साझा–विवेकशीलको ‘नैतिकता’मा अल्झिएको समृद्धि

person access_timeसाउन २५, २०७४ chat_bubble_outline0

जारी स्थानीय तह दोस्रो चरणको निर्वाचन सकिएलगत्तै बजारमा नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमबीच एकीकरणको खुब चर्चा पायो तर त्यो विगतमा जस्तै यसपटक पनि टुङ्गोमा पुग्न सकेन । नयाँ शक्ति र समाजवादी फोरमका एकीकरण वार्ता टुट्दै गर्दा अर्का दुई वैकल्पिक शक्ति साझा पार्टी र विवेकशील नेपाली दलले भने पार्टी एकीकरणको घोषणासभा सम्पन्न गरे । एउटा वैकल्पिक शक्तिले आन्तरिक पार्टी जीवनलाई चुस्त बनाउन साङ्गठनिक पुनःसंरचनाको घनीभूत बहस गर्दैगर्दा केही सय मिटरको दूरीमा अर्का दुई वैकल्पिक शक्तिले एकताको घोषणा गरे । सम्भवतः आफूलाई वैकल्पिक शक्तिका रुपमा सगर्व उभ्याएको नयाँ शक्तिको पुरानै ठानिएको सङ्घीय समाजवादी फोरमसँगको एकीकरणको ‘वैकल्पिक टाइटल’ खोस्नकै लागि साझा र विवेकशीलले फास्ट ट्र्याक एकीकरण गरेका होलान् ।

भित्री मनसाय जेसुकै होस्, विचार मिल्ने राजनीतिक पार्टीहरु एक भएकै राम्रो । चाहे पारम्परिक हुन् वा वैकल्पिक शक्तिहरु । त्यसो त साझा र विवेकशील मिलेर बनेको विवेकशील साझा पार्टीले आफूलाई देशको वैकल्पिक शक्तिको रुपमा दाबी गरिरहँदा उनीहरुको विकल्प निर्माणका बृहत आर्थिक, सामाजिक एवं राजनीतिक आधारशिला के हो भन्ने प्रश्न भने अद्योपान्त अनुत्तरित नै छ । साथै उनीहरु सैद्धान्तिक विचार अनि साङ्गठनिक अवधारणाको जगमा भने अझै पनि कमजोर र अस्पष्ट नै प्रतीत हुन्छन् । अहिलेसम्म जेजति चर्चा परिचर्चा, अभिव्यक्ति अनि दस्तावेजहरु सहज रुपमा बाहिर आएका छन् त्यसमा मूलतः दुई पार्टीको सैद्धान्तिक आधार र राजनीतिक कार्यदिशा नैतिकता र इमानदारिता जस्तो अमूर्त व्याख्याले नै ओगटेको देखिन्छ । 


उनीहरुको राजनीतिक लाइनले भन्छ, मूलतः पुराना पार्टीहरुमा राजनीतिक नैतिकता हरायो, त्यसैले अब नैतिकता र इमानदारितको राजनीति गर्नुपर्छ, बाँकी कुरा सबै ठिकठाक हुन्छ । पार्टी र राजनीति गर्ने नेताहरुमा नैतिकता र इमानदारिता भएन, त्यसैले देशको विकास पनि भएन, समृद्धि पनि आएन । त्यसैले सबैमा नैतिकता र इमानदारिता भयो भने देश प्रगतिपथमा लम्किन्छ र विकासको बाटोमा आफै अघि बढ्छ भन्ने साझा विवेकशीलको ठम्याइ रहेको देखिन्छ । अनि साझा विवेकशीलको विवेकशीलले आफूलाई अबको राजनीतिक रथ हाँक्न पछिल्लो जेनेरेसनको युवा पुस्तामैत्री ठानेको दखिन्छ भने साझाले देशका विज्ञहरुको समूहको रुपमा प्रतिविम्बित गरेको देखिन्छ । 


साझा विवेकशीलले यसैलाई वैकल्पिक राजनीति निर्माणको आधार मानेको देखिन्छ । के यतिले मात्र पुग्छ ? निश्चित रुपमा साझा र विवेकशीलको राजनीतिक उद्देश्यप्रति शङ्का गर्नुपर्दैन तर, त्यसमा विद्यमान समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक जटिलता र त्यसबीचको विविधताको अन्तरसम्बन्धलाई मसिनो गरी नकेलाइकन केवल नैतिकता र इमानदारिता भएन भनेर मात्र विकल्प निर्माण हुन सक्दैन । अनि केवल नैतिकता र इमानदारिताको सङ्कटकै कारण विकास र समृद्धि हासिल नभएको तर्क गर्नु केबल चलनचल्तीको बौद्धिक फेसन मात्र हो । खासमा हामीले यो देश किन बनेन ? भनेर प्रश्न गर्दैगर्दा यो देश कस्तो बन्नुपर्दथ्यो ? किन त्यस्तो बन्न सकेन ? भनेर अर्को ढङ्गबाट पनि प्रश्न गर्न सकिन्छ ।


देश किन बनेन ? प्रश्नको जवाफ खोज्दै लेखक एवं विश्लेषक आफ्नो पुस्तक माङ्गेनामा प्रतिप्रश्न गर्छन्– ‘जवाफ अमूक नेताको व्यक्तिगत इमानदारी, नैतिकता वा सदाचारमा होइन, खास प्रकारका व्यक्ति जन्माउने राज्य र समाजको चरित्रमा खोज्नुपर्ने होइन र ?’ नेपालका आर्थिक इतिहासकार एमसी रेग्मीको हवाला दिँदै उनी आफ्नो निष्कर्ष पेश गर्छन्– ‘राज्य र जनताको बीचमा एकअर्कालाई विकसित गर्ने सम्बन्ध विकास नगरेसम्म उन्नति (समृद्धि) तिर जाने बाटो भेटाइँदैन । त्यसका लागि सामाजिक, आर्थिक, राजनीतिक अन्तरविरोध हल गर्दै जानुपर्ने हुन्छ । रेग्मीलाई पढेर जरा बुझ्ने हो, जराको उपचार गर्ने हो । इमानदारी, सदाचार र नैतिकता त्यही उपचारबाट पैदा हुन्छ ।’ हो, आफूलाई वैकल्पिक शक्ति भनेर दाबी गर्ने साझा विवेकशीलको समाजको अन्तरविरोध पहिल्याउने र समाजको जरासम्म पुग्ने

अर्थराजनीतिक दृष्टिकोण के हो ?
विवेकशील साझा एकीकरण घोषणासभालाई सम्बोधन गर्दै तत्कालीन विवेकशील पार्टीका अध्यक्ष एवं नयाँ एकीकृत पार्टीका एक जना सहसंयोजक उज्ज्वल थापाले आफूहरु नेपाललाई विश्वको केन्द्रविन्दु बनाउन राजनीतिमा लागेको र नेपाललाई विद्यमान खराब राजनीतिक संस्कारले त्यस्तो केन्द्रविन्दु बनाउन रोकेको बताएका थिए । ठीक हो, अहिलेको राजनीति खराब छ, त्यसैले त्यो खराब राजनीतिलाई बदल्नकै लागि वैकल्पिक राजनीति चाहिएको हो । यसका लागि अहिलेको समकालीन समाजको अर्थराजनीतिक चरित्र, सामाजिक तथा सांस्कृतिक सम्बन्ध अनि व्यक्ति र समाजबीचको अन्योन्याश्रित उत्पादन सम्बन्धको पारम्परिक प्रणालीको भेउ नपाउँदासम्म कसरी यो खराब राजनीति असलमा रुपान्तरित हुन्छ ? अनि त्यो उत्पादनसम्बन्धको भेउ खुट्याउने डक्ट्रिन के हो ?


समाजमा नैतिकताकै कमीले मात्र समकालीन राजनीति खराब भएको कसैले ठान्छ भने त्यो केवल अंश बुझाइ मात्रै हो । समग्र राजनीति खराब हुनुमा नैतिक शिक्षाको अभाव पटक्कै होइन, यो त शासकीय सामाजिक एवं सांस्कृतिक सत्ताले दिएको प्रतिफल मात्रै हो । यसो इतिहासको सिंहावलोकन गर्दा देखिने तथ्य के हो भने आम जनतालाई जहिल्यै पनि नैतिकता र इमानदारिताका पाठ घोकाउने अनि आफू चाहिँ चरम् अनैतिकतामा लिप्त हुने यो देशको शासकीय संस्कार नै हो । अनि अहिलेको वैकल्पिक राजनीतिको कोर्स त्यही अध्यावधिक गरिएको नैतिक शिक्षाको विषयसूचीले कसरी धान्ला ?


उता बीबीसीको जागिर छाडेर राजनीति सुरु गरेका पत्रकार रवीन्द्र मिश्रको राजनीतिको मूल प्रस्थानविन्दु पनि आदर्शवादी सोच र नैतिक शिक्षा नै देखिन्छ । त्यसो त उनको पुस्तक ‘खान पुगोस् दिन पुगोस्’मा पनि उनले त्यही नैतिकता, भावना र परोपकारी पक्षलाई जोड दिएका छन् । सम्भवतः उनको राजनीतिक यात्राको मार्गदर्शक सिद्धान्त पनि यही हो । यहीँनेर प्रश्न उठ्छ, बृहत्तर समाज र नागरिकको अधिकारलाई राज्य संयन्त्रमा स्थापित गर्ने राजनीतिको रथ हाँक्न केवल नैतिक शिक्षा र मनकारी सोचले मात्र पुग्छ ? के खालि ‘दिन पुगोस्’को नाराले मात्र ‘खराब राजनीति’को लय र गन्तव्य बदलिन्छ ? फेरि ‘दिन पुगोस्’ भन्ने सिद्धान्त स्थापना गर्नैका लागि पनि समाजमा ‘दिने’ र ‘पाउने’ वर्गलाई जीवितै राख्नुपर्ने भयो । वैकल्पिक राजनीतिले खोजेको दिनेले दिइ नै रहने र पाउनेले पाइ नै रहने अवस्थाको निरन्तरता हो या दिने र लिने संस्कारकै अन्त्य हो ? निश्चित रुपमा वैकल्पिक राजनीतिको लक्ष्य लिने र दिने अवस्थाको अन्त्य गर्दै सहअस्तित्व र सहकार्यको सिर्जना गर्नु हो र हुनुपर्छ ।


विवेकशील साझाको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै तत्कालीन साझा पार्टीका संयोजक तथा नवगठित पार्टीका अर्का सहसंयोजक रवीन्द्र मिश्रले पुराना पार्टीहरुले जनतालाई अधिकार दिलाउने नाउँमा राजनीति गरेको भन्दै अब आफूहरुले चाहिँ देशको समृद्धिको नेतृत्व गर्नका लागि राजनीति सुरु गरेको बताएका थिए । ठीक छ, हामी अहिलेसम्म राजनीतिक व्यवस्था फेर्ने आन्दोलनमा होमियौँ अब जनताको अवस्था फेर्न लाग्नुपर्छ । तर, मुख्य कुरा देशको समृद्धिको नेतृत्व गर्ने भन्दै गर्दा हामीलाई चाहिएको कस्तो समृद्धि हो र त्यो कसरी हासिल हुन्छ ? यो प्रश्नको उत्तर स्पष्ट हुनु जरुरी छ । 


अहिले सबैले विकास र समृद्धिको कुरा गर्न थालेका छन्, जुन सकारात्मक कुरा नै हो । तर हामीलाई चाहिएको कस्तो विकास कस्तो हो ? त्यस्तो विकासले जनस्तरमा कसरी अपनत्व ग्रहण गर्न सक्छ ? विकासको अर्थराजनीति के हो ? समृद्धि के हो ? के भयो भने समृद्धि हासिल हुन्छ ? देशमा ठूलाठूला भवन, बाटोघाटो, पुलपुलेसा, हवाइमैदान तथा खेलमैदान बन्नु मात्रै विकास हो ? अनि २००७ सालबाट भित्रिएको विकासको अवधारणाले आजसम्म आइपुग्दा जनतालाई किन सन्तुष्ट पार्न सकेन ? यिनै प्रश्नहरुको आलोकमा विकास र समृद्धिको व्याख्या खोजिनुपर्छ तब मात्र हामी सही गन्तव्यमा पुग्न सक्छौँ । 


यसर्थ, समृद्धिको नेतृत्व गर्छु भनेर मात्र हुँदैन । त्यसको बृहत अर्थराजनीतिक आधार अनि ऐतिहासिक अवस्थाको बारेमा वस्तुनिष्ठ बुझाइ अपरिहार्य रहन्छ । अनि यसका लागि केवल नैतिक शिक्षा, इमानदारिता अनि सदाचारको नारा भट्याएर मात्रै पनि हुँदैन । नेपालको राजनीतिक प्रणाली यति भ्रष्ट हुनुको अर्थराजनीति अनि सामाजिक कारणहरु खुट्याउनुपर्छ । किन यो आम प्रवृत्ति बन्यो ? यसमा शासकहरुको भूमिका कस्तो छ ? शासकहरुले कस्तो आर्थिक, सामाजिक एवं सांस्कृतिक सम्बन्धहरु स्थापित गरे, जसका कारण समाजको मनोविज्ञान नै देखावटी हुन पुग्यो ? यी सबै पक्षहरुको वस्तुनिष्ठ बुझाइ जरुरी हुन्छ । 


यस मानेमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको नयाँ शक्ति पार्टीको सैद्धान्तिक दृष्टिकोण तथा देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने राजनीतिक लाइन स्पष्ट देखिन्छ । नयाँ शक्तिले जुन गतिशील सन्तुलन (डाइनामिक ब्यालेन्स)को दार्शनिक मान्यतालाई नयाँ र वैकल्पिक दर्शनको रुपमा अङ्गीकार गरेको छ, यो नै अहिलेको गतिशील एवं जीवन व्यवहारको यथार्थ चित्रण पनि हो । त्यसैगरी देशको समृद्धिहुँदै समुन्नत समाजवादसम्म पुग्ने राजनीतिक कार्यदिशामा पनि कुनै द्विविधा छैन, त्यो सिद्धान्ततः स्पष्ट नै छ । नयाँ शक्तिले यो देशको सामाजिक, भाषिक, सांस्कृतिक विविधतालाई सम्बोधन गर्दै समावेशी समानुपातिक लोकतन्त्र अनि सदाचार र सुशासनलाई आर्थिक समृद्धिको पूर्वशर्तका रुपमा जसरी व्याख्या गरेको छ, यही नै हाम्रो अविकासको मूल कारण हो । 


देशको विकास र समृद्धिलाई केवल ‘नैतिकता र इमानदारिता’को काँचो धागोमा अल्झाएको विवेकशील साझा पार्टीले समाजको गहिरो अर्थराजनीतिक अध्ययन गरी सामाजिक मनोविज्ञानलाई बुझेर कुनै वैकल्पिक राजनीतिक सिद्धान्त प्रतिपादन गर्न सक्छ ? इमानदारिताको शिक्षा दिनु एउटा कुरा हो तर, वर्तमान समाजको बनौट अनि त्यसको उपरिसंरचना खोतल्दै समस्याको चिरफार गरेर उपचार गर्नु अर्कै कुरा हो । स्पष्ट छ नैतिकता र इमानदारिताको पाठ पढाएर मात्र देश समृद्ध हुँदैन, यहाँ अविकासको अर्थराजनीतिक कारण खोतल्नुपर्छ र समाजको विद्यमान अन्तर्विरोधको सही उपचार गर्नुपर्छ । तब मात्र विकास र समृद्धिको लय समाउन सकिन्छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ