शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेट सेमिफाइनल : बलियो भारत भर्सेस अभागी न्युजिल्याण्ड

मङ्गलबार, २४ असार २०७६, १० : ०९
मङ्गलबार, २४ असार २०७६

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज (मंगलबार) भारत र न्युजिल्याण्ड भिड्दैछन् ।

ओल्ड ट्राफोर्ड मैदानमा नेपाली समयअनुसार ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु रहेको छ ।

दुई पटकको विश्वकप विजेता भारत तेस्रो उपाधि चुम्ने अभियानमा छ । यसैगरी न्युजिल्याण्ड पनि भारतलाई हराएर पहिलो पटक उपाधि जित्न आतुर छ ।

भारतले सन् १९८३ र २०११ म विश्वकप उपाधि जितेको थियो । न्युजिल्याण्ड सन् २०१५ को विश्वकपमा फाइनलमा पुगेको थियो ।

लिग चरणमा भारत विजेता र न्युजिल्याण्ड चौँथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । भारतले नौमध्ये सात खेलमा जीत, एक हार र एक खेल वर्षाका कारण अनिर्णित नतिजा निकालेको थियो । न्युजिल्याण्डले नौमध्ये पाँच खेलमा जित, तीन हार र एक खेल वर्षाका कारण अनिर्णित नतिजा निकालेको थियो । लिग चरणमा भारत र न्युजिल्याण्डबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

विश्वकपमा न्युजिल्याण्ड आगडि

यसपटक भारत सबै पक्षमा सन्तुलित देखिएको छ । न्युजिल्याण्ड टोलीमा पनि अनुभवी खेलाडीको कमी छैन ।  विश्वकपमा यी दुई टोलीबीच खेलिएको खेलमा न्युजिल्याण्ड बलियो देखिन्छ । यसअघि विश्वकपमा यी दुई टोली आठ पटक भिडेका छन् । जसमा चार खेल न्युजिल्याण्डले जितेको छ । तीन खेल भारतले जितेको छ । एक खेल अनिर्णित बनेको थियो ।

पछिल्लो चार वर्षलाई हेर्ने हो भने चाहीँ भारत कै पल्ला भारी देखिन्छ । सन् २०१५ पछि दुई टोलीबीच भएका १३ खेलमा भारतले ९ तथा न्युजिल्याण्डले ४ खेल जितेको छ ।

म्यान्चेस्टरमा दुई टोली ४४ वर्षपछि आमने सामने हुन लागेका छन् । पछिल्लो पटक सन् १९७५ मा भएको विश्वकपमा न्युजिल्याण्डले भारतलाई ४ विकेटलाई हराएको थियो । त्यसयता दुई टोलीबीच इङ्ल्याण्डको मैदान थप दुई पटक भिडेका छन् । त्यसमा दुवै खेलमा न्युजिल्याण्ड सफल रह्यो । सन् १९९९ मा नटिङहममा भारत ५ विकेट र सन् १९७९ मा लिड्सको हेडिङ्लीमा ८ विकेटले पराजित भएको थियो ।

सेमिफाइनलमा न्युजिल्याण्ड अभागी

यता, सेमिफाइनल खेलहरुमा भने न्युजिल्याण्ड अभागी टोली साबित हुँदै आएको छ । विश्वकपको इतिहासमा भारतको यो सातौँ सेमिफाइनल हो । भारतले अहिलेसम्म ३ वटामात्र सेमिफाइनल हारेको छ । गत विश्वकपमा अस्ट्रेलियाले भारतलाई सेमिफाइनलमा हराएको थियो । न्युजिल्याण्डविरुद्ध भारतको यो पहिलो सेमिफाइनल खेल हुनेछ ।

न्युजिल्याण्डका लागि भने यो आठौँ सेमिफाइनल खेल हुनेछ । तर, अहिलेसम्म अन्तिम चारको खेलमा न्युजिल्याण्डको रेकर्ड राम्रो छैन । ६ वटा सेमिफाइनलमा हारेको न्युजिल्याण्डले एक मात्र खेल जितेको छ ।

हेड टु हेड

दुई टिमले हालसम्म १०६ एक दिवसीय खेल खेलेका छन् । यसमध्ये भारत ५५ मा र न्युजिल्याण्डले ४५ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । ५ खेलको नतिजा आउन सकेन । दुई टिम बीचको यसै विश्वकपको पछिल्लो खेल वर्षाका कारण रद्द भएको थियो ।

भारतको सबल पक्ष

भारतीय ब्याट्सम्यान रोहित शर्मा अहिले निकै फर्ममा छन् । उनले लिग चरणमा पाँच शतक र एक अर्धशतक प्रहार गरेर ९२.४२ रनको औसतले किर्तिमानी ६ सय ४७ रन बनाइसकेका छन् । कप्तान विराट कोहलीको प्रदर्शन पनि उच्च स्तरको छ । विराटले ८ पारीमा ४४२ बनाएका छन् । भारतीय बलरपनि उस्तै चुस्त छन् । जसप्रित बुमराहले ८ खेलमा १७ विकेट लिइसकेका छन्  भने मोहमद शमीले चार खेलमा १४ विकेट लिइसकेका छन् ।

न्युजिल्याण्डको सबल पक्ष

भारतलाई टक्कर दिन न्युजिल्याण्डका कप्तान केन विलियम्सन पनि तयार छन् । उनको पनि ब्याटिङ उत्कृष्ट रहेको छ । केनले लिग चरणमा कुल चार सय ८१ रन बनाइएका छन् । उनले दुई शतक र एक अर्धशतक प्रहार गरिसकेका छन् । बलिङमा लोकी फर्गुसनले १७ विकेट लिइसकेका छन् । उनी १५० किमी प्रतिघण्टाले बलिङ गर्न सक्षम छन् । यस विश्वकपमा उनको इकोनोमी रेट ४.९६ रहेको छ ।

त्यसैले, आज भारत र न्युजिल्याण्डको खेल रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप