शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगार : ७५ करोडको ठगी, १६ करोडको मुद्दा दर्ता

बुधबार, २५ साउन २०७४, ११ : ४३
बुधबार, २५ साउन २०७४

काठमाडौं–स्वदेशमा रोजगारीको अवसर नपाएपछि नेपाली युवा वाध्यतामा विदेसिदै गर्दा वैदेशिक रोजगारीका नाममा ठगीधन्दा भने बढ्दै गएको छ । फ्रि–भिषा र फ्रि–टिकटका कारण विदेसिनेको संख्या घटेको बताइएपनि ठगी भने हरेक बर्ष बढ्दै गएको हो । 


पछिल्लो दुई आर्थिक बर्षमा मात्र वैदेशिक रोजगारीका नाममा करिव एक अर्ब ५० करोड रुपैयाँ रकम ठगी भएको छ । यो रकम ठगी भएको भन्दै बिगो दावी सहित वैदेशिक रोजगार बिभागमा ४ हजार ५ सय ५५ वटा उजुरी परेका छन् । 


सरकारले मलेसिया र खाडीका आधादर्जन मुलुकमा रोजगारीमा जानेकालागि न्युनतम् सेवा शुल्क मात्र लिन पाउने व्यवस्था गरेको छ । सोही कारण रोजगारीकै लागि विदेश जानेको संख्या घटेको म्यानपावर व्यवसायीले बताईरहेका छन् । एकतिर विदेश जानेको संख्या घटेको तथ्याङ्क छ भने अर्कोतिर अघिल्लो बर्षको तुलनामा ठगीमा परि उजुरी गर्ने र ठगी भएको रकमको दावी भने बढेको छ ।


गत आर्थिक बर्ष २०७३÷०७४ मा मात्र वैदेशिक रोजगारीका नाममा ७५ करोड ७८ लाख ४१ हजार ८ सय ४ रुपैयाँ रकम ठगी भएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ६ करोड २७ लाख ४५ हजार ३ सय २ रुपैयाँ बढी हो । अघिल्लो आवमा ६९ करोड ५० लाख ९६ हजार ५ सय २ रुपैयाँ ठगी भएको भन्दै विगो दावी सहित बिभागमा उजुरी परेको थियो । 

यस्तो छ दुई बर्षको तुलनात्मक स्थिति
आव २०७२÷०७३
व्यक्तिगत उजुरी–७०४
व्यक्तिगत दावी रकम–४७,५३,३४,२४१
संस्थागत उजुरी–१४६८
संस्थागत दावी रकम–२१,९७,६२,२६१
कूल उजुरी–२१७२
कूल दावी रकम–६९,५०,९६,५०२
आव ०७३÷०७४
व्यक्तिगत उजुरी–९३१
व्यक्तिगत दावी रकम–३२,१७,७६,६८६
संस्थागत उजुरी–१४५२
संस्थागत दावी रकम–४३,६०,६५,११८
कूल उजुरी–२३८३
कूल दावी रकम–७५,७८,४१,८०४

गत आवको ठगी विगो दावी गर्दै २ हजार ३ सय ८३ वटा उजुरी विभागमा परेका छन् । यो संख्या अघिल्लो आवको तुलनामा २ सय ११ ले वढी हो । अघिल्लो आवमा यस्तो ठगीलाई लिएर विगो दावी गर्दै कुल २ हजार एक सय ७२ वटा उजुरी विभागमा दर्ता भएका थिए । विभागका अनुसार गत आवमा संस्थागत  (म्यानपावर) वाट भएको ठगीलाई लिएर एक हजार ४ सय ४५ र व्यक्तिगत ठगीका ९ सय ३१ वटा उजुरी दर्ता भएका थिए । तर, अघिल्लो बर्ष भने संस्थागत ठगीका एक हजार ४ सय ६८ र व्यक्तिगतका ७ सय ४ वटा उजुरी विभागमा दर्ता भएका थिए । 


गत आवमा मात्र म्यानपावर कम्पनीवाट ४३ करोड ६० लाख ६५ हजार एक सय १८ रुपैयाँ रकम वैदेशिक रोजगारीका नाममा ठगी भएको छ । यो अघिल्लो बर्षको तुलनामा दोब्बर हो । अघिल्लो आवमा म्यानपावरतर्फ २१ करोड ९७ लाख ६२ हजार २ सय ६१ रुपैयाँ रकम ठगी भएको उजुरी विभागमा परेको थियो । यस्तै, गत आवमा व्यक्तिगत रुपमा ३२ करोड १७ लाख ७६ हजार ६ सय ८६ रुपैयाँ रकम ठगी भएको छ भने अघिल्लो आवमा ४७ करोड ५३ लाख ३४ हजार २ सय ४१ रुपैयाँ रकम ठगी भएको थियो । 


७५ करोडको ठगी, १६ करोडको मुद्धा दर्ता
गत आवमा वैदेशिक रोजगारीमा जाने युवावाट ७५ करोड ७८ लाख रुपैयाँ भन्दावढी रकम ठगी भएको भएपनि वैदेशिक रोजगार विभागले यो ठगी रकम मध्ये व्यक्तिगत ठगी रकममा १६ करोड ६५ हजार ८ सय ५६ रुपैयाँ र संस्थागतको १५ लाख रुपैयाँको विगो सहित अदालतमा मुद्धा दायर गरेको छ । विभागले गत आवमा कुल ३ सय १७ वटा मुद्धा अदालतमा दायर गरेको थियो । 


यस्तै, अघिल्लो बर्ष भने संस्थागतको शुन्य र व्यक्तिगतको मात्र २ सय २६ वटा मुद्धा दायर भएको त्यसमा ३७ करोड ८७ लाख ८० हजार ४ सय २८ रुपैयाँ विगो दावी भएको छ । यसरी हेर्दा संस्थागतको भन्दा व्यक्तिगतको बढी उजुरी मुद्धाका रुपमा दायर हुने गरेको देखिएको छ । 


यसो भन्छन् बिभागका अधिकारी
वैदेशिक रोजगार बिभागका निर्देशक तथा प्रवक्ता मोहन अधिकारी भने उजुरी  दावी रकम वढ्नुमा जनचेतनाको कारण भएको दावी गर्छन् । ‘पहिले भन्दा मानिसमा जनचेतना वढेको छ, अव उजुरी गर्नुपर्छ भन्ने भएको छ’, उनले भने, ‘अर्को कुरा विभागले क्षतीपुर्ती भराई दिने र अदालतमा मुद्धा दायर गर्ने भएकाले पनि उजुरी संख्या बढेको हो ।’


त्यसोत अन्य कारणमा ठगीएकाले पनि वैदेशिक रोजगारीमा ठगीएको कागज बनाएर उजुरी गर्ने गरेको उनले बताए । विभागले विगतका बर्षभन्दा प्रभावकारी रुपमा उजुरी छानवीन र कारवाही गरिरहेको उनको भनाइ छ । 


व्यवसायीको आफ्नै दावी
नेपाल वैदेशिक रोजगार व्यसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तना जानेको संख्या घट्दै गएपनि उजुरी र दावी कम बढेकोमा विभाग, व्यवसायी संघ र विदेश स्थित कुटनीतिक नियोगले छानवीन गर्न जरुरी भएको बताउँछन् । 


‘यो विषयमा छानवीन आवश्यक छ, संघले पनि यस्ता विषयमा छलफल गरिरहेकै छ’, उनले भने, ‘फ्रि–भिषा, फ्रि–टिकटमा गएर बढी रकम लिएको भनि उजुरी गर्ने क्रम वढेकाले पनि संख्या बढेको हुनसक्छ ।’ यस्तै, उजुरी कुन वेसमा परेको छ भनेर छानवीन आवश्यक रहेको उनको तर्क छ । 

स्केच सौजन्य : विजनेस सन्सार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप