बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म जस्तै देखियो भरतपुर १९ को चुनाव

बुधबार, २५ साउन २०७४, १४ : २३
बुधबार, २५ साउन २०७४

भरतपुर विमानस्थलमा बिहान सवा सात बजे सिमसिम पानी परिरहेको थियो । त्यतिबेला मतपत्र च्यातिएको क्षेत्रमा पुनः मतदान सुरु भइसकेको थियो । भोट खसालिरहेको, मतदाता र उम्मेदवारको चहलपहलको फोटो खिच्ने र समाचार बनाउने हतारोमा थिएँ । नेकपा एमाले र माओवादी केन्द्रको प्रतिष्ठाको विषय बनेको भरतपुर १९ कता पर्छ मलाई थाहा थिएन । 

हजार खोज्ने रिक्सावाला 
विमानस्थल बाहिर दुइटा अटो रिक्सा थिए । भरतपुर १९ सम्म जान लाग्ने समय र भाडा सोधेँ । चालकले ३० किलोमिटर टाढा रहेको र भाडा १२ सय लाग्ने बताए । चुनाव भएका कारण पुलिसले बाटो बन्द गरेको र विशेष पास भए मात्र जान सक्ने बताए । पत्रकारको परिचय पत्र भए जान दिन्छ भन्दै हात समाएर उनले रिक्सामा बसाउन खोजे । सँगै रहेका अर्को रिक्सावालाले मेरो हातमा कुटुक्क चिमोटे । मैले ती चालकलाई साथीहरु लिन आँउदैछन् भो पर्दैन भनेर टारिदिएँ । 

फेरि अर्को रिक्सा चालकले आफ्नो रिक्सा नजिक लगेर बार्गेनिङ गर्न थाले । उनले म हजार रुपैयाँमै लगिदिन्छु, तपार्इंसँग पास छ नि हैन भनेर कर गर्न थाले । अन्तिममा उनले ९ सयमै लगिदिने प्रस्ताव राखिरहेका थिएँ, म भने उनीहरुबाट फुत्किएर हिँडे । नयाँ मान्छे देख्नेबित्तिक्कै रिक्साचालकले कसरी लुट्न खोज्छन् भन्ने अनुभूति गरियो । 

म्याजिक बस र मोटरसाइकलमा लिफ्ट लिएर सवा ८ बजे भरतपुरको शारदा नगर पुगेँ । पानी झमझम पर्न थालेको थियो । शारदा मावि मतदान केन्द्रमा छाता ओढेर मतदाताहरु मतदान गर्न लाइनमा बसिरहेका थिए । पानी परे पनि बिहानको समयमा मतदाताहरुको भीड लागेको थियो । पानी नपरेका कारण त्यहाँका खेतहरुमा धान अझै रोपिएको थिएनन् । खेतमा रोपाईंका लागि खनजोत गरेको र धानको ब्याड देखिन्थ्यो । पानी परेका कारण सायद केही किसान बिहानै मतदान गरी खेतमा जाने तयारीमा थिए । त्यसकारण पनि बिहान भीड बाक्लिएको थियो । बिहान ८ बजेको समयमा वडा नं. १९ का ३ मतदान स्थलमा ३३ प्रतिशत मतदान भइसकेको थियो । 

मतदान गरिरहेको फोटो खिचेर ओत भएको ठाउँमा बसेर छोटो समाचार सामग्री तयार पारिहेको थिएँ । एकजना पत्रकार साथीले देवी ज्ञवाली आए भन्ने जानकारी दिए । उनको प्रतिक्रिया लिन मतदान स्थल वरिपरि खोजँे तर उनी अर्को मतदान केन्द्रतिर लागिसकेछन् । यो मतदान केन्द्रमा केही पत्रकारहरुसँग कुरा गर्दैै उनले मेरोविरुद्ध सिङ्गो राज्य नै लाग्यो भन्ने प्रतिक्रिया दिएछन् । शारदा मावि मतदान केन्द्रमा मतदान गर्न ९ सय ३ मतदाता थिए । 

केही क्षणमै काङ्ग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहाल र पार्वती शाह आइपुगे । रेणुको प्रतिक्रिया लिएँ । कुराकानीका क्रममा उनको अनुहारमा विजयी हुने आत्मविश्वास झल्किन्थ्यो । मतपत्र च्यातिनु दुखद् कुरा भएको बताउँदै एउटा नराम्रो घटना भए पनि निकास निकाल्न अर्को चुनाव बाध्यता भएको प्रतिक्रिया दिइन् । आफ्नो अपेक्षाअनुसारको मत आउने उनले विश्वास व्यक्त गरेकी थिइन् । 

रेणुको प्रतिक्रिया बारेको समाचार कार्यालयमा पठाइसकेपछि प्रेस सेन्टर नेपालका कोषाध्यक्ष तथा बरिष्ठ पत्रकार सुरेशचन्द्र अधिकारी, नेपाल टिभी तथा बीबीसी नेपाली सेवामा लामो समयदेखि काम गर्दै आउनुभएका ईश्वर जोशीलगायतका चितवनका साथीहरुसँग भेटघाट भयो । 

दिउँसो १ बजे अर्को मतदान स्थलमा लागियो । किरण अमरजङ्ग माध्यमिक विद्यालय मतदान केन्द्र बाहिर मतदाता र दलका कार्यकर्ताको ठूलो भीड लागेको थियो । तर मतदान गर्नका लागि लाइन बस्नुपर्ने र पालो कुर्नुपर्ने अवस्था थिएन् । बिहान ११ बजेपछि पानी पर्न रोकिएपछि गर्मी बढेको थियो । दिउँसोको समयमा अपाङ्ग तथा ज्येष्ठ नागरिकले मतदान गरेका थिए । यो मतदान केन्द्रमा ९ सय ५३ मतदाता थिए । यस्तै अर्को जीवनज्योती मावी मतदान केन्द्रमा भने १ हजार १४ सय मतदाता रहेका थिए । यो मतदान केन्द्रमा भने पुग्न सकिएन् । 

काठमाडौँ तथा अन्य क्षेत्रबाट मतदाता आइरहेको र मतदान स्थलसम्म सवारी साधन चल्न नदिएकाका कारण दलका केही कार्यकताहरु पास लिएका मोटरसाइकल तथा कार जिपमा मतदातालाई ओसारिरहेका थिए । त्यस दिन गठबन्धनका १७ जना मतदाता नारायणगढ मुग्लिन सडक खण्डमा बाटो बिग्रेका कारण रोकिएको माओवादीका कार्यकर्ताहरु बताइरहेका थिए । यता हवाई मार्गबाट समेत एमाले र माओवादीले मतदाता ओसारेको भन्दै स्थानीहरु कुरा गरिरहेका थिए । 
मतदान स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति गराइएको थियो । साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा ७५ प्रतिशत मत खस्यो, जुन वैशाख ३१ गते भएको चुनावमा खसेको मतको हाराहारी थियो ।

दोस्रो पटक मतदान गर्दा दुःखी 
मतदान गर्न आएका ज्येष्ठ नागरिक तथा अशक्तहरु दोस्रो पटक मतदान गर्न आउनुपर्दा दुःख लागेको बताइरहेका थिए । उनीहरुले यसरी पानी रुझ्दै आएर दिएको भोटको कदर हुनुपर्ने बताएका थिए । कतिपय ज्येष्ठ नागरिकहरु छोरोको पिठ्युँमा बोकिएरसमेत मतदान गर्न आइपुगेका थिए । शारदा मावि मतदान गर्न आइपुगेकी ८५ वर्षकी टङ्कमाया ढकालले मतपत्र च्यातिएकोमा बिलौना गर्दै दोस्रो चोटि भोट हाल्नुपर्दा दुःख लागेको बताइन् । 

यता किरण मावि मतदान केन्द्रमा मतदान गर्न आएकी अपाङ्गता भएकी पद्मावती अधिकारीले पनि दुःख मान्दै अब तेस्रो पटक भोट हाल्नुपर्ने अवस्था नआओस् भन्दै कामना गरिन् ।
 

 मतगणना स्थलमा ग्याबिन जालीको पिँजडा र कमान्डो फोर्स 

दिउँसो ३ बजेतिर सर्वदलीय बैठक बसी जेठ १५ गते मतपत्र च्यातिएपछि बन्द गरिएको मतगणना स्थलको ताला खोलेर सरसफाइ गरिएको थियो । फेरि मतदान भएपछि मतगणनाका लागि व्यवस्थापन गरिँदै थियो । ४ बजेतिर मतगणना स्थलको ढोकाबाट भित्रको फोटो खिचेँ । त्यहाँ जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी, निर्वाचन अधिकृतसहित ५० भन्दा बढी प्रहरीहरु थिए । समाचार कार्यालय पठाउन नजिकै रहेको राष्ट्रिय समाचार समितिको चितवन जिल्ला कार्यालयमा गएर लेख्ने काम भइरहेको थियो । एकछिनपछि त्यहाँका एकजना साथीको फेसबुकमा मतगणना स्थलको अनौठो फोटो देखा पर्यो । फोटोमा मतगणना स्थलमा फलामको ग्याबिन जाली राखिएको थियो । 

फेरि मतगणना स्थलमा पुगेर फोटो खिच्न अनुरोध गरियो तर दिएनन् । फेरि मतपत्र च्यातिने डरले दलका प्रतिनिधि तारको जालीले घेरिएको ठाउँभित्र राख्ने, प्रत्येक दलका एक जना मात्र प्रतिनिधि राख्ने र उनीहरुको पछाडि २ जना कमान्डो तालिम प्राप्त सुरक्षाकर्मी राख्ने व्यवस्था गरिएको रहेछ । 

साढे ११ देखि मतगणना 
राति ८ बजेसम्म पनि मतगणना कार्य अघि बढाउने विषयमा सर्वदलीय बैठक बस्न सकेको थिएन् । त्यसपछि बसेको बैठकले साढे १० देखि मतगणना गर्ने निर्णय गरे पनि राति साढे ११ बजेबाट मात्र मतगणना सुरु भएको थियो । 

भरतपुर महानगरका २९ वडा मध्ये वडा नं. २० को मात्र मतगणना गर्न बाँकी थियो भने वडा नं. १९ को मतगणना चलिरहेको समयमा मतपत्र च्यातिएको थियो । सुरुमा वडा नं. १९ को मत गन्न सुरु भएको थियो । मतपत्र च्यात्नुअघि देवी ज्ञवाली ७ सय ३३ मतले अघि थिए तर दोस्रो पटक भएको चुनावपछिको मतगणनामा वडा नं. १९ मा रेणुले मतान्तर घटाउँदै लगिन् । वडा नं. १९ मा रेणुले देवीले भन्दा ५ सय ६३ मत बढी ल्याएर अग्रतालाई साँघुरो बनाइन् । 

जब रेणुले अग्रता लिँदै गइन्
वडा नं. २० मा १६ सय मत गन्दा रेणुले देवीसँग ४ मतको अन्तर ल्याएपछि मतगणना स्थलभन्दा बाहिर मतपरिणामको प्रतीक्षा गरिरहेका एमालेका कार्यकर्ताहरु स्तब्ध बनेका थिए । 

४ मत गन्न बाँकी रहँदा एमालेका उम्मेदवार देवी ज्ञवाली मतगणना स्थलबाट घरतिर लागेका थिए । रेणुले अग्रता लिँदै जितको नजिक पुग्नलागेपछि एमालेका कार्यकर्ताहरु निराश बन्दै घरतिर लागेका थिए ।  

एमालेका देवी ज्ञवालीभन्दा २ सय ३ मत बढी प्राप्त गरी रेणु दाहाल मेयरमा निर्वाचित भइन् । दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे ।  

राति ११ बजे मतगणना सकिएको थियो भने साढे ११ बजेतिर माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताहरुले विजय जुलुस निकालेका थिए ।

मध्यरातमा कौसीबाट कार्यकर्तालाई सम्बोधन 
मेयर र उपमेयरमा गठबन्धनका प्रतिनिधि विजयी भएपछि मध्यरातमा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले मध्यरातमा मेयर तथा उपमेयरलाई मोटरसाइकल ¥यालीसहित निवासमा पु¥याएका थिए । 

मध्यरातमा चितवनमा भाडामा बस्दै आएको घरको २ तलामाथिबाट रेणुले कार्यकर्ताहरुलाई सम्बोधन गरिन् । 

उनले ३ महिनादेखि कार्यकर्ताले गरेको दुःखको परिणाम आएको बन्दै सबैलाई घरमा सुत्न जान आग्रह भोलि बिहान चौबिस कोठीबाट विजय जुलुस निकाल्ने जानकारी गराएर सुत्न गइन् । 

काङ्गे्रस माओवादी भाइ भाइ, अरु सबै बाई बाई 

२२ गते मध्यान्न १२ बजेपछि भरतपुरको चौबीसकोठीबाट माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले संयुक्त रुपमा विजय जुलुस निकाल्यो । विजय जुलुसमा उनीहरुले काङ्ग्रेस माओवादी भाइ भाइ, अरु सबै बाई बाई भन्ने नारासमेत लगाएका थिए । पैदल, गाडी तथा मोटरसाइकलबाट जुलुसले नगर परिक्रमा गर्यो ।   

एमालेबाट शपथ बहिष्कार

दिउँसो ३ बजेका लागि जिल्ला समन्वय समितिको हलमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहणको कार्यक्रम राखिएको थियो । तर प्रमाणपत्र र ब्यानर छापेर ४ बजे ल्याइएको थियो । त्यति नै बेला शपथ ग्रहण समारोह बहिष्कार गर्न भन्दै एमालेको जिल्ला सचिवालयको बैठक बसिरहेको थियो । ५ बजेपछि सपथ सुरु भए पनि महानगरका १४ वटा वडा जितेको एमालेले शपथ ग्रहण बहिष्कार गर्यो । वडा नं. १० का एमालेका वडा अध्यक्ष अरुण पीडित भण्डारीले षडयन्त्रपूर्वक निर्वाचित भएका माओवादी र काङ्ग्रेसका मेयर तथा उपमेयर सँगै बसेर शपथ नखाने बताए । एमालेबिना नै शपथ ग्रहण कार्यक्रम भयो । 


भोलिपल्ट मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई भेटेर बिना औपचारिक कार्यक्रम एमालेका जनप्रतिनिधिले शपथ लिए । उनीहरुले न्यौपानेलाई औपचारिक कार्यक्रम गरेर शपथ खुवाउन आग्रह गरे पनि मुख्य निर्वाचन अधिकृतले मानेनन् । 

३ घन्टा कर्मचारी लाइनमा, राति पदभार 
भरतपुर महानगरपालिका कर्मचारीहरु दिउँसो ४ बजेदेखि नै हातमा फूलमाला लिएर जनप्रतिनिधिहरुको स्वागतमा लागि कार्यालयको गेट अगाडि लाइन लागेर बसेका थिए । तर शपथग्रहण ढिला भएकाले ७ बजेपछि मात्र रेणु दाहाल र पार्वती शाह ठकुरी पदभार ग्रहण गर्न महानगरपालिका पुगेका थिए । पदभार ग्रहण गर्दै उनीहरुले स्वास्थ्यसँग सम्बिन्धित पहिलो निर्णय गरे भने कर्मचारीहरुले गरेको स्वागत कार्यक्रममा सहभागी भएर घरतिर लागे । 

यसअघि महानगरका कार्यकारी अधिकृत प्रेमराज जोशीले चढ्ने गरेको गाडी चढेर रेणु महानगर प्रवेश गरेकी थिइन् । उक्त गाडी एक वर्षअघि खरिद भएको जनाइएको छ ।   

महानगरपालिकामा एमाले मामा र माओवादी भान्जीको पहिलो भेट
अघिल्लो दिन शपथ बहिष्कार गरेका एमालेका जनप्रतिनिधिहरु भोलिपल्ट भने महानगरपालिकामा रेणु दाहाललाई स्वागत गर्न पुगेका थिए । बिहान ११ बजेदेखि साढे ११ बजेसम्म दाहालसँग मैले अन्तर्वार्ता लिएर सक्ने बित्तिकै वडा नं. १० मा नेकपा एमालेबाट वडाध्यक्ष जितेका अरुण पीडित भण्डारी आइपुगे र ल भान्जीलाई बधाई छ भन्दै शुभकामना दिए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भिनाजु भन्दा रहेछन् । उनले शपथका लागि वडा सदस्यहरु तयार रहेको भन्दै महानगरको हलतिर लगे जहाँ एमालेका वडा अध्यक्षहरुसहित वडा सदस्यहरु बसेका थिए । दाहालले अघिल्लो दिन नै शपथ गराउनुपर्ने एमालेका वडा सदस्यहरुले दोस्रो दिन शपथ लिए । 

मतपेटिका सुरक्षा गर्ने सेलिबे्रटी बिरालो   

गत जेठ २६ गते राजधानी दैनिकमा एउटा रोचक समाचार छापिएको थियो । मतपत्रको सुरक्षाका लागि बिरोलो परिचालनसम्बन्धी । भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि ३ महिनासम्म कबर्ड हलभित्र मतपत्र र मतपेटिका राखिएको थियो । बाहिरबाट सुरक्षाकर्मीले सुरक्षा दिए पनि भित्र मुसाले मतपत्र,  निर्वाचनसम्बन्धी कागजपत्र नष्ट गर्ने डर थियो । त्यसका लागि त्यही नजिक रहेका दुई बिरालोलाई हलभित्र जाने वातावरण निमार्ण गरेर मुुसाबाट मतपत्र जोगाउने प्रयास गरेको चितवन प्रहरी प्रमुखलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको थियो । 

२१ गते मतगणना भइरहेको दिन एउटा बिरालो मतगणना स्थल आसपासमा ओहोर दोहोर गरिरहेको थियो । जिल्ला समन्वय समितिको क्यान्टिन, त्यस अगाडिको होटल रेस्टुरेन्ट र मतगणना भइरहेको कवर्डहलको छेउछाउ बिरालो घुमिरहेको हुन्थ्यो । केही व्यक्तिहरु मतपत्र सुरक्षा गर्ने बिरालो भन्दै फोटो खिचिरहेका थिए । कतिपय स्थानीय उक्त बिरोलोले मतपत्र जोगाएको दाबी गरिरहेका थिए भने कतिपय व्यङ्ग्य गर्न उक्त समाचार बनाएको भनिरहेका थिए । जे होस भरतपुर १९ मा भएको चुनावी घटनालाई कसैले चलचित्रमा उतार्ने प्रयास गर्यो भने एउटा पात्रका रुपमा बिरोलोले समेत प्रवेश पाउने निश्चित छ ।  

भरतपुरका अन्य समाचार 

पुनःमतदान गर्न आएकी पद्मावतिको कुराले मतदाताका आँखा रसाए (भिडियोसहित)

ढुंगा भर्ने ग्याबिन जालीभित्र बसेर भरतपुरको मतगणना

भरतपुरको मतगणनास्थलमा सेनाको गस्तीदेखि प्रहरीको कुकुरसम्म (फोटोफिचर)

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

छपक्कै ढाकियो भरतपुरको सडक गठबन्धनको विजयी र्‍यालीले (फोटोफिचर)

तेह्र तस्विरमा हेर्नुहोस रेणु र पार्वतीको पदभार (फोटोफिचर)

मेयर रेणुको निर्णयः भरतपुर अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क (भिडियोसहित)

‘सेलिब्रेटी बिरालो’ जसले भरतपुर महानगरको मतपेटिकालाई मुसाबाट जोगायो (फोटो/भिडियो)

भरतपुरमा गाइजात्रा : अघिल्लो दिन सपथ बहिष्कार, दोश्रो दिन भान्जीसँग मुलाकात

 

 


   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप