केन्द्रीय संस्करण

लघुकथा – स्वार्थी मन

person explore access_timeअसार २१, २०७६ chat_bubble_outline0

-बलबहादुर थापा मगर

ऊ र म बाल्यकालदेखिकै साथी हौँ । खेल्दा, डुल्दा, स्कुल जाँदा हामी सँगै हुन्थ्यौँ । हामी कहिल्यै छुट्टिएनौँ । हामीसँगको कुनै भौतिक चिज एकको भएन, दुवैको भयो । कोही हामीलाई जिस्क्याउँदै भन्थे– ‘यिनीहरुको त स्वास्नी पनि एउटै हुन्छ ।’ हाम्रो मित्रतालाई कृष्ण र सुदामाको उदाहरण दिन्थे । हामीबीचको मित्रताको परिभाषाले हामी फुरुङ्गै हुन्थ्यौँ । स्कुलको पढाइ सकियो । स्नातकसम्म एउटै क्याम्पसमा पढ्यौँ । हामीबीच कहिल्यै दुस्मनी बढेन । कहिल्यै रिसईबी रहेन । सौभाग्य भनौँ, खरिदारको जागिर पनि सँगै खाइयो ।

मित्रता बाल्यकालमा जस्तो थियो, त्यस्तै थियो । कुनै परिवर्तन थिएन । बिरुवाले पालुवा फेरे । बढेर हर्ल्क्कै भए । हामी पनि जवान भयौँ । तर हाम्रो मित्रता उस्तै थियो । समय चल्दै गयो । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन गर्यो । दुवैले जोडतोडका साथ तयारी गर्यौँ । दुवैको परीक्षा राम्रो भयो । दुवै अन्तरवार्तासम्म पुग्यौँ । लोक सेवाले अन्तिम नतिजा प्रकाशनको तयारी गरिरहेको थियो । हाम्रो ढुकढुकी बढिरहेको थियो । दुवैको नाम निस्कियोस् भनेर प्रार्थना गरिरहन्थ्यौँ ।

नतिजा प्रकाशन भयो । उसको नाम निस्कियो तर मेरो निस्केन  । मनमा छटपटी हुन थाल्यो । बेचैनी हुन थाल्यो । खै किन ? मेरो असफलताभन्दा उसको सफलतामा बढी मन दुख्यो । ऊ मेरो मिल्ने साथी हो भन्ने मेरो अन्तरमनले बिर्सियो । मानवीय संवेदना पनि अचम्मको हुने रहेछ । आफ्नो पीडाभन्दा अर्काको सुखमा  बढी मन दुख्दो रहेछ ।

ऊप्रति साह्रै डाह भएर आयो । रिस उठेर आउन थाल्यो । मन साह्रै स्वार्थी हुँदो रहेछ । मनलाई सम्झाउन नसकिँदो रहेछ । बुझाउन कठिन हुँदो रहेछ । अन्तरआत्माले हाम्रो मित्रतालाई विच्छेद गरिदियो । के गर्ने सोच्नै सकिनँ । एक गिलास पानी एकै सासमा रित्याएँ । मोबाइल उठाएँ र उसलाई फोन लगाए । एकै घण्टीमा फोन उठ्यो । के बोल्नु ? कुनै शब्द आएन । तीन पटकसम्म उसले हेलो भन्यो । मैले मन नलागेरै हेलोको जवाफ फर्काए – ‘बधाई छ यार !’

बागलुङ नपा– १०, भकुण्डे अर्भक
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...