शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरिन्ज आक्रमणको हल्ला :

प्रहरी भन्छ, ‘सिरिन्ज होइन धारिलो हतियारले हानेजस्तो देखिन्छ’

शनिबार, ०७ असार २०७६, १७ : ४८
शनिबार, ०७ असार २०७६

काठमाडौँ । केहीदिन यता सामाजिक सञ्जालमा एउटा सामाग्री भाइरल भएको छ – ‘उपत्यकामा राती–राती युवतीहरुलाई सिरिन्ज हानिएको छ । सिरिन्ज हानेर मान्छेहरु भागेका छन् सावधानी अपनाउनुहोला ।’

यतिबेला सिरिन्ज आक्रमण नै हो भनेर मिडियाहरुले दावी गर्दै लेखेका छन् । सिरिन्ज आक्रमणबारे सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्ष्टाग्रामलगायतमा छ्यापछ्यापती विभिन्न समाचारहरु प्रकाशित भइरहेका छन् । 

तर, यता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी भने उपत्यकामा सिरिन्ज आक्रमण नभएको दावी गर्छन् । एसएसपी सुवेदी भन्छन्, ‘समाचारमा भनिएजस्तै सिरिन्ज आक्रमण होइन ।’

त्यसो भए के त ? सुवेदी भन्छन्, ‘सिरिन्ज नै हानेको पुष्टि हुँदैन । घाउ हेर्दा धारिलो हतियारले हानेको जस्तो देखिन्छ । हामी अनुसन्धानको निष्कर्ष नजिक पुगेका छौं । संलग्नको पहिचान भइसकेको छ, छिट्टै पक्राउ गर्छौं ।’ 

सिरिन्ज आक्रमणमा परेर घाइेत भनिएकाहरुको उपचारमा संलग्न चिकित्सकहरुले पनि सिरिन्ज हानिएको भनिएका यी घटना पुष्टि हुन नसकेको प्रहरीलाई बताएका छन् ।

घटनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीले अस्पतालमा उपचार गराइरहेकाहरुको आधार मान्ने हो भने सिरिन्ज आक्रमणमा परेको भन्ने खबरमा केही पनि आधार छैन । 

एसएसपी सुवेदी भन्छन्, ‘सिरिन्ज आक्रमणबाट घाइते भनिएका पीडितलाई उपचार गरिरहेका चिकित्सकको दाबी मान्ने हो भने, शतप्रतिशत सिरिन्जले घोपेको भनेर दाबी गर्न सकिदैन ।’

सिरिन्ज आक्रमणबाट पीडित भएकाहरुको टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरका उपचार भइरहेको छ । उनीहरुको उपचारमा डाक्टर अनुप बास्तोलागायतको टोली खटिएको छ । 

चिकित्सकहरुको भनाई उद्धृत गर्दै एसएसपी सुवेदी भन्छन्, ‘सिरिन्ज आक्रमण गरेको भनेर दाबी गर्न नसकिने विभिन्न कारणहरु छन् ।’

उनी थप्छन्, ‘सिरिञ्जले घोप्दा गहिरो चोट गहिरो लाग्छ । उपचारमा संलग्न युवतीमा लागेको चोट गहिरो छैन । जसको कारण काँटी या कुनै धारिलो हतियारले आक्रमण गरेको अनुमान गर्न सकिन्छ ।’  

प्रहरी स्रोतका अनुसार सातआघि लगभग एकै समयमा ठमेलको ग्वाल्खोपाखामा भएको सिरिन्ज आक्रमका घटनाहरु सामाजिक सञ्जालमा भाइरल भएको हो । 

एसएसपी सुवेदीका अनुसार घटना भएको स्थानको सिसिटिभी फुटेजमा बाइकमा सवार युवतीको नजिकबाट गएको देखिन्छ तर हातमा भएको वस्तु सिरिञ्ज जस्तो देखिन्न ।

सिरिन्ज आक्रमण भएको आशंकामा चिकित्सकहरुले एचआईभी विरुद्धको एआरटी औषधि र हेपाटाइटिस बि विरुद्को भ्याक्सिन दिएका छन् । यस्तै ती युवतीहरुको रगत जाँच पनि भइरहेको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटी अनुसार यस्तो केस नेपालमा पहिलोपटक भएको हो । 

‘हल्लै हल्लाको देश भनेर भ्रम फैलाउनुभन्दा पनि सचेत भएर बस्नु राम्रो हो,’ प्रवक्ता बोगटी भन्छन्, ‘डर फैलाएर मानिसहरुलाई मानसिक तनाव दिनेभन्दा पनि सचेत गराऔँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप