बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घरको काम गर्न श्रीमानलाई कचकच गरिरहने श्रीमती पक्राउ

बिहीबार, १९ असार २०७६, १२ : ४०
बिहीबार, १९ असार २०७६

ग्रेट ब्रिटेनकी ५८ वर्षे भ्यालेरी स्यान्डर्स श्रीमानमाथिको आफ्नो व्यवहारका कारण १७ घण्टा जेलमा बिताउन बाध्य भएकी छिन् । भ्यालेरीले श्रीमानलाई आफ्नो कारको साटो घर सफा गर्न बारम्बार कचकच गर्ने गरेको स्रोतले बताएको छ ।  

भ्यालेरीको समस्या त्यतिबेला सुरु भयो जब सन् २०१८ को अप्रिलमा उनका श्रीमान माइकलको अफिसमा जबसेन्टर युकेका कर्मचारीले नियमित जाँचमा जाँदा उनी खराब मुडमा भएको थाहा पाए । यसबारे उनलाई सोध्दा, उनीहरुले माइकललाई श्रीमतीले जिममा धेरै समय बिताउनु  र कार धेरै सफा गर्नुको साटो घर सफा गर्न भनिरहने थाहा पाए । भ्यालेरीको श्रीमानप्रतिको त्यस्तो व्यवहारलाई  ‘कन्ट्रोलिङ विहेभियर’ भन्दै यो कानूनी रुपमा दण्डनीय भएको बताए । त्यसपछि पुलिस स्यान्डर्सको घरमा गए, भ्यालेरीलाई पक्राउ गरे र उनलाई १७ घण्टासम्म जेलमा राखे । उनलाई विगत एक वर्षदेखि कानूनी लडाईं लड्न बाध्य पनि बनाइएको छ ।

‘मलाई पुलिस स्टेशन लगियो र जेलमा थुनियो । म यसअघि कहिले पनि समस्यामा परेको थिइनँ त्यसकारण निकै आत्तिएको थिएँ । मलाई आफू अपराधी जस्तो महसुस भइरहेको थियो, ’ भ्यालेरीले भनिन् ।

पक्राउ पर्दा आफूलाई ठूलै झट्का लागेको उनले बताइन् । ‘मैले श्रीमानलाई भ्याक्युम लगाउन, घर सफा गर्न भन्दै केही नोट लेखेर छोडिदिन्थेँ । घरमा धेरै काम हुन्थे तर उनी आफ्नो कार सफा गर्न चार घण्टा लगाउँथे । त्यसकारण मैले उनलाई यसका लागि कराउँथे पनि । यो पक्कै पनि कन्ट्रोलिङ विहेभियर होइन, यदि त्यस्तो हुँदो हो त प्रत्येक विवाहित अदालतमा हुन्थे ।’

माइकलले द सनसँगको कुरामा भ्यालेरीविरुद्ध मुद्दा चलाउनु आफ्नो निर्णय नभएको बताउँदै उनले आफूलाई नियन्त्रण गर्न खोजेको कुरा स्विकारे । उनले भने, ‘उनले मलाई बारम्बार घर सफा गर्न, भ्याक्युम लगाउन अह्राइरहन्थिन् । उनले मलाई बडिबिल्डिङ र कार सफा गर्न धेरै समय लिने गरेको भनेर पनि कचकच गरिरहन्थिन् । यसले मेरो मुड खराब गर्दथ्यो ।’

‘हामीबीच माया भन्ने कुरा नै थिएन । उनले आफ्ना दुईवटा कुकुरलाई चुम्बन गर्थिन्, अँगालो हाल्थिन् तर उनले मलाई न त चुम्बन गर्थिन् न अँगालो नै हाल्थिन् । ’

भ्यालेरीले आफ्ना ५८ वर्षीया श्रीमान्ले जबदेखि जिम म्यानेजरको काम सम्हाले तबदेखि उनले आफ्नो धेरैजसो समय वर्कआउट र डाइटमा खर्च गर्ने गरेको र यसले उनीहरुको वैवाहिक सम्बन्धमा चिसोपना निम्त्याएको आरोप लगाइन् । ‘उनले आफ्नो खाना ब्लेन्डरमा पिसेर खान थालेका थिए, त्यसकारण हामी बाहिर खाना खान जान छोड्यौं । उनले आफ्नो धेरैजसो समय जिम र कारमा खर्च गर्ने भएकाले कति दिनसम्म त मैले उनलाई देख्दै देख्दिनथेँ ।’

यी दुईको सन् २०१२ मा अनलाइनमार्फत् भेट भयो । त्यसको दुई वर्षपछि उनीहरुले विवाह गरे । अब उनीहरु सम्बन्धविच्छेद गर्ने तयारीमा छन् । भ्यालेरी स्यान्डर्सका अनुसार १७ घण्टा जेलमा बिताएपछि उनीप्रति उनको माया रित्तिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप