मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लेजर : फेसन कि बाध्यता ?

आइतबार, ०८ असार २०७६, ०९ : ००
आइतबार, ०८ असार २०७६

हरेक मानिसमा सुन्दर देखिने चाहना हुन्छ । कुनै कारण सौन्दर्यता ह्रास आयो भने मानिस अनेकन उपायको खोजी गर्न थाल्छन् । त्यसैले पनि सुन्दरतालाई आत्मविश्वाससँग जोडेर हेर्ने गरिएको छ ।

प्रविधिको विकाससँगै विभिन्न समस्याको समाधान सजिलै हुन थालेको छ । यहाँ के भन्न खोजिएको भ यदि सुन्दरता विगार्ने गरी केही समस्या आएमा त्यसको सजिलै उपचार सम्भाव छ ।

सुन्दरता निखार्ने अचुक उपायको रूपमा विकास भएको एक प्रविधि हो लेजर । लेजर छाला प्रविधिबाट पुनरुत्थान गर्नेदेखि दाग, अनावश्यक रौँ, चाउरीपन, चाया, पोतो, पोलेको दाग, कोठी, खत, मखिया, चोटपटक खत लगायत छालामा देखिने कुनै पनि समस्यालाई अस्थायी र स्थायी रूपमा हटाउन सकिन्छ ।

लेजरको प्रयोग विभिन्न समस्यामा प्रयोग हुन्छ । जस्तो; मेडिकल क्षेत्रमा शल्यक्रिया, कुनै रोगको उपचार गर्न तथा शारीरिक सुन्दरताका लागि ।

लेजर जति उपयोगी प्रविधि हो उति नै मानिसमा कम जानकारी रहेको देखिन्छ । कतिले लेजरलाई फेसनको रूपमा मात्रै लिने गरेका छन् । तर लेजर फेसनभन्दा बढी बाध्यता हो । लेजरले छालालाई सुन्दर बनाउने मात्र होइन कि मानिसका आत्मविश्वास बढाउन पनि मद्दत गर्ने गरेको पाइन्छ । त्यसैले लेजरबारे स्पष्ट हुनु जरुरी छ ।

वास्तवमा लेजर के हो ? लेजर किन गर्ने र लेजर गरेपछिको अवस्थाबारे धुलिखेल अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ प्रा.डा. धर्मेन्द्र कर्ण

के हो लेजर ?

लेजर (LASER_ अथवा एल.ए.एस.ई.आर. ।

एल : लाइट (प्रकाश)

ए : एम्प्लिफिकेसन(प्रवद्र्धन)

एस : स्टिमुलेटेड (उत्तेजित)

इ : इमिसन (छर्र्नु)

आर : रेडियसन (विकिरण)

लेजर प्रकाश उत्सर्जन गर्ने पद्धति एक हो । लेजरको विकास सन् १९६० मा भएको थियो । नेपालमा यो प्रविधि सन् २००४ तिर मात्रै भित्रिएको हो ।

यसले इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको अप्टिकल एम्प्लिफिकेसन माध्यमबाट प्रकाश उत्सर्जन गर्छ । लेजरको प्रकाश दिशात्मक हुन्छ र यो मसिनो रेखा बनाएर निश्चित दिशामा केन्द्रित हुन्छ । यसले गर्दा यसको असर परसम्म पर्छ ।

लेजरबाट उत्सर्जन हुने प्रकाशको असरले काम गरेको हुन्छ । हाम्रा वातावरणमा भएका बत्ति वा प्रकाशमा धेरै तरङ्ग मिश्रण भएको हुन्छ तर लेजरमा ती प्रकाशका तरङ्गलाई एकत्रित गरिएको हुन्छ ।

अझ सामान्य रूपमा बुझ्दा लेजर हाम्रो वातावरणमा भएका प्रकाशलाई एकत्रित गरी त्यसमा थप पावर बढाइदिँदा आउने प्रकाश हो । अथवा छरिएर रहेका प्रकाशलाई एकत्रित पार्दा बनेको किरण नै लेजर हो

जस्तो; कन्भर्जेन्स लाइटलाई फोकप पोइन्टमा लैजाँदा उक्त लाइट एकत्रित भएर हिट प्रोड्युस गरिदिन्छ, त्यही नै हो लेजर । कुनै पनि लाइटहरू जुन छरिएर रहेका हुन्छन् ती लाइट फरक दिशामा फरक फरक वेब लेन्थमा हुन्छन् र त्यसको गति पनि फरक फरक हुन्छ । तर लेजर प्रविधिले यी छरिएका लाइटलाई एकत्रित गरेर एउटै वेब लेन्थमा एउटै भेलोसिटीमा प्रसारण गर्छ । यसलाई इलेक्ट्रिक म्याग्नेटिक लाइट पनि भनिन्छ ।

लेजरले के काम गर्छ ?

हाम्रो छालामा हुने कुनै पनि समस्या जस्तै; पोलेको दाग, जन्मजात दाग, चोटपटकका दाग, चाया, डण्डिफोरको दाग, ट्याटु, अनावश्यक रौँ, चाउरीलगायतका कुनै पनि समस्याको स्थायी समाधान गर्ने काम लेजरले गर्छ ।

लेजरबाट आँखी भौँ, काँखी मुनिको रौँ, यौनाङ्गका रौँ, महिलाको दारी जुँगा पलाउनु, पुरुषको छातीमा अत्याधिक रौँलाई हटाउन वा मिलाउन सकिन्छ ।

नेपालमा लेजरका नयाँ नयाँ प्रविधिप र उपकरण भित्रिएका छन् । सामान्य रूपमा हेर्दा छालाको उपचार

केही महँगो मानिए पनि प्रविधि र उपकरणको सही प्रयोग भएमा समस्या समाधान पूर्णरूपमा हुन्छ । कतिपय स्थानमा उपकरण भएर पनि सही प्रयोग नहुँदा बिरामी थप समस्यामा पर्ने गरेका उदाहरण प्रशस्त छन् । यसका लागि नागरिक आफू पनि सचेत हुन जरुरी हुन्छ ।

फरक फरक कामका लागि फरक फरक लेजरको प्रयोग हुन्छ  । मुख्यतया लेजर दुई प्रकारका छन् एब्लेटिभ लेजर र नन–एब्लेटिभ लेजर ।

एब्लेटिभ

एब्लेटिभ लेजर यस्तो लेजर प्रविधि हो, जसले छालाको माथिल्लो सतहमा मात्रै काम गर्छ । अथवा शरीरमा घाउ बनाएर गरिने लेजर एब्लेटिभ हो । छालासम्बन्धी समस्याहरू जस्तो; कोठी हटाउन, मुसा, दाग, मखिया आदिमा यो लेजर प्रविधिको प्रयोग हुन्छ ।

यसले शरीरको भित्री भागमा जहाँ पानी छ उक्त पानी भएको सतहको बाहिरी भागमा काम गर्छ । हड्डी भएको ठाउँमा यो लजरको प्रभाव हुँदैन ।

एब्लेटिभ लेजर पनि दुई प्रकारका छन् ।

सीओटु लेजर

सीओटु लेजर छालाको भित्री तहसम्म पुगेर काम गर्छ । यसको वेब लेन्थ १० हजार ६ सय हुन्छ हाम्रो । छालामा दुईवटा पत्र हुन्छ । एउटा इटिडर्मिस (छालाको माथिल्लो तह) र अर्को डर्मिस (छालाको भित्री तह) ।

चोट पटकको खत, चाउरी, झोलिएको छाला, डन्डिफोरका खत, आदि डर्मिसमा पर्दछन् ।  डर्मिसमा भित्री तह ड्यामेज भएको हुन्छ । जसलाई सीओटु लेजर गर्नुपर्छ । भित्री छालाको भाग जसमा चोट पटक वा अन्य कारणले गर्दा असर गरेको हुन्छ । सीओटुले भित्री भागलाई रिमोडलिङ (भित्री रेशाहरूलाई कस्ने काम) गर्ने भएकाले डर्मिसमा सिओटु लेजर गरीन्छ ।

अर्वियम लेजर (Erbium)

अरविन लेजरले छालाको माथिल्लो सतहमा मात्रै काम गर्छ । यो लेजरका वेब लेन्थ २ हजार ९ सय ४० हुन्छ । इपिडर्मिसमा हुने समस्याहरूलाई अरविन लेजर गरिन्छ । जस्तो कोठी, मुसा, मखिया चाया आदि इपिडर्मिसमा पर्दछन् । अरविन लेजर (एलडीआर लेजर) प्रविधिले जति कालो भाग छ उति छिटो काम गर्छ ।

यसैगरी अर्को लेजर पनि हुन्छ त्यो हो पल्स डाइयोलेजर । प्रविधि रातो छाला र रातो खत वा कोठीमा प्रयोग गरिन्छ ।

नन एब्लेटिभलेजर

नन एब्लेटिभ लेजर छालाको भित्री सतहमा काम गर्छ । जस्तो; हेयर रिमुभल लेजर नन एब्लेटिभ लेजरमा पर्छ । हेयर रिमुभल लेजरको प्रयोग गर्दा छालाको भित्री तहमा पुगी हिट उत्पादन गर्ने काम गर्छ ।

यो प्रविधिमा लेजर फायर गर्दा बाहिरी स्किनलाई असर नगरी रौँको जरामा गएर हिट गर्नेहुन्छ । काम जसले रौँको जरालाई ड्यामेज गरिदिन्छ र फेरि फेरि पलाउन पाउँदैन ।

हेयर रिमुभल लेजर प्रविधिको काम कालो चिजलाई नास गर्ने हो । हेयर रिमुभ गर्दा पनि छालाको तहमा रहेको कालो रौँको जरालाई नास गरिदिन्छ । हेयर रिमुभल लेजरले खैरो अथवा सेतो रौँमा काम गर्दैन तर कालो रौँमा भने राम्रो काम गर्छ ।

तपाईं हेयर रिमुभका लागि लेजर प्रविधिको प्रयोग गर्दै हुनुहुन्छ भने यो जान्नुपर्छ कि ख रौँमा यो लेजरको असर न्यून मात्रै हुन्छ ।

के लेजरको साइड इफेक्ट हुन्छ ?

लेजरको साइड इफेक्ट हुन्छ कि हुन्न भन्नेबारे धेरै अनभिज्ञ छन् । सामान्य रूपमा बुझ्दा साइड इफेक्ट प्रविधि, मेसिन, डाक्टर अनि बिरामीमा भर पर्ने कुरा होे । प्रविधिको प्रयोग सही तरिकाले भएको छ भने परिणाम राम्रो आउँछ ।

नेपालमा भित्रिएका सबै लेजर उत्कृष्ट छन् भन्ने छैन । हाल लेजर गर्ने ट्रेन्ड चलेको छ । तर ट्रेन्डको पछि लाग्नभन्दा पनि समस्याको सही पहिचान गरी डाक्टरको सल्लाहअनुसार गर्दा परिणाम राम्रो आउँछ ।

धेरै व्यक्ति लेजर गर्ने भन्दै हस्पिटल तथा क्लिनिक पुग्छन् । तर सीधै लेजरको सल्लाह दिनु गलत हो । सबैभन्दा पहिले त समस्याको पहिचान गरी लेजर गर्दा परिणाम आउँछ कि आउँदैन र अन्य समस्या छ कि छैन विचार गर्नु अत्यन्त जरुरी हुन्छ ।

लेजर गर्नुपूर्व कुनै पनि समस्या किन आयो भन्नेबारे जान्नु जरुरी हुन्छ । समस्याको पहिचान समाधानका लागि अन्य उपाय (उपचार) गर्नुपर्ने पनि हुन सक्छ । उपचारपछि मात्र लेजरमा जानुपर्ने हुन्छ ।

नयाँ नयाँ प्रविधिसँग लेजर टेक्निसियनलाई अपडेट गराउनका लागि लेजर कम्पनीहरूले प्रविधिबारे तालिम नै दिनेगर्छ । त्यसैले तालिम प्राप्त र वैधानिक स्थानमा गएर चेकजाँच गर्दा भोलि पछुताउनबाट जोगिन सकिन्छ ।

लेजर गरिसकेपछि सामान्यत छाला रातो हुने र यो रातो एक दुई दिन रहन सक्छ । त्यसबारे आफू प्रष्ट हुनुपर्छ र केही दिनमा यो सामान्य अवस्थामा आउँछ । नन–एब्लेटिभ लेजर गर्दा केही समय छाला रातो हुन्छ । त्यसपछि सामान्य अवस्थामा आउँछ । एब्लेटिभ लेजर गर्दा घाउ बनाउन पर्ने पनि भएकाले केही दिनमा सामान्य अवस्थामा आउँछ ।

कसरी गरिन्छ लेजर

लेजर गर्नुपूर्व समस्याको पहिचार गर्नुपर्छ । लगभग ३ हप्ता अघिबाट छालालाई तयार पार्नुपर्छ । जस्तो; छालालाई घामबाट जोगाउने, क्रिमको प्रयोगरी छालालाई लेजरका लागि तयार पारिन्छ ।

त्यसैगरी, लेजर गर्नुपूर्व ल्याव (रतगको टेस्ट जाँच) गरिन्छ । यदि अन्य कारणले छालामा समस्या आएको हो भने अन्य उपचारका लागि सिफारिस गरिन्छ ।

हेयर रिमुभल लेजरमा सबैभन्दा पहिले सेभिङ गरिन्छ । हेयर सेभिङ नगरी गर्दा लेजरले करौँलाई बाहिरै ड्यामेज गरिदिने भएकाले बाहिरी भागमा रौँ हुनुहुँदैन ।

कुनै घाउ खटिरा छ भने पनि लेजर गर्नु हुँदैन । लेजर लाइटले छालामा जानासाथ असर गर्ने भएकाले संवेदनशील अङ्गमा लेजर गर्नुपूर्व सावधानी अपनाउनुपर्छ । संवेदनशील अङ्गको वरिपरि गर्दा निकै होसियारीपूर्वक गर्नुपर्छ ।

कति पटकसम्म गर्नुपर्छ लेजर

लेजर कतिपटकसम्म गर्ने भन्नेबारे समस्या र प्रविधिमा भर पर्छ । कतिलाई अलि धेरै पटक लेज गरेपछि मात्र समस्या समाधान हुन्छ । मेसिन र समस्या हेरी समय निर्धारण गर्न सकिन्छ ।

विभिन्न कम्पनीका लेजरहरू नेपालमा भित्रिएका छन् । जस्तो; डायोड लेजर अलि महँगो र भरपर्दो भनिएको छ । यो लेजर ६ देखि ८ पटकसम्म गर्नुपर्ने हुन्छ । यसले अन्यको तुलनामा प्रभावकारी र छिटो परिणाम दिन्छ ।

अर्को होलङ पल्स लेजर । यो १२ देखि १५ पटकसम्म गरिरहनुपर्छ । यो डायोड लेजरभन्दा अलि सस्तो हुन्छ तर ढिलो प्रभाव देखाउँछ ।

अर्को हो आईपीएल लेजर । जुन २० पटकसम्म पनि गर्नुपर्ने हुन्छ । अन्यको तुलनामा केही सस्तो र ढिलो प्रभाव देखाउने लेजरमा पर्छ ।

कतिपयको सोचाइ लेजर गरेपछि समस्या पुनः आउँदैन भन्ने छ तर त्यो होइन । यदि हेयर रिमुभ लेजर गरेको छ भने लेजर गरेको रौँ आउँदैन तर अन्यत्रबाट रौँ पलाइरहेको हुन्छ र पुनः लेजर गरिन्छ । यो प्रक्रिया केही पटक चलिसकेपछि बल्ल रौँ आउने क्रम बन्द हुन्छ ।

हाम्रो शरीरको भिन्न भागमा भिन्न तरिकाले रौँ आउने भएकाले त्यसलाई कम गर्न बेलाबेला टच गर्नुपर्ने हुन्छ । केही वर्षसम्म समय समयमा लेजर गरिराख्ने हो भने यो निर्मूल नै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप