शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सम्भव छ सेतो दुबीको उपचार, यो रोग होइन

मङ्गलबार, १० असार २०७६, १६ : १४
मङ्गलबार, १० असार २०७६

काठमाडौं– ‘सेतो दुबी र जीवनको गुणस्तर’ भन्ने नाराका साथ मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रमसहित सेतो दुबी दिवस मनाइएको छ । 

सेतो दुबीको उपचार हुन्छ भन्ने सन्देश दिने उद्देश्यले दिवसको अवसरमा काडमाडौंको मध्य बानेश्वरमा अवस्थित क्यूटिज केयरले एक जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । 

लामो समयदेखि छालासम्वन्धि समस्याको उपचार गराउँदै आएको क्यूटिज केयरका वरिष्ठ छाला रोग विशेषज्ञ प्रा. डा. धर्मेन्द्र कर्णले छालामा आउने परिवर्तन नै सेतो दुबी भएकाले यो उपचारबाट निको हुने बताए । 

डा. कर्णले सेतो दुवी कुनै सरुवा वा दीर्घ रोग नभई छालामा आउने परिवर्तन भएकाले समयमै उपचार गर्न सवैमा आग्रह गरे । विश्वमा सेतो दुवीबाट प्रभावितको संख्या २ प्रतिशत रहेको भएपनि नेपालमा पछिल्लो समयमा यो दर बढ्दै गएकाले समयमै उपचार गर्न डा. कर्णले सुझाएका छन् । 

सेतो दुबी 

प्रत्येक मानिसको शरीरमा कुनै न कुनै किसिमको रङ्ग हुन्छ । मानिस छालामा गर्भमै रहँदा एक किसिमको कोषको विकास भएको हुन्छ, जसलाई मेलानोसाइट भनिन्छ । यो एक किसिमको केमिकल हो र जसले शरीरमा रङ्ग दिने काम गर्छ । यो रंग जसको शरीरमा बढी हुन्छ त्यस्तो छालालाई कालो छाला भनिन्छ भने जसको छालामा कम हुन्त त्यस्तो छालालाई गोरो छाला भनिन्छ । 

सेतो दुबी आउँदा दुख्ने पोल्ने वा अरु कुनै लक्षण देखाउँदैन र यसलाई रोग मानिदैन पनि । यूरोप अमेरिकामा यसको उपचार गर्नु जरुरी मानिँदैन । नेपालमा भने जनचेतनाको कमीले गर्दा यस्ता समस्या भएका मनिसहरु हिनताबोधको जिन्दगी बँचिरहेको पाइन्छ । सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुन्छ । समयमै उपचार गराउने हो भने यो निको हुन्छ ।

छालामा रंगको समस्या कम भएमा सेतो दाग देखिन्छ यसलाई बोलीचालीको भाषामा सेतो दुबी भनिन्छ । विश्वको तथ्याङ्कले ०.५ देखि २ प्रतिशत व्यक्तिमा यो समस्या छ र यो दिनप्रतिदिन बढ्दै गइरहेको छ । 
डा. कर्णका अुनुसार हरेक दिन छालाको समस्या लिएर आउने मध्ये ६ देखि ८ प्रतिशतमा सेतो दुबीको समस्या देखिएको छ ।

आखिर के हो सेतो दुबी

सेतो दुबी एक प्रकारको छालामा हुने समस्या हो । छालामा रंग दिने कोषहरुको कमि हुँदा यो समस्या देखा पर्छ । हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ । त्यो क्षमता कहिले काहिँ बढी हुँदा आफ्नै शरीरविरुद्ध काम गर्न थाल्छ र छालालाई रंग दिने कोषहरुलाई नै नष्ट गरिदिन्छ । 

यस्तो समस्या जुनसुकै उमेरमा पनि आउन सक्छ तर साधारण तया दुई उमेर समूहमा बढी देखा पर्छ । जस्तोः १० देखि २० र ४० देखि ५० वर्षसम्मका व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ । 

सेतो दुबी आउँदा दुख्ने पोल्ने वा अरु कुनै लक्षण देखाउँदैन र यसलाई रोग मानिदैन पनि । यूरोप अमेरिकामा यसको उपचार गर्नु जरुरी मानिँदैन । नेपालमा भने जनचेतनाको कमीले गर्दा यस्ता समस्या भएका मनिसहरु हिनताबोधको जिन्दगी बँचिरहेको पाइन्छ । सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुन्छ । समयमै उपचार गराउने हो भने यो निको हुन्छ ।

बढी देखिने अंगहरु

सेतो दुबी प्रायः धेरै चल्ने अंगमा देखिन्छ जस्तेः ओठ, आँखा, कम्मर, कुइना, घुँडा आदि । सेतो दुबी भएमा सर्छ भनेर धेरैले यो रोग लुकाउने गर्दा झन् शरीरभरी फैलिने गरेको पाइन्छ । यो कुनै सरुवा रोग होइन, तर आफ्नै शरीरको अन्य भागमा भने फैलिन सक्छ ।

यदी सेतो दुबी आएमा के गर्ने ?

सेतो दुबी आएमा कुनै पनि चोटपटक लाग्नसक्ने खालका काम गर्नु हुँदैन । शरीरमा कसिने लुगाहरु लगाउनु हुँदैन । सेतो दुबीका लागि नरम खालको घाम लाभदायक मानिन्छ । जस्तोः बिहान ८ बजेदेखि ११ बजेसम्मको घाम र दिउँसो २ देखि ५ बजेसम्मको घाम सेतो दुबीका लागि उत्तम मानिन्छ । सेतो दुबी भएका व्यक्तिले धुम्रपान र मध्यपानबाट बच्नुपर्छ भने अन्य खाना बार्नु पर्दैैन ।

सुगर, थाइराइडको समस्या भएमा पनि यो रोग बढ्न सक्छ त्यसैले अन्य रोगको उपचार पनि सँगसँगै गर्नुपर्छ । र, तनावमुक्त स्वस्थ्य जीवन जिउनु पर्छ ।

उपचार

२५ वर्ष अघिसम्म सेतो दुबीको उपचार थिएन । हाल यो रोगको उपचार सेवा नेपालका थुप्रै अस्पताल तथा क्लिनिकहरुमा उपलब्ध छ । नेपालमा सेतो दुबीको उपचार हुन्छ भन्ने नै थाहा नभएर लुकाएर बस्नेको संख्या नगन्य नै छ ।

यस्तो समस्या भएका व्यक्तिहरु सार्वजनिक हुन हिच्किचाउने र परिवार साथीभाईसँग नजिक नहुने हुँदा अन्य समस्या बढ्न सक्ने खतरा पनि उत्तिकै छ । तर सवैले बुझ्न जरुरी यो छ कि सेतो दुबीको उपचार छ र यो निको हुन्छ । यो कुनै रोग नभएर सामान्य छालाको रंगमा आएको परिवर्तन मात्रै हो । समयमा उपचार गर्ने हो भने निको हुन्छ । 

यसको उपचार दुई किसिमले गरिन्छ । एक खाने, लगाउने औषधीको प्रयोग गर्ने र घाममा बस्ने । अर्को, मोसिनले सेक्ने । मेसिनले सेक्ने प्रविधिलाई फोटोथेरापी भनिन्छ । यो प्रविधि पूर्णरुपमा सुरक्षित छ । गर्भवती महिला र भर्खरै जन्मेको बच्चालाई समेत फोटोथेरापीबाट उपचार गर्न सकिने भएकाले यो अति सुरक्षित पद्धती मानिएको छ ।

यदी फोटोथेरापीबाट पनि निको नभएमा भने शल्य प्रकृया अपनाउन सकिन्छ । यसमा अन्य पद्धतीहरु पनि अपनाउन सकिन्छ, जस्तोः डर्मा रोलर प्रविधिको प्रयोग, पी.आर.पी. प्रबिधि, लेजर प्रबिधि र शल्यकृया (छाला प्रत्यारोपण) आदि ।

सेतो दुबीको उपचार महंगो हुने डरले पनि धेरैले उपचार गर्न नै नजाने गरेको पाइन्छ । तर, सेतो दुबीको उपचार महंगो नभएको चिकित्सकहरु बताउँछन् । फोटोथेरापी केही महंगो भए पनि अन्य उपचार सामान्य रुपमा हुन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप