शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फोटो नै बोल्छ – पौडेल र प्रहरीको मुठभेड ‘कलाबिहीन’ नाटक !’

सांसदले भने, ‘गृहमन्त्रीले आफ्नो विगत किन बिर्सनुभयो ?’
सोमबार, ०९ असार २०७६, १३ : ३९
सोमबार, ०९ असार २०७६

काठमाडौँ– संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सत्तापक्षकै सांसदहरुले गृहमन्त्री र प्रहरी प्रशासनको शैलीमाथि प्रश्न उठाएका छन् । गत असार ५ गते सर्लाहीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता कुमार पौडेलको मृत्युमा प्रहरीले मुठभेड भनेपनि सांसदहरुले त्यसलाई कलाबिहिन नाटक भनेका छन् । कतिपय सांसदहरुले यो घटनापछि सरकारले नै पुन द्वन्द्व सिर्जना गर्न खोजेको आरोप समेत लगाएका छन् ।

सोमबार समितिले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालाई बैठकमा डाकेर छलफल गरेको थियो । छलफलमा गृहमन्त्री थापाले प्रहरीसँगको मुठभेडमा पौडेलको मृत्यु भएको दावी पेश गरेपनि सांसदरु प्रश्नमाथि प्रश्न गर्दै सरकारको भनाईमा विस्वाश गर्न तयार देखएिनन् ।

नेकपाका सांसद झपट रावलले प्रहरीले पौडेल मुठभेडमा मारिएको भनेर कलाबिहिन नाटक गरेको आरोप लगाए । उनले भने,‘नाटक गरेपछि कमसे कम ढङ्ग पुर्याएर त गर्नुपर्छ । यो त ढङ्ग नपुर्याएर गरेको कलाबिहिन नाटक हो । घटनाको प्रकृतिले मान्छे मर्यो भन्दा पनि काल पल्क्यो भन्ने देखायो ।’

उनले घटनाको तथ्य जे आएको छ, प्रहरीले दिएको विवरणसँग त्यसको कुनै साइनो नभएको भन्दै तत्काल घटनाकोे छानविन गर्नुपर्ने माग गरे । उनले विप्लव समुहप्रति सरकारको बुझाई के हो ? भन्दै प्रश्न गर्दै वार्ताको माध्यमबाट समस्याको हल खोज्न आग्रह पनि गरे ।

यस्तै नेकपाका अर्का सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले विगतमा झै प्रहरीले मुठभेडको नाम दिएको बताए । उनले पौडेलको हात ६÷७ ठाँउमा कसरी भाँचियो भन्ने प्रश्न गर्दै प्रहरीले न्यूनतम् मानवअधिकारको पनि पालना नगरेको बताए ।

कठघरामा गृहमन्त्री : कुमार पौडेल भिडन्तमा मारिए, गोली लागेका एक जना भागे 

अर्की सांसद रेखा शर्माले पौडेलको शवको भाइरल फोटो हेर्दा भिडन्तमा मारिएको भन्न नसकिने बताइन् । विगतमा पनि मुठभेडका नाममा यस्तै हुनेगरे बताउँदै उनले सो घटनाको निष्पक्ष छानविन गर्न माग गरिन् ।

शर्माले प्रहरीले मृतकबाट बरामद गरेको भनिएको सामग्री फ्युज वायरबाट बम बिस्फोट हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरिन् । उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई सोधिन् ‘झोलामा पेस्तोल बोकेको भनिएको छ, झोलामा भएको पेस्तोलबाट दोहोरो भिडन्त हुन्छ ? चन्दा असुलीमा संलग्न भनिएको छ तर चन्दाका लागि रसिद किन बरामद भएन ? फोटो हेर्दा दोहोरो भिडन्त देखिँदैन, विभत्स तरिकाले हात भाँचिएको छ । के विप्लव समुहलाई मारेर सक्छु भन्न खोजेको हो ? राज्य पक्षबाट आएको जवाफ सन्तुष्ट हुने खालको छैन ।’

कुमार पौडेल प्रकरणमा जनार्दन शर्मा : हामीसँग जनताको रिर्पोट छ, गोली हानेको मान्छेको ५/६ ठाउँमा हात कसरी भाँचियो ?

नेकपाकै सांसद महेश्वरजंग गहतराजले घटनाबाट मुठभेड भन्ने नदेखिने भन्दै प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको बताए । यो व्यवस्थालाई अप्ठ्यारो पार्न विभिन्न गतिबिधी भइरहेको भन्दै उनले प्रतिशोध साँध्ने तरिकाले पनि यस्ता घटना बढिरहेको गरे । ‘के विप्लव समुहसँग वार्ताको बाताबरण समाप्त भइसकेको हो ?’ उनले प्रश्न गरे ।

यस्तै नेपाली काँग्रेसका सांसदहरुले पनि कुमार पौडेलको बर्बरतापूर्वक हत्या भएको भन्दै छानविनको माग गरे । काँग्रेस सांसद डिला सङ्ग्रौलाले गृहमन्त्रीले आफ्नै विगत विर्सिएको भन्दै पौडेलको हातखुट्टा बाँधेर हत्या भएको परिवारले बताएको उल्लेख गरिन् । यस्तै दिलेन्द्रप्रसाद बडुले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुन विपरितको घटना भएको भन्दै गृहमन्त्री आफैले संसदमा बोल्दै विप्लव समूह शक्तिशाली बन्दै गएको, ४ कम्पनी सेना रहेको बताउने तर वार्ताको लागि किन पहल नगरेको भन्दै प्रश्न गरे ।

कुमार पौडले प्रकरणमा कुन सांसदले के भने :

डिला सङ्ग्रौला

गृहमन्त्रीले आफ्नो विगत किन बिर्सनुभयो ? मुलुकलाई कहिलेसम्म द्वन्द्वमा लगिरहने ? परिवारले हातखुटट बाँधेर हत्या गरेको बताएका छन् । घटनाको निष्पक्ष छानविन होस्, फेरि देशलाई द्वन्द्वमा लाने काम नगरियोस् ।

रेखा शर्मा

केही समयअघि पूर्वमा पनि यस्तै घटना भएको थियो, किन यसरी घटना घटाइदैछ ? कुमार पौडेलको शबको फोटो भाइरल भएको छ । त्यसमा हात भाँचिएको छ । फोटो हेर्दा भिडन्तमा मारिएको देखिदैँन । विगतमा पनि मुठभेडका नाममा यस्तै भएको थियो । यो घटनामा निष्पक्ष छानविन हुनुपर्छ । म पहिला १ बर्ष जेल बसको बेला पनि यस्तै घटना हुने गरेको थियो ।

दिलेन्द्र प्रसाद बडु

सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । कुमार पौडेलको हात भाँचिएको र नियन्त्रणमा लिएर हत्या गरिएको भन्ने कुरा आएको छ । यो त अन्र्तराष्ट्रिय कानुन बिपरितको घटना भएको छ ।

यो घटनालाई सरकारले स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले नै संसदमा बिप्लव समुहले कम्पनी बनाएको शक्तिशाली बन्दै गएको बताउनुभएको थियो । यस्तो हो भने विप्लव समुहलाई बार्तामा किन ल्याउनुहुन्न ? तपाईंहरुले नजिकको विगतलाई बिर्सन हुदैन । गिरिजाप्रसाद कोइरालाले शान्तिप्रक्रियालाई अघि नबढाएको भए तपाई हामी कहाँ पुग्थ्यौं ? तपाईहरुबाट नै शान्तिप्रक्रिया खलबलिने हो कि भन्ने शंका उत्पन्न भएको छ ।

यशोदा सुवेदी

मारिएका कुमार पौडेलको साथबाट प्रहरीले जुन कुरा बरामद गरेको छ, त्यसमा प्रश्न उठाउने धेरै ठाउँ छन् । फ्युज वायरबाट बम बिस्फोट हुन्छ कि हुँदैन ? झोलामा पेस्ताल बोकेको भनिएको छ, झोलामा भएको पेस्तोलबाट दोहोरो भीडन्त हुन्छ ? चन्दा असुलीमा संलग्न भनिएको छ तर चन्दाका लागि रसिद किन बरामद भएन ? पौडेलको शबको फोटो हेर्दा दोहोरो भिडन्त देखिदैन, विभत्स तरिकाले हात भाँचिएको छ । विप्लव समूहको असमतिको विषय के छ सहमतिको टेबुलमा ल्याँउनुपर्छ । के विप्लव समुहलाई मारेर सक्छु भन्न खोजेको हो ? राज्य पक्षबाट आएको जवाफ सन्तुष्ट हुनेखालको छैन । मानवअधिकार हनन् गरिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ । प्रहरीले यस्तो गर्दै जाने हो भने उनीहरुकै पक्षमा सहानुभूति झन बढ्दै जान्छ । 

महेश्वरजंग गहतराज

त्यो घटना मुठभेड भन्ने देखिदँैन । प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको देखिन्छ । यो राम्रो विषय होइन । नेपाली जनता शसंकित छन्, यो व्यवस्थालाई अप्ठ्यारो पार्ने गर्ने विभिन्न गतिविधी भइरहेका छन् । प्रतिशोध साँध्ने तरिकाले पनि यस्ता घटना बढिरहेका छन् । विप्लव समुहसँग बार्ताको बाताबरण समाप्त भइसकेको हो ? सरकार खराब क्रियाकलाप गर्नेहरुको पनि अभिभावक हो । कसैले खराब काम गर्छ भने पनि त्यसलाई कानुुनी प्रक्रिामा ल्याएर सुधार गर्नुपर्छ । तराईमा राज्य टुक्राउँछु भनेर हिँडेको समुहलाई त मुलधारमा ल्याइएको छ भने विप्लव समूहलाई ल्याउन किन सक्दैन ?

जनार्दन शर्मा

अब फेरीपनि हामी द्वन्द्वतिर होइन, शान्तितिर नै जानुपर्छ । राजनीतिक रुपले अर्को द्वन्द्वको सुरुवात हुनु हुदैन । संविधानले सबै ब्यवस्था गरिसक्दा पनि मुलुक फेरी द्वन्द्वको बाटोमा अघि बढनु हुँदैन । हामीसँग संविधान छ । यसको सरकार र हामी सबैले पालना गर्नुपर्छ । अहिले देखिएको समस्या भनेकै संबिधानको कार्यान्वन नगर्नु नै हो । सबै पक्षले इमान्दारिता पूर्वक संविधानको कार्यान्वन गर्नु नै ठूलो कुरा हो ।

पछिल्ला समयका घटनाक्रम हेर्दा जनताको मनोभावना बुझेर मात्रै कानुन बनाउनुपर्ने रहेछ भन्ने बुझिन्छ । जनसरोकारवालाको पनि सम्बन्ध हुनुपर्छ भन्ने पुष्टि भएको छ । गुठी बिधेयकको विषयमा नेवार समुदायले जुन सम्यमता देखायो, उसले शान्तिपूर्ण आन्दोलन गर्यो, त्यसले ठूलो द्वन्द्व हुन पाएन । हामी त्यो दुर्घटनाबाट बचेका छौँ । नाकाहरुमा कति गाडि आयो भन्ने त तपाईंहरुको पनि रेकर्ड होला । त्यहाँ घुसपैठ गरेर द्वन्द्व भड्काउन खोजिएको थियो । द्वन्द्व भड्काएर अहिलेको परिवर्तनलाई संस्थागत हुन नदिने समूहहरु सक्रिय छन् । 

हामीसँग संविधान भएपछि त्यसलाई नमान्ने समूहलाई संविधान अनुसार नै कारबाही गर्ने व्यवस्था छ । अहिले झन् हामीले विप्लव समूहलाई थप प्रतिबन्ध लगायौँ । प्रतिबन्ध लगाउन आवश्यक थियो कि थिएन ? मेरो विचारमा थिएन भन्ने हो । किनभने कानुनले अधिकार दिएकै थियो हामीलाई । त्यस्तो गतिबिधी गरेपछि, हतियार बोकेपछि त्यसलाई समात्ने अधिकार त अघिपछि पनि छँदै थियो । 

तर अहिले आएर घटनाहरु जसरी भइरहेका छन्, गृहमन्त्रीको जसरी रिर्पोट सुनियो । गृहमन्त्रीले तलबाट जे आयो त्यही नै प्रस्तुत गर्नुभयो म जान्दछु । तर कुरा के हो भने आजको दुनियाँ डिजिटलमा छ । आजको जनता धेरै सेचत भइसकेको अवस्थामा तथ्यहरुलाई बङग्याएर हैन, तथ्यहरु गल्ति भएको सच्याएर जानुपर्छ । त्यसले मात्रै शान्तिप्रक्रिया अघि बढाउँछ ।

अहिले प्रहरीमा अनुसन्धानमा, साधन स्रोतमा कमजोरी हैन, सबै जानकारी थाहा होला । आईजीसाबलाई कहाँ के गतिबिधी भइरहेको छ तुरुन्तै सुचना आउछ अहिले ? सबै उपकरण छ, को कहाँ बस्छ सबै थाहा हुन्छ । थोरै थाहा नहुने, जानकारी नहुने कुरा हो र ? प्रविधिले जानकारी गराँउछ त्यो समस्या हैन ।

प्रहरीले घटनालाई मुठभेड भनेर रिर्पोट दिएको छ तर जनताको पनि रिर्पोट छ । तथ्य छ, फोटाहरु छन्, त्यो फोटो त प्रहरीले दिएको हो । को थियो र त्यहाँ मुठभेडमा ? प्रहरीले दिएकै फोटो हेर्यो भने पाँचछ ठाँउ त हातै भाँचिएको देखिन्छ  । पहिला हात खुट्टा भाँचेर गोली हानेको अवस्था कसरी मुठभेड हुन सक्छ ? कि गोली हानेपछि भाँचियो त हातखुट्टा ? त्यसो त हैन । त्यसकारण यस्तो घटनाले बिद्रोह र जनतामा असन्तुष्टि आउँछ । 

यो हत्याले मैले हिजोको मेलगढी घटना सम्झे, जहाँ धनमाया, ललि रोकाको हत्या भएको थियो । विभिन्न अप्रेशनका नाममा मारिएको थियो । के फेरी त्यही घटना प्रबृतिलाई दोहोर्यान चाहन्छौँ ? त्यो मान्य हुँदैन त्यसो गर्न पाइदैन । प्रहरीले नियन्त्रणमा लिन सक्छ, संविधान अनुसार कारवाही गर्नुपर्छ । पाँच सय जना कार्यकर्ता त पक्राउ गर्नुभएको छ नि, त्यसमा हामीले प्रश्न उठाएका छौँ र ? त्यसलाई बार्तामार्फत अघि बढाउनुपर्छ । कमसेकम साधारण मानवअधिकारको त पालना त गर्नुपर्छ ।

हिजो प्रहरीले पनि त्यस्ता घटना नघटाइदिएको भए हामीसँग जनसमर्थन बढ्दैनथ्यो कि । त्यसैले प्रहरीले पनि द्वन्द्वलाई बढाउने काम गर्नुहुँदैन । यो घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाही होस् ।

रामसहायप्रसाद यादव

कुमार पौडेलको हत्या मुलुकका लागि दुर्भाग्य हो । यो घटनालाई सामान्य रुपमा नहेरियोस् । धेरै जनताले यो घटनालाई दोहोरो मुठभेड मानेका छैनन् । यदि राज्यको त्यो नीति हो भने ठूलो दुर्भाग्य हुन्छ । पहिले जस्तो जनतालाई मुर्ख ठानेर शासन गर्न सम्भव छैन । यो घटनालाई राज्यले संबेदनशील घटनाको रुपमा लिनुपर्छ ।

मिना पाण्डे

म त बैठकमा ढिलो आएँ । गृहमन्त्री ज्यूले बोलिसक्नु भएछ । उहाँको कुरा मैले सुन्न नपाएपनि दोहोरो भिडन्तमा मारिएको भन्नुभयो होला । तर त्यो दोहोरो भिडन्त नभएर बर्बर याताना दिएर हत्या गरेको हो । त्यसबारेमा फोटो नै बोल्छ ।  मैले पाएको सुचना अनुसार लासलाई अचेत अस्वस्थामा हातमा कन्चटमा र पिठ्युमा ३ गोली हानिएको रे । सामान्य मान्छेले त्यो लास हेर्न नसकिने अवस्थामा थियो । सामान्य मन भएको प्रहरीले त्यसरी हत्या गर्न सकेन होला । पेशेवर हत्याराले जस्तै हत्या गरिएको जस्तो छ । प्रहरीले पेशेवर अपराधीलाई हत्या गर्न लगाएर आफूले जिम्मा लिएको हो कि भन्ने लाग्छ ।

लासको प्रकृति हेर्दा मुठभेड हैन । गोठालाहरुले त्यो जङगलमा गोली चलेको छैन भनेका छन् । यसले त राज्यलाई द्वन्द्वमा धकेल्छ । यो देशले फेरी द्वन्द्वकोे सामना गर्न सक्दैन । उनीहरुसँग बार्ता मार्फत समस्याको समाधान गर्नुपर्छ ।

झपट रावल

विप्लव समूह राजनीतिक हो भने एउटा कोणबाट छलफल गर्नुपर्छ । विप्लव समुहप्रति हाम्रो बुझाई के हो ? सबैभन्दा पहिला यसलाई प्रष्ट पार्नुपर्छ । यो घटनाको सन्र्दभमा त म के भन्छु भने कलाबिहिन नाटक प्रर्दशनको संज्ञा दिन चाहन्छु । कता प्रस्तुत गर्दा पनि ढङ्ग पुर्यायो भने त्यो रोचक हुन्छ, शिक्षाप्रद हुन्छ, आनन्ददायक हुन्छ, मनोरञ्जनात्मक हुन्छ । तर कलाविहीन ढङ्ग नपुरयाएको नाटक हो भने अघि भनिएका चिजहरु प्राप्ति हुँदैनन् । घटनाका बारेमा माननीयज्यूहरुले धेरै भनिसक्नुभएको छ । तत्काल यो घटनाको बारेमा छानविन गर्नुपर्छ । तथ्यहरु जुन आएको त्यसको र घटनाको प्रकृतिको कुनै साइनो छैन । कानुन भन्दा माथि कोही हुन सक्दैन ।

घटनाको प्रकृतिले मान्छे मर्यो भन्दा पनि काल पल्क्यो भन्ने देखायो । फेरी पनि घटना घटाउने र जवाफ दिइरहने ? संसारमा क्रान्ति पछि पनि प्रतिक्रान्ति गर्ने समुह हुन्छन् त्यसको कसरी ब्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ ।

फेरी पनि मेरी दिदीको सिउँदो पुछिएको हामी हेर्न सक्दैनौँ, आमा छोराछोरीको टुहुरा भएको हेर्न सक्दैन । यो समस्या समाधान गर्नका लागि तत्काल पहल लिनुपर्छ ।

तिर्था गौतम

त्यो मान्छे यो देशको लागि पनि काम लाग्न सक्थ्यो । हामीले देशलाई फेरी द्वन्द्वतिर लान थालियो । उसलाई नियन्त्रणमा लिएर कारवाही पनि गर्न सकिन्थ्यो । फेरी पनि एउटा नेपाली मारियो । यसबाट हामीले के पायौँ । घटनाको बारेमा सत्यतथ्य छानविन होस ।

बैठकमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले गृहमन्त्री थापाले दिएको जानकारी नै आफूसँग पनि रहेको भन्दै मृतक पौडेलको विगतको गतिबिधि प्रस्तुत गरेका थिए । उनले २०७२ सालमा सागरनाथ जङ्गलको काठ बेचेको, सागरनाथ सार्वजनिक जग्गामा बसोबास बसाउने र लालपूर्जा दिलाउने भन्ने आश्वासन दिएको, विप्लव समूहमा प्रवेश गरेपछि भूमिगत भएपछि चन्दा आतंक मच्चाएको, चन्दा नदिए धम्क्याँउने, जनप्रतिनिधिलाई १० लाख चन्दा माग गरेको, विभिन्न ठाँउमा बम बिस्फोट गराउने, सवारी साधनमा आगजनी गर्ने काम गरेको दावी गरे ।

जनमानसबाट विगत ३ महिनादेखि गुनासो आएपछि प्रहरीले निगरानी गरिरहेको उनको भनाई छ । परिस्थिति उत्पन्न नभई यस्तो घटना नभएको भन्दै उनले ६ सय ४० भन्दा बढी कार्यकर्ता पक्राउ गरिएको पनि उल्लेख गरे । 

सांसदहरुको प्रश्नको जवाफ दिंदै गृहमन्त्री थापालेविप्लवसँगको समस्या गम्भीर समस्या भन्दै राजनीतिक रुपमै हल गर्नुपर्छ भनेर प्रयत्न भइरहेको उल्लेख गरे ।

उनले भने, ‘विप्लवहरुको गतिबिधीलाई कानुनी प्रक्रिया अनुसार नियन्त्रणमा लिनुपर्छ भन्ने नीति अनुसार अहिले देशभरी काम भइरहेको छ । विगतमा पनि हामीले प्रयास गरेका हौँ, विप्लवहरु यसलाई गम्भीरतापूर्वक लिएनन् । सरकारको बिरोधीलाई मुठभेडको नाममा कारबाही गर्ने नीति छैन । फैजीदेखि राजनीतिक नेतृत्वलाई नियन्त्रणमा लिइएको थियो । कुमारको घटना आयो, त्यो भन्दा उच्च तहको लागि त्यसो गरिन्थ्यो होला तर त्यसो हैन ।’

मन्त्री थापाले सुझावको ध्यानाकर्षण भएको बताउदै छानविन गर्ने जानकारी पनि गराए ।  राज्यव्यवस्था समितिको बैठकले मन्त्री थापालाई एक हप्ताभित्र घटनाको प्रतिबेदन बुझाउन निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप