? त्यसरी हालिने विषादीको मात्रा, प्रयोग, नेपालको अवस्थाबारे यहाँ चर्चा गर्न लागिएको छ ।

तरकारीमा विषादीको अवस्था

अहिले विश्वभर नै तरकारी तथा फलफूल उत्पादन गर्दा विषादीको प्रयोग गरिन्छ । विषादीको प्रयोग गरिएन भने व्यावसायिक रूपमा तरकारी तथा फलफूल उत्पादन करिब करिब असम्भव छ किनभने तरकारी तथा फलफूल उत्पादन गर्दा कीरा तथा रोग लाग्ने भएकाले पनि विषादी प्रयोगबिनाको कृषिजन्य उत्पादन गर्न निक्कै गाह्रो छ । त्यसो त रासायनिक विषादीरहित ढङ्गले अर्थात् पूर्णतः अर्गानिक ढङ्गले तरकारी तथा फलफूल खेती गर्न नसकिने होइन तर त्यस किसिमको खेती गर्दा उत्पादन लागत अत्यन्तै धेरै हुने हुन्छ । फलस्वरूप उत्पादित वस्तुको भाउ पनि तुलनात्मक रूपमा महँगो हुन जन्छ । त्यसैले व्यावसायिक रूपमा उत्पादन गरिने तरकारी तथा फलफूलमा विषादीको प्रयोग नेपाल र भारतमा मात्रै नभएर विश्वभर नै हुने गरेको छ । प्रतिशतमा हेर्ने हो भने अन्य देशमा भन्दा नेपालमा विषादीको प्रयोग कम भएको मानिन्छ ।

यस्तो छ विषादी प्रयोगको अन्तर्राष्ट्रिय अवस्था

अहिले विषादी प्रयोगको अवस्थालाई हेर्ने हो भने अमेरिका, क्युबाका छिमेकमा रहेका प्रशान्त महासागरमा अवस्थित टापुहरुको देश बहामस ९द्यबजबmबक० भन्ने देशको अवस्था सबैभन्दा खतरनाक र बढी देखिन्छ । सन् २०१६ को तथ्याङ्क हेर्ने हो भने बहामसमा प्रतिहेक्टर ३२ दशमलब २२ किलो विषादी प्रयोग गर्ने गरिएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

त्यसैगरी कोस्टारिकामा प्रतिहेक्टर १८ दशमलब ७८ केजी, बार्वाडसमा १८ दशमलब ०६ केजी, माल्टामा प्रतिहेक्टर १६ दशमलब ७७ केजी, कोलम्बियामा १४ दशमलब ५७ केजी, जापानमा १४ दशमलब १८ केजी, इजरायलमा ११ दशमलब ०६ केजी,  माल्दिभ्समा १२ दशमलब २९ केजी, कोरियामा १४ दशमलब ७५ केजी प्रयोग भइरहेको देखिन्छ । विषादीका सम्बन्धमा सजग रहेको देश मानिने अमेरिकामा पनि प्रतिहेक्टर ३ दशमलब ८८ केजी विषादी प्रयोग भइरहेको छ । छिमेकी देशहरु चीनमा प्रतिहेक्टर १० दशमलब ४५ केजी र भारतमा प्रतिहेक्टर २ सय ६१ ग्राम प्रयोग भइरहेको देखिन्छ । सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम प्रयोग भइरहेको छ ।

सन् २०१८ को रिपोर्टमा भने दक्षिण कोरियामा प्रति हेक्टर १६ दशमलब ५ केजी र भारतमा प्रतिहेक्टर ४ केजी प्रयोग भइरहेको छ ।


 

तरकारीमा विषादी बहस : ‘पपुलर’ बन्न हतारको निर्णय, अहिले पुर्पुरोमा हात 

विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर आपत्ति

 

विषादी परीक्षण नगर्ने सरकारी निर्णयमा मन्त्रीले लगाए सचिवलाई दोष

भारतीय दूतावासले विषादी परीक्षण रोक्न पठाएको यस्तो पत्र 

 


यो सबै तरकारी, अन्न वा फलफूलमा प्रयोग गरिने विषादीको अनुपात हो ।

नेपालमा तरकारीको मात्रै कुरा गर्ने हो भनेचाहिँ प्रतिहेक्टर १५ किलोग्राम विषादी प्रयोग भइरहेको कृषि विज्ञले बताएका छन् ।

नेपालमा आयात हुने कुल विषादीमध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्रै प्रयोग भएको छ ।

नेपालमा ३ हजार २० प्रकारका विषादीको प्रयोग

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर डिल्लीराम शर्माका अनुसार नेपालमा हाल ३ हजार २० किसिमका विषादीको प्रयोग भइरहेको छ । विभिन्न नाममा आए पनि खासमा यी विषादीहरु मुख्यतः ५ समूहका विषादीकै अन्य नाम हुन् ।

क. अर्गानो क्लोरिन

अर्गानोक्लोरिन समूहमा पर्ने विषादीहरु सबैभन्दा पुराना विषादी हुन् । यद्यपि यो समूहका विषादीहरु अधिकांश देशमा प्रतिबन्धित छन् । धेरै हानी गर्ने भएकाले यो समूहका विषादी नेपालमा पनि प्रतिबन्ध नै छ ।

यो समूहको विषादीमा अल्ड्रिन, डाइअल्ड्रिन, डीडीटी, बीएचसी, क्लोरेडेन, लिन्डेन, इन्डोसल्फान आदि पर्छन् ।

ख. अर्गानोफस्फेटस

अर्गानोफोस्फेट अहिले नेपालमा प्रयोगमा रहेको विषादीको समूह हो । अर्गानोक्लोरिन समूहको विषादीमा प्रतिबन्ध लगाइएपछि यो विषादी प्रयोगमा ल्याइएको हो । 

अर्गानोफस्फेटसभित्र डाइक्लोरोभस, क्लोरोपाइरिफस, मालाथिन पर्छ । असर थोरै मात्रामा भए पनि लगातर सम्पर्कबाट असर हुनसक्ने, भण्डारणमा एक्कासि पोखिँदा वा स्प्रे ट्याङ्कीमा खन्याउँदा पोखिएमा पनि विष लाग्नसक्ने सम्भावना हुन्छ ।

ग. कार्बामेट

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीको अर्को समूह कार्बामेट हो । यो समूहमा कार्बारिल, कार्वाफ्युरान, कार्बाेसल्फान आदि पर्छन् ।

घ. सिन्थेटिक पाइरेथ्रोइडट्स

सिन्थेटिक पाइरेथ्रोइडट्समा ४ वटा विषादी पर्छन् । परमेथ्रिन, साइपरमेथ्रिन, फेन्भलरेट र डेल्टामेथ्रिन सिन्थेटिक पाइरेथ्रोइडट्स समूहका विषादी हुन् ।

ङ. फन्जिसाइट

तरकारी तथा फलफूलमा प्रयोग गरिने अर्को विषादी भनेको ढुसीनाशक अर्थात् फन्जिसाइट विषादीहरु हुन् । मुख्यतः तयार भइसकेको तरकारीमा ढुसी नआओस् र चम्किलो बनोस् भनेर यस्तो फन्जिसाइट विषादी हाल्ने गरिन्छ ।

किसानले वेटिङ पिरियड ख्याल नगर्दा समस्या

कुनै पनि फलफूल तथा तरकारीमा विषादी प्रयोग गरे पनि अनिवार्य वेटिङ पिरियड ख्याल गर्नुपर्छ । सरकारको भनाइअनुसार फलफूल तथा तरकारी र त्यसमा प्रयोग गरेको विषादी अनुसार वेटिङ पिरियड फरक फरक पर्ने भएको हुँदा आफूले प्रयोग गरेको विषादी कुन हो र कति दिनमा बजारमा लान मिल्ने भन्ने कुराको किसान आफै जानकार हुनुपर्ने देखिन्छ ।

यस्ता छन् १०१ विषादी प्रयोगपछि ख्याल गर्नुपर्ने वेटिङ पिरियड ।

नेपालमा २१ वटा विषादी प्रतिबन्ध लगाइएको छ ।

१              क्लोरडेन

२             डीडीटी

३             डाइअल्ड्रिन

४             इन्ड्रिन

५             अल्ड्रिन

६             हेप्टाक्लोर

७             मिरेक्स

८             टोक्साफेन

९             बीएचसी

१०           लिन्डेन

११           फस्फामिडन

१२           अर्गेनोमर्करी क्लोराइड

१३           मिथायल पाराथायन

१४           मेनोक्रोटोफस

१५           इन्डोसल्फान

१६           फोरेट

१७          कार्बाेफ्युरान

१८           कार्बाेरिल

१९           डाइक्लोरभस

२०           ट्रायजोफस

२१           बेनोमाइल

नेपाल सरकारले यी २१ वटा विषादीलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध विषादी प्रयोग गरेको खण्डमा वातावरणमा छिट्टै क्षय हुँदै जाने, मानिसको शरीरमा भएको बोसोको अंशमा मिसिएर रहिरहने  र वातावरणमा समेत लामो समयसम्म रही रहने वातावरण दूषित पार्ने विषादी हुन् । मानव स्वास्थ्यमा पार्ने खराब असरहरु छ, छँदैछ ।

विषादी छर्दा अनिवार्य इजाजत लिनुपर्ने

कृषि उत्पादन बढाउनका लागि विषादी प्रयोग गर्दा अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने यो एक वर्ष अगाडिकै निर्णय हो । गत ०७५ माघमा बनेको जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयकले यस्तो व्यवस्था गरेको थियो । तर कार्यान्वयनको पाटो भने निकै कमजोर रहेको छ ।

‘जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने कुनै व्यक्ति, संस्था वा निकायले सो कार्य गर्नुपूर्व केन्द्रबाट इजाजत लिनुपर्ने छ’, विधेयकको दफा ८ मा उल्लेख छ । सो दफाले जीवनाशक विषादीको उत्पादन, निकासी पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ वा पुनः प्याकिङ वा जीवनाशक विषादी छर्कन चाहनेलाई तीन वर्षसम्मको इजाजतपत्र दिने व्यवस्था गरेको छ । इजाजत लिँदा सर्त पूरा गर्नुपर्ने हुन्छ । शर्त उल्लङ्घन गरे इजाजत रद्द हुनेछ ।

यी विषादीले मानव स्वास्थ्यमा पार्ने असरहरु

क. अर्गानोक्लोरिन

यसभित्रको विषादीले केन्द्रीय स्नायु प्रणालीलाई नै सीधै असर गर्छ । यी विषादी बोसोमा जम्न सक्छन्, धेरै लामो समयसम्म शरीरमा बस्छ । छाती र स्तनको बोसोमा जब यी विषादीहरु जमेर टाँसिन्छ तब धेरै लामो समयसम्म सोही ठाउँमा रहन्छ । लामो समयसम्म वातावरणमा रहने र जनावरको बोसोमा सञ्चय हुने जस्ता नकारात्मक गुणका कारण यो समूहका सबैजसो विषादीहरु अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिबन्धित भइसकेका छन् ।

यी विषादीको असर करिब एक घण्टापछि देखिन थाल्छ र कडा असर ४८ घण्टासम्म रहिरहन्छ । इन्डोसल्फान जस्ता अर्गालोक्लोरिन विषादी छालाको माध्यमबाट सोसिएर शरीरभित्र पस्छन् । यो समूहको विषादीसँगको लगातार सम्पर्क वा एकै पटकमा ठूलो मात्रासँगको सम्पर्कका कारण जनावरको बोसोमा जम्मा हुने सम्भावना हुन्छ ।

अर्गानोक्लोरिन विषादीहरुले साइटोक्रोम अक्सिडेज नामक इन्जायम (रगतमा हुने महत्त्वपूर्ण तत्त्व जसले रगतमा अक्सिजन पुर्याउँने काम गर्छ) बन्ने क्रियालाई रोक्छ । फलस्वरूप फोक्सोमा हावाको आवागमनमा अवरोध पुर्याउँछ र स्नायु प्रणालीलाई असन्तुलित बनाई पूरै शरीरलाई निष्किृय बनाइदिन्छ । एक पटकको ठूलो मात्रासँगको सम्पर्कले एकै पटकमा कलोजो र मिर्गौला खराब हुनसक्छ ।

ख.अर्गानोफस्फेटस

अर्गानोफस्फेटसले मस्तिष्कको मुख्य स्नायु प्रणालीमा असर पुर्याउँनुका साथै मेरुदण्ड र मस्तिष्कको बाहिरी भागमा रहेका नसालाई पनि असर गर्छ । अर्गानोफस्फेटस ग्रुपका विषादी एसिटाइल कोलिनइस्टेरेज नामक इन्जायमसँग एट्याच हुन्छ । उक्त इन्जायमलाई शरीरमा एक स्थानबाट अर्काे स्थानमा जान रोकिदिन्छ फलस्वरूप स्नायु प्रणालीले शरीरको मांसपेसीलाई आवश्यक पर्ने सूचना राम्ररी प्रवाह गर्न सक्दैन र विभिन्न विषाक्त लक्षण देख्न र अनुभव गर्न सकिन्छ ।

साधारणतया स्वाभाविक रूपमा शरीरका मांसपेसी, विभिन्न ग्रन्थी आआफ्नो स्तरबाट काम गररहेका हुन्छन् । तर जब एसिटाइन नामक इनवाइमको सँगै विद्युतीय प्रवाह रोकिन्छ तत्पश्चात क्रमशः अन्य खराब असरहरु सुरु हुनथाल्छ । अर्गानोफस्फेटसभित्रको विषादी छर्कने या प्रयोग गर्ने कृषकलाई विष लागेको खण्डमा ३० मिनेटपछि असर देखा पर्न सुरु हुन थाल्छ र २४ घण्टासम्म सो असर रहिरहन्छ ।

ग. कार्बामेट

कार्बामेट अर्गानोफस्फेट जस्तो बहुआयामिक हुन्छ । यो अर्गानोक्लोरिन्स जस्तो लामो समयसम्म रहँदैन । कार्बामेट केही खाँदा लाग्ने र केही दैहिक प्रकृतिका हुन्छन् । कार्बामेटभित्र पर्ने विषहरुको कामको प्रकृति पनि अर्गेनोफोस्फेटको जस्तै कोलिनसटरेज नामक इन्जायमलाई शरीरको जैविक क्रियामा उपलब्ध हुन नदिनु हो । कार्बामेट समूहमा पर्ने विषादी अर्गेनोफोस्फेटको भन्दा असर छिटो हराउने हुन्छ ।

घ. सिन्थेटिक पाइरेथ्रोइडट्स

सन्थेटिक पाइरेथ्रोइडट्स समूहका विषादी मानिसहरुको लागि कम घातक र माटोमा धेरै समयसम्म अवशेष नरहने प्रकृतिका हुन्छन् । यस समूहको विषादीमा प्रयोग गर्दा एउटै खालको विषादी एकै ठाउँमा पटक पटक प्रयोग गर्दा  किरामा प्रतिरोधात्मक गुण विकसित हुन्छ । फराकिलो दायरा भएकाले एकभन्दा धेरै किराहरु मार्न सकिने र सम्पर्क तथा आन्तरिक प्रकृतिका हुन्छन् । यी विषादी फराकिलो दायराका भएकाले प्राकृतिक शत्रुहरुलाई हानिकारक हुन्छन् । सिन्थेटिक पाइरेथ्रोइडट्स समूहको विषादीको कार्यगत शैली अर्गानोक्लोरिनको जस्तै हुन्छ ।

स्वास्थ्यमा पार्ने असर

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका निर्देशक डा. डिल्लीराम शर्माका अनुसार क्यान्सर, पक्षघात, पेटका विभिन्न रोग, मुटुमा लाग्ने रोग, प्यारालाइसिस हुन सक्ने सम्भावना हुन्छ ।

अफसिजनका तरकारीहरु धेरै विषादी हुने भएको हुँदा यस्ता कुरामा नागरिकले ध्यान दिनुपर्ने देखिन्छ । तरकारी तथा फलफूल सेवन गर्दा एउटै सिजनको भन्दा पनि सिजन अनुसारको खाँदा विषादी सेवनबाट जोखिन सकिन्छ । अफ सिजनका तरकारी तथा फलफूलमा बढी मात्रामा विषादी प्रयोग गर्ने भएका हुँदा यस्ता कुरामा नागरिक सचेत रहनुपर्ने सरकारको भनाइ छ । विषादी र अन्य रसायनहरु छालाबाट, फोक्सो, मुख र आँखाबाट प्रवेश गर्छ ।

किसानलाई नै धेरै असर

विषादीको असर उपभोक्ताभन्दा धेरै तरकारी तथा फलफूल उत्पादन गर्ने किसानमा नै बढी देखिन्छ । किसानलाई विष मिलाउँदा पोखिँदा वा छर्किंदा शरीरमा लाग्न गई प्रदूषण हुन सक्छ । छर्किएको विषको झोल वा धुलो हावाको वहावबाट पनि सोसिन सक्छ । छालाबाट विषादी सोसिनुको एउटा सामान्य कारण भने विषादी छर्दा प्रयोग गरेको कपडा तत्काल नहटाई लामो समयसम्म लगाइरहँदा पनि विष शरीरमा पुग्न सक्छ ।

साथै विषादी छर्किंदा घाउ लाग्नु, खस्रिनु र छालामा दाद जस्तो दाग हुनु जस्ता अवस्थामा छालाले सजिलोसँग विष सोस्ने गर्छ । घाँटी, मुख र टाउको विष सोस्ने बढी संवेदनशील हुने गरेको अध्ययनले देखाएको छ । जस्तै विषादीमा पनि सविन्यासहरुमा छालाबाट विष सोस्ने बेग्ला बेग्लै क्षमता हुन्छ । साधारणतया दूधिलो (ईसी) सविन्यास पानीमा मिसिन सक्ने पाउडर (डब्लूपी), धुलो र दानेदार (गेडा) भन्दा बढी मात्रामा छालाबाट सोसिन सकिने प्रकृतिको हुन्छ ।

—श्वासप्रश्वासबाट विषादी शरीरमा प्रवेश भएमा त्यसले रगतलाई प्रभावपारी विष लाग्न सक्ने हुन्छ । खासगरी मसिनो पाउडर, धुलो र धुँवाले विषादीबाट यस्तो समस्या आउन सक्छ । पानीमा मिसिने धुलोबाट मिसावट गर्दा, धुलो छर्दा र घरभित्र कीटनाशक विषादी छर्कंदा, स्पे्रयरबाट विषादी छर्कंदा साना ड्रपलेट श्वास क्रियाबाट विषादी प्रवेश हुन सक्ने सम्भावना हुन्छ । विषादी मानव शरीरमा प्रवेश गरेपछि त्यसबाट नाक, घाँटी र फोक्सोलाई नराम्रो असर पुग्छ ।

—खाने प्रक्रियाबाट विष सेवन हुन जान्छ । खाद्य सामग्रीको माध्यमद्वारा विषको सेवन हुन जान्छ । यसका साथै पेय पदार्थहरुबाट पनि विष प्रदूषण हुन जाने अवस्था हुन्छन् ।

जस्तै; लेबल नभएका वियर, कोक जस्ता बोतलमा पनि विष राखिएमा र त्यस्ता भाँडाबाट झुक्किएर पेय पदार्थ वा अन्य खानेकुरा सम्झेर पिएमा खानासँग खाएमा प्रदूषण हुन पुग्छ ।

विषादी छर्दा संलग्न व्यक्तिको मुख, हातमा झोल वा धुलो छर्किन गएमा र त्यस प्रकारसँग संसर्गमा आएको अङ्गलाई खानपिन र धूमपान गर्नु अगाडि राम्ररी सफा नगर्दा पनि विष शरीरमा पग्ने गर्छ ।  स्प्रेयर नोजहरु जाम भएको अवस्थामा मुखले फुकेर वा चुसेर सफा गर्न खोजिएमा पनि मुखबाट विष शरीरमा पुग्छ ।

—आँखाको प्रदूषण 

आँखा सबैभन्दा कोमल अङ्ग हो । आँखा धेरै रसायनबाट प्रभावित हुने प्रकृतिको हुन्छ र विषलाई छिट्टै सोस्न सक्छ । विषको झोल मिसावट गरी तयार गरिँदा छिटा पर्न गएमा, विषको झोल वा धुलो छर्दा हावाको वहावबाट र प्रदूषित हात वा पहिरनले आँखा पुछिएमा त्यसबाट पनि विष शरीरमा पुग्न सक्छ ।

विषादी सेवनबाट बच्ने उपाय 

विषादी सेवनबाट विषादी प्रयोग गर्ने किसान र उपभोक्ता दुवै बच्नुपर्ने हुन्छ । किसानले विषादी भनेको विष हो यो औषधि होइन, त्यसैले जथाभावी प्रयोग गर्न नहुने प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको अनुरोध छ । फलफूल तथा तरकारीमा विषादी प्रयोग गर्दा प्राविधिकको सहयोग सल्लाहअनुसार गर्न सकेको खण्डमा खासै समस्या नआउने सरकारको भनाइ छ ।

अति हानिकार विषादी, नेपाल सरकारले प्रतिबन्ध लगाएको विषादीहरु प्रयोगै गर्न नहुने जनाएको छ । माक्स, पन्जा, आँखामा चस्मा लगाएर पनि विषादी प्रयोग गर्नुपर्ने र विषादी प्रयोगको पर्खनुपर्ने समय पूरा भएपछि मात्रै बजारमा लाने हो भने यस्ता फलफूल तथा तरकारी सेवन गर्दा मानव स्वास्थ्यमा खासै समस्या नहुने प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका निर्देशक डा. डिल्लीराम शर्मा बताउँछन् ।

उपभोक्ताले पनि विषादी हालेको मिति लगायतको कुरा सोधबुझ गरेर मात्रै खरिद गर्नुपर्ने केन्द्रको भनाइ छ । बजारबाट ल्याएपछि राम्रोसँग पखाल्ने, धुने र केही समय नुन पानीमा राखेर मात्रै पकाउने हो भने विषादी सेवन कम हुने देखिन्छ ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...