शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हाम्रो राष्ट्रिय चरित्रमा नै कमजोरी छ’

भारतका कम्युनिष्ट साथीहरु दङ्ग परेर सोध्छन् – यति छिट्टै नेपालका कम्युनिष्टहरु कसरी धनी भए ?
सोमबार, २३ असार २०७६, १२ : १२
सोमबार, २३ असार २०७६

नेपाली कम्युनिष्ट आन्दोलनमा सुपरिचित नाम हो : मोहनविक्रम सिंह । नेकपा मसालका महामन्त्रीसमेत रहनुभएका सिंहसँग रातोपाटीका लागि चन्द्र खाकीले गरेको कुराकानी प्रस्तुत छः

नेपाली राजनीतिले पक्रेको दिशा र त्यसले अहिले भोगिरहेको दशा के हो ?

नेपालको राजनीतिक स्थिति गम्भीर छ । वास्तवमा भन्ने हो भने, अहिलेको तत्कालको मात्र हैन, लामो समयदेखि नेपालको राजनीति लोकतन्त्र, प्रतिगमन, विदेशी शक्तिहरुको हस्तक्षेपको चक्रमा घुमिरहेको छ । हाम्रो कोशिश अहिलेको राजनीतिलाई जनवाद, समाजवादको तहसम्म पुर्याउने नै छ र हुनुपर्छ । तर तत्काल त्यो अहिलेको हाम्रो मुख्य एजेण्डा बनाएका छैनौं । तत्काल जनवाद कायम गर्न र समाजवाद ल्याउनको लागि परिस्थिति तयार छैन भन्ने हाम्रो सोचाइ हो ।

तत्काल गर्ने भनेको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, लामो संघर्षपछि कायम भएको संविधानको रक्षा र कार्यान्वयन  नै हो ।

यतिखेर यसका विरुद्ध कैयन शक्तिहरु लागेका छन् । एकातिर देशभित्रका कट्रवादी शक्तिहरु, राजावादी हिन्दूवादी शक्तिहरु लागेका छन् भने अर्कोतिर भारतीय विस्तारवाद पनि लागेको छ । भारतको नेपालप्रतिको दृष्टिकोण विस्तारवादी साम्राज्यवादी रहँदै आएको छ । तिनमा पनि नेपालको गणतन्त्र, धर्मनिरपेक्षताप्रति त्यहाँको कांग्रेसका आईको नराम्रो दृष्टिकोण छैन । तर भाजपाको कट्टर प्रतिगामी दृष्टिकोण छ र तिनीहरु नेपालका परिवर्तनप्रति सकारात्मक छैनन् ।

सातसालदेखिकै इतिहास हेर्ने भने कहिले लोकतन्त्र अघि आउने, प्रतिगमन पछि जाने, प्रतिगमन अघि आउने, लोकतन्त्र पछि जाने चक्र चल्दै आएको छ । अहिले गणतन्त्र हावी छ तर त्यो सुरक्षित छैन । प्रतिगामीहरु यसलाई समाप्त पार्ने कोशिशमा लागिरहेका छन् । यो द्वन्द्वका बीच अहिले देश गुज्रिरहेको छ ।

अर्को सवाल भनेको, नेपालका जनताले वारम्बार लोकतन्त्र, गणतन्त्र र अग्रगमनको पक्षमा आन्दोलन गर्दै र त्यसलाई विजयी बनाउँदै आएका छन् । तर नेपालका राजनीतिक पार्टीहरुको भूमिका राम्रो भएन । सातसालपछि कांग्रेस सत्तामा आयो र विपीको नेतृत्वमा सरकार बन्यो । तर सरकारमा जानेबित्तिकै जनविरोधी, दमनकारी नीति अपनायो । त्यसबाट राजा महेन्द्रले फाइदा उठायो र तीस वर्षे पञ्चायती शासन कायम गर्यो । ४६ सालमा त्यही भयो । बहुदलीय पक्षधरको विजय भयो तर सत्तामा आएका राजनीतिक पार्टीहरुले सही ढंगले काम गरेनन् । त्यसबाट पैदा भएको असन्तोषको ज्ञानेन्द्रले फाइदा उठाए ।

अहिले गणतन्त्र आएको छ । आफूलाई कम्युनिष्ट भन्ने, जसलाई हामी कम्युनिष्ट नै मान्दैनौं, हरुको बाहुल्यता रहेको सरकार छ । तर उनीहरुले सत्तामा आएर पनि राम्रो काम गर्न सकिरहेका छैनन् । स्वयं आफ्नो प्रतिबद्धताअनुसार, गणतन्त्र÷लोकतन्त्रलाई मजबूत पार्ने र देशको विकास निर्माण गर्ने काममा उनीहरुको भूमिका सन्तोषजनक रहेको छैन ।

लोकतन्त्रको पक्षमा आएका राजनीतिक शक्तिहरुको बारम्बारको गलत कामकारवाहीहरुले गर्दा प्रतिगमनले शिर उठाउने मौका पाउँदै आएको छ । यो स्थितिमा खेलेर अहिले पनि प्रतिगमनकारी, राजावादी शक्तिहरुले खेल्ने कोशिश गरिरहेका छन् । यही मौकामा भारतमा सत्तामा आएका कट्टरवादी हिन्दू शक्तिहरुले नेपालमा राजतन्त्र स्थापित गर्ने कोशिश गरिरहेका छन् ।

यो स्थितिमा अहिले सरकारमा रहेको राजनीतिक शक्तिले राम्रो भूमिका निर्वाह गरेको भए यो स्थितिको सामना गर्न सक्थ्यौं । तर यही सरकारको कारण र उसको गलत गतिविधि र कार्यशैलीको कारणले गर्दा गणतन्त्र, लोकतन्त्रको आधार कमजोर हुँदै गइरहेको छ । फलतः देशको राष्ट्रियतामाथि पनि गम्भीर खतरा पैदा भएको छ ।  यतिखेर मुलुकमा राष्ट्रिय विखण्डनको स्थिति पैदा गर्ने कोशिश भइरहेको छ र मूलतः भारतले पनि त्यही किसिमको राजनीतिलाई अगाडि बढाइरहेको छ ।

त्यसो त अहिले जुन स्थिति तयार भएको छ, यो कुनै नयाँ र अनौठो स्थिति तयार भएको होइन । सातसालदेखि नै जुन द्वन्द्वमा नेपाल रहँदै आएको छ, अहिले पनि त्यही द्वन्द्वमा नेपाल छ । 


यस्ता निम्न साँस्कृतिक धरातल भएका राजनीतिक पार्टीहरुले जनताबाट किन भोट पाउँछन् ? किन उनीहरुले अत्यधिक बहुमत पाउँछन् ? यसले हाम्रो राष्ट्रिय चरित्रमा पनि कैयौं गम्भीर प्रकारको कमजोरी छ भन्ने नै देखाउँछ ।


सात सालदेखि नै परिवर्तनकारी शक्तिहरुले सही भूमिका निर्वाह गर्न नसक्दा बारम्बार प्रतिगमनले शिर उठाउने मौका पायो भन्ने तपाईंको भनाइ रह्यो । तर परिवर्तनका लागि लडेका र लामो समयदेखि आफूलाई त्यसैमा जीवन अर्पेका शक्तिहरु आफैंले चाहिँ परिवर्तनका मुद्दाहरुलाई सही ढंगले सम्बोधन गर्न तथा सही भूमिका निर्वाह गर्न नसक्नुका जड कारणहरु चाहिँ के रहे ?

जड कारण भनेको मूलतः उनीहरुको चरित्र नै हो । अरु देशहरुमा बुर्जुवा पार्टीहरु हुन्छन् । कम्तिमा उनीहरु आफ्नो देश र देशको विकासप्रति, लोकतन्त्र, गणतन्त्रप्रति र मुलुकको समृद्धिका लागि इमान्दार भएर काम गरिरहेका हुन्छन् । बुर्जुवा पार्टीहरुमा हुने त्यो इमान्दारिता र चरित्र नेपालको राजनीतिक पार्टीहरुमा भएन । कांग्रेसमा पार्टीमा त भएन भएन, स्वयं कम्युनिष्ट पार्टीहरुमा पनि त्यो भएन ।

भएन चाहिँ किन ? के मुखले चाहिँ उन्नत सिद्धान्तको कुरा गर्ने तर साँस्कृतिक रुपले, चिन्तनगत हिसाबले चाहिँ उनीहरु पछौटै नै रहेको कुराको द्योतक हो यो ?

यसको कारण भनेको निम्न साँस्कृतिक धरातल नै हो । माक्र्सवादी दृष्टिकोणले त्यो धरातल यिनीहरुमा छँदैछ, बुर्जुवा दृष्टिकोणले पनि हुनुपर्ने न्यूनतम साँस्कृतिक धरातलको पनि अभाव देखिन्छ । बुर्जुवाहरुमै पनि बरु साँस्कृतिक धरातल माथिनै उठेको देखिन्छ । हो, बुर्जुवाहरुको दृष्टिकोण, दर्शन र व्यवहारप्रति हाम्रो विरोध छ, तर साँस्कृतिक रुपमा उनीहरु कैयन सन्दर्भमा माथि नै उठेका हुन्छन् । उदाहरणको लागि, विकसित बुर्जुवा समाजमा कोही मानिस नहुँदा पनि पुस्तक पत्रिकाहरु पैसा तिरेर किन्ने लैजाने हुन्छ भने हाम्रो यहाँ चाहिँ लाइब्रेरी कै किताब पनि गायब गरिदिने खालको व्यवहार हुन्छ । केही समयअघि अमेरिकन लाइब्रेरी न्यूरोडमा हुँदा उनीहरुले

प्रयोगको रुपमा किताब राखिदिने तर केही समयको अन्तरालमा गायब हुने गरेको पाइएको थियो । यसको अर्थ के हो भने हाम्रो राष्ट्रिय चरित्रमा पनि केही कमजोरी छ । खालि राजनीतिक पार्टीहरुलाई मात्रै दोष दिएर पनि शायद उम्कन मिल्दैन ।

यस्ता निम्न साँस्कृतिक धरातल भएका राजनीतिक पार्टीहरुले जनताबाट किन भोट पाउँछन् ? किन उनीहरुले अत्यधिक बहुमत पाउँछन् ? यसले हाम्रो राष्ट्रिय चरित्रमा पनि कैयौं गम्भीर प्रकारको कमजोरी छ भन्ने नै देखाउँछ ।

भन्नाले राजनीतिक आन्दोलनका मुद्दामा हामी बढी केन्द्रीत रह्यौं तर साँस्कृतिक र  चारित्रिक विकास निर्माणका कुराहरुमा चाहिँ हामी पछौटे नै रह्यौं भन्दा मिल्छ ?

साँस्कृतिक धरातलमा त हामी धेरै पछाडि छौं । त्यो चीज बाहिरका कम्युनिष्टहरुबाट पनि थाहा पाउन सकिन्छ । उदाहरणका लागि, भारतका कैयौं कम्युनिष्ट साथीहरुसँग हाम्रो भेट हुन्छ । उनीहरु नेपालका कम्युनिष्टहरुलाई देखेर दंग पर्छन् । त्यहाँ पनि संसदवादी, दक्षिणपन्थी कम्युनिष्टहरु छन् । तर उनीहरु आफूले अपनाएका आदर्श, सिद्धान्तप्रति प्रतिबद्ध छन् । उनीहरु नेपालका कम्युनिष्टहरुलाई देखेर भन्छन्, यतिछिटै नेपालका कम्युनिष्टहरु कसरी धनी भए ? उता चालीसौं वर्ष मुख्यमन्त्री भएकाहरुका जीवनशैली पनि सामान्य छन् । तर त्यसको ठीक विपरीत केही दिन मन्त्री बनेकोहरु पनि नेपालमा धनाढ्य बन्छन् । क्रान्तिकारी भनिएका नेताहरु पनि धनाढ्य वर्गमा परिणत हुन्छन् । यसको अर्थ उनीहरु माक्र्सवादी–लेनिनवादी साँस्कृतिक धरातल मात्र हैन, सामान्य बुर्जुवा प्रकारका धरातलबाट समेत पतन भएका छन् । समग्र रुपमा त्यसले हाम्रो राजनीतिमा काम गरिरहेको छ ।

प्रचण्ड बहुमतका साथ सत्तामा स्थापित सरकारले लिएको दिशा सही छैन र त्यही कारण जनतामा पैदा वितृष्णामा प्रतिगामीहरु खेल्न सक्ने कुरा बारम्बार उठ्ने गरेको छ । यस्तो स्थितिमा परिवर्तनकारी, क्रान्तिकारी शक्तिहरुले किन एकत्रित भएर विकल्प प्रस्तुत गर्न सकिरहेका छैनन् ? किन उनीहरु आ–आफ्नै मौजा खडा गरेर त्यसैमा रमाएर बसिरहेका छन् त ? किन उनीहरुले प्रतिगमनका विरुद्ध संगठित गर्जन गर्नुको साटो झिनो स्वरमा मात्र आवाज उठाइरहेका छन् ?

–वैकल्पिक शक्ति हामीले चाहँदै र भन्दैमा तयार हुने कुरा होइन । त्यसका लागि जनाधार, आत्मगत परिस्थिति र शक्ति तयार हुनुपर्यो । त्यो स्थिति अहिले हामीले देखिरहेका छैनौं । त्यस्तो बलियो शक्ति अहिले प्रतिगामीहरु नै छन् ।

तर त्यसको अर्थ हामीले वर्तमान सरकार नेपाली कांग्रेस, राप्रपाहरु र राजावादी शक्तिहरु जस्तै प्रतिगामी हो भनेर भन्दैनौं । तुलनात्मक रुपमा यो प्रगतिशील छ । त्यसैले हामीले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका सवालहरुमा यसको प्रगतिशील अडान छ । जबकि अहिले नेपाली कांग्रेसभित्र ठूलो मात्रामा हिन्दू राज्यको पक्षमा, राजतन्त्रको पक्षमा आवाज उठिरहेको छ । राजावादीहरु त्यही प्रकारका छन् । मधेशवादीहरु देशलाई टुक्र्याउने दिशातिर गइरहेका छन् ।

त्यसैले हामीले भन्दै आएका छौं, जनतामाझ अलोकप्रियताका बाबजूद वर्तमान सरकार ती शक्तिहरुभन्दा प्रगतिशील छ । तर, तिनीहरुको नीति सन्तोषजनक छैन । यसअर्थमा योभन्दा शक्तिशाली क्रान्तिकारी विकल्प देखेको भए यो सरकारलाई खत्तम पारेर त्यो क्रान्तिकारी विकल्पलाई ल्याउनेबारे हामी सोच्थ्यौं ।

अहिलेको सरकार खत्तम हुनुभनेको फेरि पनि देश प्रतिगमनको दिशातिर जानु हो । त्यसकारण यो सरकारको गलत नीतिहरुको विरोध गर्दै, त्यसका विरुद्ध संघर्षहरु गर्दै हामीले देशमा कायम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नु पर्छ भन्ने कुरामा हाम्रो जोड हो ।

प्रतिगमनको चर्चा धेरै भयो । तर यो कुन स्वरुपमा यो उठ्ने खतरा बढी छ र त्यसलाई रोक्ने विधि के हुन सक्छ ?

–४६ सालमा पनि यो कुरा हामीले धेरै उठायौं । प्रतिगमनको खतरा त सधैं रहन्छ ।


अहिले देखिरहेका छौंः राजावादीहरु, हिन्दू राष्ट्रवादीहरु जुर्मुराइरहेका छन् । उता छिमेकी देश भारतको उत्तरप्रदेशमा योगी आदित्यनाथहरु नेपालमा हिन्दू राज्य र राजतन्त्रको कुरा उठाइरहेका छन् । भाजपाले त्यही कुरा उठाइरहेको छ । यसले गर्दा हामीले देखिरहेका छौं : अहिले झन प्रतिगमनको खतरा बढी छ । त्यो खतरा बढी कसले गराइरहेका छ भन्दा यो सरकारले नै गलत प्रकारका नीति र कार्यशैलीहरु अपनाएर गरिरहेका छन् ।


त्यसो त केही समयअघि प्रम ओलीले पनि १७ सालको संस्मरण गराउनुभयो । के घटनाक्रम त्यो किसिमले दोहोरिन सम्भव छ र ?

–हेर्नुहोस्, सम्भव छैन हामी भन्दैनौं । जस्तो मैले ४६ सालमा त्यो कुरा उठाएको उल्लेख गरें । ४६ सालमा सरकारले उठाएका गलत कदमहरु तथा बहुदलीय पक्षधरहरु नै आपसमा लड्ने भिड्ने गर्दा हामीले प्रतिगमनको घटना दोहोरिन सक्ने चेतावनी दिएका थियौं । त्यसबेला धेरै मानिसहरुले त्यो सम्भव छैन नै भनेका थिए । उनीहरुले ठोकुवा नै गरेका थिए कि अब देश प्रतिगमनतिर जाँदैन । तर पछि ज्ञानेन्द्रले सत्ता कब्जा गरे । आज पनि हामीले त्यो स्थिति देखिरहेका छौं । यो कुरा आजभन्दा ३, ४ वर्षदेखि नै हामीले भन्दै आएका छौं ।

अहिले देखिरहेका छौंः राजावादीहरु, हिन्दू राष्ट्रवादीहरु जुर्मुराइरहेका छन् । उता छिमेकी देश भारतको उत्तरप्रदेशमा योगी आदित्यनाथहरु नेपालमा हिन्दू राज्य र राजतन्त्रको कुरा उठाइरहेका छन् । भाजपाले त्यही कुरा उठाइरहेको छ । यसले गर्दा हामीले देखिरहेका छौं : अहिले झन प्रतिगमनको खतरा बढी छ । त्यो खतरा बढी कसले गराइरहेका छ भन्दा यो सरकारले नै गलत प्रकारका नीति र कार्यशैलीहरु अपनाएर गरिरहेका छन् ।

कम्युनिष्ट वा वामपन्थी सरकारले नै त्यति गलत बाटो अपनाइरहेको छ भने त्यसका विरुद्धमा सशक्त विरोध वा जनप्रतिरोध किन उठ्दैन वा उठ्न सकिरहेको छैन त ? त्यसको कारण के हो ?

–त्यसको एउटै कारण हो, त्यसका विरुद्धमा उठ्ने शक्तिहरु त्यति शक्तिशाली छैन । हामीले कैंयौं पटक देशव्यापी रुपमा आन्दोलनका कार्यक्रमहरु बनाएका छौं । नाराजुलुस विरोधसभाहरु गरिरहेका छौं तर त्यसलाई व्यापक बनाउन सकिरहेका छैनौं । त्यसको अर्थ व्यापक रुपमा जनाधार हाम्रो छैन ।

हामीले एउटा कार्यक्रम दिन्छौं, २–४ सय मानिस जम्मा होलान् । कुनै बेला ५० जना जम्मा हुन्छन् । यसको अर्थ यो हो जनविरोधी राजनीतिका विरुद्धमा आएका क्रान्तिकारी राजनीतिप्रति जनताको समर्थन प्राप्त भइसकेको छैन । यसको अर्थ जनताको चेतनास्तर त्यति माथि उठिसकेको छैन । चुनावको बेला पैसा बाँडेर, झुठो प्रलोभन दिएर जनतालाई भोट माग्ने कोशिश गर्छन् र उनीहरु विजयी पनि हुन्छन् । त्यसैले अहिलेको अवस्था आउनको लागि राजनीतिक पार्टीहरु मात्रै दोषी छैनन् । त्यसको लागि जनताको चेतनास्तर पनि जवाफदेही छ ।  हिजोको इतिहास नराम्रो भएका, गलत काम गर्नेहरुलाई जनताले बारम्बार भोट दिनु र जिताउनु त्यसैको परिणाम हो । तर फेरि पनि निर्णायक शक्ति भनेका जनता नै हुन् ।

हिजोका परिवर्तनहरुमा राजनीतिक पार्टीहरुमा आबद्ध नभएका तर बाहिर नागरिक समाजको नाममा संगठित भएका प्रगतिशीलहरुले पनि निर्णायक भूमिका खेलेका थिए । तिनीहरुलाई समेत गोलबद्ध गर्दै नयाँ ढंगको आन्दोलन उठाउने दिशातिर खासै पहलकदमी पनि त भएको छैन नि ! जनतालाई दोष दिनुभन्दा नेतृत्ववर्गबाट पनि त्यसतर्फ खासै पहल, प्रयास वा प्रयत्नहरु हुनपर्ने होइन र ?

–नागरिक समुहको भूमिका प्रायशः केही एनजीओ/आइएनजीओहरुसँग सम्बद्ध छ । राजधानीमा केही काम गरेको तर देशव्यापी रुपमा उनीहरुको केही काम भएको छैन । देशव्यापी रुपमा हेर्ने हो भने राम्रो वा नराम्रो गर्ने, राजनीतिक पार्टीहरुले नै मुख्य भूमिका खेलेका छन् ।


त्यसको अर्थ विप्लव र बैद्यहरुले भनेजस्तो यो व्यवस्थाको कुनै काम छैन भनेर गणतन्त्र र संविधान सवैको विरोध गर्ने होइन । त्यो सोचाइलाई हामी सही मान्दैनौं । त्यसका लागि प्रयत्न गर्नुपर्छ तर बीचको चरणलाई विरोध गरेरमात्रै हँुदैन । यो व्यवस्थाअन्र्तगत जति विकास सम्भव छ, जति प्रजातन्त्र सम्भव छ, त्यसका लागि कोशिस गर्दै जानुपर्छ ।


कुनै पनि परिवर्तनलाई संस्थागत गर्न, दिगो बनाउन र प्रभावकारी बनाउनका लागि पुरानो राज्यसत्ताका अवयवहरु, जस्तो कर्मचारीतन्त्र, प्रशासन, अड्डाअदालत, सेना, सुरक्षा निकायहरुमा परिवर्तनको पक्षमा आधारभूत रुपमै रुपान्तरण गर्न जरुरी हुन्छ र त्यो नगरिएको खण्डमा त्यसले प्रतिगमनलाई मलजल गर्न सक्ने खतरा सदैव रहन्छ । तपाईंको विचारमा यस दिशातर्फ नेपालमा कत्तिको कामहरु भएका छन् ?

पटक्कै भएका छैनन् ।

भएनन् चाहिँ किन ?

यो महत्त्वपूर्ण कुरा हो । पुरानो सत्ता र त्यसका अवयवहरु समाप्त नगरीकन, त्यसका वर्गीय आधारलाई समाप्त नगरिकन यो देशको पर्याप्त विकास, आर्थिक विकास र समृद्धि सम्भव छैन । अहिले बारम्बार भएका परिवर्तनहरु विद्यमान व्यवस्थाअन्र्तगत नै भएका छन् । केही राजनीतिक परिवर्तन भए, सत्ता र सरकारको स्वरुपमा परिवर्तन भए । तर पुराना अंगहरु जस्ताको त्यस्तै रहँदै आएका छन् । तिनले विकासमा बाधा पुर्याउदै आएका छन् । त्यसकारण हामी भन्छौं सम्पूर्ण परिवर्तन गर्ने काम नयाँ जनवादी क्रान्तिबाट मात्रै सम्भव छ । हाम्रो दीर्घकालीन र आधारभूत कार्यक्रम नयाँ जनवादी क्रान्ति हो ।

त्यसको अर्थ विप्लव र बैद्यहरुले भनेजस्तो यो व्यवस्थाको कुनै काम छैन भनेर गणतन्त्र र संविधान सवैको विरोध गर्ने होइन । त्यो सोचाइलाई हामी सही मान्दैनौं । त्यसका लागि प्रयत्न गर्नुपर्छ तर बीचको चरणलाई विरोध गरेरमात्रै हँुदैन । यो व्यवस्थाअन्र्तगत जति विकास सम्भव छ, जति प्रजातन्त्र सम्भव छ, त्यसका लागि कोशिस गर्दै जानुपर्छ ।

जस्तो महिला अधिकारको कुरा गर्नुहोस् । वितेका वर्षहरुमा महिलाको अधिकारमा बृद्धि भएको छ । त्यस्तै दलितमाथिको भेदभाव धेरै घट्दै गएको छ । जनजातिको विषयमा धेरै सुधार भएको छ । अरु थुप्रै सुधारात्मक र सकारात्मक परिवर्तन पनि भएका छन् । एकथरी क्रान्तिकारीहरुले यो सुधारलाई ध्यानै दिने होइन, खालि  आमुल परिवर्तनमा मात्रै ध्यान दिनुपर्छ भनेर जोड दिन्छन् । हो, हामीले आमूल परिवर्तनमा जोड दिनै पर्छ तर सुधारात्मक परिवर्तनहरुलाई पनि साथसाथै लैजाने प्रयत्न पनि गर्दै जानु पर्छ । यो नै साँचो अर्थमा माक्र्सवादी लेनिनबादी सिद्धान्त हो ।


‘ममात्रै महामन्त्रीको योग्य छु भन्ने होइन’


प्रतिगमनकै प्रशंङगमा अहिले चर्चामा रहेको इण्डो एशिया प्यासिफिकको छातामुनि पस्न भनेर अमेरिकाले नेपाललाई दवाव दिइरहेको छ । यो स्थितिमा त्यसले ल्याउने खतरा के के हुन सक्छ ?

साम्राज्यवादले आफ्नो विस्तारवादी नीति फैलाउदै लैजान प्रयास गर्छ, त्यो कुनै अनौठो कुरा हो । तर सत्य के पनि हो भने ृऊ  बारम्बार हार्दै गएको छ । स्वयम अमेरिकाकै कुरा गर्दा ओवामाका पालामा भन्दा अहिले विरोध बढेर गएको छ । अमेरिकाभित्रै पनि असन्तुष्टी बढेको छ, बाहिर पनि बढेको छ । अमेरिकाले कुनै नीति लिएपनि त्यसलाई कार्यान्वयन गर्न सक्ने स्थितिमा ऊ  छैन । अर्कोतिर अमेरिकाकाविरुद्ध चीन रुस, भारत पनि आइरहेका छन् । त्यसकारण अमेरिकाले त्यो योजना बनाउदैमा सफल हुन्छ भन्ने कुरा होइन ।

तर इण्डो एशिया प्यासिफिकको नाममा अमेरिका अहिले खुलेरै नेपालमा आइरहेको छ । नेकपाका नेता देव गुरुङले त इण्डो एशिया प्यासिफिकका नाममा अमेरिकाले नेपालमा हुने प्रतिक्रान्तिलाई सघाउन पनि सक्ने, सैनिक अखडा नै राख्न सक्ने र चीनका विरुद्ध अभियान परिचालन गर्न सक्ने आशंका सदनमा तथा सार्वजनिक रुपमै व्यक्त गरिसक्नुभएको छ । तपाईं आफैं चाहिँ  त्यो सम्भावना कतिको देख्नुहुन्छ ?

अमेरिकाले चाहँदैमा त्यो कार्यान्वयन हुन्छ भन्ने हामीलाई लाग्दैन । नेपालको भुराजनीतिक अवस्थिति जुन छ वफर जोनको रुपमा छ । दुई छिमेरी राष्ट्रहरु भारत र चीनका बीचमा यो अवस्थित छ । उनीहरुले अमेरिकाका योजनालाई साथ समर्थन दिँदैनन् । त्यसकारण उ सफल हुन्छ भन्ने लाग्दैन ।

चीनको विआरआई, अमेरिकाको  इण्डो एशिया प्यासिफिक रणनीति र भारतको हिन्दु राज्यको अवधारणाको चेपुवामा पिसिनबाट बच्न नेपालले के गर्नुपर्ला ?

चेपुवामा पर्छ । तर त्यसको फाइदा पनि हुन्छ । यस्तो वेलामा कयौपटक हाम्रो शक्तिले नसक्दा बाहिरको शक्तिले पनि मद्दत पुर्याएका हुन्छन् । अमेरिका र चीनबीच प्रतिस्पर्धा हुन्छ हामीलाई मद्दत पुगिरहेको हुन्छ । चीन र भारतबीच प्रतिस्पर्धा हुन्छ हामीलाई मद्दत पुगिरहेको हुन्छ ।


विप्लवहरुलाई प्रतिवन्ध लगाउने कुराको हामीले सुरुवाटै विरोध गरेका हौ । संविधानअनुसार पनि कुनै एउटा पार्टीलाई प्रतिवन्ध लगाउनु गलत हो भनेर विरोध गरेका हौ । कसैले गलत काम गर्छ भने कानुनअनुसार कारवाही गर्नुपर्छ । पार्टीलाई प्रतिवन्ध लाउनुलाई सही मान्न सकिँदैन । ​


नेपालका बाम शक्तिहरु छरिएर, छितरिएर विपरीत दिशातिर मुख फर्काएर बसेका छन् ।  यस्तो अवस्थामा अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालको तरल राजनीतिक अवस्थामा खेल्ने मौका पाउछन् जस्तो लाग्दैन ?

त्यसैकारण त्यस्तो नहोस् भनेर हामीले काँग्रेस, राप्रपा, मधेसवादीभन्दा अलग रहेर अहिलेको सरकारलाई समर्थन गरेका छौ । देश रहे कम्युनिष्ट रहन्छन् । कमसेकम यो बामपन्थी सरकार हो । यसलाई हामीले समर्थन गरेका छौं र सरकारले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भनेका हौ । कम्युनिष्टहरुले राम्रो भुमिका खेल्न सकेनन् भने त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ । त्यसको कुनै विकल्प छैन ।

तपाई नेपालको कम्युनिष्ट आन्दोलनको गुरु नै हुनुहुन्छ । विप्लवजीले लिएको बाटो सही वा गलत अलग बहसको विषय हो, तर उहाँहरु राजनीतिक शक्ति नै हुनुहुन्छ । त्यो कुरा त मान्नुहुन्छ तपाई ? अनि सरकारले विप्लवको पार्टीलाई संविधानविपरीत  प्रतिबन्ध लगाउँदा तपाईहरुले विज्ञप्ति निकाल्नुबाहेक केही गर्नुभयो कि ?

पहिलो कुरा हामी कम्युनिष्ट आन्दोलनमा गुरुचेला भनेर मान्दैनौ । धार्मिक सम्प्रदायहरुमा मात्रै गुरुचेला भन्छन् । कोही पहिला आए होलान केही पछि आए होलान । त्यसकारण केही पहिला नेतृत्वमा गए पनि होलान् । त्यो अर्कै कुरा भयो । तपाइले भनेजस्तो हामी गुरुचेला मान्दैनौं ।

अर्को विप्लवहरुलाई प्रतिवन्ध लगाउने कुराको हामीले सुरुवाटै विरोध गरेका हौ । संविधानअनुसार पनि कुनै एउटा पार्टीलाई प्रतिवन्ध लगाउनु गलत हो भनेर विरोध गरेका हौ । कसैले गलत काम गर्छ भने कानुनअनुसार कारवाही गर्नुपर्छ । पार्टीलाई प्रतिवन्ध लाउनुलाई सही मान्न सकिँदैन । अहिले विप्लव पक्ष भनेर गरिएका धरपकडहरुको पनि हामीले सदनमा र सार्वजनिक रुपमा विरोध गर्दै आइरहेका छौं । हामीले गर्ने भनेकै त्यही हो ।

तपाईंले सरकारका नेतृत्व तहलाई व्यक्तिगत रुपमा भेटेर त्यस्तो कुनै दवाब दिने वा यस्तो नगर भनेर सम्झाउने काम गर्नुभएको छैन ?

त्यस्तो भेट्ने काम हामीले गरेका छैनौ । प्रचण्डसँग पनि अथवा केपी ओली कसैसँग भेट्ने काम भएको छैन । ओलीसँग त चुनाव पहिले मात्रै भेट भएको थियो । चुनावपछि त एकपटक पनि भेट भएको छैन ।  

(सिंहसँगको अन्तर्वार्ताको अन्तिम भाग भोलि प्रकाशित गरिनेछ ।)


मोहनविक्रमसिंहसँग सम्बन्धित अन्य केही सामग्रीहरु

विदेशीहरु नेपालको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भयोः मोहनविक्रम
नेकपा बनेपछि मोहनविक्रम सिंहले गरे खतरा टरेको ठोकुवा
ओली–प्रचण्ड आफ्नै पासोमा पर्नुभयो स् मोहनविक्रम सिंहको अन्तरवार्ता
देउवाको दिल्ली भ्रमणबारे मोहनविक्रम र वैद्यसहित नौ पार्टीले दिए १५ सुझाव


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्र खाकी
चन्द्र खाकी
लेखकबाट थप