केन्द्रीय संस्करण

ओमानको सन्देश !

person explore access_timeअसार १९, २०७६ chat_bubble_outline0

-मेघराज सापकोटा

यूएई । जुन महिनाको २७ तारिख दिउँसोको दुई बजेको थियो । हामीले बाइरोडको बाटो हुँदै ओमानको यात्रा तय गर्यौं । एनआरएन यूएईका निवर्तमान अध्यक्ष तथा आईसीसी सदस्य सुदीप कार्की र म यूएईको रस अल खैमहबाट हत्ता हुँदै ओमानको मस्कट यात्रामा निस्केका थियौं ।

भोलिपल्ट मस्कटमा एनआरएनए ओमानको पाँचौ महाअधिवेशन तय भएको थियो । हामी त्यही कार्यक्रममा भाग लिन मस्कट हिँडेपनि मेरो लागि त्यो एउटा बहाना थियो । १८ हजार नेपालीहरु रहेको ओमानमा त्यहाँका नेपाली समुदायसँग भेटघाट र अन्तक्रिया गर्न पाउनु मेरो सौभाग्य थियो ।

झण्डै चार बजे हामी ओमान बोर्डर हत्ता पुग्यौं । रस अल खैमहदेखि हत्ता पुग्नु हाम्रो लागि नौलो थिएन । हत्तादेखि ओमानको यात्रामा भने कौतुहलता थियो । रस अल खैमहदेखि मस्कट ५ सय किलोमिटरको दुरीमा रहेको छ ।

आकाशको यात्रामा झण्डै ४५ मिनेटको हवाई यात्रा गर्नुपर्ने हुन्छ भने गाडीमा झण्डै ५ घण्टामा मस्कट पुगिने रहेछ । फराकिलो ४ लेनको एकतर्फी बाटोमा ५ घण्टाको यात्रा त्यती कठिन पनि त हैन । समयको हिसाबले सम्झनुस् कलंकीदेखि थानकोट हुँदै हेटौँडासम्मको यात्रा । त्यो पनि ट्राफिक भएन भने ।

एकछिन सोच्नुस् तपाईं नेपालको कुनै पनि स्थानमा यात्रा गर्दै हुनुहुन्छ । बाटो दुई लेनको साँघुरो भएर के भो र वरीपरीको हरियाली र चिसो हावाले तपाईंलाई मन्त्रमुग्ध बनाइ छोड्छ । तर यूएईको क्षेत्रभित्र फाट्टफुट्ट साना–साना पोथ्रा रुख, हरियाली देखिए पनि ओमान छिरेपछि बाटो भरी नै हरियालीको खडेरी नै लाग्यो ।

ओमानको झण्डै ३ सय किलोमिटरको क्षेत्रमा एउटा पोथ्रो पनि देख्न पाईएन । बाटोको छेउ छेउमा भारतीय र बङ्लादेशी जस्ता देखिने कामदारहरु कोही काम गर्दै गरेका र कोही थकाइ मार्दै गरेका भेटिन्थे । जब–जब हामी उनिहरुलाई देख्थ्यौ तब–तब गाडीको ओडोमिटरमा देखिने तापक्रम हेथ्र्यौं ।

गाडीको थर्मोमिटरले ४५ डिग्रीको तापक्रम देखाईरहेको थियो । ती कामदारहरु सिधा घाममा पनि काम गरिरहेका थिए । कतै शितल छोप्ने छहारी थिएन । एक्काइसौ शताब्दीको मानवीय चेतना र मानव अधिकारको व्याख्या गरेर नथाक्नेहरुलाई त्यसले गिज्याइरहेको थियो ।

 आखिर कोही अरबको मरुभूमिमा ४५ डिग्रीको सिधा घाममा पनि किन मरी–मरी काम गर्छ ? हामीले अनुमान लगायौं । बाँच्नको लागि । चाल्र्स डार्बिनले अठारौँ शताब्दीको अन्त्यतिर प्रतिपादन गरेको ‘स्ट्रगल फर एक्जिस्टेन्स’ को सिद्दान्त आखिर प्राकृतिक छनौट मात्र रहेन अब ।

प्रकृतिका जीवहरुको संघर्ष मात्र रहेन । मान्छेले बाँच्नको लागि गर्ने यस्ता संघर्ष मानव–मानव बिचमा रहेको भिन्नताको विशाल खाडलको ज्वलन्त उदाहरण हो । त्यहाँ देखिएका ती विदेशी कामदारहरुको घर, बुवाआमा, भाईबहिनी, श्रीमती, छोराछोरी आफन्त नातागोता आदिको पेटको सवाल थियो । शिक्षा र स्वास्थ्यको लागि उसले पनि ‘स्ट्रगल फर लाइफ’ को सिद्दान्तलाई बोकेको थियो ।

खर्बौं पुँजी बोकेका संसारका धनाढ्यहरुसँग केही नगन्य रुपैयाँ खोस्नको लागि पसिना बेच्दै थियो । सिधा अर्थमा उ यो संसारको सबै भन्दा बेकामे गरीब मान्छे थियो । जसको कुनै मुल्य छैन ।       

ती कामदारहरुलाई देखेपछि सुदीपजीले विश्वमा केही धनाढ्यहरुको हातमा ९९ प्रतिशत पुँजी रहेको एउटा ‘कन्स्पिरेसी थिओरी’ को काहानी शुरु गरे । विश्वका ‘१३ परिवार’ नाम दिईएको उक्त कहानीले के भन्छ भने विश्वको ९९ प्रतिशत पुँजी यो संसारका १३ परिवारको हातमा छ ।

१ प्रतिशत पुँजी विश्वको र बाँकी ९९ प्रतिशत मान्छेको हातमा छ । तिनै १३ परिवारले नै विश्वको राजनीति, व्यापार र मनोरन्जनलाई कब्जामा लिएका छन् । उनीहरुले नै यो संसारको पैसा र राजनीति चलाउँछन् । कुन देशलाई कस्तो बनाउने भन्ने निर्णय उनीहरु नै गर्छन् ।

हतियारको व्यापारदेखि सुनको व्यापारी पनि उनीहरु नै हुन् । देशको राजनीति, शिक्षा, स्वास्थ्य, व्यापार, नीतिनियम, खाना, मिडिया मात्र नभएर आतंककारी पनि उनीहरुकै हातमा छ । युद्ध गराउनेदेखि युद्धको नियम बनाउने पनि यिनै हुन् । अर्थात संसार उनीहरुको कब्जामा छ । उनीहरु अर्थात अस्टर, कोलिन्स, डुपन्ट, कनेडी, फ्रीमेन, ली, ओनासिस, रकफेलर, रसेल, भान ड्युन, मेरोभङिअन, रोथ्चिल्ड र बन्डीका परिवार । उनीहरु युरोपदेखि चाइनासम्म फैलिएर बसेका छन् ।

सुदीपजीले भनेको ‘कन्स्पिरेसी थिअरी’ लाई पुष्टी गर्ने आधार छैन । तर विश्वका धेरै मान्छेहरुले यसलाई विश्वाश गर्छन् । त्यसो त चन्द्रमामा मान्छेको अवतरणलाई लिएर पनि यस्तै अड्कलबाजी गरिन्छ ।

त्यसो भए के १ प्रतिशत मान्छेमध्येको पनि अती गरीब मान्छेहरुले संसारमा यसरी नै बाँच्नुपर्ने हो ? यही प्रश्नले हामी भाबुक हुन्थ्यौं । तर यसको उत्तर हामीसँग थिएन र छैन ।

एनआरएन आईसीसीको चुनावी सरगर्मी

बेलुकी ७ बजेतिर हामी मस्कट पुग्यौं । मस्कटको अल फलाज होटलको लबीमा कान्तिपुरका पत्रकार होम कार्कीजी र विमल ढकालजीसँग भेट भयो । राती १० बजेसम्म विश्वभरीका एनआरएनका नेताहरु होटलमा भेला भईसकेका थिए ।

जापानबाट एनआरएनए अध्यक्ष भवन भट्ट, जर्मनीबाट उपाध्यक्ष कुमार पन्त, ओमानकै सचिव डिबी क्षेत्री, कतारबाट मध्यपूर्व संयोजक आरके शर्मा, बेल्जियमबाट एनसीसी अध्यक्ष लोक दाहाल, अमेरिकाबाट गौरी जोशीलगायत विभिन्न देशबाट आएका नेताहरुले होटल भरीभराउ थियो ।

भोलीपल्ट शुक्रबार बिहान बेलायतबाट अर्का उपाध्यक्ष कुल आचार्य पनि आईपुगे । विश्वभरका एनआरएनए नेताहरुको उपस्थितीले मस्कट भेलालाई सबैले बिशेष चासोका साथ हेरेका थिए ।

त्यसो त मस्कटमा आईसीसीको कुनै भेला थिएन । एनसीसीको पाँचौ अधिबेशन थियो । सचिव डिबी क्षेत्रीको देश भएको हुनाले रणनैतीक रुपले मध्यपूर्बको यो कार्यक्रम बिशेष हब नै बन्यो ।

आगामी अक्टोबर १३ तारिखदेखि १६ सम्म काठमाडौँमा हुने भनेर एनआरएन आइसिसीको महाधिबेशनको टुंगो लागिसकेको छ । अधिवेशनले आगामी २०१९÷२०२१ कार्यकालको लागि नयाँ नेतृत्व चुन्नेछ । यसैले आफ्नो प्रभाव छोड्न अथवा भनौं भोट माग्न प्राय धेरै नेताहरु मस्कटको भ्रमणमा रहेको थिए ।

मस्कटमा आईसीसी अध्यक्षको लागि कसैले पनि औपचारिक रुपमा दाबेदारी घोषणा गरेनन् । अनौपचारिक रुपमा वर्तमान अध्यक्ष भट्टले दोहोर्याउने मनसाय व्यक्त गरे । वार्तालापको क्रममा उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले समेत अध्यक्षको दाबेदारी प्रस्तुत गरे ।

सचिब डिबी क्षेत्रीले रोलक्रममा माथिल्लो पदको हकदार रहेको घोषणा गरे । उपस्थिति सबैको गतिविधी र कुराकानीले उनीहरु कुनै न कुनै पदमा जाने इच्छुक देखिन्थे । यूएईका आईसीसी सदस्य मनोज गोर्खालीले मध्यपूर्व संयोजकको र साउदीका जोन अर्यालले मध्यपूर्व उपसंयोजकको पदमा उम्मेद्वारी घोषणा गरे ।

सर्बसम्मत एनसिसी ओमानले दिएको सन्देश

एनआरएन ओमानको पाँचौं अधिवेशनले सेवन्त पुर्जाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्यो । अधिवेशनले प्रथम उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्ष विकल झा, महासचिव रविन सिल्पाकार, सचिव भरत अधिकारी, कोषाध्यक्ष महेश्वर चौधरी, सह–कोषाध्यक्ष रामहरी गिरी, प्रवक्ता रामकुमार तामाङ, महिला संयोजक रुपा कार्की र युवा संयोजक फुर्वा लामा चयन भएका छन् । 

यसैगरी सदस्यहरु क्रमशः टिकाराम विश्वकर्मा, ललित वास्तोला, लक्ष्मीप्रसाद कोइराला, कुलबहादुर श्रेष्ठ, महेन्द्र तिवारी, रामबहादुर तामाङ, सुरेश खड्का, सुनु तामाङ, नरेन्द्र वराल, अर्जुनप्रसाद पौडेल र सुसन श्रेष्ठ चयन भएका छन् ।

अधिबेशन हुनु अगावै सहमतिमा यो समिती बनेको थियो । सहमतिमा कार्यसमिती छनौट गर्नुले एनआरएन ओमानले विश्वभरका एनआरएनए एनसीसीहरुलाई एकताको सन्देश दिएको छ ।

अधिबेशन कार्यक्रमका सबै वक्ताहरुले उदाहरणीय कार्य गरेको भन्दै ओमान एनआरएनको प्रशंसा गरे पनि यस्तै उदाहरणीय कार्य उनीहरु स्वयमले आईसीसीको चुनावमा देखाउने हुन कि हैनन हेर्न बाँकी नै छ । अरुको प्रसंसा गर्नेले आफू प्रशंसित हुने कि नहुने जिम्मा उनीहरुकै हातमा छ ।

एनआरएनए अध्यक्ष भट्ट र राजदूत पराजुली

अधिबेशनमा अध्यक्ष भट्टले सम्बोधन गर्दै श्रमको सम्मान गर्नुपर्नेमा जोड दिए । शुरुका दिनहरुमा आफूले जापानमा रहँदा भाँडा माझेको कुराको प्रसँग सुनाउँदै भट्टले नेपालमा भने अझैँ पनि काम सानो र ठूलो हुने गरेकोमा दुःख व्यक्त गरे ।

नेपालका घर, बिल्डिङ बनाउने सानातिना कामदेखि ठुला–ठुला प्रोजेक्टहरुमा भारतीय कामदारहरु रहेको भन्दै भट्टले खाडीमा दुःख गरेर कमाएको भन्दा बढी पैसा नेपालमै कमाउन सकिने बताए ।

‘जापानमा मैले भाँडा माझेको हुँ, मैले त्यो काम गर्न लाज मानेको भए आज म यो ठाउँमा हुने थिईन,’ उनले भने, ‘कामको सम्मान गर्ने हो भने लेबर काम गर्न अब खाडी आईरहनु पर्दैन, अवसरहरु नेपालमै प्रसस्त छन् ।’

अधिवेशनलाई सम्बोधन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल र ओमनबीचको पर्यटन, लगानीलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्न ६ वटा सम्झौताहरु प्रक्रियामा रहेको बताइन् । उनले श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको बताइन् ।

राजदूत पराजुलीले उपस्थित एनआरएनकर्मीहरुको सम्मानमा आफ्नै निवासमा दिवाभोजको आयोजना गरिन् । दिवाभोजमा पनि उनी नेपाल र नेपालीको हितमा के गर्न सकिन्छ भन्ने कुरामा चिन्तित देखिन्थिन् । आफ्नो दुई बर्षको कार्यकाल अवधीमा गरेका केही राम्रा काम र प्रयासहरुको फेहरिस्त प्रस्तुत गर्दै पराजुलीले नेपालीको ईज्जतमा उँचो बनाउन प्रयासरत रहेको बताइन् ।

उनी साँच्चीकै चिन्तित छिन् वा देखावटी । तर, मस्कट यात्राको दौरानमा मैले मस्कटमै भेटिएका केही नेपाली कामदारहरुसँग नेपाली दुताबास र राजदूतको कामकारबाहीको बारेमा सोधेको थिएँ । सबैले राजदूत पराजुलीको मुक्तकण्ठले प्रसंसा गरेको सुनें । कार्य सम्पादन छिटो छरितो हुने गरेकोमा उनीहरु खुसी देखिन्थे । श्रमिकहरुले लगेका कामहरु कारणबस नहुने भए किन हुन नसक्ने सो को कारण र हुनको लागि के गर्नुपर्छ भन्ने सुझाव दुताबासले दिने गरेको भन्दै श्रमिकमैत्री भएकोमा उनीहरुले राजदूत पराजुलीको प्रसंसा गरे ।

(सापकोटा १० बर्षदेखि यूएईमा कार्यरत छन् ।)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...