शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सबै टिभीलाई उछिन्दै नेपाल टेलिभिजन बन्यो एक नम्बर !

आइतबार, २२ असार २०७६, २१ : ४४
आइतबार, २२ असार २०७६

काठमाडौँ–नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन दर्शकको सर्वाधिक रोजाइको टेलिभिजनका रुपमा पाइएको एक अध्ययनले देखाएको छ । 

सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भएको पाइएको हो ।

    ‘नेपाली मिडिया सर्भे–२०१९’ ले नेपालमा ६० प्रतिशत टेलिभिजनका दर्शकमध्ये नेपाल टेलिभिजन हेर्ने दर्शकको सङ्ख्या २९ प्रतिशत रहेको छ । संस्थाले सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी ४२ जिल्लाका चार हजार १२९ घरधुरीमा मिडिया सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले ६० प्रतिशत सर्वसाधरणले टेलिभिजन हेर्ने र बाँकी ४० प्रतिशतले टिभी नहेर्ने तथ्य पत्ता लगाएको छ । यसरी नेपाल टेलिभिजन हेर्नेमध्ये ८० प्रतिशतले समाचार हेर्छन् । त्यसमा पनि ८७ प्रतिशतले राति ८ बजेको समाचार हेर्ने गरेका छन् ।

    अध्ययनअनुसार विशेषगरी हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ दर्शकले अत्यधिक रुचाएको पाइएको छ ।     त्यसैगरी टेलिभिजन हेर्ने सङ्ख्यामध्ये ८० प्रतिशत मानिसले नेपाली र २० प्रतिशतले विदेशी च्यानल हेर्ने गरेका छन् भने नेपाली च्यानल हेर्नेमा नेपाल टेलिभिजन बढी हेर्ने गरेको पाइएको तथ्याङ्क छ ।
  
    टेलिभिजन हेर्ने कूल सङ्ख्यामध्ये २९ प्रतिशतले नेपाल टेलिभिजन हेर्न रुचाएको सेयरकास्टका मधु आचार्यले बताए । 
    नेपाल टेलिभिजनलगायत अन्य नेपाली च्यानलले अफ्नो पहुँच सर्वसाधारणमाझ पु¥याउन समाचार एवम् समाचारमूलक सामग्री तथा मनोरञ्जनात्मक सामग्रीको उत्पादन तथा प्रसारणमा जोड दिँदै प्राविधिक पक्षलाई समेत सुधार गर्न अध्ययनले सुझाव दिएको छ ।

    अध्ययनकर्ता भूमि चापागाईंले अध्ययनले नेपालमा सबैभन्दा बढी हेरिने टेलिभिजन नेपाल टेलिभिजन रहेको देखाएको बताए । 
 विशेष गरेर नेपाल टेलिभिजनको समाचारलाई धेरै दर्शकले मन पराएका तथा प्रदेश नं २ बाहेक अरू सबै प्रदेशमा नेपाल टेलिभिजन लोकप्रिय रहेको उनले जानकारी दिए । 
    
    नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनमा सर्वसाधरणको पहुँच बढ्नु र टेलिभिजनहरुमध्ये नं १ मा नेपाल टेलिभिजन नै दर्शकको रोजाइमा पर्नु सुखद रहेको बताए । 

 
    अध्ययनले नेपालका मिडियाप्रति जनताको विश्वास बढ्दो देखाउँछ । त्यसमा पनि नेपाली टेलिभिजन हेर्ने र त्यसमा सबैभन्दा बढी नेपाल टेलिभिजन हेर्ने पाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप