शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाले इरानमाथि लगायो नयाँ प्रतिबन्ध, इरानको यस्तो प्रतिक्रिया

मङ्गलबार, १० असार २०७६, ०८ : ०४
मङ्गलबार, १० असार २०७६

अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लागू गरेको छ । यसको घोषणा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् । नयाँ प्रतिबन्धको दायरामा इरानका प्रमुख नेता अली खमेनेईलाई पनि राखिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो नयाँ प्रतिबन्ध अमेरिकी ड्रोनमाथि भएको हमला र अन्य विविध कारणवश लागु गर्नुपरेको बताएका छन् । यी नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि ट्रम्पले ह्वाइट हाउसमा प्रतिबन्धको दायरामा अयातुल्लाह खमेनेईलाई पनि समावेश गर्नु अत्यावश्यक भएको बताए ।

उनले भने, ‘इरानका सर्वोच्च नेता नै उनको सत्ताको क्रममा हुने सबै कामका लागि जिम्मेवार छन् । उनलाई उनको देशमा अत्यधिक सम्मान दिइन्छ । उनीमार्फत् सबैभन्दा खतरनाक कुराहरु आउँछन् जसमा इस्लामिक रिभोल्युशनरी गार्डका सेना पनि छन् । यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता, उनको अफिस र उनीसँग सम्बन्धित अन्य सबै व्यक्तिहरु कुनै पनि प्रकारको आर्थिक सहयोगबाट वञ्चित हुनेछन् ।’

यस्तै, इरानले यी नयाँ प्रतिबन्धलाई युद्धतर्फ अमेरिकाको अर्को नयाँ कदम बताएको छ । इरानका विदेशमन्त्री जावेद जरिफले ट्वीट गर्दै यी प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति बताएका छन् । उनले ट्रम्प प्रशासनलाई युद्धको भोको  बताएका छन् ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार रिभोल्युशनरी गार्डका आठ कमान्डरलाई ब्ल्याकलिस्ट गरिएको छ र नयाँ प्रतिबन्धपश्चात् इरानी सम्पत्तिको अर्बौं डलर फ्रिज गरिनेछ । अमेरिकी अर्थमन्त्री स्टिव म्नुचिनले पत्रकारसँगको कुराकानीमा अमेरिका इरानसँग कुराकानीका लागि तयार भएको बताएका छन् ।

अमेरिकी अर्थमन्त्री स्टिव म्नुचिन। Photo: GETTY IMAGES

उनले भने, ‘राष्ट्रपतिको स्पष्ट नीति छ । यदि उनीहरु पुनः कुराकानीमा फर्कन चाहनुहुन्छ भने हामी तयार छौं, यदि उनीहरु चाहँदैनन् भने हामी पनि चाहँदैनौं । जसलाई यसलाई प्रतिकात्मक प्रतिबन्धको रुपमा मात्र लिइरहेका छन्, उनीहरुलाई यस्तो भ्रम नपाल्न आग्रह गर्छु । हामीले साँच्चै इरानको अर्बौं डलर रोकिदिएका छौं । यी प्रतिबन्धले अत्यधिक असर देख्न सकिनेछ ।’

यस्तै, संयुक्त राष्ट्रमा भएका इरानका राजदूत माजित तख्त रवांचीले अहिलेको स्थितीमा अमेरिकासँग कुराकानी गर्न नसकिने बताएका छन् ।

उनले भने, ‘हामी सबैलाई थाहा छ कि कुराकानीका लागि केही नियम र शर्त हुन्छन् । तपाईं कुनै पनि यस्ता देश वा व्यक्तिसँग कुराकानी गर्न सक्नुहुन्छ जसले तपाईंलाई धम्काइरहेको वा डर देखाइरहेको छ । हामी उनीहरुसँग कसरी कुरा गर्न सक्छौं जब उनीहरुको प्रमुख काम नै इरानमाथि प्रतिबन्ध लगाउनु हो । त्यसकारण अहिलेको स्थितीमा कुराकानी सम्भव छैन ।’

इरानका प्रमुख नेता अली खमेनेई । Photo: GETTY IMAGES

अमेरिका–इरान तनावः

इरान र अमेरिकाबीच पछिल्ला केही हप्तादेखि लगातार तनाव बढिरहेको छ । अमरिकाले मे २०१८ मा इरानका लागि हटाएका सबै प्रतिबन्ध पुनः लागु गरेको थियो । यो प्रतिबन्ध सन् २०१५ मा भएको परमाणु सम्झौतापछि हटाइएको थियो ।

अमेरिका र इरानबीच सम्बन्ध त्यतिबेला चिसिँदै गयो जब अमेरिकाले गत वर्ष आफूलाई यो सम्झौताबाट अलग्गायो । त्यसको केही समयपछि इरान पनि यो सम्झौताबाट आंशिक रुपमा अलग्गियो ।

यसै माहौलबीच खाडीमा भएको साउदी तेल ट्याङ्करमाथि हमला भयो । यसको पछाडि अमेरिकाले इरानको हात बतायो । इरानले यो आरोप अस्विकार गर्दै जून २७ पछि आफ्नो परमाणु कार्यक्रमलाई अन्तरराष्ट्रिय स्तरमा निश्चित सीमाभन्दा बढाउने घोषणा गर्यो ।

त्यसको केही दिनपछि अमेरिकाको एउटा ड्रोनलाई इरानले खसाल्यो । अमेरिकाले उक्त ड्रोन अन्तरराष्ट्रिय समुद्री सीमामा भएको दाबी गर्यो जबकि इरानले उक्त ड्रोन आफ्नो सीमामा प्रवेश गरिसकेको बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप