मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेडलाई हराउँदै रियललाई सुपर कपको उपाधि

बुधबार, २५ साउन २०७४, ०९ : ५१
बुधबार, २५ साउन २०७४

स्कोप्जे – म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिडले युइएफए सुपर कपमाथि पुनः कब्जा जमाएको छ ।

योसँगै, सन् १९९० पछि सुपर कपको उपाधि लगातार जित्ने रियल पहिलो टोली बनेको छ ।

खेलमा शुरुदेखि नै युनाइटेडमाथि दबाब राखेको रियलले खेलको २४ औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर कासिमेरोको गोलको मद्दतले अग्रता लिएको थियो । यसअघि उनको प्रयास पोष्टमा लागेको थियो ।

खेलको दोस्रो हाफमा गेराथ बेलसँग वान टु वान पास गर्दै इस्कोले आठ यार्ड टाढाबाट गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

१० मिनेटपछि युनाइटेडका ७.५ करोड पाउण्डका स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन । र, रियलले खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा इस्को म्यान अफ द म्याच घोषित भए ।

पछिल्ला ९ सुपरकपमध्ये स्पेनिस टोलीले ८ वटामा कब्जा जमाएको छ । रियलले हालसम्म चारवटा सुपरकप जितेकोमा बार्सिलोना र एसी मिलानले यो उपाधि पाँच–पाँच पटक जितेको छ ।

म्यासेडोनियाको राजधानीमा भएको खेलमा उच्च तापक्रमका कारण खेल दुई पटक ड्रिंक ब्रेकको लागि रोकिएको थियो ।

रेड डेभिलले यो ट्रान्सफर विन्डोमा लुकाकु, नेमान्जा माटिच, भिक्टर लिन्डेलफलाई भित्र्याउन १४.६ करोड खर्च गरेको छ । प्रशिक्षक जोसे मोरिन्होले रियलविरुद्ध तीन जनै खेलाडीलाई उतार्दै सशक्त टोली प्रस्तुत गरेका थिए ।

उता, रियलको टोलीमा भने च्याम्पियन्स लिगको फाइनलमा खेल्ने टोलीमा क्रिस्टियानो रोनाल्डो मात्र उपस्थित थिएनन् ।
युरोपियन च्याम्पियनले युनाइटेडमाथि खेल अवधिभर दबाब राखेको थियो । युनाइटेडले खेलको पहिलो हाफमा मात्र ३९ प्रतिशत बल नियन्त्रणमा राख्न सकेको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि रियलको तुलनामा युनाइटेड कमजोर देखिएको थियो । यसबीच रियलले एकपछि अर्को आक्रमण गरेको थियो ।
२–० को स्कोर हुँदा बेलको प्रयास बारमा लागेको थियो भने युनाइटेडका गोलकिपर डेभिड डि गेयाले टोनी क्रुस, करिम बेन्जेमा र मार्को असेन्सियोको प्रहार विफल बनाएका थिए ।

यता, मोरिन्हो तीनवटा सुपर कपमा पराजित हुने पहिलो प्रशिक्षक बनेका छन् । उनले यसअघि चेल्सी र पोर्टोमा रहँदा यो उपाधिबाट बञ्चित बनेका थिए । मोरिन्होले प्रतिस्पर्धात्मक खेलमा कहिले पनि रियललाई हराउन सकेका छैनन् । पाँच मध्ये चार खेल उनले हारेका छन् भने एउटामा बराबरी गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप