शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा पुजारीमाथि बाल यौनदुराचारको आरोप, प्रहरीमा उजुरी गरेसँगै फरार

आइतबार, २२ असार २०७६, १७ : २२
आइतबार, २२ असार २०७६

जनकपुर । जनकपुरमा वर्षौँदेखि एक बाबा बाल यौनदुराचार तथा अपराधिक घटनामा संलग्न रहँदै आएको भन्दै साधुसन्तहरुको एक समूहले कारवाही माग गरेका छन् ।

तुलसी स्मारक कुटीका पुजारी शिवशंकर दासले लामो समयदेखि ट्यूसन पढाउने बहानामा छात्राहरुसँग यौनदुराचार गर्दै आएकोले कारवाहीको माँग गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।

आरोपित पुजारी शिवशंकर दासले बालिकाहरुलाई शिक्षा दिने बहानामा यौन दुराचार तथा आपराधिक कृयाकलापहरु गर्दै आइरहेको भन्दै साधुसन्तहरुको एक टोलीले प्रहरी उपरिक्षक शेखर खनालसमक्ष कारवाही गर्न माँग गरेका छन् ।

गलत कृयाकलापले धर्म र समाजमा विकृति बढेका भन्दै साधुसन्तको टोलीले तत्काल यस समस्याको समाधानका लागि तुलसी स्मारकबाट पदच्यूत गरी हटाउन र कारवाही गर्नका लागि पनि माग गरेका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले भने, ‘सनातन हिन्दु धर्मप्रति प्रहार भएको र अडम्बरी पाखण्डी बाबाहरुलाई तह लगाउन आवश्यक परेकाले नै हामी आफैँले अग्रसरता लिएका हौँ ।’

पुजारी फरार

यौनदुराचारको आरोप लागेका शिवशंकर दास जनकपुर उपमहानगरपालिका वडा नम्बर–८ स्थित तुलसी स्मारक कुटीका पुजारी हुन् । उनको घर भारत विहारको सुपौल जिल्ला हो ।

तुलसी स्मारकमा रहेको तत्कालिन रामानन्दीय वैष्णव संघका अध्यक्ष तथा रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णवले आफ्नो निकटका व्यक्ति रहेका शिवशंकर दासलाई पुजारीको रुपमा नियुक्त गरेका थिए ।

यता विभिन्न मुद्दामा अपराधि सावित भइसकेका रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णव जालसाजी तथा ठगी मुद्दा तथा ज्यान कर्तव्य मुद्दामा १२ वर्षको लागि जेल सजाय फैसला पूर्व नै भारततर्फ फरार छन् ।

महन्त वैकुण्ठ दास वैष्णवका शिष्य समेत रहेका शिवशंकर दासले गुरु वैकुण्ठ दासको कामकारवाहीहरु गर्दै आएका थिए ।

साधुसन्तसहित पीडितको टोली जिल्ला प्रहरी कार्यालय धनुषामा गएको थाहा पाए लगत्तै दास पनि दिउसो अन्दाजी १२ बजेको समयदेखि नै कुटीका अधिकांश सामाग्री सहित फरार छन् ।

पुजारी दासले हालसम्म ६ जना भन्दा बढी बालिकासंग यौनदुष्कर्म गरेको आरोप छ । जसमध्ये एक जना पीडित परिवारले मात्रै उनीमाथि उजुरी दिएका छन् ।

यता, प्रहरी उपरिक्षक शेखर खनालले आवश्यक कारवाहीका लागि प्रहरी परिचालन गरेको बताए ।

प्रहरी परिचालन पूर्व नै पुजारी शिवशंकर दास फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप