शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेडक्रस ऐनको मस्यौदा समितिमा दास

बुधबार, ११ असार २०७६, १९ : ०८
बुधबार, ११ असार २०७६

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले आगामी साउन मसान्तभित्र रेडक्रस ऐनको मस्यौदा तयार गर्न समाजसेवी डा.गौरीशङ्करलाल दासको संयोजकत्वमा ‘रेडक्रस ऐन मस्यौदा तयारी समिति’ गठन गरेको छ । 

रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रा.सुदर्शनप्रसाद नेपाल, सुरेन्द्रसिंह ऐर, मनोजकुमार थापा, सूर्यचन्द्र न्यौपाने, राजदेव यादव समितिमाका सदस्य रहेका छन् । त्यस्तै, कास्की रेडक्रस सभापति डोलराज पाण्डे, रेडक्रसका पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त र केन्द्रीय सभासद् लुना सुवेदी ढुङ्गाना पनि समितिमा सदस्य रहेका छन् । समितिको सचिवको जिम्मेवारी रेडक्रसका कानून संयोजक विजय दाहाललाई दिइएको छ  ।

यही असार ६ गते बसेको रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको २७६औँ बैठकले संस्थाको कानूनी आधार बलियो बनाउन सो निर्णय गरेको रेडक्रसका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । बैठकका निर्णय आज सार्वजनिक गरिएको हो । 

अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘विसं २०७१ चैत ३० गते निर्वाचित यस कार्यसमितिले गठन गरेकै विभिन्न समिति तथा सञ्चालक समिति, नीति, नियमावली र निर्णयलाई यथावत् कायम राखी परिचालन, कार्यान्वयन र मान्यता दिने बैठकले निर्णय ग¥यो ।’ 

संस्थाको वर्तमान केन्द्रीय कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०७६ जेठ ६ गतेको पत्रद्वारा विघटन गरी तदर्थ समिति गठन गरिएको थियो । सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा गरिएको रिट निवेदन उपर सर्वोच्च अदालतबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय ‘कार्यान्वयन नगर्नु नगराउनु’ भनी गरेको अन्तरिम आदेशप्रति बैठकले सम्मान व्यक्त गरेको छ । 

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरी कानूनी प्रक्रियामार्फत् वर्तमान केन्द्रीय कार्यसमितिको पुनःबहाली गराउन कार्यसमिति अध्यक्षको हैसियतले सञ्जीव थापाले पहल गरेका थिए । संस्थाको लागि जग्गा खरीद र रक्तसञ्चार सेवाको भवन निर्माण सम्बन्धमा भएका निर्णयका बारेमा उठाइएका विषयमा प्रष्ट गर्न केन्द्रीय सदस्य ललितजङ्ग शाहीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको निर्देशक पौडेलले बताए । 
 
त्यस्तै बैठकले विभिन्न बैंकमा रहेका संस्थाका खाता विधान बमोजिम अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने निर्णयका साथै सरलताको लागि रु पाँच लाख सम्मको कारोबारको चेक कोषाध्यक्ष र आर्थिक विभागका कामु निर्देशकबाट सञ्चालन हुने गरी अधिकार प्रत्यायोजन गरेको छ । 

बैठकले गत वैशाख २३ गतेदेखि २५ गतेसम्म धरानमा सम्पन्न गर्न आह्वान गरिएको केन्द्रीय सभाको ४८औँं महाधिवेशनको लागि रेडक्रस सुनसरी जिल्ला शाखाले गरेको तयारी र व्यवस्थापनका लागि सो शाखाप्रति धन्यवाद ज्ञापन गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पत्रको निर्देशन बमोजिम अन्तिम क्षणमा सो अधिवेशन स्थगित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप