बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लघुकथा : वृद्धभत्तामा छोराको आँखा

शनिबार, ०७ असार २०७६, १७ : १५
शनिबार, ०७ असार २०७६

-किशोर सापकोटा

मनबहादुर बजारमा गएदेखि नाम पनि परिवर्तन गरेर मानार्थ राखेको थियो किनभने उसलाई मनबहादुर कस्तो कस्तो गाउँले नाम जस्तो लाग्थ्यो । बिहे गरेर काठमाडौँमा बस्न थालेको ९ वर्षपछि मानार्थ गाउँ जाँदै थियो । काठमाडौँबाट पोखरा बुद्ध एयरको जहाज अनि त्यसपछि पोखराबाट याङ्जाकोटसम्म जिपमा चढेर ऊ अस्ताउनभन्दा ठिक्क अगाडिको पहेँलो घाम हुँदा घर पुग्यो । 

उसकी वृद्ध आमा सन्तुमाया भान्सामा केही पकाउँदै थिई भने बा सन्तेमान पिढीमा बसेर फर्सीका मुन्टा र पाटे सिमी केलाउँदै थियो । मानार्थले बा भनेर बोलाउँदा उनको आँखा खुशीका आँशुले टिलपिल भए । उसले गल्र्याम्म अँगालो हाल्यो । ‘ओइ सन्तु बाहिर आइज त छिटो, को आको छ यहाँ ?’ उसले ९ वर्षसम्मको भाग एकै पटक मानार्थको चेहरामा हेर्दै भन्यो । ‘चामल पकाउँदै छु मानेका बाउ, अहिले आउन भ्याउँदिन’ भित्रबाट आवाज आयो । ‘माने आको छ, हेर् त’, भनेर उसले भनी नसक्दै सन्तु बाहिर आइसकेकी थिई । आँखा जतिसुकै धमिला भए पनि उसले आफ्नो छोरालाई प्रष्ट देखी । उसलाई माने पहिले केटाकेटी बेलाको जस्तै लाग्यो । ‘मेरो छोरा कसरी आयौँ नि बाबु, बिहान कतिबेला हिँडेको नेपालबाट ? बुहारी अनि मेरा नातिनातिना सञ्चै छन् ? ल्याएको भए कति हेर्दिहुँ, कसरी नलिई आउने ? भोक लाग्यो होला, हिँड भित्र । खाजासाजा केही खान्छौ कि एकछिनमै भात पाक्छ । एकै चोटि भातै खाने ?’ सन्तु फत्फताउँदै थिई ।

सन्तुका जोईपोइलाई मानेसँग रातभरि गफ गरेर बस्न मन थियो । तर माने खाना खाएपछि निद्रा लागे जस्तो गरेर  पल्लो कोठामा सुत्न गयो अनि उनीहरू पनि सुते । मानार्थले काठमाडौँमा श्रीमतीलाई सम्झियो । छोरा र छोरी के गर्दै होलान् । खाना खाए कि खाएनन्, ठूलो जहिले पनि बाबासँग सुत्छु भन्थ्यो, सुत्यो कि सुतेन इत्यादी । खासमा गाउँ आउन उसको न कुनै योजना थियो न त्यस्तो रहर नै लागेको थियो तर पनि अस्ति उसकी श्रीमतीले कताबाट सुनिछ, वृद्ध भत्ता बढ्यो भन्ने समाचार । उसले हिसाब गरिछे, दुइटा बाआमा को गरेर ६ हजार त महिनाकै आउने रहेछ । वार्षिक धन्नै एक लाख । अनि वृद्ध भत्ता पाउन थालेको थुप्रै वर्ष भयो । ती बुढाबुढीलाई किन चाहियो त्यत्रो पैसा गाउँमा, जानु मागेर ल्याउनु भनेर श्रीमतीले नै उसलाई अह्राएकी थिई । “नौ नौ वर्षसम्म भेट्न नगएको छोराले माग्यो भन्दैमा के देलान् र ?” भन्ने लाग्यो उसलाई । त्यही भएर नमागी आफै झिकेर ल्याउँछु भनेर उसले मदुस खोल्ने एउटा पेन्चिस, एउटा स्क्रुडाइभको समेत व्यवस्था गरेर आएको थियो । केही छिनपछि बाआमा अब निदाए होलान भनेर ऊ लचक लचक तलामा उक्लियो । अनि विस्तारै विस्तारै मदुस खोल्यो र त्यहाँ भएको सबै पैसा निकाल्यो । अनि, पहिलाको जस्तै गरेर मदुस बन्द गर्यो अनि गएर सुत्यो । उसले सोचेको भन्दा पनि बढी पैसा रहेछ । ऊ खुशी भयो । 

सन्तेका बुढाबुढीलाई रातभरी निद्रा लागेन । उनीहरु उही छोराको बारेमा सोचेर बसिरहे । मनेले राति तलामा गएर मदुस खोलेको पनि उनीहरुले थाहा पाएका थिए । सन्तेले मसिनो स्वरमा भनेको थियो, “ओई सन्तु, हेर त त्यसले सबै पैसा झिक्छ कि, अली अली राखे हुन्थ्यो, हामीलाई पनि त चाहिन्छ नि ।” “ए बुढा, अली अली त्यहीँ राखेर, अली अली लाने भए त हामी सँगै माग्थ्यो होला क्यारे नि, सबै लैजानलाई त लामो हात गरेको । केही भएन मानेका बाउ, आखिर दाल कहाँ पोखियो थालमा जस्तै त हो नि ।”

सन्तेका श्रीमान श्रीमतीले रातिको घटना केही पनि थाहा नपाएको जस्तो गरे । माने खानासाना खाएर ल अब म जान्छु भन्न थाल्यो । “ल हिजो साँझमा आएर आज बिहानै जान्छु भन्छ यो केटा त ? २, ४ दिन बसे हुँदैन ?” सन्तेले अनुहार मलिन बनाउँदै भन्यो । “जान्छु आमाबालाई नदेखेको धेरै भएको थियो । देखेर मात्रै भए पनि आउँछु भनेर आएको । केटाकेटीलाई अहिलेसम्म एक दिन पनि छोडेको थिइनँ, आत्तिन्छन् फेरि ।” मनेले निधारमा गाँठा पार्दै भन्यो । “ल त जान्छस् भने के गर्नु त । छोराछोरीलाई धेरै माया गर्नु बाबु, अर्को पटक आउँदा सबै जना आउनु ।” बुढाबुढी दुवैले एकै स्वरमा भने ।  

सन्तुले तरकारी, फलफूल, अनदिको चामल, सिरम्ला, काली गाइको घिउ आदि राखेर मादले झोला ठ्याम्म भरी बनाइदिई । मानार्थ झोला बोकेर लाग्यो उसको कर्मथलो । बाटाभरी उसले सोच्यो “मैले पैसा निकालेको कुरा बाआमाले कतिबेला थाहा पाउँछन् होला ? अनि मलाई त चौपट्ट गाली गर्छन् होला है ।”  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप