शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्ष २०२० सरकारको प्राथमिकतामा छः मन्त्री बस्नेत

सोमबार, ०९ असार २०७६, १९ : १९
सोमबार, ०९ असार २०७६

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटनमन्त्रीको कार्यभार प्रधानमन्त्री केपी ओलीले सम्हाल्नुभएकाले मन्त्रालय नेतृत्वविहीन नरहेको बताएका छन् । 

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को छैठौं अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले सम्हालेका कारण पर्यटन मन्त्रालयको कामकारबाही थप प्रभावकारी भएको पनि बताए । उनले भ्रमण वर्ष २०२० लाई सरकारले प्राथमिकतामा राखेको भन्दै त्यसको तयारीका काम जारी रहेको उल्लेख गरे ।

‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हानुभएका कारण मन्त्रालयका कतिपय प्रस्ताव प्रधानमन्त्रीबाट सिधै आउने हुँदा काममा सहजता नै भएको छ’, मन्त्री बस्नेतले भने, ‘पर्यटनमन्त्री नहुँदा भ्रमण वर्षको तयारी कमजोर हुन्छ कि भन्ने आशंका जरुरी छैन ।’

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले सरकारले भ्रमण वर्ष–२०२० का लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताए ।

उनले नेपाल भ्रमणमा आउने कुल पर्यटक संख्याको ६० प्रतिशत हिस्सा आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा पर्ने संरक्षित क्षेत्रमा पुग्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै आ–आफ्ना विशेषतासहितका पर्यटकीय गन्तव्यलाई थप आकर्षक बनाउन मन्त्रालयले कार्यक्रम बनाएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा २० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव नरहेको बताए । अहिलेकै तयारीले २० लाख पर्यटक रेल र पानीजहाज जस्तै हो, त्यसैले सरकारले अझै पनि सहि योजना र तयारी अगाडी ल्याउनुपर्ने बताए ।

त्यस्तै नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालमा सही कुरा भन्दा नकारात्मक कुराहरुको वढि प्रचार हुने गरेको बताए । बैद्यले नेपाल भ्रमण वर्षको तयारीका लागी आफूहरुले काम गरिरहेको बताए । 

नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कठिन परिस्थितिमा पनि आफूहरुले नेपाल पर्यटन वर्ष सफल पारेको बताए ।

पर्यटन विभागका महानिर्देशक ढुन्डुराज मिमिरेले पर्यटन क्षेत्रको नितिगत स्धारमा आँफुले काम गरिरहेको बताए । 

त्यस्तै नाटोजका अध्यक्ष शिव अधिकारी (अविरल)ले राष्ट्रिय पर्यटन पत्रकार संघले पर्यटन क्षेत्रका विभिन्न समसामयिक विषयवस्तुहरुमा बहस र छलफल चलाउँदै आएको बताए । नेपाल भ्रमण वर्ष सफल पार्न देशभर पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप