शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८ जनाको हत्या गरेर भारतमा ‘सेल्टर’ : समातिए भूमिगत सङ्गठनका नेता

शनिबार, २१ असार २०७६, १५ : ५४
शनिबार, २१ असार २०७६

काठमाडौं । भूमिगत संगठन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य जाबेद बादशाह भन्ने नसिम खाँ मुसलमान पक्राउ परेका छन् ।

नसिमलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को विशेष टोलीले शुक्रबार साँझ राजधानीको सिनामगंलबाट पक्राउ गरेको हो । भारतमा लुकेर बस्दै आएका उनी नेपाल आएको सूचनाको आधारमा सीआईबीको टोलीले पक्राउ गरेको सीआईबीका प्रमुख निरज शाहीले जानकारी दिए ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ स्थायी घर भएका उनीमाथि २०६३ यता ८ वटा कर्तव्य ज्यान र डकैतीका मुद्दा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । किसान पृष्ठभूमिका नसिम यही अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।

श्रीमान ‘मोस्ट वान्टेड’, श्रीमती माननीय !

अभियुक्त नसिम तत्कालिन एमालेका सक्रिय कार्यकर्ता समेत रहेको पाइएको छ । यद्यपी श्रृंखलाबद्ध हत्या र डकैती काण्डमा मुछिएका उनी पछि एमाले छाडेर भूमिगत संगठनतिर जोडिएका थिए ।

नसिमको अपराधको फेहरिस्त

घाँटी रेटेर हत्या

प्रहरीका अनुसार ०६३ जेठ १९ मा नसिमले कपिलवस्तु फुलिका–३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

त्यसको करिब २ महिनापछि मात्र नसिमविरुद्ध साउन १४ गते कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता भएको हो ।

हाल उक्त मुद्दा पुनरावेदन अदालतमा मुलतबीमा रहेको जनाइएको छ ।

बन्दुक देखाएर लुटपाट

२०६४ वैशाख १७ मा कपिलवस्तु नगरपालिका–१ बस्ने सन्दीप कुमार गुप्तालाई हतियार देखाई नसिमले नगद लुटपाट गरेका थिए । गुप्ताले चढ्दै आएको महेन्द्र जीपलाई रोकेर उनले बन्दुक देखाई २ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

घटना भएको एक हप्तापछि नसिमविरुद्ध डकैती मुद्दा अदालतमा दर्ता भएको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा मुलतवीमा रहेको अदलातबाट जानकारी प्राप्त भएको छ ।

गोली हानेर २ जनाको हत्या

२०६४ फागुन ६ मा कपिलवस्तु मोतिपुर–१ बस्ने भुवन भन्ने प्रेम परियारलाई नसिकले गोली हालेर हत्या गरेका थिए । माओवादी डीसीएम सन्दीप कुमारले जाहेरी ०६५ पुस १ गते कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराए ।

सन्दीप कुमारले जाहेरी दिएको मितिदेखि अदलातमा पेश भएको उक्त मुद्दा हाल पुनरावेदन अदलात बुटवलमा मुलतवीमा रहेको जनाइएको छ ।

यस्तै २०६४ चैत ९ गते रामहर्ष प्रसाद कुर्मीको छोरा शिवपुजन कुर्मीलाई नसिकले गोली हानी हत्या गरेका थिए । कपिलवस्तु हथिहवा–३ का शिवपुजन कुर्मी बाटो हिँडिरहँदा नसिमले गोली प्रहार गरेका हुन् ।

गोली हानेलगत्तै नसिम फरार भएपनि प्रहरीमा दिएको जाहेरीको आधारमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ हथिहवाका ४९ वर्षीय धर्मेन्द्र सिंह क्षत्री तत्कालै पक्राउ परेका थिए ।

निज क्षत्रीको बयानमा आधारमा फरार रहेका नसिमलाई खोजीकार्य गर्ने क्रममा प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो । 

गोली हानी महिला–पुरुषको हत्या

२०६५ भदौ ३० मा नसिमले कपिलवस्तु नगरपालिका–१० बस्ने एक पुरुष र एक महिलाको गोली हानी हत्या गरेका थिए । नसिबुल्लाह मुसलमान र पारसनाथ कोहारको श्रीमती अकला कोहारलाई नसिमले गोली हानेका हुन् ।

अकला कोहारको श्रीमान पारसले २०६५ पुस २५ गते अदालतमा नसिकविरुद्ध कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराए । हाल उक्त मुद्दा पुनरावेदन अदालत बुटवलमा मुलतवीमा रहेको छ ।

गाविस सचिव पनि निशानामा

२०६५ कात्तिक ९ मा नसिमले गाविस सचिवलाई गोली हानेर फरार भएका थिए । कपिलवस्तु नगरापालिका–७ बस्ने पिपरा गाविस सचिव राममिलन प्रसाद गुप्तालाई उनले गोली हानेर हत्या गरेका हुन् ।

सचिवका बाबु पारशनाथ गुप्ताले घटनाको एक महिनापछि प्रहरीमा जाहेरी दिए । हाल उक्त मुद्दा दर्ता भई पुनरावेदन अदालतमा रहेको छ ।

यस्तै नसिमले २०६७ वैशाख १३ गते एक व्यक्तिको हत्या गरेको प्रहरीको भनाई छ । कपिलवस्तु पकडी–६ बस्ने वर्ष ३५ को राजेन्द्र प्रसाद तिवारीको हत्या गरेका हुन् ।

घटना भएको करिब एक महिनापछि जेठ ८ गते नसिमविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । हाल उक्त मुद्दा जिल्ला अदालत कपिलवस्तुमा विचाराधीन छ ।

अपहरणपछि हत्या

नसिमले २०७४ फागुन ३ गते मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरे । उनको शव प्रहरीले अपहरणको तीन दिनपछि खानको घर पछाडि फेला पारेको थियो ।

आयमान मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् । मोहम्मद आयमानको अपहरण गरी फरार रहेका खानविरुद्ध छोराको शव फेला परेकै दिन फत्ते मोहम्मदले प्रहरीमा जाहेरी दिए ।

प्रहरीका अनुसार नसिम मुसलमान समेतका केही व्यक्तिहरुसँग फत्ते महोम्मदबीच पहिलादेखि नै राजनीतिक, आर्थिक तथा पारवारिक रीसीईबी रहेको बताइएको छ ।

२०७४ सालको चुनावमा वडा नं. ४ बाट फत्ते मोहम्मद मसुलमान अध्यक्ष पदमा निर्वाचित भएसँगै नसिमले अब आफ्नो हालीमुहाली गर्ने दिन सकिएको भन्दै पूर्व रीसीईबीको कारण छोराको हत्या गरेको परिवारको आरोप छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप