केन्द्रीय संस्करण

कविता : बाटो

person explore access_timeअसार १४, २०७६ chat_bubble_outline0

-आरपी तिमिल्सिना 

हतासिँदै भौतारिँदै बाटो छेउ 
अचानक एक बालक आएर सोध्छ 
दाइ,
यो बाटो कहाँसम्म जान्छ ?

जिन्दगीको चौबाटोमा 
ठिङरिङ्ग  उभिएर 
म आफै अन्योलमा छु 
कुन बाटोले कहाँसम्म डो¥याउँछ 
र कतातिर पाइला मोड्ने ? 

यही बाटोसँग छन् 
हर्ष र वेदनाका कथा 
हरेक दिन दोहोरिएर हिँड्ने बटुवा 
तिनीहरुको भोगाइ 
लहर र जिन्दगीका छालहरु ।

यही माटो टेकेर हिँड्छन् 
कसैका जन्ती र कसैका मलामीहरु 
नाबालकको जिन्दगीको
पहिलो पैतलाको छाप 
बुढीआमा र उनको 
रेसारेसा निस्केको बाँसको लौरो 
सबैसबै नालिबेली छन्  ।

कसरी अटाउन सकेको होला 
सायद विशाल छाती छ माटोको 
र बुझे 
जिन्दगी भर्न, बुझ्न र रित्याउन 
माटोसँग साइनो गाँस्नै पर्छ ।

म एकोहोरिएँ 
निर्दाेष अनुहारमा 
अस्ति मात्र क्यान्सरले खाएको छोरा सम्झेँ 
उसका काला आँखामा 
टपक्क बसेका रङ्गीन सपनाहरू 
लहरिएर उभिए मेरो अघि ।


म सम्झिन पुग्छु 
उसका  हरेक उठबैठ 
बुरुक्क बुरुक्क उफ्रिँदै आएर 
कसिलो गरी अँगाल्छ 
र भन्छ,
बाबा
घर नफर्किने हजुर ? 
म घरमै पर्खी बसेको छु हजुरलाई ।

छेउतिर र पछाडिबाट जोडले 
गाडीको हर्न बज्छ 
म निन्द्राबाट झल्याँस्स बिउँझेजस्तै हुन्छु  
देख्दिनँ त्यो बालक 
र पर हेर्छु आँखा तन्काएर ।

बालक आफ्नै सुरमा हिँडिरहेछ 
दौडिँदै बालकसम्म पुग्छु 
बाबु,
यो बाटो माटोसम्म पुग्छ 
तिमी त्यो बाटो  जाऊ 
बजारसम्म पुग्छ 
जाऊ 
त्यहाँ रङ्गीन खेलौनाहरु पाइन्छन् ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...