शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ता छन् गर्भवती महिला र परिवारले ध्यान दिनुपर्ने कुरा

शनिबार, २१ असार २०७६, १३ : ३९
शनिबार, २१ असार २०७६

काठमाडौँ । महिला गर्भवती हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवती महिलासँगै श्रीमान र परिवारका अन्य सदस्यहरुले यो समयमा निकै ध्यान दिनुपर्ने हुन्छ । 

गर्भ रहेदेखि सुत्केरी नभएसम्म स्वास्थ्य परिक्षण, गर्भवती महिलाको खानपान, हेरचाहरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । जुन कुराले गर्दा पछि आमा र बच्चाको स्वास्थ्यमा समस्या नआउन सक्छ । 

खानापान स्वास्थ्य परिक्षणदेखि गर्भावस्थामा आइपर्ने जोखिमको बारेमा पनि बुझ्नु पर्ने हुन्छ ।  गर्भवती महिला तथा परिवारले ध्यान दिनुपर्ने विषयमा परोपकार स्त्री तथा प्रसुति रोग अस्पतालका निर्देशक, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जागेश्वर गौतम यसो भन्छन् । 

गर्भवती महिलाले ध्यानदिनुपर्ने पहिलो कुरा भनेको गर्भवती हुन रोग होइन । बच्चा जन्माउने भनेको खुसीले जन्माउने हो । बच्चा जन्माउनको लागि गर्भ रहनुभन्दा पहिलादेखि नै महिला स्वास्थ हुनुपर्छ । जसले गर्दा त्यो महिलाले जन्माउने बच्चा पनि स्वास्थ हुन्छ । 

दोस्रो कुरा गर्भवती भएपछि स्वास्थ्य संस्थामा जचाउन जानुपर्छ । गर्भवती महिलाले चिकित्सकले भनेअनुसार स्वास्थ्य परिक्षणहरु गर्नुपर्छ । खतराको संकेतको बारेमा गर्भवती महिलाले थाहा पाउनुपर्छ । 

गर्भवती महिलाले समस्या परेको बेलामा कुन अस्पताल जाने, कसलाई साथी लाने भन्ने कुराको बारेमा पनि ख्याल राख्नुपर्छ । सँगै परिवारले रकमको पनि जोहो गर्नुपर्ने हुन्छ । कारण सरकारी अस्पतालले निःशुल्क सेवा दिएपनि, गर्भवती गराउँदा हामीले २ हजार रुपैयाँ दिएर पठाउँछौँ । उसको अन्य खर्चहरु पनि हुन्छ । बाटो खर्च, खाना खर्च गर्भवती महिलाले पनि खानु प¥यो । कुरुवाले पनि खानु प¥यो । त्यो खर्चको लागि घरमा महिला गर्भवती भएको समयदेखि केही रकमको जोहो गर्नुपर्ने हुन्छ । जहिले पनि स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण र सुत्केरी गराउनुपर्छ । 

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा
बिहान उठ्नेबित्तिकै आफ्नो सरसफाइ गर्ने । अन्य समय भन्दा गर्भवती हुँदाको समयमा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । अन्य समयको भन्दा धेरै पोषिलो, झोलयुक्त खानेकुरा खानुपर्ने हुन्छ । 

गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्की र क्याल्सियम पनि खानुपर्ने हुन्छ । साथै गर्भवती महिलाले अन्य समयमा भन्दा अलि बढी निदाउनुपर्ने हुन्छ । सकेसम्म रातमा आठ घन्टा र दिनमा दुई घन्टा निदाउनुपर्ने हुन्छ ।

सकारात्मक कुरा सोच्ने, धुम्रपान, मद्यपान सेवन गर्नुहुन्न । यो बेलामा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि खानुहुँदैन । साथै शारीरिक तथा मानसिक रुपमा गाह्रो हुने खालको काम नगर्ने । गाह्रो काम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य समस्या निम्तन सक्छ । त्यसैले यस्ता कुरामा गर्भवती महिला र परिवारले पनि ख्याल गर्नुपर्ने हुन्छ ।

खतराका लक्षणहरु 
गर्भवती महिलामा डेन्जर साइन अर्थात खतराको संकेत देखिएको समयमा अस्पताल जानुपर्छ अथवा परिवारका सदस्यले लैजानुपर्छ । जस्तै गर्भवती आमाको ब्लड प्रेसर बढ्यो, खुट्टा सुन्नियो, रगत बग्यो, पेट धेरै ठूलो अथवा सानो भयो, तौल बढेन भने स्वास्थ्य संस्थामा आफ्नो समस्याको बारेमा भन्नु सक्नुपर्छ । 

टिटीको खोप लगाउनुपर्छ । सुत्केरीको तयारी गर्नुपर्ने हुन्छ । बच्चा गर्भमै हुँदा अर्काे बच्चा जन्माउने हो भने कहिले जन्माउने भन्ने कुराको तयारी पनि पहिला नै गर्नुपर्ने हुन्छ ।  

धेरै जसोमा सुत्केरी अवस्थामा केही पनि समस्या हुँदैन । कसै—कसैमा समस्या हुन्छ जुन कुरा पहिला नै थाहा हुँदैन । नयाँ भइपरी आउने समस्यालाई बेलैमा सहि समयमा उपचार गर्ने सुविधाको व्यवस्था अस्पताल र परिवारको सदस्यले पनि गर्नुपर्छ । गर्भवती महिलाले पनि यस्ता कुराहरुको बारेमा थाहा पाउनुपर्छ । बच्चा जन्मेपछि आमाको दूध मात्रा खुवाउनुपर्छ । आमाको दूध बच्चाको लागि धेरै राम्रो हुन्छ ।

सँगै बच्चालाई कसरी हुर्काउने, कसरी खोप लगाउने भन्ने बारेमा गर्भवती भएकै बेलामा जानकारी लिनु र जानकारी दिनुुपर्ने हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप