बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्लिन फिड विवाद : स्वदेशी उद्योगको विरोध, उपभोक्तामाथि अन्याय !

सञ्चर मन्त्री भन्छन्, ‘क्लिन फिडको विरोध राष्ट्रियताकै विरोध’
मङ्गलबार, १० असार २०७६, १३ : २३
मङ्गलबार, १० असार २०७६

काठमाडौँ– नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्ने विषयबारे पक्षविपक्षमा विवाद सुरु भएको छ ।

भारतीय ब्रोडकास्टिङ कर्पोरेसन र नेपालका केवल टिभी सेवा प्रदायकहरु बाहेक  क्लिन फिड लागू गर्नुपर्छ भन्ने धेरैजसोको माग छ ।

वर्षौं पहिलादेखि नेपाली विज्ञापन बजारमा क्लिन फिड लागू गर्नुपर्ने आवाज उठ्दै आए पनि अस्थिर सरकारका कारण क्निफिडले मूर्त रूप लिन सकेको थिएन ।  क्लिनफिड लागू नहुँदा देशलाई आर्थिक र सांस्कृतिक दुवै हिसाबले नोक्सान भएको विज्ञहरु बताउँछन् ।

क्लिनफिड कार्यान्वयनमा आए विदेशी च्यानलले निःशुल्क विज्ञापन बजाउन पाउने छैनन् । क्लिनफिड लागू नहुँदा नेपाली मिडिया र विज्ञापन एजेन्सीहरुले बर्सेनि अर्बौं रुपैयाँ गुमाउनुपरेको छ ।

क्लिनफिडको विरोध राष्ट्रियताकै विरोध : सञ्चार मन्त्री बाँस्कोटा

क्लिनफिडको विषय बेला बेलामा उठे पनि यस पटक भने लागू गर्ने सरकारको तयारी छ ।

सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेपाली मिडिया उद्योगलाई बलियो बनाउन क्लिनफिडको आवश्यक रहेको बताउँछन् । बास्कोटा भन्छन्, ‘नेपाली मिडिया उद्योगलाई बलियो बनाउन, नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्न क्लिनफिड लागू गर्नु जरुरी  छ । यसको विरोध गर्नु भनेको राष्ट्रको विरोध गर्नु हो ।’

अन्तर्राष्ट्रिय स्तरमा पनि क्लिन फिडको प्रचलन छ । नेपालमा त भर्खर मात्रै क्लिनफिड लागू गर्न खोजिँदैछ । पैसा तिरेर नेपालीहरुले अन्तर्राष्ट्रिय च्यानल प्रयोग गरिरहेको अवस्थामा उनीहरुले विज्ञापन हेर्नै पर्छ भन्ने आवश्यकता नरहेको सरकारी अधिकारीहरु बताउँछन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७४ साल साउन १ गतेदेखि क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । तर नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबबका कारण पछि हटेको थियो ।

क्लिनफिड लागू हुँदा के फाइदा ?

क्लिनफिड लागू भए नेपाली विज्ञापन बजारले ठूलो धनराशी गुमाउनुपर्ने छैन । उसो त नेपाली विज्ञापन बजार त्यति ठूलो होइन । त्यसमा पनि विदेशी टिभी च्यानलहरुले यो बजारलाई अझ सानो बनाइदिएका छन् । नेपालमा बजार प्रवद्र्धनका लागि त्यस्ता विदेशी च्यानले छुट्टै रकम खर्च गर्नुपरेको छैन । यसकारण पनि नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले विज्ञापनमा ठूलो खर्च गरेका छैनन्, जसले नेपाली मिडिया त्यस्ता कम्पनीको विज्ञापन लिनबाट वञ्चित छन् ।

क्लिनफिड लागू भए विज्ञापन बनाउन स्वदेशकै साधन स्रोत प्रयोग हुन्छ । धेरैले काम पाउँथे । विदेशी कलाकारले लैजाने पैसा स्वेदशी कलाकारले विज्ञापन खेलिदिए बापत पाउँथे । मिडिया हाउसहरुले विज्ञापन पाउँथे । जसबाट मिडिया उद्योग फस्टाउन सक्नेछ । अहिले नेपालको विज्ञापन बजार ६ अर्ब रुपैयाँ बराबरको रहेको भनिएको छ । क्लिनफिड लागू भए यो बजार निकै फस्टाउने सरोकारवालाहरु बताउँछन् ।

क्लिनफिड लागू नगर्न भारतीय चलखेल

नेपालमा प्रसारण हुने अधिकांश च्यानल भारतीय नै छन् । यसकारण पनि क्लिनफिडमा भारतीय चासो विशेष छ । केवलहरुले डाइरेक्ट अपलिङ्क गर्ने भएकाले यी च्यानलहरु नेपालमा रियल टाइममै प्रसारण हुन्छन् । यसले उनीहरुले बजाउने विज्ञापनका उपभोक्ता नेपाली हुन् । नेपालीका लागि छुट्टै विज्ञापन बनाइरहनुपर्दैन जसले गर्दा भारतको ठूलो धनरासी जोगिन्छ । तर नेपाली विज्ञापन बजारले भने ठूलो धनराशी गुमाउनुपर्छ ।

क्लिनफिड लागू भए नेपालमा प्रसारण हुने ८० प्रतिशत जति टिभी सामग्री गैरकानुनी हुनेछन् । क्लिन फिड कार्यान्वयनमा आएको अवस्थामा भारतीय च्यानलले प्रसारण गर्ने आफ्नो विज्ञापन सामग्री हटाउनुपर्छ । यसकारण पनि भारतीय टिभी च्यानलहरुले क्लिन फिड लागू नगर्न विभिन्न दबाब सिर्जना गराइरहेको अधिकारीहरु बताउँछन् ।

यसअघिको क्लिनफिड विवादको बेला इन्डियन ब्रोडकास्टिङ कर्पोरेसनले क्लिन फिड लागू नगर्न विज्ञप्ति नै निकालेर सुझाव दिएको थियो ।

के हो क्लिन फिड ?

विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लिन फिड हो । यो अवधारणाअन्तर्गत दर्शकले टिभी कन्टेन्टबाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता रहँदैन ।

क्लिनफिड राष्ट्रियताको पक्षमा : नेपाल विज्ञापन सङ्घ

नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल संसद्मा विचाराधीन विज्ञापन विधेयकको विरोध गर्नुको कुनै औचित्य नभएको बताउँछन् ।

केवल टेलिभिजन व्यवसायीले सोमबारबाट चौबीस घण्टाका लागि विदेशी च्यानल प्रसारण रोक्नुमा विदेशीहरुको प्रभाव रहेको भन्दै उनले विश्वव्यापी रूपमा क्लिनफिड प्रचलनमा आएको सपष्ट पारे ।

‘यो विधेयक राष्ट्रियताको पक्षमा छ । यसले राष्ट्रियताका साथै स्वदेशी व्यवसायीलाई फाइदा पुर्याउँछ । राष्ट्रियताको पक्षमा रहेका जोकोहीले यसको स्वागत गरेका छन्’, अध्यक्ष रिजालले रातोपाटीसँग भने, ‘यसअघि मानिसहरुमा चेतनाको अभाव, अस्थिर सरकार लगायतका कारण क्लिनफिड लागू हुने सकेको थिएन । अहिले मानिसहरुमा त्यो चेतना आइसकेको र सरकारसमेत स्थायी बनेको अवस्थामा यो व्यवस्था कार्यान्वयनमा ल्याएर राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाउनुपर्छ ।’

अध्यक्ष रिजालले क्लिनफिड लागू भएपछि देशका मिडिया उद्योगदेखि अन्य उद्योगधन्दा समेत फस्टाउने र राजस्वसमेत बढ्ने भन्दै आर्थिक रूपमा नेपाल परनिर्भरताको अवस्थाबाट आत्मनिर्भरताको बाटोमा आउने भएकाले यसको सबैले स्वागत गर्नुपर्ने बताए ।

विदेशी च्यानलहरुले विदेशी विज्ञापन बनाएर नेपालमा बर्सेनि अर्बौं रुपैयाँको व्यापार गर्ने तर राजस्व भने जम्मा सात लाख तिरे पुग्ने उदाहरण दिँदै उनले क्लिनफिड लागू गरेर विदेशीको त्यस्तो ‘लुट’ रोक्न सकिने धारणा राखे ।

सरकारले ल्याएको यो विधेयक पारित भई ऐन बने सरकारले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने (क्लिन फिड) व्यवस्था लागू गर्न सक्छ ।  त्यसैले उनीहरू विधेयकविरुद्ध आन्दोलित छन् ।

त्यस्तै अर्का विज्ञापन व्यवसायी तथा सङ्घका पूर्वअध्यक्ष निर्मल पौडेल पनि रिजालको भनाइसँग सहमत छन् । ‘जहाँ क्लिनफिड, त्याहाँ विज्ञापन । यसले मिडिया उद्योगमा सकारात्मक असर पर्छ, सरकारी राजस्वको दायरा बढ्छ’, पौडेलले रातोपाटसँग भने, ‘व्यवसाय मात्र नभई राष्ट्रिय हितको समेत विषय भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । यसको विरोध गर्नुको औचित्य र आवाश्यक्ता छैन ।’

नेपाल केवल टेलिभिजन महासङ्घका कार्यकारी निर्देशक राधेश्याम लेकाली भने सरकार र विज्ञापन सङ्घको दाबीलाई स्वीकार्न तयार छैनन् । निर्देशक अधिकारीको भनाइमा विज्ञापन विधेयक अव्यावहारिक छ । ‘केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक ल्याएकाले विरोध गरेका हौँ । यदि यो विधेयक सङ्घीय संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो २० अर्ब लगानी डुब्छ र हामीले सटर बन्द गर्नुपर्छ’ पौडेलको भनाइ छ । उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप २४ घण्टा विदेशी च्यानल बन्द गरेको बताएको छ ।

उपभोक्तामाथि अन्याय : सरोकारवाला

पौडेलले यस्तो दाबी गरिरहँदा विज्ञ तथा सरोकारवालाहरुले भने केवल टेलिभिजन व्यवसायीले विदेशी च्यानल नै बन्द गरेर गैरकानुनी तथा गैरव्यावसायिक काम गरेको बताउँछन् । उनीहरुले महासङ्घको निर्णयले ग्राहक तथा उपभोक्तामाथि अन्याय गरेको बताउँछन् । धेरै उपभोक्ताहरुले विदेशी विज्ञापन देखाउन पाउनुपर्छ र नेपाली दर्शकले विदेशी विज्ञापन हेर्न शुल्क पनि तिर्नुपर्छ भन्ने प्रवृत्ति बजार मिचाहा भएको बताएका छन् । नेपालमा दुई सय जति विदेशी च्यानल प्रसारण छन् जसमा विदेशी विज्ञापन बज्छन् । यस्तो अवस्थामा सरकारले क्लिन फिड नीति ल्याउनुको सारभूत अर्थ स्वदेशी विज्ञापनको प्रवर्द्धन र संवर्द्धन भएको बताउँदै आएको छ  ।

क्लिन फिड लागू भएपछि भारतबाट प्रसार हुने विज्ञापनले नेपालको विज्ञापन बजार कमजोर पारिदिने भएकाले उनीहरु अत्तिएको धेरैको भनाइ छ । विशेषगरी बहुराष्ट्रिय कम्पनीका विज्ञापनदाताहरूले भारतीय च्यानलमार्फत आफ्नो विज्ञापन नेपालको बजारमा राज गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप