केन्द्रीय संस्करण

२८ प्रतिशत भू–भागमा सिञ्चाई, ७२ प्रतिशत अझै आकाशे पानीको भरमा

person explore access_timeअसार १५, २०७६ chat_bubble_outline0

काठमाडौं– असार पन्ध्र अर्थात् धान दिवस । आज राष्ट्रव्यापी रुपमा धान दिवस मनाइँदैं छ । २०६१ सालदेखि विधिवत रुपमा असार पन्ध्रलाई धान दिवसको रुपमा मनाउने सरकारको घोषणपछि यस दिन धान रोपेर दिवस मनाउन थालिएको हो । यस पटकको १६ औं राष्ट्रिय धान दिवस हो । 

यसै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आइतबार बर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा धुमधामले रोपाई जात्रा(धान दिवस) मनाएको छ ।  यता, सोही अवसर पारेर नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान महाशाखा खुमलटारले समेत भव्य रुपमा धान रोपाईं कार्यक्रमको आयोज गर्दै धान दिवस २०७६ मनाएको छ । 

“धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण” मुल नाराका साथ हिलोमा चामलको टीका र धानको वीउको जमरा लगाएर दिवस मनाइएको हो ।  नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा समेत प्रमुख खाद्यान्न बालीको रुपमा लिइने धानलाई मुख्य र विशेष खेतीको रुपमा लगाउने गरिन्छ । विश्व भूगोलमा धान उत्पादनका लागि दक्षिण एसियाली राष्ट्रहरु प्रमुख मानिन्छ ।

कुल उत्पादनको करिब ७० प्रतिशत धानको उत्पादन दक्षिण एसियामा नै हुनेगर्छ । चीन, भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम लगायत एसियाली राष्ट्रहरुमा धानको उत्पादन अधिक हुने गर्छन् । यी मध्ये नेपाल भने सबैभन्दा न्यून धान उत्पादन दिने मुलुक हो । 

अहिलेसम्म विश्वकै सबैभन्दा बढी धान उत्पादन हुने देश चीन हो । जहाँ वार्षिक एक विलियन ९ मिलियन अर्थात् एक अर्ब ९ करोड मेट्रिक टन धान उत्पादन हुने गर्छ । जुन विश्वकै कुल उत्पादनको करिब ३४ प्रतिशत हो । नेपालमा भने, वार्षिक करिब ३२ लाख टन मात्र रहेको छ । 

मुख्य खाद्यान्न बालीको रुपमा रहेको धान खेती नेपालको विभिन्न भौगोलिक क्षेत्रमा विभािजत तराई, पहाड र केही उचाई सम्मको हिमाली क्षेत्रहरुमा समेत हुने गर्छ । हिमाली दुई जिल्ला मनाङ र मुस्ताङ बाहेकका सबै जसो जिल्लामा धान खेती हुन्छन् । विशेषगरि तराई तथा भित्री मधेस क्षेत्रमा कूल उत्पादनको ६८.५४ प्रतिशत धान उत्पादन हुने गर्छ । त्यस्तै, मध्य पहाडी जिल्लाहरुमा २७.४६ प्रतिशत र उच्च पहाडी जिल्लामा ४.० प्रतिशत उत्पादन हुन्छ ।

कूल करिब १४.६९ लाख हेक्टर भू-भागमा गरिने धान खेतीको उत्पादकत्व प्रतिहेक्टर ३.७६ मेट्रिक टन रहेको छ भने, धानले नेपालको कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत र कृषि ग्राहयस्थ उत्पादनमा २१ प्रतिशत योगदान रहेको कृषि विभागले जनाएको छ । 

नेपालमा धान मुख्य गरि बर्खे याममा गरिने खेती भएपनि भू–बनोट र हावा पानी अनुसार चैत र हिउँदमा समेत गर्ने गरिन्छ । उत्पादनका हिसाबले बर्खे खेतीमा अधिकतम ९२.१ प्रतिशत हुन्छ भने चैते तथा हिउँदे खेतीमा ७.९ प्रतिशत मात्र हुने गर्छ । नेपाली परिवेशमा प्रयाप्त सिचाई र बजार व्यवस्थापनको हिसाबले पनि यस्तो हुन गएको हो ।

नेपालको कूल खेतीयोग्य भू–भागको करिब ६५ प्रतिशत क्षेत्रफलमा मात्र सिञ्चाई पुगेको छ भने त्यसमा पनि २८ प्रतिशत भू–भागमा मात्र वर्षभरी सिञ्चाई हुन्छ । बाँकी ३० प्रतिशत उच्च खडेरीको जोखिममा रहेको छ भने, १५ प्रतिशत बाढीको जोखिममा छन् । यसले मुलुकको उत्पादनमा ह्रास ल्याइरहेको छ ।

जलवायु परिवर्तन, कृषि मजदुरको अभाव, उन्नत प्रविधिको उपयोगमा कमि, निर्वाहमुखी कृषि प्रणाली तथा न्युनतम मलखाद प्रयोग जस्ता समस्या नेपालको कृषि खेतीको मुख्य चुनौंतीको रुपमा रहेको छ । जसले आफ्नै देशको उत्पादनले धान्न नसकेर बाहिरबाट धान तथा चामल आयात गरिरहनुपरेको छ । 

यसै चालू आर्थिक वर्ष २०७५/७६ लाई मात्र हेर्ने हो भनेपनि साँढे २४ अर्बको धान तथा चामल आयात भएको देखिन्छ । यो चालू वर्षको १० महिनाको मात्र तथ्याङ्क हो । कृषि विभागका अनुसार अहिले नेपालमा वार्षिक प्रतिव्यक्ति करिब एक सय ३८ केलोग्राम चामलको खपत हुन्छ । जसअनुसार नेपालको जनसंख्यालाई वार्षिक करिब ४७.३ लाख टन चाम आवश्यक पर्छ । तर नेपालमा वार्षि ३२.५ टन मात्र उत्पादन भइरहेको छ । जसले अझै १४.८ लाख टन अपुग चामल बाहिरबाट आयात गर्नुपरिरहेको छ । यसले नेपालको धान खेतीमा उत्पादकत्वमा वृद्धि ल्याउन जरुरी देखिन्छ । 

कृषि मन्त्रालयले धान उत्पादनमा वृद्धि ल्याउने केहि सुत्रहरु जारी गरेको छ:

१. उन्नत बीउ, सन्तुलित मल तथा सिञ्चाईको उपलब्धता तथा सिफारिस प्रविधिको उचित प्रयोग
२.हिउँदे र चैते धानको प्रोत्साहन, प्रवद्र्धधन तथा विस्तार,
३.मसिनो धानको उत्पादनमा प्रोत्साहन,
४.कृषि यान्त्रीकरण,
५.व्यवसायीकीकरण, र
६.सरकारी नीतिमा सुधार


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...