केन्द्रीय संस्करण

कविता : काठमाडौँ र मेरो सपना

person explore access_timeअसार २१, २०७६ chat_bubble_outline0

-सुवर्ण ढकाल

काठमाडौँमा लाखौँ मान्छे छन्
तर म एक्लो छु
आफन्त नै पराइ छन् यहाँ
चिनेकाले चिन्न छाडे
पराइसँग स्वार्थी सम्बन्ध गाँसेको छु
न कोही साथमा छ
न कोही आफ्नो छ
हुनेखानेको सहर
हुँदा खानेले बस्नु व्यर्थ 
यो काठमाडौँ । 

हजारौँ सपना बोकेर छिरेको 
पढ्न, कमाउन र राम्रो जिन्दगी बनाउन
मलाई अहिले महसुस हुन्छ
अभाव र त्रासमा जिन्दगी बिताउनलाई 
आएको रहेछु । 

गल्फ्रेन्ड थिई, छोडी,
उसलाई फोन गर्नलाई 
मोबाइलमा एक पैसा ब्यालेन्स नहुँदा 
कति छट्पटिएको छु
उसले अब सम्बन्ध तोडौँ मात्र भन्दा 
बलिन्द्र आँसु झारेर रातभर रोएको छु ।  

हरेक बेलुका सात आठ बजितिर एउटा फोन आउँछ,
कामेको स्वरमा आमा बोल्छिन्, 
छोरो के गर्दै छस्, भात खाइस् ?
साला,  तेल किन्न नसकेर उसिनिएर सब्जी पकाएर खाएको कसरी भनौँ ?
सब्जी किन्न नसकेर नुनसँग भात खाएँ, कसरी भनौँ ?
दिनभरी काम खोज्दा खोज्दा लखतरान भई त्यतिकै भोकै सुतेको छु
कसरी भनौँ आमा ? 

आमाको हरेक प्रश्न सुनेर म अवाक हुन्छु
बुबाको आवाज सुन्छु, फलानोलाई १५ सय पठाइदेको छु, 
काम चलाउँदै गर्नु,
बुबा, १५ सय त पानी किन्दै सकिन्छ यहाँ
कोठाभाडा नतिरेको महिनौँ भयो
बिहान उठ्ने बित्तिकै डर लाग्छ 
ढोकामा घरबेटीको गाली सुन्नुपर्छ
कलेजले फी नतिरे परीक्षा रोकिदिने धम्की दिन्छ
घरबाट ल्याएको चामल अब तीन छाक मात्र बाँकी होला
तर पुग्छ बुबा,  आजकाल म भोजनभन्दा 
भोक नै  प्यारो ठान्न थालेको छु ।  

हरेक कुरामा खर्च माग्न मन नै लाग्दैन
डेरीले बाँढेको दूधको पैसा गाईलाई च्याँख्ला किन्दा र घरभित्रै सकिन्छ
रोपेको र फलेको बारीमै कुहेको बुझ्छु बुबा, 
आज पनि मलाई पैसा पठाउन लिएको सहकारीको ऋणको व्याज तिर्दै छौ रे ।  
खोजेजस्तो काम त भेटेको थिएँ
तर त्यसले ५ हजार दिन्छु भनेर ५ सय मा दल्न खोज्यो,
अङ्ग्रेजी जानिनस्  भनेर २५ दिन काम गरेपछि कामबाट निकालिदियो,
मेरो अङ्ग्रेजी 
तिम्लाई थाहा छ बुबा 
सावाँ अक्षर र धेरै शब्द चिनेको छु 
अड्किएरै भए नि पढ्न सक्छु, 
तर बोल्न र बुझ्न मेरो सरकारी स्कुलका मास्टरले कहिल्यै सिकाएनन् ।  

दुःख के हो ?
घाँस काट्न जाँदा अम्लिसोको छड्केले पैताला छेडेको देखेको छु मैले 
बेँसीबाट लेकसम्म अन्तिम साससम्म 
घाँस बोकेर जिन्दगी गुजारेको देखेको छु मैले  
घाँस काट्दा तेरी आमाले हात छिनाइछे भनेर बुबाले सुनाउँदा मेरी आमा !
एक रात मात्र हैन, धेरै रात तिमी सम्झेर रोएको छु ।  

अनि आमा ! आजकल मेलापात पनि जान सक्न छाडेउ रे ?
चुलो र अगेनामा चिसा दाउरालाई फु फु फुकेकाले तिम्लाई दम बढेको छ रे ?
सुत्ने बेला सधैँ सुगर र प्रेसरको औषधी खान्छेउ रे नि हो आमा ?
अनि बुबालाई बुढ्यौलीले कति चाँडै छोएको ?
बुबाको कस्सिएको ! भारी घाँसले गाई अघाउन छाड्यो रे हो बुबा ?

यहाँ पढ्न र कमाउन आएको म,
तर तिम्रो र घरको बिजोग सम्झेरै मेरो दिनरात बित्छ
तिम्रो सपना पूरा गर्नलाई 
अनि आमा,  नयाँ घरमा तिमी र बुबालाई राख्नलाई 
मिहिनेत त म गर्दै छु,
छोरोले तिम्रो दुःख बुझेको छ र त पछि सुखसँग पाल्छ त !
चिन्ता लिनुपर्दैन तिमीले आमा ! 
छोरो फर्केर घर आउँछ र 
खुसीको बहार लिएर आउँछ 
अवश्य  
खुसीको बहार लिएर आउँछ ।  

सूर्योदय–१२, आठघरे, इलाम  
  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...