केन्द्रीय संस्करण
मेराे जीवन

साहित्यकार खेमनाथ दाहालको जीवन : हरेक मानिस एक पटक साहित्यकार बन्छ

person explore access_timeअसार ७, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने थोरै साहित्यकार छन् । तीमध्येका एक हुन् खेमनाथ दाहाल । पूर्वी नेपालको तेह्रथुममा जन्मिए पनि नेपाली साहित्यलाई अमेरिकासम्म पुर्याउन सफल उनी सहित्यमा पनि राष्ट्रियताका विषयमा, समसामयिक विषयमा तथा युद्ध साहित्यमा सशक्त कलम चलाउने कविको रूपमा पनि चिनिदै आएका छन् । 

दाहालका श्रद्धाञ्जलि (कविता सङ्ग्रह), रश्मि (खण्डकाव्य), योद्धा (काव्य), हावर्डको चौतारीमा (कविता सङ्ग्रह), स्वेतपत्र (महाकाव्य), म त बन्दी भएको छु (कविता सङ्ग्रह) जस्ता कृतिहरु बाहिर आइसकेका छन् । 

देश बाहिर रहँदा पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई आफ्नो मनमा राखी स्वदेश फर्की साहित्यमा नै तल्लीन रहेका दाहाल थुप्रै कृतिहरु प्रकाशनको तयारीमा छन् । खेमनाथका काव्य–कविताहरु गद्य, पद्य दुवै माध्यमबाट आएका छन् । उनी पद्यमा भाव व्यक्त गर्दा धेरैजसो अनुष्टुप छन्दलाई माध्यम बनाउँछन् । 

राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयलाई कवितात्मक रूपमा प्रस्तुत गर्दै युगीन प्रसङ्ग चित्रण गर्ने उनी आफ्नो जन्मस्थान, बाल्यावस्था, यौवनावस्था हुँदै तत्कालसम्म भोगेका देखेका विषयवस्तु नै कवितामा उतार्ने गर्छन् । 
गेरु अम्बिका वाणी पुरस्कार विराटनगर, छन्दोबद्ध कृति पुस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सम्मान लगायत विभिन्न सम्मान र पुरस्कार विजेता साहित्यकार दाहालसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना
नेपाली जहाँ गए पनि मनपराउने खाना दाल, भात र तरकारी नै हो । मलाई पनि यही मनपर्छ । मन नपर्ने खाना केही छैन । विशेष मनपर्ने भनेको हरियो सागसब्जी हो । 


म रेस्टुरेन्ट कम जान्छु । मेरो परिवार बाहिर खानाखान रुचाउँदैन् । त्यसैले कहिलेकाहीँ मात्र परिवारसँग रेस्टुरेन्ट जाने गरेको छु । मलाई पकाउनतिर रुचि पटक्कै छैन । सानोमा त पकाउँथे । तर विवाह गरेदेखि श्रीमतीले चुलामा जान दिन्नन् ।

मेरो पोसाक
मैले प्रायः प्रयोग गर्ने पोसाक पाइन्ट र सर्ट नै हो । यो सजिलो र हल्का पनि लाग्छ । कहिलेकाहीँ दौरा सुरुवाल पनि लगाउँछु । दौरासुरुवाल हाम्रो राष्ट्रिय पोसाक पनि हो । योसँग भावनात्मक सम्बन्ध गासिएको छ । ढाकाको टोपी धेरै जसो लगाउने गरेको छु ।

पोसाकमा कालो र निलो कलर मनपर्छ । १७ वर्ष जति भयो होला दौरासुरुवालबाहेक आफ्ना लागि चाहिने सबै पहिरन विदेशमा नै किन्ने गरेको छु । पहिरनका लागि ब्रान्ड कन्सेस छैन । राम्रो लागेको, फिट देखिने पहिरन रोज्छु । पोसाकमा वर्षिक खर्च १५ हजार जति हुन्छ । 
   
मेरो फिट्नेस
फिट्नेस मेरो जीवनमा टाढाको विषय रह्यो । हिँड्नु बाहेक अन्य एक्सरसाइज केही गर्दिनँ । बिहान भ्याइन भने जुनै बेला भए पनि दिनको एक घन्टा हिँड्छु । यसले मलाई फिट राखेको छ ।। 

मेरो अध्ययन
अध्ययन धेरै गर्ने व्यक्तिमध्ये म पनि एक हुँ । मेरो हातमा प्रायः किताब खाली हुँदैन । घरमा बस्दा म केही न केही पढिरहेको हुन्छु । यो बानी श्रीमतीसँग विवादको विषय बनेको छ । कति पढ्नुपरेको भन्ने आक्षेप उनको मलाई सधैँ हुन्छ । 

उनले धेरै अध्यायन गरेको विषयमा गुनासो गरिरहन्छिन् । उनलाई मैले छेउमा बसेर कुरा सुनिदियोस् भन्ने हुन्छ होला । म आफ्नो अध्ययनको ध्यानमा हुन्छु । उनले केही भनिन् भने धेरै समयपछि के भनेको भनेर सोध्छु । त्यसैले उनी रिसाउँछिन् । उनलाई वास्ता नगरेको जस्तो हुँदोरहेछ क्यार । 

आफू के लेख्ने तयारी गर्दैछु । त्यो कुराका लागि पहिले धेरै अध्ययन गर्छु अनि लेख्छु । लेख्ने विषयका पुस्तकहरु खोजी खोजी अध्ययन गर्छु ।  अध्ययन गर्ने पुस्तक यो भन्ने छैन । प्रायः सबै पढ्छु । 
म नित्य गीता पढ्छु । कसैले केही साहित्यका किताब दियो भने जीवन लेखिएका किताब भयो भने पढ्छु । जुनै किताब पनि हात परे पनि भरसक म दुई दिनभित्रमा पढेर सक्ने प्रयास गर्छु ।

अहिले मलेसियासम्बन्धी पुस्तक अध्ययन गरिरहेको छु । मलेसिया यात्राको बारेमा एक किताब पनि लेख्दैछु । अध्यायन गरेको मध्ये मन परेको पुस्तक म्याक्सिङ गोर्कीको ‘आमा’ र सानोमा पढेको आच्छा सिंह राई रसिकको ‘लगन’ हो ।

मेरो फुर्सद
फुर्सद त हुन्छ  तर केही लेख्नुपर्छ भन्ने कुराले मनमा चैन हुँदैन । फुर्सद भएपछि पढ्न, लेख्नतिर लाग्छु ।

मेरो घुमफिर 
घुमफिरमा धेरै रुचि छ । फुर्सद भयो, मौका मिल्यो भने म घुम्न निस्किहाल्छु, जुनै पनि नयाँ स्थान । उक्त स्थानमा घुमेपछि त्यसको बारेमा पछि कलम चलाउन सकियोस् । घुम्नका लागि मेरो रोजाइमा यस्ता ठाउँ सधैँ पर्ने गरेका छन् । रारा, गोसाइँकुन्ड जस्ता नेपालका जति पनि ठाउँ छन् । ती ठाउँ सबै घुम्ने इच्छा छ तर शरीरले साथ देला नदेला ।
देशको पूर्वी जिल्ला प्रायः सबै घुमेको छु । पश्चिम अर्घाखाँची, प्युठान गएको छु । अन्य स्थान पुगेको छैन । विदेशमा अमेरिकाको पूर्वदेखि पश्चिमसम्मका सबै राज्य घुमेको छु । मलेसिया, भारतलगायत केही देश टेकेको छु ।
  
मेरो खेलकुद
अहिले फुटबल हेर्छु । अन्य खेलतिर भने इन्ट्रेस्ट छैन । सानोमा फुटबल र भलिबलको राम्रो खेलाडी थिएँ । यी खेल धेरै खेल्थँे । अहिले भने खेल्न सक्दिनँ । हेर्न नै रुचाउँछु । 

मेरो मोबाइल 
म एउटा मात्र मोबाइल बोक्छु तर आइफोन नै बोक्छु । मोबाइल फोर्न गर्न, फेसबुक चलाउन, अनलाइन समाचार हेर्न, विदेशी सीएनएन हेर्न प्रयोग हँुदै आएको छ । कहिलेकाहीँ इमेल पनि हेर्छु । आफूलाई कन्फ्युज भएको विषय गुगल सर्चमा गएर हेर्न समेत सजिलो वस्तु मोबाइल हो । धेरै मोबाइल फेर्ने बानी मेरो छैन । ३, ४ वर्षमा एउटा फेर्ने गरेको छु । 

मेरो टीभी
दिनको एक दुई घन्टा टीभीमा समाचार हेर्छु । प्रायः बेलुुका ८ बजेपछि मात्र टीभी हेर्छु । टीभीमा अन्य कार्यक्रम हेर्न मनपर्दैन । विदेशको समाचारका लागि सीएनएन र बीबीसी हेर्छु । किताब लेख्नु छ भने कहिले टीभी नै खोल्दिनँ ।

मेरो चलचित्र 
कहिले एक महिना पनि हुन्छ । कहिले दुई चार महिना पनि हुन्छ चलचित्र हेर्दा । चलचित्र हेर्दा ३ घन्टा बिताउन मलाई सरै गाह्रो हुन्छ । त्यसैले हेरेको फिल्म कहिल्यै पनि पूरा हुँदैन । मैले हेर्ने प्रायः हिन्दी फिल्म हो । फिल्म घरमै हेर्ने हो । म हलमा गएर फिल्म नहेरेको ३०औँ वर्ष भयो होला । सामाजिक विषयका चलचित्र मलाई मनपर्छ ।
अहिले पनि म पुराना खालका फिल्म खोजेर हेर्ने गरेको छु । त्यसमा पनि हाँस्यव्याङ्ग्यले भरिएका, जोक्स भएका फिल्म पर्ने गरेका छन् । 
 
मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । डाइबेटिज र प्रोस्टेट छ । करिब १० वर्षभन्दा बढी भयो होला यी रोगले सताएको । यसका लागि नियमित औषधि खाँदैछु ।  

मेरो भाषाशैली 
भाषाशैलीमा मलाई झर्राे मनपर्छ । सीधा भनेको राम्रो लाग्छ । म घुमाएर कुरा गर्न पनि जान्दिनँ । अरुबाट पनि त्यो अपेक्षा गर्दिनँ । चिल्लो घसेर बोल्ने मानिस आडम्बरी जस्तो लाग्छ । 

मेरो साहित्य 
साहित्यलाई समाजको दपर्ण भनिन्छ । साहित्यमा मेरो लगाव जन्मजात भएको जस्तो लाग्छ । साहित्यमा लाग्छु भनेर पनि हुँदैन । त्यो समय एक पटक आउँछ । हरेक मानिस एक पटक साहित्यकार बन्छ ।

उनका मनमा, मस्तिष्कमा साहित्य जन्मन्छ । त्यतिबेला त्यो साहित्य उसले बाहिर ल्यायो भने ऊ साहित्यकार भएर देखिन्छ । नत्र उसको त्यो साहित्य हराएर जान्छ । 

मेरो हकमा भन्ने हो भने १२ वर्षको उमेरदेखि मैले साहित्यमा कलम चलाउन थालेको थिएँ । २००९ को मानिस म, २०१८, ०१९ मा नै मेरो कविता बाहिर आएको सम्झना छ ।

अहिले डाइबेटिजका कारणले म भरसक १० बजे सुत्ने कोसिस गर्छु । पहिला साहित्य लेख्दालेख्दै त्यही निदाउँथे । स्वेतपत्र महाकाव्य बेलुका थालेको लेख्दा लेख्दै धेरै पल्ट उज्यालो भएको छ । घरका मानिससँग झगडा पर्ने गरी मैले लेखनमा सक्रियता देखाएको छु । मेरो साहित्य लेखनको मेन विधा कविता नै हो । अहिले मेरो दुईवटा गद्य कृति प्रकाशनको तयारीमा छ । एउटा मलेसिया र सिङ्गापुर यात्रासम्बन्धी छ । मैले १० वर्ष अमेरिका बस्दा महशुस गरेको अनुभवको पुस्तक ‘अमेरिकाली प्रसङ्ग’ भन्ने छ । त्यो अर्काे हो । यी बजारमा छिट्टै ल्याउने तयारीमा लागेको छु । 
तथ्य परक होस्, ज्ञानबद्र्धक होस् र अरू पाठकलाई पनि काम लाग्ने कृति लेख्ने मेरो सधैँ प्रयास हुने गरेको छ । यस्तै केही पुस्तक ल्याउने सोच छ ।

मेरो मापसे 
मापसे छुँदै नछुने होइन । २, ४ महिनामा साथीभाइसँग गेटटुगेदर गर्दा अलिअलि लिन्छु । यसबाट म अछुत छैन । नियमित लिने गरेको छैन । मेरो  भरसक रक्सी राम्रो खानुपर्छ भन्ने सोच छ । नेपालमा रहँदा ओल्ड दरबार लगायतका राम्रो ब्रान्ड लिन्छु । विदेशमा पनि ब्रान्डेड नै खान्छु । कहिलेकाहीँ मात्र मापसे गर्ने हो । त्यसैले राम्रो खानुपर्छ भन्ने मेरो मान्यता हो । 

रक्सी घरमा पनि राख्ने गरेको छु । आफुसँग मिल्ने, आफूलाई माया गर्ने साथीभाइ घरमा आउँदा खुवाउनुपर्छ भनेर राखेको हो । साथीभाइ बोलाएर रक्सी खुवाउनुपर्दा राम्रो ब्रान्डको खुवाउँछु कि खुवाउँदै खुवाउँदिनँ ।
 
मेरो सङ्गीत 
गीतसङ्गीत मनपर्छ, सुन्छु । फुर्सद भयो भने पुराना गीत सुन्छु । त्यसमा हिन्दी, नेपाली दुवै पर्छन् । नेपालीमा नारायण गोपालका, तारदेवीका गीतहरु सुन्छु । गीत गाउन मनलाग्छ । तर मेरो स्वर गीत गाउने जस्तो छैन । त्यसैले कहिल्यै गाउने आट गरिनँ । गीत गाउने अभ्यास पनि कहिल्यै गरिनँ । 

मेरो सपना 
त्यस्तो केही छैन । अहिले बजारमा आएका भन्दा स्तरिय दुई चारवटा कृति लेख्न पाए हुन्थ्यो भन्ने लागेको छ । मैले स्वेतपत्र महाकाव्य लेखेँ । त्योभन्दा राम्रो, देश विदेशमा पढिने खालका महाकाव्य लेख्ने इच्छा छ । १५, १६ वटा कृति नेपाली साहित्यमा दिन पाए हुन्थ्यो भन्ने लागेको छ ।

मेरो प्रेम
२०३२ सालमा मैले प्रेम विवाह गरेको थिएँ । हाम्रा बसाइ नजिक नजिक थियो । दैनिक जस्तो देखादेख हुन्थ्यो । त्यहीँबाट हामी एकअर्कासँग परिचित भयौँ । हामी दुवैले एकअर्कालाई मन पराएपछि मैले उनको आमालाई तपाईंकी छोरी मनपर्यो, दिनुस्, म विवाह गर्छु भनेँ । अनि हामीले विवाह गरेका हौँ । सो समय म बीकम परीक्षा दिएर बसेको थिएँ । मेरो दाजुहरु ठेक्काको कारोबार गर्नु हुन्थ्यो । म त्यसमा एकाउन्ट हेर्थे । उनी आए पढ्र्दै थिइन् । म भाडामा बस्थेँ । उनी आफन्तको घरमा बस्थिइन् । 

मेरो भूल 
जीवनमा भूलहरू त पक्कै पनि धेरै भए होलान् । केही भन्न हुने भए होलान् । केही भन्न नहुने भए होलान् । केही न केही, कहीँ न कहीँ त भूल हुन्छ नै । जीवनमा पछुताउनुपर्ने, अपराध बोध हुने त्यस्तो भुल अहिलेसम्म केही भएको छैन भन्ने विश्वास छ ।

मेरो राशि
मेरो राशि मकर हो । म ज्योतिषीको छोरा हुँ । ज्योतिषप्रति विश्वास र श्रद्धा छ । तर लिप्त भएर देखाउँदिनँ । पूजापाठ गर्दिनँ तर गीतापाठ भने नियमित गर्छु । 

मेरो मृत्यु 
जन्मेपछि मर्नुपर्छ । मृत्यु सत्य हो । जहिले भए पनि होस् । तर सहज होस् भन्ने मेरो चाहना हो । अझ दुई चारवटा राम्रा कृति निकालेर मर्न पाए हुन्थ्यो भन्ने छ  । सबैको हाई हाईमा मृत्युवरण होस् भन्ने मेरो इच्छा हो ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...