शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा पूर्वआईजीपी चन्दको २ घण्टा, सर्वोच्चमा पाएनन् स्यालुट, जेलमा पाए (भिडियो/फोटो)

बिहीबार, १९ असार २०७६, १९ : ०३
बिहीबार, १९ असार २०७६

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरीले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमपर्ण गरेका छन् । आत्मसमपर्ण गरेसँगै चन्द डिल्लीबजार कारागार चलान भएका छन् ।

सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका चन्द आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् । 

दिउँसो ४ बजे आफ्नो प्राइभेट गाडीमा अदालत पुगेका चन्दलाई सर्वोच्च अदालतको गेटमा खटिएका प्रहरीले वास्तै गरेनन् मात्र होइन स्यालुट समेत गरेनन् । 

चन्द २ घण्टासम्म सर्वोच्च अदालत परिसरमा रहे । सर्वोच्च अदालत परिसरमा रहँदा चन्द कहिले भित्र त कहिले बाहिर आउँदै फोनमा व्यस्त रहे । 

प्रहरीको भ्यानको स्कर्टिङसहित सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पुर्याइएका चन्दलाई डिल्लीबजार कारागारमा खटिएका प्रहरीले भने स्यालुट गरेका थिए । 

दुई बर्ष अघि अर्थात २०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित ९ जनालाई जेल सजायको फैसला सुनाएको थियो । 

फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो । फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको थियो ।

सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसवेला तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेषले यो भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले पुन सर्वोच्चमा पुनरावेदन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप