केन्द्रीय संस्करण

कविता : उठ, जाग

person explore access_timeअसार २१, २०७६ chat_bubble_outline0

-वीरेन्द्र कटुवाल


उठ हे, भोका नाङ्गा फेरि 
जाग, गरिब दुःखी,
बिउँताउन, 
नयाँ देव–अवतारहरूलाई, 
फेरि, सहनाई र नर्सिङ्गा फुकी   
सत्ता,
‘जानी दुस्मन’ र छ
निर्धा निमुखाहरूका
सधैँ दबाउन खोज्छन कुटीकुटी । 
हुँदैन मुक्ति,
‘ॐ मणिपद्मे हुम’ जपेर सुतीसुती । 
फुक्नुपर्छ बिगुल,
र उठ्नुपर्छ बस्ती बस्तीबाट कसेर मुठी ।  

खै,
कहाँ पुरियो र विभेदको घाउ ?
कसले पायो र
बस्ने सुरक्षित ठाउँ ?
कहाँ,
रोकिएको छ र कोचिन,
होचोको मुखमा घोचो ? 
कहाँ पाए र 
गरिबले ओखतीमूलो ? 
लुटिएकै छन् चेली
ठोकिएकै छ नेल, हतकडी र गोली । 
उस्तै छ,
‘बाँङगो रूखलाई बाँङ्गो छ सरकार’ भन्दा, 
गर्धन चिलाउने जुग ।
न्यायालय पो किन चाहियो र ?
उस्तै छ,
‘गिभ एन्ड टेक’को सिद्धान्तमा
मुद्दामामिला मिलाउने युग । 

आजभोलि समय
चिच्याइचिच्याइ भन्दै छ
निन्दा गरेर हिंसा कहाँ रोकिएको छ र ? 
दया गरेर अधिकार कहाँ आएको छ र ? 
त्यसैले
फुकाल्न, 
हातबाट विभेदको नेल र हतकडी,
खन्न कब्रस्तान
बनाउन एउटा मजबुत समाधि, 
र दफनाउन 
दलाल नोकरशाहीहरूको सत्ता 
एकफेर फेरि जुट्नुपर्ने भो गरिब दुःखी सारा । 
हाँसो, 
कहाँ हुन्छ र,
मूलधारको चेहरामा मात्रै फक्रिएर ?
बहिष्किृतहरूको चेहरामा पनि फक्रिनुपर्छ ।
समृद्धि,
कहाँ हुन्छ र ?
नवधनाढ््यहरूको घरमा मात्रै भित्रिएर ?
हरेक नेपालीको घरआँगनमा भित्रिनुपर्छ । 
अनि आउँछ– समृद्धि,
अनि रोकिन्छ– हिंसा 
र, छाउँछ– शान्ति सबैतिर । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...