शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहुलियत पाए मर्जरमा जान तयार भए बैङ्कहरु, कुन बैङ्क कोसँग गाभिने ?

सरकारी स्वामित्वका बैङ्कहरू पनि मर्जरमा !
बुधबार, १८ असार २०७६, ११ : ४१
बुधबार, १८ असार २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिदै गर्दा बैङ्कहरुलाई मर्जरका लागि पार्टनर खोज्न सकस पर्न थालेको छ । गर्भनर डा. चिरञ्जीवि नेपालकै भनाइलाई आधार मान्ने हो भने आगामी आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वसिनक हुन १० दिन पनि बाँकी छैन । राष्ट्र बैङ्कका अनुसार असार २७ गते मौद्रिक नीति आउँनेछ । 

समय नजिकिदै गर्दा गर्भनरले सो अगाडी मर्जरबारे स्पष्ट खाका ल्याउन भनेपछि बैङ्कहरुको दौडधुप बढेको छ ।  राष्ट्र बैङ्ककोे निर्देशन मर्जरकै दवाबमा परेका बाणिज्य बैङ्कहरुले मर्जरका विषयमा बैठक समेत बसेका छन् ।

उनीहरुले सहुलियत पाए आफुहरु मर्जरमा जान तयार रहेको आशय व्यक्त गरेका छन् ।

बैङ्कहरू आफू सुहाउँदो जोडी खोज्न व्यस्त छन् । यस्तैमा मङ्गलबार बैङ्कहरूको छाता सङ्गठन बैङ्कर्स सङ्घले राष्ट्र बैङ्कको नीतिअनुरूप मर्जरमा जान तयार रहन बैङ्कहरूलाई निर्देशन जारी गरिसकेको छ । विवाहका लागि राजी नभएका छोराछोरीलाई झैँ राष्ट्र बैङ्कले जसरी पनि विवाह गराइछाड्ने मनस्थिति बनाएपछि बैङ्कहरू मर्जरमा जान राजी भएका हुन् ।

राष्ट्र बैङ्कले गत हप्ता बैङ्करहरूलाई मौद्रिक नीति अघि मिल्दो पार्टनर खोज्न र निर्णय लिन भनेको थियो ।

यस्तो अवस्थामा बैङ्कहरू मन लागी÷नलागी पार्टन खोज्न बाध्य भएका छन् ।

बिग मर्जर बहस : कुन बैङ्क कसको डोली चढ्लान्, के हुँदैछ बिहेको तयारी ?

बिग मर्जर : आवश्यकता कि बाध्यता, बैङ्कहरू तयार होलान् ?

कुन बैङ्क कुनसँग मर्जरमा जाँदै छ ?

बिग मर्जरकै लागि २८ वाणिज्य बैङ्कहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । आफ्नो आन्तरिक छलफलदेखि अन्य बैङ्कहरूसँगको छलफललाई समेत तीव्रता दिइरहेका छन् । यी बैङ्कहरूले समिति नै बनाएर मर्जर विषयमा बहस चलाइरहेका छन् । नेपालमा चलेका र प्रतिष्ठित मानिएका ग्लोबल आईएमई, मेगा, सेन्चुरी, प्राइम, सिटिजन्सलगायतका बैङ्कहरूले त मर्जर प्रक्रिया नै अघि बढाइसकेका छन् । त्यसका लागि बैङ्क व्यवस्थापक समितिहरूले गृहकार्य जारी राखेका छन् ।

मङ्गलबार बसेको बैङ्कर्स सङ्घको बैठकमै सेन्चुरी बैङ्क, प्राइम बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क मर्जरका लागि तयार भएको बुझिएको छ ।

जहाँ, सेन्चुरी बैङ्क र प्राइम बैङ्क मर्जरमा जाने तयारी गरेका छन् भने ग्लोबल आईएमई र मेगा बैङ्क पनि मर्जरमा जाने प्रक्रियाको थालनी भइसकेको बुझिएको छ ।

प्राइम र सेन्चुरी बैङ्क

प्राइमका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र सेन्चुरी बैङ्कका राजेशकुमार श्रेष्ठबीच मर्जरका विषयमा अनौपचारिक छलफल भएको छ । तर दुवै बैङ्कको बोर्डमा भने यो विषयले प्रवेश पाएको छैन । दुवै अध्यक्षले केही दिनभित्रै आफ्नो बोर्ड बैठक बोलाएर मर्जरमा जानेसम्बन्धी छलफल गर्ने स्रोतले जानकारी दिएको छ ।

ग्लोबल आईएमई र मेगा बैङ्क

ग्लोबल आईएमई बैङ्क र मेगा बैङ्कले एकआपसमा जोडिन चाहेका छन् । त्यसका लागि यी दुई बैङ्कका सञ्चालक अध्यक्षहरू छलफलमा जुटेका छन् । ग्लोबल आईएमई बैङ्क निकट स्रोतका अनुसार बैङ्क मर्जरमा जानका लागि प्रारम्भिक गृहकार्य सुरुवात भइसकेको छ । यस विषयमा दुई बैङ्कका अध्यक्षबीच छलफल भइसकेको छ । तर यसले औपचारिकता भने पाएको छैन ।

अब छिट्टै दुवै बैङ्कको बोर्डमा छलफल हुने र आवश्यक निर्णयमा पुग्ने जानकारी प्राप्त भएको छ । त्यसका लागि मेगा बैङ्कले एक÷दुई दिनभित्रै  बोर्ड बैठक बोलाएर मर्जरका विषयमा छलफल गर्ने भएको छ ।

सिटिजन्स बैङ्क

यता सिटिजन्स बैङ्कले पनि मर्जरमा जानका लागि आन्तरिक गृहकार्य गरिरहेको छ । तर सिटिजन्सले ‘क’ वर्गका ठूला बैङ्कहरूसँग भन्दा साना ‘ख’, ‘ग’ वर्गका विकास बैङ्क तथा वित्तीय कम्पनीहरूसँग साझेदारी गर्ने मनस्थिति बनाएको छ । साना बैङ्कहरूलाई समेटेर ठूलो पुँजी निर्माण गर्ने र सबै क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्ने रणनीतिमा सिटिजन्स देखिन्छ ।

सिभिल बैङ्क

यता सिभिल बैङ्कले पनि आफू निकट बैङ्कसँग मर्जरमा जान आन्तरिक गृहकार्य गरेको छ । सिभिल स्रोतका अनुसार कुन बैङ्कमा मर्जरमा जाने भन्ने विषयमा बैङ्कका अध्यक्ष इच्छाराज तामाङले २ दिनअघि केही बैङ्कहरूसँग छलफल गरेका थिए ।

सरकारी स्वामित्वका बैङ्कहरू पनि मर्जरमा..

राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्क

राष्ट्र बैङ्कले सबै वाणिज्य बैङ्कहरूलाई मर्जरमा जान निर्देशन दिइसकेको अवस्थामा पहिला सरकारी स्वामित्वका बैङ्कहरू मर्जरमा जानुपर्ने बहस चलिरहेको छ । यस्तो अवस्थामा सरकारी स्वामित्वका बैङ्कहरू समेत मर्जर हुने कसरतमा जुटेका छन् ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्क एक आपसमा मर्जर हुन लागेका हुन् । यसका लागि तीनै बैङ्कका अध्यक्ष तथा सञ्चालक समितिहरूले एकआपसमा छलफल गरिरहेका छन् ।

मर्जरकै विषलाई लिएर यी बैङ्कहरू सोमबार आपसी छलफलमा जुटेका थिए । केही प्रावधान तथा प्राविधिक समस्याबाहेक यी बैङ्कहरूको मर्जरमा समस्या नआउने स्रोतले बताएको छ ।

यस मानेमा यी तीन सरकारी स्वामित्वका बैङ्कहरू समेत मर्जरमा जान सक्ने प्रचुर सम्भावना देखिएको छ ।

केही वेदेशी लगानी भएका बैङ्कहरू

वित्तीय बजारमा बैङ्क मर्जरको सवाल चलिरहेका बेला केही विदेशी लगानी रहेका बैङ्कहरू भने कानमा तेलहालेर बसेका छन् । मर्जरकै लागि अधिकांश बैङ्कहरूले गृहकार्य गरिरहँदा यी बैङ्कहरू भने ढुक्कसँग बसेका छन् । राष्ट्र बैङ्कको मर्जर नीतिले विदेशी लगानीका बैङ्कलाई मर्जरका लागि बाध्य नपार्न उनीहरूको बुझाइ छ ।

यस्ता बैङ्कहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, नेपाल एसबीआई बैङ्क, एनएमबी बैङ्क, एभरेस्ट बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, नविल बैङ्क रहेका छन् ।

यीमध्ये स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैङ्कको बहुमत सेयर विदेशीको रहेको छ । यी दुवै बैङ्कको व्यवस्थापन पनि विदेशीले नै हेर्दै आएका छन् ।

एनएमबी, हिमालयन र नविल बैङ्क मर्जरका विषयमा चुपचाप रहे पनि विदेशी लगानीमा रहेका अन्य दुई बैङ्कहरू नेपाल बङ्गलादेश र एभरेस्ट बैङ्कले भने आन्तरिक गृहकार्य सुरु गरेका छन् । यी दुई बैङ्कहरूले मिल्ने पार्टनर पाए मर्जरमा जानसक्ने सङ्केत गरेका छन् । एभरेस्टले भने यसअघि नै लक्ष्मी बैङ्कसँग मर्जरमा जान छलफल गरेको थियो । तर पछि यी दुइको मर्जर भाडियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप