केन्द्रीय संस्करण
अन्तरवार्ता

‘ममात्रै महामन्त्रीको योग्य छु भन्ने होइन’

‘दुर्गाजीले हार्दा भएन, जित्दा चाहिँ विवाद भयो’

person explore access_timeअसार २०, २०७६ chat_bubble_outline0
बबिता शर्मा

रातोपाटी

नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका नेकपा मसालका महामहामन्त्री मोहनविक्रम सिंहसँग समसामयिक विषयहरुमा रातोपाटीका लागि बबिता शर्माले गरेको कुराकानी ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको छ भनेर बारम्बार आरोप लगाउँदै आएको छ । तपाईको पार्टीले सरकारका गतिविधिलाई कसरी नियालेको छ ? के सरकार काँग्रेसले भनेजस्तै अधिनायकवादको बाटोमा हिँडेकै हो त ?

पहिलो कुरा– जसले वर्तमान सरकारमाथि अधिनायकवादको बाटोमा हिँडेको आरोप लगाएका छन्, त्यो आरोप लगाउने उनीहरुलाई अधिकारनै छैन । किनभने हामीलाई थाहा छ, शेरबहादुर देउवा हुँदा उनले कति पटक पुरै अधिनायवादी शासन कायम गरे । अहिले उनलाई त्यो भन्ने अधिकार पनि छैन । तर कैयौँ पटक कम्युनिष्ट आफ्नो पदीय अधिकारलाई दलिय अथवा व्यक्तिगत स्वार्थमा प्रयोग गर्न थाल्दा कम्युनिष्टहरु विग्रेका पनि छन् ।

हामीले भनिराखेका छौँ, अहिले ओली सरकारले जुन प्रकारको नीति अपनाई राखेका छन्, त्यो नीतिले देशलाई अधिनायवादतिर लैजान्छ । त्यसकारण त्यो गलत नीतिको हामीविरोध गर्छौं ।

कमसेकम देशमा यतिखेर बुर्जुवा प्रजातन्त्र, लोकतन्त्र कायम भएको छ । प्रेश स्वतन्त्रता कायम भएको छ, त्यसलाई बचाउनु पर्छ । तर ओली सरकारले त्यसका विपरीत कामहरु गर्दै गइरहेका छन् । उदाहरणको लागि, जसरी मिडिया काउन्सिलको विधेयक ल्याए, त्यो गलत थियो । यसलाई हामीले बिरोध गर्यौँ । विधेयकहरु ल्याउँदा सम्बन्धित सवैपक्षसँग सल्लाह गरेर ल्याउनु पर्दथ्यो । विकास सम्बन्धि बजेटहरु प्रजातान्त्रिक, जनवादी तरिकाले खर्च गरिराखेका छैनन् । खर्च आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रीत गर्ने गरिरहेका छन् । यो तरिकालाई हामी राम्रो मान्दैनौँ ।

यद्यपि, उनीहरुले चाहँदैमा अधिनायकवाद त उनीहरुले कायम गर्न सक्दैनन् । रुसमा त्यही भयो नि । रुसमा कम्युनिष्ट शासनको नाममा, सर्वहारा वर्गको नाममा आफ्नो अधिनायकत्व कायम गरे । त्यसले जनतामा वितृष्णा पैदा भयो र पूँजीवाद आयो । कयौँ ठाउँमा जनताको बिरोध सहि रुपमा प्रकट हुन पाउँदैन, त्यसले तानाशाहीको रुप लिन्छ । जर्मनीमा नै हेराँै । त्यहाँको बुर्जुवा शासनको गलत तरिका थियो । त्यसप्रति व्यापक असन्तुष्टि थियो । क्रान्तिकारी दिशा लिन सकेन, त्यसपछि हिटलर आयो । कैयौँ पटक प्रतिगामी शासन किन आउँछन् भने प्रजातान्त्रिक शक्तिहरु वा वामपन्थी शक्तिहरुले सही काम नगर्दा त्यसबाट पैदा भएको असन्तुष्टिबाट उनीहरुले फाइदा उठाउँछन् । जस्तो बहुदलीय व्यवस्थामा ०४६ सालपछि पार्टीहरुले राम्रो काम गर्न सकेनन् र ज्ञानेन्द्र आए । विपीले राम्रो काम गर्न सकेनन्, महेन्द्र आए । त्यसकारण कम्युनिष्टहरुले देशलाई सही ढंगले सञ्चालन गर्न नसक्दा खत्तम भएर गएका उदाहरणहरु प्रशस्तै छन् । त्यसकारण, विरोधीलाई दोष दिएर मात्रै पुग्दैन । कम्युनिष्ट सिद्धान्त अनुसार काम नगर्दा विश्वबाट समाजवाद नैै धरासयी भएर गयो । यो कुरा बुझ्नु जरुरी छ ।

तपाईहरुले केहीसमय पहिला विभिन्न पार्टीहरुसँग कार्यगत एकता पनि गर्नुभएको थियो । अहिले तपाइको पार्टीका गतिविधि पनि केही देखिदैँनन् । तपाईंहरुको राजनीतिक एजेण्डा मुद्दाहरु मुखरित भइरहेका छ्रैनन् ? तपाईहरु कहाँ अलमलिनु भयो ?

राजनीतिक मुद्दामा हामी अलमलिएका छैनाँै, हाम्रो धारणा स्पष्ट छ । भर्खरै सम्पन्न हाम्रो पार्टीको आठौँ महाधिवेशनले परित गरेको प्रतिवेदन बाहिर आएको छैन । हामीले राष्ट्रियताको पक्षमा, गणतन्त्रको पक्षमा, राजनीतिक पार्टीको पक्षमा हाम्रो स्पष्ट धारणा छ, त्यो बारम्बार बाहिर ल्याएका छाँै । समस्या के हो भने ती प्रश्नहरुमा जति ठूलो आन्दोलन उठाइनुपथ्र्यो, त्यति हामीले गर्न सकिराखेका छैनौँ । त्यसको लागि हामीसँग पर्याप्त शक्ति, साधन हामीसँग छैन ।


विप्लवहरुसँग कार्यगत एकता गर्ने हाम्रो नीति थियो  । तर उनीहरु ठाउँ ठाउँमा हाम्रै साथीहरुलाई धम्काउने, हाम्रा गाउँपालिका प्रमुख भएकामा राजीनामा दिन लगाउने, कारवाही गर्ने लगायतका गतिविधिहरुले कार्यगत एकता हुन सकेन । बीचमा पार्टी एकताको कुरा पनि चलेको थियो । तर उनीहरुको कार्यशैली र हाम्रो कार्यशैलीमा काफी भिन्नता रह्यो । उनीहरुको आतंकवादी प्रकारको कारबाही छ, त्यसमा हाम्रो मेल खाएन र पार्टी एकता हुन सकेन, कार्यगत एकता पनि हुन सकेन ।


यसअघि तपाईंहरुको पार्टी समेत विभिन्न वामघटकहरुबीच कार्यगत एकताको कुरा निक्कै उठेको थियो । त्यो कहाँ पुग्यो ?

कार्यगत एकताको सन्दर्भमा अलि पहिला १७ वटा पार्टीसँग कार्यगत एकता गरेका थियौँ । पछि त्यो कार्यगत एकता टुट्यो । ति सवै मोहनवैद्यहरुसँग मिल्न गए । आखिर तिनिहरु पनि छिन्न भिन्न भए । पछि वैद्य, विप्लवहरुसँग कार्यगत एकता गर्यौँ । त्यो पनि लामो समयसम्म टिकेन । विप्लवहरुसँग कार्यगत एकता गर्ने हाम्रो नीति थियो  । तर उनीहरु ठाउँ ठाउँमा हाम्रै साथीहरुलाई धम्काउने, हाम्रा गाउँपालिका प्रमुख भएकामा राजीनामा दिन लगाउने, कारवाही गर्ने लगायतका गतिविधिहरुले कार्यगत एकता हुन सकेन ।

बीचमा पार्टी एकताको कुरा पनि चलेको थियो । तर उनीहरुको कार्यशैली र हाम्रो कार्यशैलीमा काफी भिन्नता रह्यो । उनीहरुको आतंकवादी प्रकारको कारबाही छ, त्यसमा हाम्रो मेल खाएन र पार्टी एकता हुन सकेन, कार्यगत एकता पनि हुन सकेन । बीचबीचमा हामीले कार्यगत एकताका लागि कुरा गरेका छौँ तर यो त्यति सफल हुन देखिन्न । संक्षेपमा भन्दा कार्यगत एकता, पार्टी एकता गर्नका लागि मिल्ने पर्याप्त शक्तिहरु पनि छैनन् ।

३१ः४० छरिएर रहेका वामपन्थी पार्टीहरुबीचमा निकट भविष्यमा पार्टी एकता हुन सक्ने सम्भावना छ कि छैन त ?

एकताको निरपेक्ष कुरा होइन । एकसाल पहिले तपाईंले तत्कालीन माओवादी र एमालेबीचको  नेकपाको पार्टी एकता देख्नु भयो । उनीहरुको त्यो एकता सिद्धान्त वा राजनीतिमाथि आधारित थिएन । त्यसबेला दुबैलाई कार्यगत एकता गरेनौं वा मिलनौं भने चुनावमा हामी हार्छौं भन्ने थियो । त्यो आवश्यकताअनुसार सिद्धान्त र राजनीतिक प्रश्नलाई गौण बनाएर गरिएको एकता भएको कारण एकताको एक बर्ष वितिसक्दा विवादहरु झन् बढेर गएका छन् । उनीहरु अब एक ठाउँमा रहने हुन् कि फुट्ने हुन् भन्ने खतरा पैदा भइराखेको छ ।

त्यसकारण सिद्धान्त र राजनीतिकमा एकता नभैकन पार्टी एकता गर्नु राम्रो हुँदैन । उदाहरणको लागि, पहिला नारायणकाजीहरुसँग चार बर्ष कुरा भयो । राजनीति मिलाएर अघि जाँऔँ भन्ने कुरा भयो। महाधिवेशनमा गएर मिलाऔंला भन्ने भयो र तद्अनुसार एकता गरियो । तर त्यो एकता टिक्न सकेन ।   पछि उनीहरु माओवादी तिर गए । र हाम्रो उनीहरुसँगको एकता  टुट्यो । त्यसकारण सिद्धान्त र राजनीतिक समझदारी नभई गरिएको पार्टी एकता दिगो हुँदैन । बारम्बार व्यबहारले त्यो देखाएको छ ।

यसको अर्थ निकट भविष्यमा तत्कालै कुनै पार्टीसँग पार्टी एकता हुने सम्भावना छैन ?

राजनीतिक रुपमा हाम्रो पार्टी एकता हुन सक्ने विप्लवजीहरुसँग हो तर उँहाहरुले पक्रेको बाटो र कार्यशैलीसँग हामी सहमत छैनौं । त्यसैले उहाँहरुसँगको पार्टी एकताकोसम्भावना टरेर गएको छ । 

मोहन वैद्यजीहरुसँग पनि कैयन राजनीतिक सवालहरुमा हाम्रो मतभेद छ । जस्तो कि, अहिलेको संविधानलाई हेर्ने कुरामै हाम्रो भिन्नता छ । संविधानका कैयन कुराहरुमा संघीयता कै कुरामा पनि हाम्रो विरोध छ । यो लामो समयदेखि नेपालमा चल्दै आएको राजनीतिक आन्दोलनहरुको उपलब्धि हो र यसको संरक्षण गर्नुपर्छ, यसलाई कायम राख्नुपर्छ र बचाउनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यसको ठीक विपरीत वैद्यजीहरु यसलाई खारेज गर्नुपर्छ भन्नुहुन्छ । अहिलेको गणतन्त्र बुर्जुवा किसिमकै हो तर पनि यसको महत्व छ र तत्कालका लागि यसलाई बचाउनुपर्छ भन्ने कुरामा हामी जोड दिन्छौं । वैद्यजीहरु यो प्रतिक्रियावादी हो र यसलाई समाप्त नै गर्नुपर्छ भन्ने कुरामा जोड दिनुहुन्छ । जातीय प्रश्नमा पनि उहाँहरु र हामीबीच मतभेद छ । जातिय प्रश्न सही होइन भन्ने हाम्रो धारणा रहीआएको छ भने उहाँहरु जातीय प्रश्नमै बढी जोड दिनुहुन्छ । संघीयतालाई हामी विरोध गर्छौं, उहाँहरु समर्थन गर्नुहुन्छ । यी लगायतका राजनीतिक दृष्टिकोणमै रहेको भिन्नताका कारण तत्काल उहाँहरुसँग एकता हुने सम्भावना छैन ।

तर भनिन्छ, राजनीति भनेको सम्भावनाको खेल हो । कुनै बेला एक अर्काका कट्रविरोधी देखिनुहुने र राजनीतिक सिद्धान्तमै पनि पूरै भिन्नता रहेको ओली प्रचण्डले नेतृत्व गर्नुभएको पार्टीहरुबीच एकता भयो । के त्यस्तो हुन सक्दैन र ?

पहिलो कुरा त तत्कालीन एमाले र माओवादी राजनीतिक आधारमा मिलेकै होइन, उनीहरु चुनावका लागि मात्र मिलेका हुन् । सत्ताका लागि उनीहरु मिलेका थिए, जसमा उनीहरु सफल पनि भए । त्यसलाई हामीले स्वागत पनि गर्यौं । तर राजनीति नमिलेपछि कस्तो हुँदो रहेछ भन्ने कुरा अहिले तपाईंले देखिरहनुभएको छ ।    


पार्टीमा काम गर्ने सिलसिलामा कसलाई कमिटीमा राख्ने भन्ने पार्टीका साथीहरुको निर्णय हो । आवश्यकताअनुसार, केन्द्रीय कमिटी, जिल्ला कमिटी वा कुनै पनि जिम्मेवारीमा राख्न सक्छन् । यो कुरा व्यक्तिको सक्रियता माथि वा पार्टीको विश्वास माथि, पार्टीप्रतिको आस्था माथि निर्भर हुने कुरा भयो । कोही जवरजस्ती नेतृत्वमा रहने कुरा हुँदैन ।


तपाई लामो समय पार्टीको नेतृत्वमा रहनु भयो । तपाईको पार्टीमा नेतृत्व गर्ने अरु पात्र नभएर हो कि किन तपाईनै नेतृत्वमा रहिरहने ? छन् भने किन तपाई छाड्नु हुन्न नेतृत्व ?

कुनै पनि व्यक्ति पलाएन भएर वा निराश भएर वा अशक्त भएर पार्टीबाट हट्ने हो । केही गर्न सक्दिनँ भनेर  पलायन हुँदा वा  बिरामी भयो, उमेरले साथ दिएन वा काम गर्न सक्ने अवस्था रहने भने पार्टीबाट हट्ने हो । अन्यथा, कुनै पनि व्यक्ति  पार्टीमा सक्रिय रहन्छ । कोही ५०–६० वर्ष वा म जस्तो ८५ बर्षसम्म त कोही ९० वर्षसम्म रहन सक्ला । हाम्रो सोचाइ जसले जति समयसम्म सक्रिय रुपमा काम गर्न सक्छ, त्यतिबेलासम्म पार्टीमा काम गर्नुपर्छ ।

पार्टीमा काम गर्ने सिलसिलामा कसलाई कमिटीमा राख्ने भन्ने पार्टीका साथीहरुको निर्णय हो । आवश्यकताअनुसार, केन्द्रीय कमिटी, जिल्ला कमिटी वा कुनै पनि जिम्मेवारीमा राख्न सक्छन् । यो कुरा व्यक्तिको सक्रियता माथि वा पार्टीको विश्वास माथि, पार्टीप्रतिको आस्था माथि निर्भर हुने कुरा भयो । कोही जवरजस्ती नेतृत्वमा रहने कुरा हुँदैन ।

तपाईले सक्रिय रहँदासम्म पार्टी नेतृत्वमा रहन सक्ने भन्नुभयो । तर नेकपा मसालको  सिस्टमभित्र मोहनविक्रम सिंह मात्रै सदाबहार महामन्त्री बन्नुको कारण तपाईंको सट्टामा जिम्मेवारी वहन गर्न सक्ने क्षमतावान मान्छे नभएकै कारण तपाईलाई नै महामन्त्री चयन गरिबस्नुपर्ने बाध्यता हो ?

पहिलो कुरा त सक्रिय हुँदासम्म पार्टीको नेतृत्वमा हुनुपर्छ भन्ने कुरा होइन । पार्टीको निर्णयको प्रक्रिया हुन्छ । पार्टीले जसलाई उपयुक्त ठान्छ, उसलाई नै नेतृत्वमा छानेर जिम्मेवारी दिन्छन् । यो पार्टीले कसलाई विश्वास गर्छ भन्ने कुरा हो ।

यसको अर्थ पार्टीभित्र महामन्त्री बन्नको लागि तपाईंभन्दा योग्य र क्षमतावान मानिस छैन भन्ने हो ?

हैन, मुख्य कुरा पार्टीले कसलाई विश्वास गर्छ भन्ने कुरामा यो आधारित रहन्छ । जस्तो, स्टालिन, माओ, होचिमिन्ह लामो समयसम्म पार्टीको नेतृत्वमा रहे । यसको अर्थ पार्टीले जसमाथि सबैभन्दा बढी विश्वास गर्छ, उसैलाइ नेतृत्वमा राख्न सक्छ । आज मलाई विश्वास गरेर नेतृत्वमा राख्न सक्छ, भोलि  विश्वास गरेन भने बहुमतले हटाएर केन्द्रीय कमिटिमा वा सल्लाहकारमा बस्नु भन्न सक्छ । जिल्ला कमिटीमा बस्नु भन्न सक्छ । यो पार्टीले निर्णय गर्ने कुरा हो । पार्टीले विश्वास गर्ने कुरा हो । पार्टीमा एउटा जनवादी प्रक्रिया हुन्छ, त्यसअनुसार नेतृत्व छान्ने कुरा हो ।

यसको अर्थ, कदाचित तपाईंले म पार्टी राजनीतिमा सक्रिय रहन्छु तर नेतृत्वबाट विश्राम लिन्छु भन्नुभयो भने तपाईको पार्टीमा महामन्त्री पद सम्हाल्न सक्ने थुप्रै योग्य नेतृत्व तयार छ ?

त्यस्ता कैयौँ योग्य साथीहरु हुनुहुन्छ । पार्टीमा महामन्त्रीको लागि ममात्रै योग्य भन्ने होइन । मानिलिनुहोस्, भोलि मेरो निधन नै होला, त्यो अवस्थामा योग्य नेतृत्व नभएर महामन्त्रीको पद खाली नै हुन्छ भन्ने होइन ।

त्यसो त मसालभित्र परिवारवाद हावी छ भन्ने कुरा पनि उठ्ने गर्छ नि !

जहाँसम्म परिवारवादको कुरा छ, परिवारवाद भनेको के हो त्यसमा हामी स्पष्ट छाँै । हाम्रो सिद्धान्त के हो भने पार्टीका नेताहरुले आफ्नो परिवारलाई पनि बढीभन्दा बढी पार्टीमा सक्रिय पार्नुपर्छ भन्ने छ । जस्तो मैले पार्टीमा काम गरे मेरा नाता पर्ने कोहीले पार्टीमा काम नगरुन, मेरा छोराछोरी पत्नी कसैले काम नगरुन भन्ने सोचलाई हामी सहि मान्दैनौँ । हामीले बढी  भन्दा बढी परिवारका सदस्यलाई पनि पार्टीमा सक्रिय बनाउने कोशिश गर्नुपर्छ । यो कुरा बेग्लै हो कि त्यो सबै सफल हुँदैन । कतिपय अवस्थामा मैले कोशिस गर्दा पनि मेरा छोराहरु, भाइ नातेदाहरु सबै पार्टीमा आउँदैनन्, उनीहरु आ–आफ्नो पेशा नोकरीमा लाग्छन् । कोही कोही मात्रै आउँछन,् र पार्टीमा सक्रियतापर्वक काम गरिरहेका हुन्छन् । उनीहरु पार्टीका विभिन्न कमिटी वा पदमा हुन सक्छन् । यसअर्थमा त्यसलाई हामी परिवारवाद भन्दैनौँ । परिवारवाद भनेको कसैले काम नगरिकन, कुनै जिम्मेवारी नभइकन, उसको निश्चित पृष्ठभूमि नभइकन जबरस्ती नातेदार भएकै कारण पदमा राखिन्छ भने त्यो परिवारवाद हो । कुनै मान्छे पार्टीमा काम गर्छन् आफ्नै हैसियतमा काम गर्दै जान्छन् र  पदमा रहन्छन् भने त्यो परिवारवाद होइन ।

तर तपाईंकी श्रीमतीलाई सांसद बनाउन लामो समयदेखि पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई पाखा गरियो भन्ने आरोप त जबरजस्त रुपमा उठ्ने गरेको छ नि ?

कुरा त्यस्तो होइन । प्रथमतः दुर्गा पौडेलले मसँग विवाह गर्नुभन्दा १४ वर्ष पहिलादेखि सक्रिय भएर पार्टीमा काम गर्दै आएकी हुन् । उनको ३५ वर्षको राजनीतिक इतिहास छ । अहिले चुनाव जितिन्, बढी विवादको कुरा आयो । ०५२ सालमा कपिलवस्तुमा चुनाव लडेकी थिइन्, त्यतिबेला हारिन्, विवाद आएन । पछि काठमाडौँमा चुनाव लडिन्, विवाद आएन । कैयौं पटक महिला संघको अध्यक्ष भएर १० वर्ष जति काम गरिन्, त्यसमा विवाद आएन । अहिले चुनाव जितिन्, विवाद आयो । पहिला पनि उनी संसदमा हुँदा अरु २।३ जना साथीहरु हुनुहुन्थ्यो, त्यहाँ विवाद भएन । अहिले अरुतिरबाट जित्ने संभावना भएन, एक ठाउँबाट जित्ने संभावना भयो । पार्टीका उपाध्यक्ष क. चित्रबहादुर केसीलाई बागलुङ्बाट उठाउन हामीले धेरै कोसिस गर्यौँ तर उँहा मान्नु भएन । त्यस्तो अवस्थामा प्यूठानबाट हामीले दुर्गा पौडेललाई उठाउनु पर्यो । प्यूठानको कमिटीले निर्णय गरेर उनको नाम पठायो र चुनाव लडिन् ।

तपाईहरु सरकारमा जानका लागि भित्र भित्र वार्ताहरु पनि भएका छन् भन्ने सुनिन्छन् । खास गरी, दुर्गाजीलाई मन्त्री बनाउने अफर नै आएको पनि चर्चा चल्ने गर्छ । सरकारमा जानेबारे तपाईहरुले धारणा के हो ?

हो, हामी सरकारमा जाने तयारी गर्दैछौं भनेर चर्चा परिचर्चाहरु हुने गरेका छन् । विशेषतः मैले दुर्गालाई मन्त्री बनाउन प्रचण्डलाई भेटे, ओलीलाई भेटे भन्ने कुरा धेरै मिडियामा पनि आएका छन् । वास्तवमा त्यसबारे कसैसँग पनि कुरा भएको छैन । केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा सरकारमा जाने निर्णय गरेका थियौँ र सरकारमा गएका थियौँ । त्यसबेला राष्ट्रियता र जनतन्त्रको पक्षमा देखाएको अडान र गरेका काम,  चीनसँगको सम्बन्ध विस्तारका लागि प्रयत्न गरेको हुनाले, भारतीय नाकाबन्दीको विरुद्ध स्पष्ट नीति अपनाएको हुनाले त्यसलाई मद्दत गर्नको निम्ति सरकारमा जाने नीति अपनायौँ । पछि प्रचण्ड नेतृत्वको सरकार बन्यो । उनीहरुले पनि कोसिश गरेका थिए, हामीलाई सरकारमा सामेल गराउन तर हामी गएनौँ । अहिले पनि सरकारमा जाने हाम्रो नीति खुला छ । तर अहिलेको जुन प्रकारको स्थिति छ र सरकारले जुन प्रकारको नीति अपनाइराखेको छ, त्यो स्थितिमा हामी सरकारमा जाने भन्ने प्रश्न नै उठ्दैन ।

सरकारमा जाने नीति छ तर अहिले नजाने भन्ने तपाईंको भनाइ रह्यो । बोलाइहाल्यो भने चाहिँ जानुहुन्छ ?

बोलाइहाल्यो भने जाने भन्ने होइन । त्यसलाई त्यस ढंगले बुझ्नु गल्ती हुन्छ । उदाहरणको लागि, कांग्रेससँग आवश्यकताअनुसार कार्यगत एकता गर्न सक्ने हाम्रो नीति छ । तर यसको अर्थ सधैं त्यो गर्न सकिन्छ वा गर्ने हो भन्ने होइन । त्यसै गरी, वैद्यजीहरुसँग पनि कार्यगत एकता गरेर जाने हाम्रो नीति छ । त्यो परिस्थिति तयार भयो भने त्यो पनि गरेर जाने हो । यसर्थ, सरकारमा जाने नीति छ भन्नुको अर्थ बोलाउँदैमा गइहाल्ने भन्ने होइन । अहिले ओली सरकारले जुन खालको नीति लिइरहेको छ, त्यो समग्र स्थितिको विश्लेषण गर्दा यो सरकारमा जाने भन्ने कुरा नै हुँदैन ।

सरकारमा जाने विषयमा एक पटक पनि ओली, प्रचण्ड वा कुनै पनि पक्षसँग भेटघाट कुराकानी भएको छैन ।

एक डेढ महिना अघि प्रचण्डले मसँग भिन्न कुरा चाहिँ गर्नु भएको थियो । उहाँको प्रस्ताव, संभव छ भने हामीले वामदेवजीको लागि प्यूठानको सिट खाली गर्दिने र बदलामा राष्ट्रिय सभामा दुर्गाजीलाई लैजाने भन्ने कुरा गर्नुभएको थियो । हामीले त्यो संभव छैन भन्यौं । पहिलो कुरा त सरकारमा जाने नीति खुला भएपनि यो सरकारले जुन प्रकारको नीति अपनाएको छ, त्यो स्थितिमा यो सरकारमा जाने प्रश्नै उठ्दैन ।  त्यसैले तत्काल संसदबाट जाने भन्ने हाम्रो निर्णय छैन भनेर हामीले   सिधै त्यो कुरालाई अस्वीकार गरिदियौं ।

(सिंहसँगको विस्तृत अन्तर्वार्ता सोमबार प्रकाशित गरिनेछ । –रातोपाटी)


मोहनविक्रमसिंहसँग सम्बन्धित अन्य केही सामग्रीहरु

विदेशीहरु नेपालको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भयोः मोहनविक्रम
नेकपा बनेपछि मोहनविक्रम सिंहले गरे खतरा टरेको ठोकुवा
ओली–प्रचण्ड आफ्नै पासोमा पर्नुभयो स् मोहनविक्रम सिंहको अन्तरवार्ता
देउवाको दिल्ली भ्रमणबारे मोहनविक्रम र वैद्यसहित नौ पार्टीले दिए १५ सुझाव


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...