बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण हुन्छ मुटुको चाल गडबडी, समयमा उपचार नगरे ज्यानै जानेसम्मको खतरा (भिडियोसहित)

शनिबार, ०७ असार २०७६, १४ : ०३
शनिबार, ०७ असार २०७६

आधुनिक जीवनशैलीसँगै नेपालमा बिरामीको संख्या पनि बढ्दै गइरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोगीहरुको संख्या पनि उल्लेख्य मात्रामा बढेको पाइन्छ । मुटुसम्बन्धी रोगमा पनि मुटुको चाल गडबडी सम्बन्धी समस्या भएका नागरिक धेरै रहेका छन् । मुटु स्वास्थ राख्न र मुटुको चाल गडबडी सम्बन्धी समस्या समाधानको लागि ह्याम्स अस्पतालका मुटुरोग विशेषज्ञ डा. रोशन राउतले जानकारी गराएका छन्ः

कस्तो हुनुपर्छ मुटुको चाल ?
मुटुको चाल ६० देखि सयको बीचमा हुनु पर्छ । यो अवस्थालाई मुटुको चाल ठीक भएको मान्नु पर्छ । यदी मुटुको चाल ६० भन्दा निकै कम र सय भन्दा निकै माथि हुन्छ र  त्यो कुराले बिरामीलाई गाह्रो भयो भने मुटुको चाल गडबडी भएको भन्ने बुझ्नु पर्दछ । 

विस्तृत रुपमा भन्नु पर्दा मुटुको चाल निकाल्ने साइनस नोट भन्ने ठाउँ हुन्छ । त्यो ठाउँबाट मुटुको करेन्ट निकालेर मुटुमा बग्ने हुन्छ । र, मुटुको चाल ६० देखि सय हुन्छ । यदि मुटुमा चाल निकाल्ने साइनस नोटदेखि बाहेक अर्काे तन्तु भयो अथवा मुटुको निस्केको चाल करेन्ट बग्ने अर्काे तारहरु मुटुमा भएको खण्डमा चाल अत्याधिक मात्रामा बढी र कहिलेकाहिँ ती तारहरुमा करेन्टको कन्डकर्सन राम्रो नभएको खण्डमा कम हुनु सक्छ । यी कुराहरुलाई मुटुको चाल गडबडी भएको मानिन्छ । 

  किन हुन्छ मुटुको चाल गडबडी ?
मुटुको चाल गडबडी हुने विभिन्न कारणहरु हुन्छन् । जस्तै कसैको जन्मजातै मुटुको चाल गडबडी गराउने अरु तन्तुहरु हुन सक्छन् । कसैको भने समयक्रम अनुसार मुटुमा इन्फेक्सन भयो वा मुटुको नशा ब्लक हुँदा (जसलाई हृदयघात पनि भनिन्छ) यस्तो हुन्छ ।  मुटुको बनावटमा आएको परिवर्तनले पनि मुटुको चाल गडबडी हुन सक्ने सम्भावनाहरु हुन्छन् । यस्तै उमेर बढ्दै जाँदा मुटुको चाल गडबडी गराउने तन्तुहरुमा ब्लक हुने वा त्यस्ता समस्या ल्याउने खालको अरु तन्तुहरु निस्कने अथवा मुटुको चाल गडबडी बनाउने खालको अर्काे तार बन्ने अवस्था आएको खण्डमा पनि समस्या हुनसक्छ ।

कसरी थाहा पाउने ?  
मुटुको चाल गडबडी भएको छ भने मुटु ढुकढुक गर्ने, कसैलाई रिंटा लाग्ने हुन्छ । कसैलाई रिगंटा लागे पछि वेहोस हुने समस्या पनि हुन्छ । यहाँ याद राख्नुपर्ने के छ भने समयमा रोग पहिचान गरेर उपचार नगराएको खण्डमा ज्यानै जानेसम्मको अवस्था पनि आउन सक्छ । 

मुटुरोग विशेषज्ञ डा. रोशन राउत

कसैलाई हिँड्दा स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् । मुटुमा कस्तो खालको समस्या हो भनेर जानकारी पाउनको लागि ईसीजीबाट पत्ता लगाउन सकिन्छ । ईसीजीमा कहिलेकाही मुटुको चाल गडबडी भएको नदेखिन पनि सक्छ । त्यो अवस्थामा मुटुको चाल गडबडी भएकै बेलामा ईसिजी गर्नुपर्छ । त्यसैले कहिलेकाहिँ हामीले २४ घण्टा मेसिन राखेर हेर्छाैँ र मुटुको चाल गडबडी छ वा छैन भन्ने रेकर्ड गर्छौँ  । यस्ता किसिमको परीक्षणबाट मुटुको चाल गडबडी छ छैन भन्ने कुराको बारेमा जानकारी हुन्छ ।   

उपचार पद्धति
मुटुको चाल गडबडीको उपचार पद्धति दुई प्रकारको रहेको छ । एउटा औषधी र अर्काे इबीएसआरएफए प्रविधिबाट उपचार गरिन्छ । 

औषधीको कुरा गर्नुपर्दा यदी साधारण खालको मुटुको चाल गडबडी छ भने साधारण खालको प्रोसिजर गरेर नै निको पार्न सकिन्छ । त्यो प्रोसिजर भनेको खुट्टाबाट तार पसाएर मुटुमा तार पु¥याउने र  मुटुको चाल गडबडी गराउने तन्तु पहिचान गर्ने हो । 

तन्तु पत्ता लगाइसके पछि त्यसलाई हामीले जलाएर हटाईदिन्छौँ । यो प्रोसिजर गर्नको लागि छाती चिर्नु पर्दैन र मान्छेलाई बेहोस बनाँनु पनि पर्दैन । 
 

प्रोसिजर गरेको भोलिपल्टनै बिरामी हिँडेर घर जान सक्छन् । यो प्रक्रियाबाट मुटुको चाल गडबडी सम्बन्धी समस्यालाई सजिलै सँग उपचार गर्न सकिने भएको हुँदा प्रभावकारी मानिन्छ । बिरामीलाई औषधी भन्दा पनि यो तरिकाबाट मुटुको चाल गडबडीको उपचार गर्दा सँधैको लागि निको हुन सक्ने हुन्छ । 

उपचारमा खर्चको कुरा आउँछ । मुटुको चाल गडबडी सम्बन्धी उपचारको लागि कति खर्च लाग्छ भन्ने कुरामा भने रोग कतिको जटिल छ भन्नेमा भरपर्छ । यदि साधारण प्रकारको हो भने ७० हजारको हाराहारीमा हुन्छ तर जटिल प्रकारको छ भने २ लाखको हाराहारीमा खर्च हुन्छ । 

मुटुको चाल गडबडी सम्बन्धी जटिलता हेरेरमात्रै खर्चमा भरपर्छ । कुनै साधारण पनि हुन सक्छ कुनै जटिल प्रकारको पनि समस्या हुन सक्छ । 

 यदि जटिल प्रकारको मुटुको चाल गडबडी समस्या छ भने हामीले विशेष किसिमको अत्याधुनिक प्रविधि (जसलाई थ्रीडी म्यापिङ सिस्टम भनिन्छ) बाट  उपचार गरिन्छ । 

मुटु स्वास्थ राख्न के गर्ने ?
मुटुको रोगबाट हामी बच्न सक्यौँ भने मुटुको चाल गडबडी समस्याबाट पनि हामी बच्न सक्छौँ । जसको लागि हामीले मुटुलाई स्वास्थ राख्ने प्रयास गर्नुपर्छ । मुटुबाट लाग्ने रोगबाट बच्नको लागि हामीले खानपानमा ध्यान दिनुपर्छ । धेरै मात्रामा नुनको सेवन हुन्न । धेरै चिल्लो पदार्थ पनि खानुहुन्न । 

प्रेसर,मधुमेह जस्ता रोगहरु छन् भने त्यसलाई नियन्त्रणमा राख्नु पर्छ । नियमित व्यायम र प्रशस्त मात्रामा हरियो सागपात, फलफूल सेवन गर्नुपर्छ । यस्तै धुम्रपान— मध्यपान सेवन पनि नगर्ने हो भने मुटुको रोग र मुटुको चाल गडबडी सम्बन्धी समस्याहरु निम्तने सम्भावना निकै कम हुन्छन् ।
 

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप