सत्ताको कुर्सी हल्लाइदिने, विद्रोहको आगो बाल्ने जनकवि गोरख पांडेयका कविताहरु
भारतको उत्तर प्रदेशस्थित देवरियामा सन् १९४५ मा जन्मेका गोरख पांडेय भारतका चर्चित जनकवि हुन् । ज्याँ पाल सात्रको ‘अस्तित्ववाद मे अलगाव के तंतुओ’ मा जे.एन.यू विश्वविद्यालयबाट पिएचडी गरेका पांडेय भारतका युवा तथा विद्यार्थी आन्दोलनमा सबैभन्दा बढी पढिने र गाइने कविता/गीतका सर्जक हुन् । उनका हरेक रचनाहरु विद्रोहका चेत बोल्छन्, चरमविभेदकारी यथास्थितिवाद र पश्चगामी समाज–शासन व्यवस्थाका विरुद्ध विद्रोहको आगो बाल्छन् । उनका रचनाहरुले शोषण र अन्यायमा चलेको सत्ताको कुर्सी हल्लाइदिन्छ, अनि गरिब, दीनदुःखीको खोपडीमा आशा, भरोसा, परिवर्तन र क्रान्तिको तरंग जगाइदिन्छ ।
समकालीन भारतीय कविहरुमा सबैभन्दा चर्चितहरुमध्येका एक सर्जक हुन् उनी । सम्भवतः सोभियत सत्ताको अप्रत्याशित पतनको अवसादले सिर्जितआफ्नो मानसिक विरामी झेल्न नसकेर आत्महत्याको दुःखान्त मृत्युवरण गरेका तिनै पाण्डेका केही अनुदित कविताहरु हामीले यहाँ प्रकाशित गरेका छौं । यीमध्ये ‘कुर्सीको महिमा’ को भावानुवाद वामपन्थी नेता टंक कार्कीले गर्नुभएको हो, जसलाई हामीले उहाँको फेसबुक पेजमा लिएका छौं, भने बाँकी कविताहरुको भावानुवाद साहित्यकार शारदारमण नेपालले गर्नुभएको हो ।
स्मरण रहोस्, जन संस्कृति मञ्चको संस्थापक सदस्य तथा प्रथम महासचिव समेत रहेका पांडेयका जागते रहो सोने वालों र स्वर्ग से विदाई कविता संग्रह प्रकाशित छन् ।
घोषणा
हामीले कोदाला कोदाली मच्चाएपछि
माटो सुन बन्छ ।
हामी छिनो र हथौडीले
कुनै यस्तो जादू गर्छौं
जसबाट पानी बिजुली बनिदिन्छ
अनि जतिसुकै लामो होस् दूरी
त्यसलाई हामी
मुट्ठीमा लिन्छौं ।
हामीले औजार उठायौं त
मानिसहरु जर्याक्जुरुक् उठे
अग्ला थिए पहाड, झुके
हाम्रा कदमका सामु ।
हामीले स्वतन्त्रताका जग राख्यौं
चाह्यौं भने उठाउन सक्छौं हामी बन्दूक पनि
बन्दूक जो एक औजार हो र
बन्दूक जसले हाम्रो स्वतन्त्रता खोसेको छ ।
हामी उजुर गर्दैनौं
फैसला गर्छौं ।
तटस्थहरुप्रति
चैनको बाँसुरी बजाउनुस् तपाइँ
शहर डढिरहोस्,आफू गीतगाइरहनुस् तपाइँ
तपाइँ तटस्थ हुनुहुन्छ अथवा नीरो
वास्तविक अनुहार देखाइरहनुस् तपाइँ ।
कानूनहरु
फलामे खुट्टामा गह्रुङ्गा बुटहरु
काँधमा भिरेका बन्दूक
कानूनले आफ्नो बाटो समात्छ
हत्कडी लाएर हातहरुमा
भएजत्ति तागत पोखेर तिनीहरुमाथि
जेलतिर तान्दै डोर्याउँदै
विचार र श्रमका बीच बाटोबाट अघि बढ्छ ।
श्रमबाट त्यसको प्रतिफल टाढा पार्दै
सवै चीजलाई पूर्वनिश्चित ठाउँमा राख्दै
अपराधीलाई न्यायाधीशको
असत्यलाई सत्यको र पूँजीका दलाललाई
शासकको गद्दीमा राख्दै अघि बढ्छ
मजदूरहरुमाथि गोलीको बेगबाट
किसानहरुमाथि भोकमरीको वेगबाट र
बिरोधी जिब्राहरुमाथि
छुरीको बेगबाट अघि बढ्छ ।
व्याख्या गर्दैन
बगिरहेका रगतको
भनिन्छ व्याख्या कल्पनातीत छ र
यसरी हेर्दाहेर्दै
हाम्रा आँखाका सपनाहरुमाथि
विभीषिका बनेर ढाकिन्छ त्यो
देशका नाममा
जनतालाई गिरफ्तार गर्नेछ ।
जनताका नाममा देशै बेचिदिने छ ।
सुरक्षाका नाममा
असुरक्षित बनाइदिनेछ परिवेश
कदाचित् मध्यरातमा आएर
तपाइँको ढोका ढकढक्याउने छ
यता तपाइँलाई थाहै हुनेछैन
उता मिडियामा मुठभेडको खबर जन्मने छ ।
मालिक्याइँका कोखबाट जन्माइने
बहसहरु
सदनमा, अदालतहरुमा
असत्यका सुनौला पालिसले चम्काएर
तबसम्म फलामे खुट्टाले चलाइन्छन् कानूनहरु
जबसम्म जनताका समग्र शक्तिले
धुलोपिठो बनाइँदैनन् ती कानूनहरु ।
आशाका गीतहरु
आशाका गीतहरु गाइनेछन्
राम्रा दिन आउनेछन्
दुःखकष्टका यी दिनहरु सकिनेछन्
झुप्राछाप्राहरुमा सूर्य चम्कनेछ
सबै बालबालिका दूधले नुहाउनेछन्
सपनाका सप्तरङ्गी डोरीमा
मुक्तिको झण्डा फर्फराउनेछ ।
तिमीलाई डर छ ।
हजार वर्ष पुरानो हो तिनको क्रोध
हजार वर्ष पुरानो हो तिनको घृणा
म त मात्र तिनका छरपस्ट शब्दहरुलाई
लय र तुक मिलाएर फिर्ता गर्दैछु ,
तर तिमीलाई डर छ
म आगो भड्काइरहेको छु !
कुर्सीको महिमा
उ जमिनमा हुँदा सम्म
कुर्सी खराव 'थ्यो
कुर्सीमा जब उ विराजमान भो
जमिन भो खराव |
उसको नजर कुर्सीमा 'थ्यो
कुर्सी लागेको 'थ्यो
उसको नजरलाई
उ नजरबन्द गर्छ उसलाई
महिलालाई नजरबन्द गर्नेलाई |
फगत ढाँचा होइन त्यो
फलाम या काठको
कद हो कुर्सी त
कुर्सी अनुसार
सानो ठुलो छ त्यो
स्वाधीन छ या अधिन छ
खुश छ या नाखुश
कुर्सीमा लिसो झैं टाँसिन्छ
एक लिप्त मानिस |
फाइल दब्दै रहन्छन्
न्याय टालिन्छ
भोकासम्म दाल भात पुग्दैन
बिरामीलाई ओखति
अपराध नगरेर पनि
सुलीमा चढाइन्छ
यसै बीच
कुर्सी नै हो
जो घूस र प्रजातन्त्रको लेखा राख्छ |
कुर्सी खतरामा छ त प्रजातन्त्र खतरामा छ
कुर्सी खतरामा छ त देश खतरामा छ
कुर्सी खतरामा छ त दुनियाँ खतरामा छ
कुर्सी बचेन त
भाँडमा जाओस प्रजातन्त्र
देश र दुनियाँ |
खुनको समुद्रमा सिक्का राखिएका छन्
सिक्का माथि कुर्सी
कुर्सी माथि तानाशाह
एक पटक फेरि नरसंहारको आदेश दिन्छ |
अविचल रहिरहन्छ कुर्सी
माग र शिकायतको दुनियाँमा
चोट र आँसुको दुनियाँमा
मुर्दा तुल्य रहन्छ कुर्सी
आफ्नै खुट्टामामा आगो नलागेसम्म |
मातेको मान्छे झैं डंग्रंग ढल्छ उ
नालीमा आँखा खोल्छ
जब नशा जस्तै कुर्सीको मोह भंग हुन्छ |
कुर्सीको महिमा
बखान गर्ने
यो एक थोत्रो प्रयास हो
लिसो झैँ टासिनेलाई सोधे हुन्छ
कुर्सी भूगोल हो
कुर्सी इतिहास हो |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना