केन्द्रीय संस्करण

ओली : दक्षिणपन्थी फासिवादको नेपाली आयाम

person explore access_timeअसार ११, २०७६ chat_bubble_outline0

समाजको विकास र परिवर्तन त्यो समाजमा रहेका विपरीत वर्गबीचको आपसी सम्बन्ध र सङ्घर्षका माध्यमबाट हुनेगर्छ  । त्यसैले कार्लमार्क्सले मानव जातिको इतिहासलाई वर्गसङ्घर्षको इतिहास भनेर संश्लेषण गर्नुभएको हो । त्यसरी हेर्दा आजको नेपाली समाजमा जेजति घट्नाक्रम विकसित भइरहेको छ । 

त्यो समाजमा विद्यमान दुई विपरीत वर्गबीचको वर्गसङ्घर्षको परिणाम हो । वर्गसङ्घर्ष कहिले आधीझैँ उर्लेको हुन्छ, कहिले शान्तिपूर्ण र सुषुप्त रूपमा अभिव्यक्त भइरहेको हुन्छ । नेपाली समाजको अहिलेको वर्गसङ्घर्ष एकीकृत जनक्रान्तिका रूपमा अभिव्यक्त भइरहेको छ । एकातिर श्रमजीवी जनताले आफूलाई महासचिव विप्लवको नेतृत्वमा क्रान्तिलाई नयाँ ढङ्गले उठाउने प्रयत्न गरिरहेको छ भने अर्काेतिर यसको विरुद्ध दक्षिणपन्थी सामाजिक फासिवाद यसको घाँटी निमोठ्ने अभियानमा लागेको छ । 

जसको अगुवाइ झापाविद्रोहमार्फत उदय भएको तर पछिल्लो समय उग्र दक्षिणपन्थ र अनुदारवादी वर्गको नायकका रूपमा पतन भएको केपी ओलीले गरिरहेका छन्  । 
यी दुई वर्ग र दुई नेतृत्वले क्रमशः श्रमजीवी जनताको लोकतान्त्रिक प्रणाली वैज्ञानिक समाजवादी अर्थराजनीतिको अगुवाइ गरिरहेका छन् भने अर्काेले दलाल पुँजीवादी अर्थराजनीतिको निकृष्ट फासिवादको अगुवाइ गरिरहेका छन्  । समाजमा अरू पनि केही मध्यमार्गी वर्ग र विचारधाराहरू रहेका छन्  । मध्यम वर्गको उदय भएको समाजमा यस्ता खाले विचारधारा एउटा कालखण्डसम्म कायम नै रहनु स्वाभाविक छ । मध्यम वर्गको सबै तप्का निर्णायक रूपमा किनाराकृत हुनसक्दैन । आफ्नै परम्परागत विचारधाराको अगुवाइ गर्ने प्रयत्न गरिरहेको समूह पनि नेपालमा केही समय रहनु स्वाभाविक छ । 

अहिले विकसित भएको यो घट्नाक्रमको कुनै एक अमुक देश र समाजसँग मात्र सम्बन्ध रहने कुरा होइन । भूमण्डलीकृत आजको विश्वमा यसको अन्तर्राष्ट्रिय सम्बन्ध स्वतः रहन्छ वा प्रभावित हुन्छ । 
अन्तर्राष्ट्रिय अर्थराजनीतिमा सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा पुँजीवादको पुनस्र्थापनापछि पुँजीवादको दिग्विजय घोषणा गरियो । फ्रान्सिस फुकुयामाको एन्ड अफ हिस्ट्रीले समाजवादको इतिहास र भविष्य नरहेको घोषणा गर्याे । सोभियत सङ्घ र पूर्वी युरोपमा अभ्यास गरिएको विकृत र भ्रष्ट समाजवादको पतनलाई नै मार्क्सवाद वा वैज्ञानिक समाजवादको पतनको रूपमा परिभाषित गर्दै फुकुयामाले पश्चिमी सभ्यता निर्विकल्प रहेको जिकिर गरे । सोभियत सङ्घको विघटनसँगै शीत युद्धको अन्त्य पनि भयो । दुई ध्रुवीय विश्व एक ध्रुवीय विश्वमा परिणत भएको डङ्का पिटियो । 

बजारको सर्वाेच्चतालाई प्राथमिकतामा राख्ने नवउदारवादी अर्थराजनीतिको बेरोकतोक प्रयोग अघि सारियो । बित्तीय पुँजीको भूमण्डलीकरणले सिङ्गै विश्वलाई प्रभावित बनायो । यसले नेपाल अपवाद रहेन । 
नवउदारवादको अभ्यास गर्ने क्रममा खाडीयुद्ध प्रायोजन गरियो । त्यहाँको तेल कब्जा गर्ने रणनीतिअन्तर्गत आतङ्कवाद विरोधी युद्धको नाटक मञ्चन भयो  । अतः सेप्टेम्बर ११ को तेल माफिया गिरोहको प्रायोजित आक्रमणपछि एकैपटक संसारभरका न्यायपूर्ण र जनवादी आन्दोलनलाई एउटै डालोमा हालेर आक्रमण तीव्र पारियो । तेस्रो विश्वका बहुमूल्य प्राकृतिक स्रोत सस्तो श्रमको लुटको कुनै सीमा रहेन । त्यसका निम्ति इराक, अफगानिस्तान,  लिबिया र सिरियासम्म सैन्य हस्तक्षेप गर्न पश्चिमी साम्राज्यवाद पछि परेन । 

तर दिग्विजय घोषणा गरेको दुई दशक नबित्दै नवउदारवाद  सन् २००८ मा आइपुग्दा पश्चिमी मुलुकको केन्द्रमा आएको आर्थिक सङ्कटसँगै असफल हुनपुग्यो । 
यसले इतिहासमै सबैभन्दा बढी आर्थिक असमानता बढाएको, बेरोजगारी बढाएको मात्र छैन गरिबी र अभाव तीव्र पारेको छ । आक्सफामले पछिल्लो पटक प्रकाशित गरेको प्रतिवेदनअनुसार १५ धनाढ्यको स्वामित्वमा विश्वको कुल गार्हस्थ उत्पादनको ८२ प्रतिशत धन थुप्रिएको छ । यो नवउदारवादी अर्थराजनीतिक प्रणालीको असफलताको गतिलो उदाहरण हो । 

उत्पादक शक्तिका रूपमा विज्ञान प्रविधिमूलतः डिजिटल प्रविधिको विकासले पुँजी निर्माण र अर्थतन्त्र निर्माणमा खेलेको नेतृत्वदायी भूमिकाले भयानक बेरोजगारी र असमानता बढाएको पछिल्लो समयका भौतिक विज्ञानका भिष्मपितामह स्व.  स्टेफन हकिङ्सले समेत बताउनुभएको थियो । उदार लोकतन्त्रको नाममा संसदीय प्रणाली अर्थनीतिका रूपमा नवउदारवादी ज्यानमारा बजारवाद र अति सैन्यकृत रणनीति मात्रै होइन, दोस्रो विश्वयुद्धपछि अघि सारिएको बहुराष्ट्रिय अवधारणा र संस्थाहरू अन्तर्राष्ट्रिय मुद्राकोष विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घ औचित्यहीन बन्दै गएको छ । यसको विकल्पमा विश्व शक्तिका रूपमा चीनको उदयसँगै यी संस्थाहरूको विकल्पहरू देखापरेका छन्  । 

यो असफलतापछि युरोपमा दक्षिणपन्थी लोकप्रियतावाद  र राष्ट्रवादको उदय भयो । बेलायतलाई युरोपेली युनियनबाट अलग गर्ने जसलाई ब्रेक्जिटहरूको उदय । त्यसपछि अमेरिकामा डोनाल्ड ट्रम्पको विजयपछि दुनियाँ भर दक्षिणपन्थी फासिवादी शासकहरूको उदय हुन थाल्यो । बहुराष्ट्रिय कम्पनीका मालिकहरू ( कार्पाेरेट हाउसका) ले स्ट्रङ लिडरको खोजीको नाममा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनायो र उसको उदयको निम्ति सबै हर्कत प्रयोग गर्याे । यसले के प्रष्ट पार्छ भने पुँजीवाद फासिवादको टोपी लगाएर आइरहेको छ । पछिल्लो पटक समेत झन्डै एकैसाता २०१९ मा युरोपेली युनियनको संसदको  र भारतमा भएको लोकसभा निर्वाचनमार्फत युरोपमा उग्र दक्षिणपन्थी रुझान राख्ने दलहरूको विजय र मोदीको पुनः शक्तिशाली पुनरुदयले राष्ट्रवादी फासिवाद अब पुँजीवादको अर्थराजनीतिक र वैचारिक हतियार बनेको छ ।

 संसार भर चलेको यो हावाहुरीबाट नेपाल मुक्त हुन सक्दैन थियो । पहिलो संविधान सभाको निर्वाचनमा माओवादीको उदयसँगै नेपालको अनुदार वर्गले आफ्नो नायकको खोजी गर्दै थियो । राजतन्त्रको अन्त्यसँगै त्यो नायकको रूपमा पात्रहरू खोजिने क्रममा अहिलेको महान भनिएको उपलब्धिहरू गणतन्त्र, सङ्घीयाता, समावेशिता र समानुपातिक प्रणालीको उग्र विरोधी ओलीलाई त्यहीबेलादेखि नायकका रूपमा उभ्याउँदै थियो । 

संयोग कस्तो भइदियो भने भारतीय नाकाबन्दीको मार खेपेका काङ्ग्रेसका तत्कालीन सभापति प्रधानमन्त्री सुशील कोइरालाले सत्ता छोडेलगत्तै प्रधानमन्त्री बनेका ओलीका सल्लाहकारहरू (अनुदार वर्ग)ले बाम राष्ट्रवादी लोकप्रियतालाई प्रयोग गरे । रातारात ओली राष्ट्रवादका नायक बनाइए । 

संसदीय निर्वाचनको पूर्वसन्ध्यामा माओवादी आन्दोलनको प्रमुख नेतृत्वलाई समेत ओलीसँग आत्मसमर्पण गर्न दबाब सिर्जना गरियो । माओवादी आन्दोलनको बाँकी रहेका केही अवशेष पनि ओलीमा विलय गराइदियो । 

अन्ततः यही दक्षिणपन्थी फासिवादको अन्तर्राष्ट्रिय आयमसँग जोडेरै ओलीको उदय भएको कुरा प्रष्ट छ । 

जसरी वितीय पुँजीको भूमण्डलीकरणले संसारलाई लपेटेको छ । अहिलेको दक्षिणपन्थी फासिवादले पनि संसारलाइ लपेट्नु अन्यथा होइन । फासिवाद र भूमन्डलीकृत पुँजीवादको आन्द्रा जोडिएको छ । 
सोभियत सङ्घको विघटनपछि समाप्त भएको घोषणा गरिएको माक्र्सवाद र वैज्ञानिक समाजवाद सन् २००८ को आर्थिक सङ्कटसँगै रिटन ब्याक कार्लमार्क्स भन्न थाले । आर्थिक सङ्कट सुरु भएपछि कार्लमार्क्सको विख्यात कृति पुँजी युरोपेली बौद्धिक बजारमा सर्वाधिक बिक्री र खोजीको विषय  बन्यो । 

अमेरिकी सहरहरूमा हामी उनान्सय, वाल स्ट्रिट कब्जा आन्दोलनहरू अघि बढ्यो । अमेरिकामा बर्निस्यान्डर्सहरूको उदय, जर्मनीमा केभिन कुनट्र्काे उदय युरोप र सिङ्गो पश्चिमी समाजमा समाजवादी विचारको पुनरुदयले त्यहाँको  संस्थापन विचारक दाबी गर्नेहरू अहिले झस्केका मात्र छैनन्  । आतङ्कित हुन थालेका छन्  ।
 संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कम्युनिस्ट र समाजवादीप्रति गरेको टिप्पणी कति घृणात्मक छ । उसले कम्युनिस्ट र समाजवादीलाई शत्रुको संज्ञा दिएका थिए (सन् २०१८ को संयुक्त राष्ट्र सङ्घको महासभा) ।

 पाँच सय वर्षको पुँजीवादको असफलता कारण मानव जातिले भोग्नुपरेको आर्थिक असमानता, गरिबी, बेरोजगारी, अभाव युद्ध र बर्बर हिंसा मात्रै होइन प्रकृतिको विनास एकातिर छ भने अर्काेतिर बिसौँ शताब्दीमा संसारको एकतिहाइ भूभागमा अभ्यास गरिएको समाजवाद विकृत भई पतन हुनुले यो सताब्दीमा नयाँ ढङ्गले मानव जातिको हित अनुकुल अर्थराजनीतिक व्यवस्थाको  विकल्प पेश नगरी सुख छैन । पश्चिमी सभ्यता अर्थात पश्चिमा पुँजीवादी सभ्याता प्रतिक्रियावादी भएकाले यसको विकल्प खोज्नुपर्ने दलिल अमेरिकी राजनीति तथा सौन्दर्यशास्त्री डेबिट ब्रुक्सले गरेका छन् (पेटृक जे) । देनिनले पुँजीवादको असफलताबारे लेखिरहेका छन्  । त्यसैले पुँजीवादको विकल्पको रूपमा जब समाजवादी विचार र मार्क्सवादको उपदेयत बड्दै गयो । पुँजीवाद अब फासिवादमा पतन हुनु राष्ट्रवादको सहारा लिनु ऊभित्र अन्तरनिहित विशेषता हो । ट्रम्पको घृणा यसैमा अन्तर्निहित छ । 

भारतमा माओवादी कम्युनिस्टहरू, त्यहाँको आदिवासीहरू अल्पसङ्ख्यक मुस्लिम समुदाय र गरिब किसानमाथि हिन्दु फासिवादको विरुद्ध रहेका बौद्धिक समुदाय लेखक पत्रकारहरूमाथि मोदीको नेतृत्वमा बर्बर हत्या आतङ्क मच्चाइएको छ । नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरू, दलित, जनजाति, महिला, मधेसी र किसान मजदुर र श्रमिक वर्गमाथि बर्बर हिंसा मच्चाउन सुरु गरिएको छ । नेकपाको प्रतिबन्ध र त्यस यता मूलतः सर्लाही हत्याकाण्डसम्म आइपुग्दा ओलीको बाम राष्ट्रवादी लोकप्रियतावाद सामाजिक फासिवादको पराकाष्ठामा पुगेको छ । यसले आगामी दिनहरू अझै निर्मम बन्दै जानेछ भने वर्गसङ्घर्ष अझै पेचिलो हुनेछ  । फासिवादको युद्ध पिपासु चरित्र हुन्छ । त्यसैले उसले देश र जनतामाथि जबरर्जस्त युद्ध लादिरहेको छ । हामी कम्युनिस्ट क्रान्तिकारीहरूले देशको स्वाधीनता, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रसहितको वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति कुशलतापूर्वक पाइला अघि बढाउनुपर्ने छ । 

हामी जुन खालको भूराजनीतिक अवस्थितिमा बसेर समाजवादको झण्डा उठाइरहेका छौँ  । यो निकै संवेदनशील अवस्थिति हो । विश्व पुँजीवादको केन्द्र पश्चिमबाट यही क्षेत्रमा सरिरहेको छ । चीन र भारतजस्ता उदयीमान विश्व अर्थ र सैन्य शक्तिको बीचमा हाम्रो अवस्थिति छ  । यिनका आफ्नै शत्रुता र मित्रता सहकार्य र सङ्घर्ष छ । भारतको परम्परागत नेहरू डक्ट्रिन (उत्तरी हिमालयको रेन्जलाई आफ्नो सिमाना मान्ने), अमेरिकी नेतृत्वको भारतसमेत संलग्न र साझेदार रहेको इन्डोप्यासिफिक रणनीति र चिनियाँ बीआरआई (जसलाई चिनियाँ विशेषताको भूमण्डलीकरण भनिन्छ)को दबाब रवाफ र चेपुवामा पर्ने रणनीतिक लडाइँको बीच हामीले कसरी क्रान्तिको अगुवाइ गर्ने भन्ने गम्भीर प्रश्न स्वाभाविक रूपमा उठ्छ  । यसलाई समेत निकै चातुर्यतापूर्वक अध्यन गर्दै अघि बढ्न सक्नुपर्छ ।

इतिहास सरल रेखाबाट अघि बढेको छैन । यो बाङ्गोटिङ्गो बक्ररेखा पार गर्दै अघि बढ्छ । निःसन्देह नेपालले यो यात्रा पार नगरी दलाल पुँजीवाद र त्यसको आधरमा खडा भएको सामाजिक फासिवादको अहिलेको दुश्चक्रबाट मुक्ति सम्भव छैन । के सच्चा लोकतान्त्रिक शक्ति र व्यक्तिहरू, देशभक्त र अग्रगामी प्रगतिशील तप्कासँग अहिलेको फासिवादसँग लड्ने एकीकृत जनक्रान्तिबाहेक अर्काे वैज्ञानिक बाटो छ । आउनुस् बिना हिच्किचाहट बहस गरौँ । वैज्ञानिक समाजवादभन्दा अर्काे उताम अर्थराजनीतिक प्रणाली अहिलेसम्म दुनियाँमा देखिएको छैन । यसको बारेमा पनि बहस गरौँ । आउनुस अहिलेको शताब्दीको फासिवादविरुद्ध निर्मम विद्रोह गरौँ  । सर्वनासबाट जोगिने बाटो यही मात्रा हो । 

( यो लेखको निजी विचार हो ।)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...