बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२९ महिनामा  कमल थापाविरुद्ध ४ विद्रोह !

बुधबार, २५ साउन २०७४, १३ : २२
बुधबार, २५ साउन २०७४

काठमाडौं – राप्रपा  वरिष्ठ नेता पशुपति शमशेर राणाले  आइतबार ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको  दाबी सहित  निर्वाचन आयोगमा राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निवेदन दिन निर्वाचन आयोग पुगे । 


राणाले निर्वाचन आयोगमा ४० प्रतिशतको ‘हिसाव’ पुष्टि गरेर देखाउने छन् या असफल हुनेछ त्यसको लागि केहि समय प्रतिक्षा गर्नुपर्नेछ । तर, राप्रपा अध्यक्ष कमल थापाले पटक पटक उस्तै प्रकृतिको विद्रोह भोगिरहनु परेको छ ।   अर्थात २९ महिनाको अवधिमा कमल थापाको पार्टीमा ४ विद्रोह भएका छन् । 
थापा नेतृत्वको राप्रपामा (तत्कालिन राप्रपा नेपालसमेत) २०७१ फागुन २५ गतेदेखि सुरु भएको विद्रोह पछिल्लो पटक आइतबार (साउन २२)  भएको हो ।

 तत्कालिन राप्रपा नेपाल हुँदा  नेता पद्मसुन्दर लावतीले २०७१ फागुन २५ गते थापाविरुद्ध विद्रोहको घोषणा गरेका थिए भने २०७२ चैत दोस्रो साता अर्का  सहअध्यक्ष केशर बहादुर विष्टले  विद्रोह गरेका थिए । यस्तै प्रकाशचन्द्र लोहनीले फागुन १९ मा कमल थापासँग विद्रोहको घोषणा गरेका थिए । 


विद्रोहको कारण उस्तैउस्तै
राप्रपामा भएका ४ ओटै विद्रोह कारण  उस्तैउस्तै खालका रहेका छन् । सबैले अध्यक्ष कमल थापाले मनपरी रुपमा पार्टी चलाएको, फरक मतको सम्मान नगरेको, अधिनायकवादी चरित्र प्रदर्शन गरेको, एजेण्डा मास्न खोजेकोजस्ता साझा आरोप लगाएका छन् । जुन आरोप लावती र  विष्टले स्पष्ट रुपमा राखेका थिए ।  यस्तै लोहनीले  पार्टीको इतिहास जोडिएको हलो छाडेको र त्यसले गर्दा पार्टी नै तहसनहस हुने खतरा समेत औंल्याउँदै  विद्रोह गर्दा  अर्का नेता राणाले पनि त्यस्तै आरोप मात्र लगाएका छैनन् हलो चुनाव चिन्ह नहुँदा पार्टी चुनावमा नराम्ररी पराजित भएको समेत बताएका छन् ।  यस्तै सरकारको लफडाका साथै थापाले केन्द्रीय सदस्य मनोनयनमा गरेको भनिएको एकलौटी पनि राणा समूहले विद्रोह गर्नुको मूल कारण भएको बताइन्छ । 

विद्रोहका नालीबेली

पद्मसुन्दर लावतीको विद्रोह

–२०७१ फागुन २५ गते स्वर्गीय नेता पद्मसुन्दर लावतीले कमल थापासँग विद्रोह गरेका थिए ।

– कमल थापाले पार्टी मनपरि ढंगले चलाएको, निरंकुशता लादेको, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छाडेको लगायतको आरोप लगाउँदै लावतीको अध्यक्षतमा समानान्तर समुहको घोषणा गरिएको थियो ।

–समानान्तर समुहको घोषणा गरिएसँगै सो समुहले थापाविरुद्व ‘भण्डाफोर’ अभियान नै चलाएको थियो ।

–यतिसम्मकी तत्कालिन अवस्थामा राप्रपाले हिन्दु जागरण अभियान चलाउँदा राप्रपाले ठाउँठाउँमा अवरोध गरेको थियो भने खुल्लामञ्चमा आयोजित सभामै पुगेर कालोझण्डा देखाएको थियो ।

–थापाले लावती पार्टीको वरिष्ठ नेता भएपनि कुनै छलफल र परामर्श नगरी आफ्नो आलोचना गर्नेलाई बाइपास गर्न थालेपछि लावती चिढिएका थिए भने पछि सोहि आरोपमा लावतीसहित केन्द्रीय सदस्य छोरा सगुन लावती, दिलविकासराज भण्डारीलगायतलाई २०७१ पुस ९ मा पार्टीबाट निष्काशनको घोषणा गरेको थियो ।

–निष्काशनसँगै पार्टीविरुद्व समानान्तर अभियान चलाएका लावतीले त्यसको साढे २ महिनापछि फागुन २५ गते समानान्तर समुहको घोषणा गरेका हुन् । लावतीको निधनपछि उनले नेतृत्व गरेको समूह पछि तत्कालिन राप्रपासँग विलिन हुँदै दुई राप्रपाको गत मंसिर ६ मा भएको एकतापछि  कमल थापा नेतृत्वकै पार्टीमा सहभागि भएको थियो । 

वीरगञ्ज बैठकको मुखमा केशरबहादुरको विद्रोह 
–केपी ओली नेतृत्वको सरकारमा कमल थापा सरकारमा सहभागि हुँदा २०७२ चैत दोस्रो साता तत्कालिन सहअध्यक्ष केशर बहादुर विष्टले पार्टी सुद्धिकरणमा जोड दिँदै थापाविरुद्व विज्ञप्ति निकाले ।

–उनको विज्ञप्तिमा कमल थापा तत्काल सरकारबाट फिर्ता हुनुपर्ने, पार्टीमा सबैलाई मिलाएर अघि बढ्नुपर्ने, हिन्दर राष्ट्र र राजसंस्थाको मुद्दालाई सशक्त ढंगले अघि बढाइनुपर्ने, पार्टीमा मनपरि अन्त्य गरिनुपर्ने लगायतको आरोप लगाइएको थियो ।


–उनको विज्ञप्तिमा तत्कालिन पार्टी प्रवक्ता विष्णु भट्टराई, दमन बस्नेतलगायतको साथ रहेको थियो ।

– पार्टीको वीरगञ्ज बैठकअघि विष्टबाट आएको उक्त विज्ञप्तिले पार्टी्भित्र हंगामा मच्चियो भने विष्ट समुहले सो बैठक नै बहिस्कार गर्यो ।

–वीरगञ्जमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले २०७२ चैत १९ गते विष्टलाई तीन वर्षे निलम्बनको घोषणा गर्यो भने त्यसपछि थप चिढिएका विष्टले ‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण’ अभियान चलाए भने पछि  प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीमा एककिृत भए । 

लोहनीको विद्रोह 
 –पार्टी एकता भएपछि राप्रपाले हलो चुनाव चिन्ह  अस्विकार गर्दै गाई चुनाव चिन्ह लिएपछि रुष्ट बनेका प्रकाश चन्द्र लोहनीले हलोको रक्षा गर्न भन्दै  २०७३ फाुगन १९ मा कमल थापासँग विद्रोह गरेका थिए । 
–लोहनीले  त्यसको झण्डै १ महिनापछि अर्थात चैत १७ मा  हलोप्रति आस्था राख्नेहरुसँग मिलेर  एकीकृत राप्रपा राष्ट्रवादी गठन गरेका थिए ।  
–लोहनीको पार्टीले हाल निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र  र पार्टीको झण्डाको रुपमा हलो स्वीकृत गराइसकेको छ ।  यद्यपी चुनाव चिन्हबारे भने अन्योल कायमै छ ।

अन्त्यमा, कमल थापा– राणाको लडाईँ
राणाले आइतबार पार्टी विभाजन गरेसँगै  अहिले राणा समूह र थापा समूह सांसद र केन्द्रीय सदस्य तानातानको खेलमा लागेका छन् । थापा राणालाई ४० प्रतिशत पुर्याउन नदिने खेलमा लागेका छन् भने  राणा भने ४० प्रतिशत पुगिसकेको दाबी गरिरहेका छन् । राणाको पार्टीले आयोगबाट मान्यता पाउला या थापा विभाजनलाई असफल पार्न सफल हुन्छन् त्यसको छिनोफानो हुन भने केहि समय लाग्ने नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप