मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आँखैअगाडि भ्रष्टाचार : कालोपत्रेमाथि कालोपत्र, खाल्डाखुल्डी ज्युँका त्युँ

बिहीबार, १९ असार २०७६, १३ : ४१
बिहीबार, १९ असार २०७६

काठमाडौँ । यतिखेर असारे विकासको चटारोले छ्याप्पै छोपेको छ । किसानका लागि बाली लगाउन असार लागे जस्तै विकास खर्च(बजेट) सक्न मन्त्रालयहरुलाई पनि भ्याई नभ्याई छ ।

जहाँत्यहीँ विकास निर्माणका कामले तिब्रता पाएको छ । भत्काउने, बनाउने, मर्मत गर्नेदेखि नयाँ परियोजनाको थालनी गर्ने सम्मका कामहरु धमाधम अघि बढेका छन् ।

चालु आर्थिक वर्षको समयसीमा सकिनै लाग्दा विकास खर्च बढाउन यस्तो चटारो देखिएको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा बजेटमा छुट्याइको खर्चको दायरा बढाउन मन्त्रालयहरु लागि परेका छन् । कसैले विकास निर्माणका नाममा असारे विकास गर्दैछन् त कसैले तालिम, प्रशिक्षण तथा विविध प्रशासनिक क्रियाकलाप भन्दै तारे होटलमा बजेट उडाइरहेका छन् । अधिकांश मन्त्रालयहरु विकास खर्च सक्न लागि परेका छन् ।

नयाँ आर्थिक वर्षको बजेट आएसँगै चालु आर्थिक वर्षको विकास खर्चलाई तिव्रता दिइएको हो । बजेटको पुँजीगत खर्चतर्फ ६० प्रतिशत पनि खर्च गर्न नसकेको आरोपकाबीच नयाँ आर्थिक वर्षको बजेट आएसँगै दैनिक ४ अर्ब माथिको बजेट खर्च गराइँदै छ । महालेखापरिक्षणको रिर्पोट अनुसार गत बुधबार मात्र करिब ९ अर्ब हारहारीमा बजेट खर्च भएको छ ।

यतिखेर मुख्यतः सडक, बाटो घाटो तथा पुल पुलेसा निर्माण तथा मर्मतका क्षेत्रहरु असारे विकासको प्राथमिकतामा परेका छन् । सहरका जहाँत्यहीँका सडक तथा फुटपाथका कामहरु अघि बढाइएको छ ।

विकास निर्माण तथा सुधारकै नाममा बजेट सक्नकै लागि भएका भत्काउने र नभएका ठाउँमा टालटुल पार्ने काम भइरहेका छन् ।

यति सम्मकी पिच भइसकेका सडकहरुमा दोहो¥याएर, तेह¥याएरसम्म कालोपत्रेमाथि कालोपत्रे गरिदैं छ । तर जहाँ कालोपत्र छैन, त्यहाँ भने वास्तै गरिएको छैन । खाल्डा खुल्डी भएका र पिचको आवश्यकता परेका ठाउँहरु उस्तै छन् ।

यसरी हुँदै छ बजेटको दुरुपयोग

आर्थिक वर्ष सकिनै लाग्दा जसरी भएपनि बजेट सक्ने, कमिसन खाने र खर्च देखाउने चलखेल भइरहेको छ । यस्ता प्रमाणहरु अहिले सहरमा जहाँत्यहीँ देख्न सकिन्छ ।

यसैको ज्वलन्त उदाहरण ललितपुरमा पनि देखिएको छ । ललितपुरको नख्खुचोकमा लाजमर्दो पाराले बजेटको दुरुपयोग भएको छ ।

बुधबार मात्र ललिपुरको नख्खुचोकदेखि भैँसेपाटी जाने सडकमा पिच सडकमाथि पिंच गरिँदै छ । जहाँ सहज र सबल पिच (कालोपत्रे)सहितको सडक छ । यसरी देख्दा देख्दै आँखामा पट्टी बाँधेर बजेटको दुरुपयोग गरिँदै छ ।

यस्तै, कुपनडोल हाइटमा पनि बजेटको दुरुपयोग भएको छ । कुपन्डोलबाट सानेपा जाने साखा(गल्ली) सडकमा पनि पिचमाथि पिच थपिएको छ । दोहोरो तेहोरो कालोपत्रेकै कारण अहिले यो सडक चाहिनेभन्दा बढि उचाईमा उठेको छ । यो मात्र होइन अहिले सहरका अधिकांश गल्ली सडक बाटाहरुमा अन्धाधुन्ध असारे बजेट खनाइँदै छ ।

सडक मात्र होइन सडक छेउछाउका फुटपाथ (पैदल मार्ग) समेत असारे विकासको प्राथमिकतामा परेका छन् ।

फुटपाथका पुराना टायल तथा बल्कहरु झिकेर धमाधम नयाँ बिछ्याइँदै छ । त्यो पनि अनावश्यक खर्चका लागि । चाहिने ठाउँमा भने आवश्यक फुटपाथ समेत छैनन् ।

केका लागि यसरी पैदल बाटो भत्काउने र नयाँ बनाउने गरिँदैछ भन्ने प्रश्नमा निर्माण पक्षले बाटो समथर नभएकाले पुनर्निमार्ण गर्न परेको जस्ता उत्तर दिन्छन् । जब कि यी फुटपाथ निर्माण भएको करिब एक वर्षमात्र भएको छ । यदि पुनर्निर्माण नै गर्नु थियो भने फुटपाथ निर्माण गर्दा नै किन त्यसबारे ध्यान दिइएन । यदि समसइा थियो भने अहिले सम्म किन पुनःनिर्माण गरिएन ? र, अहिले आर्थिक वर्षको अन्तअन्तमा आएर फेरी किन गरिदै छ ?

यता सडक विभाग, योजना अनुगमन तथा मूल्याङ्कन शाखा भने काम गर्ने सिजन र पेमेन्ट हुने सिजन यसै समयमा पर्ने हुँदा कामको स्पिड बढेको बताउँछ ।

‘सडक पिच गर्ने मौसम वैशाख–जेठ नै हो । अलिकती पर सर्दा असारसम्म पुग्छ । यस्तो अवस्था पिचको काम अघि बढ्नु स्वभाविक हो,’ योजना तथा अनुगमन तथा मूल्यांकन शाखाका शाखा प्रमुख अर्जुन सुवालले भने, ‘आर्थिक वर्षको अन्त्यअन्त्यमा रकम भूक्तानी हुने हुँदा पनि ठेकेदारहरुले कामलाई तिव्रता दिन्छन् । तर यसलाई असारे विकास भन्न मिल्दैन ।’

यता सर्वसाधारणहरु भने असारे विकासको चर्को विरोध गरिरहेका छन् । विकासका नाममा आर्थिक वर्षको अन्त्यमा आएर अन्धाधुन्ध विकास खर्च गर्ने र बजेट सक्ने परिपाटीको विरोधमा आम सर्वसाधारण छन् ।

आफ्नो पसल अगाडिको कालोपत्रे सडकमा फेरि कालोपत्र भइरहँदा कुपन्डोलकी सानुमैया तामाङ भन्दै थिइन्, ‘अस्ती भर्खर पिच गरेको सडक फेरि पिच गरिँदैछ । बरु, सडक नभएको ठाउँमा बनाउन जानु नि !’

यस्तैमा नख्खु–भैंसोपाटी सडकको पिचको विषयलाई लिएर स्थानीय आक्रोषित बनेका छन् । बुधबारदेखी सो क्षेत्रमा हुँदै गरेको पिचमाथिको पिचको विषयलाई लिएर स्थानीय राजन खड्काले रातोपाटीसँगको कुराकानीमा भने, ‘हाम्रो देशमा विकासको मोडालिटी र परिपाटी देख्दा अचम्म लाग्छ । हिजोमात्र नख्खुचोक देखि भैंसेपाटी जाने सडकमा कालोपत्रे गर्दै गरेको देख्दा दुःख लागेर आयो । जहाँ पिच छ त्यसैमाथि पिच गरिँदैछ । कहीँ सामान्य सडक मर्मतसम्म हुन सकेको छैन तर कतै दोहो¥याएर तेह¥याएर पिच गरिदैँछ । यसबाट के बुझ्ने ?’ 

सडक विभाग योजना अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख सुवालकै अनुसार खर्चको भूक्तानी वैशाखभन्दा अघि नहुँदा काममा ढिलाई हुने गरेको छ । ६०–७० प्रतिशतको काम सकिने गरेपनि बाँकी काम भूक्तानीपछि मात्र सकिने गरेको छ । यस्तो अवस्थामा कामलाई असारे विकास वा बजेट खर्चे विकासको रुपमा चित्रण गर्ने गरिन्छ ।

यता, महानगरपालिकाले पनि असारे विकासको बचाउ गर्दै विकासलाई प्राथमिकता दिएको बताउँदै आएको छ । काम गर्ने मौसम र भूक्तानीकै कारण जेठ असारमा विकासका कामहरु अघि बढ्ने गरेको महानगरको भनाई छ ।

तस्विरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप